Friday, April 26, 2013

मेरो जीवन यात्रा



म बसेको रुस र सोभियत संघ

साठीको दशकको शुरूमा म मस्को पुग्दा नेपाल र रुसको अन्तर आकाश र जमिनको बराबर थियो । राजनैतिक रूपमा दुवै देशमा अधिनायकवाद, नेपालमा राजपरिवारको, सोभियत संघमा कम्युनिष्ट पार्टीको, भए पनि सामाजिक र आर्थिक नितिमा भने पत्याइ नसक्नु अन्तर थियो । रुसको सम्पन्नता अवश्य नै पनि अमेरिकासँग दाँजिन सक्दैनथ्यो र उपभोग्य सामग्रीको उपलब्धता हेर्दा पश्चिमी युरोपसँग पनि दाँजिन सक्दैनथ्यो तापनि कसैले पनि भोको बस्नु नपरोस् भन्ने त्यो देशको प्रयास अवश्य नै प्रशंसनिय थियो । करोडौँ मानिसको लाशको पर्खालले रोकेर नाजी जर्मनीमाथि पाएको विजयको उन्माद डेढ दशकपछि सेलाई सकेर लाखौँ आमाबाबु गुमाएका सन्तानको र लाखौँ सन्तान गुमाएका आमाबाबुको पिडाको घाउमा क्रमश खाटा बस्दै गएको थियो तापनि युद्धको राष्ट्रवादलाई सम्झाउने र कम्युनिष्ट आदर्श घोकाउने पोस्टर, होर्डिङबोर्ड, प्रदर्शनी, नाटक, सिनेमा भने जहीँतहीँ छ्याप्छ्याप्ती थिए त्यो बेला पनि । प्राव्दा(नेपालीमा सत्य नामको कम्युनिष्ट पार्टीको मुखपत्र)मा असत्य पनि छापिन सक्छ भनेर समूहमा भन्नु त के सोच्नु पनि हुन्न भनी ठानिन्थ्यो रुसी समाजमा । क्रान्तिकारी कवि मयाकोभ्स्कीको जमाना बिते पनि उनकै समकालिन सेर्गेइ येसएनिनलाई अझै स्वीकार गरिएको थिएन ।

सोभियत संघलाई श्रमिकहरूको राज्य बनाइएको थियो । संपत्ती कसैसँग पनि थिएन । निजी उद्योग, व्यापार, व्यवशाय कुनै थिएनन् । कल्खोज भनिने कम्युन जस्ता सामुहिक खेती भए पनि जमिनमा कसैको पनि अधिकार थिएन । ती कल्खोजले मोहीले जग्गाधनीलाई कुत बुझाए झैँ राज्यलाई ठेग बुझाउथे । कलकारखाना सरकारी र जग्गाजमिन सबै सरकारी । उत्पादन श्रमिकहरू गर्थे । त्यसको संचालन, व्यवस्थापन, वितरण सबैमाथि राज्यको एकाधिकार थियो । राज्य मालिक र जनता रैती भन्न सुहाउने त्यो शाशनमा राज्यको हर्ताकर्ता कम्युनिष्टहरू थिए ।

राज्य आफैँ चल्दैन । त्यसलाई चलाउन एउटा सबल संजाल चाहिन्छ र त्यो चलाउथ्यो राज्य । राज्यका प्रत्येक अवयवमा, चाहे त्यो सरकारी प्रशासन होस् या उद्योग या व्यापार या सामाजिक क्षेत्रहरू, जहीँतहीँ त्यसको उपस्थिति थियो । बालबालिकालाई मार्गदर्शन गर्न पायोनियर(अगुवा) समूह, युवाहरूलाई अधिनमा राख्न कम्सामोल(युवा कम्युनिष्ट संगठन) जस्तोसुकै विद्यालयमा पनि स्थापित भएकै हुन्थे र यसका पदाधिकारीहरूले बालक, युवा सबैका गतिविधिमाथि कडा नियन्त्रण राख्थे । बालकदेखि बुढासम्म, गाउँ टोलदेखि केन्द्रसम्म सबै नागरिक र राज्यका स्रोत र साधनमाथि नियन्त्रण राख्ने संजाल विशाल थियो र त्यो संजालका प्रत्येक टुप्पामा कम्युनिष्ट पार्टी या उसको प्रतिनिधि सधैँ नै हुन्थ्यो । त्यो पद प्राप्त गरेर सन्जाल संचाल गरे वापत उनीहरूले उनीहरू अधिनस्थ सामान्य नागरिकभन्दा बढी सुविधा र सन्मान पाउथे । सोभियत संघमा कम्युनिष्ट पार्टीको सदस्यता पाउनु नै सन्मान थियो । सदस्यहरूको उपस्थितिमा 'कहीँ केही गल्ती भई हाल्छ कि' भन्ने त्रास हुन्थ्यो सामान्य नागरिक समाजमा । जर्ज अर्वेलले आफ्नो उपन्यास 'एनिमल फार्म(पशुफार्म)' मा "सबै बराबर हुन् तर कोही बढी बराबर हुन्" भने जस्तै सबै बराबर भएको सोभियत संघमा कम्युनिष्टहरू बढी बराबर थिए । 

