Saturday, April 20, 2013

khelauna (article)



'खेलौना' मा प्रतिकृयाबारे

राजेन्द्र थापाको 'खेलौना' के पढेथे गाली सम्राट खगेन्द्र संग्रौलाले चित्त बुझेन उनको । स्वभाववस झम्टी हाले उनले । आफ्ना कृति र भनाइलाई सबैले मानी दिनु पर्ने पूर्वाग्रहपिडित संग्रौलाले अर्कोका कृतिलाई समालोचकको दृष्टिले हेर्नुभन्दा त्यसमा भएका कमी कमजोरीलाई मात्र केलाएर आक्रमण शुरू गरे । एउटा लेखकको कृतिलाई उनको आत्मरतिले अपाच्य ठहर्‍याएर पोर्नोग्राफीमा दर्ता गरी दियो । उनको त्यो व्यवहार कुनै समयका लेडी च्याटरलीको प्रेमी(Lady Chatterlee's Lover) अथवा रोमकी आइमाई(Woman of Rome) या लोलिता(Lolta)का लेखकहरूमाथि सो समयका स्वनामधन्य साहित्यकारहरूले पोर्नोग्राफीको नाम दिएर प्रकाशनमा समेत रोक लगाएको सत्य सम्झना गराउछ । संग्रौलाजस्तै स्तालिनशैलीमा अभ्यस्त तत्कालिन सोभियत साहित्यकारहरूले स्तालिनवादको अन्त्य नहुन्जेल रुसी युवाकवि सिर्गेइ इसेनिनका कविताहरूलाई त्यस्तै आरोप लगाएर प्रतिवन्ध नै लगाएका थिए ।

'खेलौना' राम्रो हो या नराम्रो ? त्यो त समयले भन्ने छ तर त्यो परंपरावादी ढर्राबाट बाहिर निस्किएको भने पक्कै हो । जगदिश घिमिरेलाई मन पर्‍यो, खगेन्द्र संग्रौलालाई मन परेन । त्यो आफ्नो आफ्नो सोच हो । उनीहरूका छोराछोरीले मन पराउछन कि मन पराउदैनन् ? त्यो त्यही पुस्ताले भन्ने कुरा हो ।
खगेन्द्र संग्रौलाले राजेन्द्र थापालाई त झम्टे नै , 'खेलौना' मा आफ्नो राय दिने जगदिश घिमिरेको अपमान गर्न पनि पछि परेनन् । बौलाहा कुकुरले जस्तो जसको नाम अगाडि आयो उसैलाई टोकी दिए । बिचरा कमलमणीलाई पनि छोडेनन् । अझ 'मान नमान् मै तेरा मेहमान' भने झैँ क्रोचेदेखि टी.एस.इलियट, फेडरिक एङ्गल्सदेखि सबै वामपन्थी दार्शनिक लेखक, कडवेलदेखि ट्रस्की, गोर्कीदेखि ब्रेख्तसम्म सबैलाई आफ्नो हाराहारीमा उभ्याएर आफ्नो श्रेष्ठता देखाउन खोजे तर कहाँ राजाराम कहाँ गंगुतेली ! अभि सुवेदी र निनु चापागाईलाई पनि जोगिएनन् उनको धृष्ठताबाट । झगडा उनको राजेन्द्र थापासँग मुछे सबैलाई उनले आफ्नो स्वार्थको ताउलोमा ।

राजेन्द्र थापा पनि कम दोषी छैनन् । उनको कृति असल या खराब भनेर आलोचना गर्ने अधिकार सबैलाई छ । फरक कति भने सज्जनले व्याख्या गर्छ दुर्जनले अपव्याख्या । आफ्नो कृतिको बचावटमा उनले हरि अधिकारी, अनमोलमणी, रामेश्वर बोहरा, सी.के.लाल आदिको नाम मुछ्नु अमान्य र अनावश्यक थियो । तर उनको यो कार्य बालक छोरोमाथि कसैले आक्रमण गर्दा दण्ड दिन आउने आततायीमाथी झम्टने आमाको लाठी दायाँवायाँकामाथि परेको जस्तो लाग्छ मलाई तर संयम त उनले पनि राख्नु पर्ने थियो र ती नाम मुछिएकासँग क्षमायाचना उनले गर्नै पर्छ । मेरो भनाइ यति मात्रै हो ।

No comments: