Thursday, January 19, 2012

‘अन्य’ भनिने जनजातीका बारेमा


हालको सन्दर्भमा सरकारले संसदमा ल्याउन लागेको समावेशी विधेयकमा ‘अन्य’ जातीमा राखिएका समूहहरू को हुन् तिनको पहिचान खोज्नु पर्ने आवश्यकता देखिएको छ ।
नृवंशशास्त्री अथवा मानव उत्थानका ज्ञाताहरूले मानिसको उत्पत्तीको थलो अफ्रिकी महाद्वीपलाई मानेका छन् र त्यहीबाट नै मानिस भनिने त्यो प्राणी अन्य महाद्वीप छरिदै गएको कुरा शाश्वत सत्य मानिएको छ । अफृकालाई मानव उत्पत्तिको कोक्रो भनिन्छ त्यसैले नै । ११०००० वर्ष पहिले निग्रोइड र ककसियन जाती एक अर्काबाट छुट्टिए र ४०००० वर्ष पहिले ककेसियन र मंगोलाइडहरूमा शारीरिक भेद देखिन थाल्यो । ककेसियनहरूको मूल थलो मध्यएसिया र क्यास्पियन सागरको वरपरको क्षेत्र रह्यो र यहींबाट नै उनीहरू संसारको अरुभागमा फैलिए । मंगोल भनिने जातीका फैलावटबारे भने विज्ञहरूका दुई मत छन् । एक थरीको मान्यतामा मध्यएसिया मैदानबाट दक्षिण साइबेरियाबाट पूर्व लागेको मानिन्छ भने अर्का थरीले उनीहरू दक्षिणपूर्व एसियाको बाटो हुदै उत्तर लागेका हुन् भन्ने मान्यता राख्छन् । त्यसैले जे जसो भए पनि नेपालको सन्दर्भमा यहाँ बस्ने मानिसहरूका पूर्वज पनि समय र परिस्थिति अनुरुप मध्यएसिया या दक्षिणी साइबेरिया या दक्षिणपूर्वी एसियाबाट बसाइँ सर्दै यहाँ आइ पुगेकोमा दुई मत नहुन सक्छ, केवल को अगाडि र को पछाडि भन्ने कुरा मात्रै फरक हो । अझ कतिपय विद्वानहरू मंगोलियन मूलका जातीहरू उत्तर र दक्षिण दुवैतिरबाटा पसेका हुन् भनेर किटान गर्छन् । त्यसैले नेपालमा त्यो समूह पनि उत्तर र पूर्वबाट पसेको कुरा सही ठहर्छ ।
समयका वहावसँगै नेपाल एउटा राज्यमा परिणत भयो । यो भूमिमा पृथ्वीनारायण शाह भन्दा अगाडी पनि राज्य नभएका होइनन् तर ती भुरे टाकुरे राज्यहरू थिए । शाहहरूको आफ्नो राज्यविस्तार पछि त्यसमा शाह र तिनीहरूसँग सम्वन्धित परिवारको राज्यमा हालीमुहाली हुनु त्यो समयको मान्यता अनुसार स्वाभाविक थियो जुन मान्यतालाई अस्विकार गरेर अहिले त्यो हटाइयो पनि । राज्यमा कुनै एक व्यक्ति या समूहको हालीमुहाली या विशेष अधिकार हुनुहुन्न भन्ने लोकतान्त्रिक सिद्धान्त अनुसार नै नेपालमा आज नयाँ शाशन व्यवस्था स्थापित गर्न लागिएको हो तर यो देशका नेपाली मातृभाषी समूहमा पर्ने क्षेत्री, बाहुन, ठकुरी, दलितबाहुन(दमाई, कामी, सार्की), गाइने, दशनामी सन्यासी, बादी आदि मध्ये क्षेत्री, बाहुन, ठकुरीलाई नेपाल सरकारले समावेशी विधेयकमा नेपालीभाषी जनजातीलाई जाती नठहरिने ‘अन्य’ को नाममा प्रस्तुत गरेको छ जो त्यो समूहलाई दोश्रो दर्जाका नागरिकमा राखेर अरुलाई राजनैतिक अग्राधिकार दिने एनेकपा(माओवादी)को स्थापित अलोकतान्त्रिक निति अनुरुप नै शुरु गरिएकोले त्यो अन्य समूहको पहिचान खुलाउनु आवश्यक भएको छ ।
मध्यएसियाबाट झरेको आर्यहरूको हाँगा विभिन्न समयमा भरतखण्डमा झरेको हो । वैदिक आर्यहरू शुरुमा आए र शक या खस आर्यहरू त्योभन्दा पछाडि । इरानी र भारतियहरूले शक भनका र युरोपेलीहरूले सिथियन भन्ने गरेको आर्यहरूको खस समूह वैदिक आर्यहरूभन्दा धेरै पछि हिन्दकुशको बाटो गरेर कास्मिर हुदै तल झरेका हुन् । त्यो आर्य समूहको एउटा हाँगो राजस्थान हुदै सिन्ध र गुजरात पुग्यो भने अर्को हाँगो पंजाव, हिमांचल, उत्तरांचल हुदै नेपाल पस्यो । त्यसैले नजिकै भएको मैथिली, भोजपुरी भाषासँग नजिक हुनुको साटो नेपालीभाषाको व्याकरण सिन्धि या गुजरातीको नजिक हुनुले पनि यी दुई समूहको मूल एउटै भएको प्रमाणित गर्छ । खसहरूमा वैदिक आर्यहरूमा जस्तो कुनै धार्मिक कट्टरता थिएन र उनीहरूले सो समयका मूल दुई धर्म मध्ये हिन्दुधर्मलाई कतिपयले समाए र कतिले वौद्धधर्म रुचाए । वैदिक आर्यमा जस्तो कट्टरता नहुने हुनाले आज पनि नेपालका ‘अन्य’ मा राखिएका खसनेपालीहरूमा धार्मिक कट्टरता दक्षिणी वैदिक आर्यहरूको तुलनामा धेरै कम पाइन्छ ।
नेपालमा भएका खस–आर्यहरू अहिले मातृभाषा नेपालीभाषा भएका रूपमा चिनिन्छन् र यो भाषा पृथ्वीनारायण शाहको समयभन्दा पहिले नै पूर्वको चौदण्डी, माझकिरात हुदै विजयपुरसम्म पुगिसकेको थियो । शाहहरूले त त्यो समयको चल्तीको बोलीलाई समाएकासम्म हुन् कामकाजको सजिलोकानिम्ति । जसरि कुनै समयमा नेपाल खाल्डोमा नेवारीभाषा राजभाषा हुदा केरलायी नैयर देखि तिब्बती भोटेसम्मले त्यो भाषालाई समाएर विभिन्न जातजाती हुदाहुदै पनि नेवारमा गनिए त्यसरी नै कहींबाट जुनसुकै समयमा छिरे पनि नेपालीभाषा समाएर त्यसलाई आफ्नो मातृभाषा बनाउनेहरू खसआर्य भनिनु स्वभाविक हो । त्यसैले नेपालको खसआर्य जनजातीलाई ‘अन्य’ मा राखेर उनीहरूको पहिचान मेटाउन खोज्नु ‘म’ मात्र ठीक ठान्ने अधिनायकवादी सोच हो ।