म शुन्यबाट गएको मानिसले मस्कोमा ठूलो विकास भएको देख्नु स्वाभाविक थियो । ढिँडो होस् या चामल जे जस्तोले होस् पेट सबैले भर्न पाएका थिए । धेरै होस् यो थोरै अस्पतालमा उपचार निशुल्क भेटेका थिए । विभिन्न स्तरका विद्यालयहरू थिए तर धेरै र थोरै बराबरीका हिसाबले प्रवेश पाए पनि शिक्षा निशुल्क नै थियो ।

सोभियत समाज बाहिरी समजबाट चटक्क काटिएको थियो । बाहिरी रेडियो टेलिभिजनको कुनै पहुँच थिएन । सरकारले निर्देश गरेका बाहेक न त्यहाँ कुनै बाहिरी पर्यटक पुग्थे न कोही सोभियत नागरिक बाहिर निस्कन पाउथे । स्वीकृति पाएर आउनेमाथि निगरानी हुन्थ्यो र बाहिर गएकामाथि पनि । स्तालिनको मृत्युपछि ख्रुश्चेवको नेतृत्वमा बाहिर सम्पर्क बढाउन थालेको सोभियत संघको छोत्रवृत्तीमा पढ्न म मस्को पुगेको थिएँ । अल्पविकसित देशहरूलाई छात्रवृत्ति दिएर आफ्नो सिद्धान्त प्रचार गराउने अमेरिकी नीतिसँग दाँजिन सोभियत संघले एशियाली, अफ्रिकी र ल्याटिन अमेरिकी विद्यार्थीहरूलाई सो सुविधा दिएको थियो र विदेशी विद्यार्थीहरूको उपस्थिति सोभियत नागरिकहरूका लागि कौतुहलपूर्ण पनि भयो । मेरो चुच्चो नाक, गोरो अनुहारले म खास अलग र विशेष नलागे पनि अफ्रिकी मूलका मेरा विद्यार्थिमित्रहरूका वरिपरि सुरुसुरुमा त भिड नै जम्मा हुन्थ्यो ।
सोभियत संघ १५ राज्यहरूको संघ थियो जहाँ १३ लाख जनसंख्या हुने इस्तोनियादेखि १५ करोड हुने रुससम्म यसका सदस्य थिए । ती राज्यहरू भाषिक र जातिय आधारमा छुट्याइएका थिए र ती राज्यहरूमा त्यो भाषा या जातिको जनसंख्या ७०% देखि ९५% सम्म थियो । राज्यमा जातिय भाषा चले पनि रुसी भाषा सबैलाई अनिवार्य थियो । रुसीभाषा जान्नेका निम्ति पुरै सोभियत संघ कार्यक्षेत्र हुने हुनाले सबैले रुसीभाषा अपनाउथे । विशालताको दृष्टिमा झण्डै घाम नअस्ताउने र जनसंख्याको हिसाबमा बाँकी सबै राज्यको जोडे पनि त्यो जनसंख्याभन्दा ठुलो हुने रुसको संघमा हालीमुहाली चल्नु स्वभाविक भए पनि सोभियत संघमा भएकै कारणले त्यसका एशियाली राज्यहरूले विकास गर्न सकेको तथ्य भने उनीहरूसँगै टाँसिएको अफगानिस्तानलाई हेर्दा प्रस्ट हुन्थ्यो । त्यही समयमा संघका एशियाली राज्यहरू र अफगानिस्तानको भ्रमणबाट मैले त्यो भिन्नता देखेको थिएँ । रुस र अरू युरोपेली राज्यहरूको सौहार्द्रताले ती एशियाली राज्यहरूमा युरोपेली स्तरको विकास भएको थियो ।
द्वितिय विश्वयुद्धले ध्वस्त सोभियत संघ, र खास गरी यसका युरोपेली राज्यहरू, दरिद्रताको पराकाष्ठाबाट भर्खर निर्माणतिर लम्किएका थिए । त्यसैले आवास समस्या थियो सर्वसाधारणका लागि । युद्धको विभिषिका, रुसी जाडो, खानापिनाको कमी, आवासको अपुग आदिले रुसीसमाजलाई यति पियक्कड बनाएको थियो कि पहिलो ग्लास भोद्का एकै सासमा पिएर सितनको रूपमा कालो पाउरोटी भाँचेर एक पल्ट सुँघ्दा नै चित्त बुझ्थ्यो अधबैँसेहरूलाई । संघको स्थापनाको शुरूमा नै एकै रातमा सर्वहारा बनाइएका सोभियत नागरिकमा कसैले संचित गर्दैनथ्यो । गर्नु पनि केको निम्ति र ? खानु, लाउनु, पिउनु बाहेक अरू उपभोग पनि थिएन संचितिको । अझ संचिति गर्न सकिने मजदुरी नै पाउथे कहाँ र ? त्यसैले एक बोतल मस्कोभ्स्काया भोद्का किनेर एकै थलोमा तीन जनाले बोतल सिध्याउने चलन सामान्य थियो त्यहाँ । त्यसलै पनि होला त्यो भोद्काको बिर्को खोली सकेपछि फेरि लगाउन मिल्दैनथ्यो ।

रुसीसमाज अथवा संघिय युरोपेली समाज उदार र मिलनसार थियो । पाहुनाको स्वागत गर्न उनीहरू पछि पर्दैनथे र स्वागत पनि हार्दिकतासाथ गर्थे । युरोपेलीको तुलनामा संघिय एशियाली समाज कम उदार थिए । हामीहरू जति कट्टर नभए पनि अन्तरजातिय विहेवारी, खानपिनमा कतिपय स्थितिमा बन्देज थियो त्यहाँ । संचितिको लोभ थियो उनीहरूमा र राज्य तर्फबाट केही छुट पनि थियो । मैले संघका १५ राज्यहरू मध्ये ११ वटामा घुम्ने मौका पाएँ मैले । क्षेत्रका हिसाबले केन्द्रको शाशनमा युरोपेलीहरूको एकाधिकार जस्तै थियो । युरोपेली नागरिक समाज भने अलि अलमस्त किसिमको थियो । बाल्टिक राज्यका नागरिकहरू आफूलाई विजित र अरू युरोपेलीभन्दा अलग्ग ठान्थे । ककेसियालीको प्रवृत्ति छट्टु मिजासको पाएँ मैले । एशियालीहरू त यसै अनुदार थिए नै । जातिय हिसाबमा भने यहुदी असाध्यै सतर्क जस्ता लाग्थे, ककेसियन दृढनिश्चयी तर असन्तोषि र इस्लामवहुल एसियाली संघबाहिरका मुसलमान जति कट्टर नभए पनि संघका अरू निवासीका तुलनामा अनुदार नै थिए । नारीसमाज पनि त्यसै अनुरूप बनेकोले होला - मेरी उजबेकी केटीमित्र कुमारित्व संरक्षणमा जोड दिन्थी, यहुदी केटीमित्र विहेपछि जीवन कस्तो बन्छ ? भन्ने तय गर्न खोज्थी भने युरोपेली केटीमित्र तत्कालिन उपभोगको मात्र चिन्ता गर्थी ।

सोभियत संघको निर्वाचन पद्धति पनि बढो रमाइलो थियो । एउटा मानिस उम्मेदवार बनाइन्थ्यो, निर्वाचनमा मतदाताले ठिक या बेठिकमा मत हाल्थे । उम्मेदवार नचिनेको या बेठिक लागे पनि कोही पनि मतदानमा गयल पर्न या बेठिक भन्न चाहदैनथ्यो । विकल्प नपाइने स्थितिमा किन गयल पर्‍यो वा किन बेठिक भन्यो स्पष्टिकरण दिनु पर्ने झन्झट कोही पनि उठाउदैनथ्यो ।
साठीको दशकमा नै सोभियत संघमा कुवृत्ति र विरोध देखा पर्न थाली सकेको थियो । गैर्‍हपार्टी सदस्य नागरिकहरूको पार्टी सदस्यप्रति गुनासो गर्ने काम खुली रहेको थियो । उत्पादन उद्योग भित्र पनि संगठना पदाधिकारीहरूको आलोचना शुरू भएको थियो । यो वा ऊ वहानामा काम ठग्ने, कामबाट भाग्ने प्रवृत्ति पनि क्रमश बढ्दै थियो । विदेशी छात्रहरूको उपस्थितिले स्वतन्त्र विश्वको ज्ञान पनि हुन थालेको थियो । ख्रुश्चेवको पतन पछि त्यहाँको पार्टीले केही सन्तुलन बनाए पनि व्यवस्थामा धमिरा लाग्न शुरू गरी सकेको थियो र मैले छोडेको दुई दसक पछि नै पार्टी अधिनायकवादी कम्युनिष्ट शाशनको अन्य भएर विशाल सोभियत संघ टुक्राटुक्रा भयो ।

(अप्रकाशित "मेरो जीवनयात्रा" बाट उद्ध्रित)

राम दाहाल
जोरपाटी, काठमाडौँ 
२०७० वैशाख १३

वागमती (कविता)



हाय वागमती !

हरित वनकी सुन्दर सरिता जलको भाव भरी
कलकल छलछल धावनको चञ्चल वेग धरी
छहरा छङछङ नाघ्दै गिरिका प्रेमसुधारस बोकी
तल तल झर्थी नदी वागमती वाल्य चञ्चल वयकी ।।

बाघद्वार छिरी शैलसुता अमृतधार लिई
शितल बाँड्ने मनसाय लिई जलविस्तार दिई
किशोरवयकी निश्छल सरिता बोकी जलको काया
रजत पक्षी झैँ कावा खान्थी नाघ्दै छाँगा छहरा ।।

बलत्कारीले बाटो छेक्यो बाँधको रूप लिई
भाग्न नसक्ने निर्बल अवला त्यहीँ नै भुँवरी भई
उसलाई चुस्यो कान्तिपुरीले सहस्र धार लिई
शुष्क तनकी आमा भई ऊ स्तन निखारी दिई ।।

शुष्क, बलत्कृत वागमती तल मैदान झरी
घरघरका नाली खनिए वेश्यागमन सरी
गुहेश्वरीले रोक्न सकिनन् वाध्य भए पशुपति
पवित्र नदी वागमती बनाई दिए ढलमती ।।

राम दाहाल
जोरपाटी, काठमाडौँ
२०७० वैशाख १३

Thursday, April 25, 2013

विचार



प्रविधिसँग मेरो सहवास

साठी नाघेका बुढाहरूको जमघटमा म आफूलाई कहिले कहीँ एक्लो पाउछु । बुढाहरू हरिकिर्तनमा गएको कुरा सुनाउछन्, प्रवचनमा सुनेको कुरा बखान्छन् र स्वर्गप्राप्ति कसरी हुन्छ ? त्यसका उपमा ल्याउछन् । पल्टनमा जुनी बिताएका एउटा बुढा रामायण र सुखसागर आद्योपान्त सुनाएर सबैलाई मख्ख पार्छन्, पल्टने उपदेश दिन्छन् र भन्छन् - "भाग्यको लेखा हो सबै । नलेखेको त कहाँ पाइन्छ र ?" दिनभरि ढुंगा बोकेर ज्याला कमाउने बाबुको प्रयासलाई उनी मानिसको भाग्यको कर्म भनेर पन्साउछन् र बाटोमा उसको सानो छोरोले भेटेको सुनको औँठीलाई स्वर्गको बाटो देखाउने हरिभजनसँग दाज्दछन् । उनको कुरा सुनेर कुनै न कुनै रोगले पिडित बुढाहरू मृत्युको डर मानेर 'हरि, हरि' भन्न थाल्छन् ।

'सत्तरी नाघी सके पछि पनि म ती बुढाहरूजस्तो किन हुन सक्दिनँ ? कहिले कही म आफैलाई अचम्म लाग्छ । उनीहरूकाभन्दा धेरै रोगव्याधि मसँग छन् र मेरो समय धेरै छैन भन्ने पनि मलाई थाहा छ तैपनि किन मृत्युको डर मानेर उनीहरूको बाटो समात्न सक्दिन ? कालाजयी म होइन त किन म बुढौतीको लय झिक्न सक्दिन ?

प्रश्न ती सडकछाप बुढाहरूको मात्र होइन । मेरा समकालिन वरिष्ठ विद्वानहरूको दिनचर्यालाई नियाल्दा पनि मैले ती दुईमा त्यति ठुलो अन्तर पाइनँ । आधुनिक विश्व र आधुनिक समाजबाट उनीहरू प्रस्ट अलग्ग देखिन्छन् । हो, तन्देरी जस्तो काम गर्ने सामर्थ्य अवश्य नै उनीहरूमा छैन तर हातखुट्टा चलाउन सक्ने झिनो बल त अझै पनि उनीहरूमा छ र सोच्न र व्यक्त गर्न अझै पनि सक्छन् । तैपनि गर्दैनन् उनीहरू । भन्छन् - "हामी बुढा भयौँ ।" दौडन्छन् पुराण सुन्न, रुद्रि पाठ गराउन, महात्माहरूक प्रवचन सुन्न । शायद मृत्युसँगको डर हो यो उनीहरूको ।

कुराको थालनी त अर्कैतिरबाट भएको हो । मेरा एकजना भाइ मुकुलमणी दाहालले फेसबुकमा लेखे - " दाइ ! तपाई बुढो भएर पनि आधुनिक प्रविधि प्रयोग गर्नु हुन्छ ।" प्रयोग गरेकोमा उनले मेरो सराहना पनि गरेका छन् । त्यसको निम्ति म उनलाई धन्यवाद दिन्छु । तर आधुनिक प्रविधिको उपभोग सबै बुढाबुढीले गरी रहेका छन् । कुनै दिन ढिकीमा कुटेको चामल खाइन्थ्यो, आज मिलमा कुटेको । दाउरा या गुइँठाले पकाइन्थ्यो भात, आज ग्यासमा पकाइन्छ । समाचार लिएर कुदाइन्थ्यो मानिस उहिले, आज सेलफोन उठाएर संसारसँग बोलिन्छ । ढुंगा र माटोले घर बन्थ्यो उहिले, आज कंक्रिटले बन्छ । यी सब प्रयोग गर्न बुढाहरू पछि छन् र ? छैनन् तर बुढाहरू छोरानातिले समाए पछि मात्रै समाउछन् कर लागेर समाए झैँ गरेर । लाज लाग्छ उनीहरूलाई पहिले समाउन । हीनताबोध छ उनीहरूमा कहीँ छोराछोरी, नातिनातिनीहरूले 'पात्तिएको बुढो' भनी दिन्छन् कि भनेर । मैले कम्प्युटर चलाउन साठी पार गरी सकेपछि सिकेको हुँ  र मेरो घरमा यो भाँडो छोराछोरी या नातिको मागले होइन मेरै चाहनाले आएको हो । मेरो घरमा कम्प्युटर नहुदा इ-मेल र हटमेलमा के अन्तर छ ? थाहा नहुदा 'मेरो विदेशमा बसेको छोरोलाई हटमेल गरिदेउन' भनेर साइबर केन्द्रमा पुग्दा त्यहाँ बस्ने सबैले हँस्यौली गरेका थिए मेरो । अहिले मेरो १३ वर्षे नाति मभन्दा धेरै जान्दछ कम्प्युटर बारे र मलाई लाज लाग्दैन ऊसँग सिक्न ।

कम्प्युटरको माध्यमाट म आधुनिक विश्वसँग सम्पर्क राख्न सक्छु । कुनै पनि चिज पढ्न सक्छु । केटाकेटीसँगै उच्छ्रिङ्खल पनि भई दिन्छु । म बिथोविन पनि सुन्छु, पप संगित सुन्न पनि हिचकिचाहट छैन । रोमियो म हुन सक्दिन तर बुढाको पनि प्रेम हुन्छ भन्ने म ठान्छु । रोगले म मिठो खान सक्दिन भन्दैमा हलुवाई पसलमा नै छिर्नु हुन्न भन्ने त छैन नि ।

म फेसबुकमा हेर्छु । त्यहाँ मेरा मित्रका पङ्तीमा ९०% युवाहरू छन् । ट्विटरमा छिर्छु । झन त्यहाँ त तन्देरी गफ चली रहेका हुन्छन् । ट्विटरमा त झन् के कुरा ? तर साठीको दशक नाघेका त औँलामा गने पुग्छ होला त्यहाँ पनि। नामोनिसान छैन बुढाहरूको । त्यसैले पनि धेरै जसो लेखनी म युवाहरूका निम्ति लेख्छु र मेरो बुढा मित्रहरूबाट पात्तिएको बुढोको नाम पनि कमाउछु तर जे होस्, मलाई इन्कार दुवै थरीले गरेका छैनन् । मलाई यसैमा सन्तोष छ । 

राम दाहाल
जोरपाटी, काठमाडौँ
२०७० वैशाख १२

मेरो जीवनयात्रा



मेरो जीवनयात्रा
हाम्रो घर


(यो लेख मूलघर हुदै लेखिएकाले यसको अस्तित्व यहाँ देखाएको छ तर नेकपा माओवादीले यसलाई ध्वस्त पारिसकेकाले मूलघरको अस्तित्व अब छैन।) 

भन्ने गर्छन् हाम्रो घर सम्पन्नताको प्रतिक हो। यो घरमा बस्नेले आफूसँग केही नभए पनि सम्पन्नताको पदवी पाउछ। आमाको शेषपछि हामी दाजुभाइ परदेश बस्न थालेपछि हामीले घरकुरुवा राख्यौ र त्यो सम्पन्नताको झुटो पगरीले उनीहरूलाई सधैं नै पिरोल्यो। उनीहरूलाई त्यो घरमा आइपुग्ने जोसुकैले पनि असम्पन्न मान्न सकेनन्। हात्ती चढेर हिडनेका घरमा अन्नको दाना छैन पत्याउनै गाहारो हुन्थ्यो। मेरा बाजेको मृत्युपछि असम्पन्नतातिर लागेको त्यो घर चालिस वर्षपछि त्यो घरमा बस्ने पछिल्लो व्यक्ति त्यो घरकी कान्छी बुहारी, मेरी आमा, मरेपछि त्यो घर उजाड भयो। घर छोडेर समयको दौडसँगै कुदेका हामी दुई दाजुभाइ घरतिर फर्कन सकेनौं र बेवारिसजस्तो त्यो घरलाई  घरकुरुवाको भरमा छोडियो। 
पर्ल.एस.बकले ठीकै चित्रण गरेकी छन् कि सम्पन्नताले मानिसलाई दुर्व्यशनतिर धकेल्छ। मेरा घरकुरुवाहरूलाई पनि त्यही रोगले छोयो। एउटाले हुँदोखाँदोको सुखी परिवार छोडेर आफ्नो आधा उमेरकी केटी टिपेर मुग्लान भासियो। घरमा नातिनाति भएकी अर्की आफूभन्दा १०।१५ वर्ष कान्छो केटो टिपेर बेपत्ता भई। तेश्रो, परिवारको झिटिमिटी सि्रध्याएर बहुलाउदै बेपत्तियो। पाखो खोरिया खोस्रेर पनि खान नपाउने मानिसहरू त्यो घरभित्र पसेपछि सित्तैमा पाएका जमिनमा पाटा गरा खनजोत गर्न गाहारो मानेर खेताला खोज्न थाल्दथे। भनिन्छ त्यो घरभित्र पस्ने वित्तिकै सम्पन्नताको मद चढ्छ र त्यो मदले उनीहरूलाई विकृत बनाउछ।
मेरी बजै भन्ने गर्थिन् ― “यो घरको मूलीलाई खान्छु भनेर मसानले सधैं हेरिरहेको हुन्छ। त्यसैले त्यसले कि खाएर नै छाड्छ कि बुद्धि भ्रष्ट पार्छ।
हाम्रो घरको जस्केलोबाट निस्किने बित्तिकै मायाखोल र पिलुवा खोलाको राम्बेनी भन्ने दोभान देखिन्छ र दोभानमै सधैँ लाश पोलिने चप्लेटी परेको ठुलो ढुंगो पनि देखिन्थ्यो। मेरी आमाले पनि दोहोर्‍याउने गरेको सासूको त्यो भूतको कारण नै त्यही मसान थियो। औषधीमुलो बिनाको त्यो दुर्गम गाउँमा अकाल मृत्यु आरहन्थ्यो र मृत्युसँग सधैँ नै डर थियो सबैलाई। दोश्रो, गाउँको परिवेशमा त्यो सम्पन्नताको प्रतिक घरभित्र पस्ने बित्तिकै त्यो घरले दिलाउने मर्यादालाई असम्पन्नले धान्न गाहारो थियो र ढिकीमनिको धनराशिमाथि उभिएकी कंगालको धनअभिमान बढेजस्तै अभिमान बढेर सम्पन्न झैं व्यवहार गर्ने प्रयाश गर्थ्यो जसलाई धान्न नसकेर बुद्धि भ्रष्ट हुन्थ्यो। घरमालिकदेखि कुरुवासम्म कि मृत्युको शिकार भए कि दुर्बुद्धिको। 
मेरा बाजेले घर बनाउन सुरु गर्दा त्यो सय रोपनीभन्दा बढीको कित्तालाई घर, बगैंचा, बारी र खेत गरी चार भागमा विभाजन गरेका थिए र घर, बारी र बगैंचालाई चारैतिरबाट अल्गो ढुगांको पर्खालले घेरेका थिए। घरहरूको क्षेत्र घेर्ने भित्री कम्पाउन्ड बनाए र बाहिरी कम्पाउन्डले बारी र बगैंचासमेतलाई घेर्छ। बाहिरी कम्पाउन्डको दक्षिण र पश्चिमतिर खेतहरू थिए त्यो बेला र कम्पाउन्डसँगै जोडिएर समानान्तरमा उत्तर र पूर्वमा ढुंगा छापेर सिँढी बनाएको चैनपुर र तेरथुम सदरमुकाम जोड्ने मूलबाटो अझै छँदैछ।
चालिस हात लम्बाइ र पच्चिस हात चौडाइको हाम्रो मूलघर छ। दुई हात मोटो दिवाल भएको त्यो घरमा चार तला छन्। घरलाई चौडाइतिर तीन भागमा बाँडिएको छ र लम्बाइतिर पाँच भागमा। त्यसैले घरलाई तीन कवल भएको भन्दा हुन्छ। यो विभाजन त्यो घरलाई थाम्नु पर्ने दिवाल र खम्बाहरूले निश्चित गरेका छन्। भैंतलाको अगाडिपट्टि चार ठाउँमा जोर थाम(खम्बा) र थाममाथि जोर निदाल राखिएका छन् र यिनै थाम र निदालले चार तलासम्म थामेका छन्। घरको लम्बाइपट्टिको पहिलो खण्डलाई हामी दलान भन्ने गर्छौ। दलानको थामबाहिरपट्टिको छानोले छोपेको भागलाई पिँढी भन्छौं हामीहरू। दलानको अन्त्यमा भएको मूलढोकाबाट भित्र छिरेपछि दायाँ पट्टि भरेङ छ जो घरको बुइँगलसम्म पुग्छ। बायाँपट्टि पानीका गाग्राहरू राख्ने गग्रेटो छ र गग्रेटोभन्दा पर बाहिर निस्कने जस्केलो छ। घरको तेश्रो र चौथो खण्डमा दायाँपट्टि भान्साचौका र वायाँपट्टि चारैतिरबाट आगो ताप्न हुने गरी बनाएको  अँगेनाको एकातिर घरका लोग्नेमानिस र मूलमहिला बस्ने स्थान बनाइएका छन् र अर्कोतिर  आवतजावतका निम्ति बीचको भाग मझेरीको नाममा खाली राखिएको छ। अन्त्यको पाँचौं खण्ड चारैतिर दिवाल लगाएर कोठा बनाइएको छ जसको मझेरीकै सामु खुल्ने ढोका भए पनि भित्र कुनै झ्याल छैनन्। यसलाई भँडारकोठा भनिने गरिन्छ। त्यही अँध्यारो कोठाको पल्लो छेउको भरेङबाट उक्लदा माथि गुप्तीकोठामा पुगिन्छ। पहिले गुप्तीकोठामा पुग्ने त्यही एउटा बाटो मात्र थियो पछि मेरी आमाले त्यो कोठामा अर्को ढोका राखेर ठुलो भरेङबाट पनि पुग्न सकिने बनाइ दिइन्। पहिलो तलामा यस्तै विभाजन भए पनि मझेरी र भान्साखण्ड धान राख्ने ढुकुटीमा परिणत भएकाछन् तर आज धान छैनन् र ढुकटी रित्ता छन। बाँकी खण्डहरू कोठामा। तेश्रो तलामा मानिस सुत्ने कोठाहरू मात्रै छन् जहाँ भैंतलाको भान्साखण्डमाथि आवतजावतको निम्ति खुला राखिएको छ। चौथो तला जसलाई हामी बुइँगल तला भन्छौ दलानमाथि एउटा र भँडारकोठामाथि एउटा गरी दुई कोठा बनाइको अरू खाली छोडिएको छ। मेरा बाजेका पालामा त्यहाँ पनि धानढुकुटी थियो रे। मैले देखिनँ। मेरो थाहा पाउदा त अहिले काम नलागे पनि पछि काम लाग्न सक्छ भनेर राखिएका सामान मात्र हुन्थे त्यहाँ।
घरको प्रत्येक तलको उचाइ आठ फुट छ जो त्यो समयमा अल्गो नै मानिनु पर्छ। घरमा ठूलो मात्रमा साल र चाँपोका काठ प्रयोग भएका छन्। घरमा लगाइएका चालिसभन्दा बढी झ्याल र ढोकाहरू काठमाडौं उपत्यकाका सिकर्मी प्रयोग गरेर बनाइएका थिए जो वीसौं शताव्दिका अभिलेख्य कलाका नमुना बन्न सक्छन्। घर झँगटीले छाइएको छ र घरको दोश्रो तलाको दक्षिण र पश्चिमतिर बार्दली बनाइएको छ र सो तलाका सबै कोठाबाट त्यहाँ निस्कन मिल्छ।
मूलघरको अगाडि ढुंगा छापेको ठूलो आँगन छ र आँगनको पल्लोछेउमा हामीले मतान भन्ने गरेको मूलघरसँग मिल्दो जुल्दो सानो तीनतले घर छ। यो घरमा दलान र बार्दली भने छैनन्। अगाडि लाछी छानो भएको पिँढी भने मूलघरको भन्दा फराकिलो छ। मतानको पश्चिमपट्टि खरको छानोले छाएको ढिकी, जाँतो र बाख्राको खोर घर थियो जुन पछि मेरी आमाले भत्काएर अर्कै ठाउमा सार्न लगाइन्। मतानको पश्चिमपट्टि ढुंगा छापेको बाटोभन्दा पर दुईतले घर थियो जसलाई हामी पल्लो कटेरो भन्ने गर्थ्यौ जसको भैंतलामा गाईवस्तु र घोडा बाँधिन्थे र मेरा बाजेका पालामा त्यहाँ पनि धानको ढुकुटी थियो रे। सो भने मैले देखिनँ। मैले थाहा पाउदा त त्यो माथिल्लो तलामा पराल राखिन्थ्यो। मूलघरको उत्तरपश्चिमपट्टि पनि गाईवस्तु बाँध्न र पराल, काठपात आदि राख्न अर्को दुईतले कटेरो थियो। त्यसलाई पनि आर्थिक असामर्थ्यता बढ्दै गएपछि मेरी आमाले भत्काएर फालिदिइन्। 
हाम्रो बगैंचा ठूलो थियो। त्यहाँ सुन्तला जातका अमिला फलफूलको वाहुल्यता भए पनि नासपाती, अनार, खन्युँ, अन्जिर आदि फलका बोट पनि थिए त्यहाँ। हामी केटाकेटी छँदा बिहानै खन्युँका जरा खोतलेर फल टिपेको सम्झना छ। फूल पनि पर्याप्त थिए त्यहाँ। आवधिक फूलहरू त यसै हुने नै गर्थे। सो बाहेक जाई, जुही, चमेली, कटरचम्पा, कनकचम्पा, हसना आदि स्थायी फूलका बोट पनि थिए। घरको पूर्वतिर थियो बगैंचा र बेलुकीपख पूर्वी हावा चल्दा घरै मगमग हुन्थ्यो। मेरी आमाको मृत्युपछि भने त्यसको खास रेखदेख गर्ने मानिस नभएपछि त्यो क्रमश मासिदै गएको छ।
मूलघरको पश्चिमतिर लामा मैदान गराहरू छन् र तिनलाई बारी भन्ने गरिन्छ जहाँ हरिया खानका निम्ति मकै, तरकारीका निम्ति फर्सी, काँक्रा, घिरौंला आदि लगाइन्थ्यो र केटाकेटीमा हामी काक्राका झ्याँगमा झुत्ती खेल्थ्यौं। हिउँदका दिनमा ती लामा पाटा गरामा फुलेको तोरीले त्यो पाटो नै पहेँलपुर हुन्थ्यो। आफ्नो कित्ताको प्रत्येक कुनामा मेरा बाजेले बाँसका झ्याँग लगाएका थिए र ती मौलाएका बाँसहरू अझै पनि छन्।
मेरा बाजेले कसो गर्थे त्यो मलाई थाहा छैन तर उनको सेखपछि भने मेरी बजै र पछि मेरा बडाबाहरूले पञ्चैबाजा बजाउदै बेठी लगाएर त्यहाँको खेत रोपाएको र सबैले मासुभात खाएको मलाई थाहा छ। 
मेरा बाजेबजैको यो घर, जग्गा अंशबण्डा भयो र बगैंचा र खेतको माथिल्लो भाग जेठा बठाबाको भागमा पर्‍यो र खेतको तल्लो ठूलो भाग साँहिला बडाबाको अंशमा गयो। जेठा बडाबाको घर बगैंचाको सिरानमा बन्यो र साँहिला बडाबाको घर कम्पाउन्ड अगाडिको खेतमा। त्यसैले बाँकी रहेको जमिन र मेरा बाजेले बनाएको सबै निर्माणको जिम्मेवारी, मेरा बाबु म अढाई वर्षको र मेरो भाइ चार महिनाको हुदै २२ वर्षको उमेरमा मरेकाले, मेरी आमा लिन वाध्य भइन् र उनले आफ्नो जीवनभर यथासम्भव त्यसलाई सँभाल्न प्रयास गरिरहिन्।
आज ती पल्लो, तल्लो कटेरो, ढिकीजातोघर कुनै पनि छैनन्। छन् त सुक्न लागेका फलफूलका बोटहरू। घर मर्मत हुदै गएको र घरकुरुवा घरमा बस्दै गरेकाले घर त यथावत नै छ तर कम्पाउन्डका पर्खाल लड्न थालेका छन् र छापिएका ढुंगा उप्कन थालेका छन्। साँहिलाबाबुको घर जग्गा त बेचि नै सके। जेठाबाबुका छोरा एक्लै घरमा बसेका छन्। त्यो घर र जग्गाका एकएक बित्ताका निम्ति 'तेरो र मेरो' भन्दै झगडा गर्ने मेरी आमा र मेरा बडाबाहरू छैनन् र हामी उनीहरूका सन्तान अब त्यो ठाउँ बस्ने सम्भावना पनि छैन।  

साभार अप्रकाशित 'मेरो जीवनयात्रा' बाट