Monday, January 18, 2010

सुझाव माओवादीलाई पनि


हामी वाल्यकालमा सोच्थ्यौं जात फालेपछि मात्रै प्रगतिशिल होइन्छ र त्यसैल हाम्रा अभिभावक भन्दा पर गएर धोती नफेरी जनै निकालेर भात खान्थ्यौं। स्तालिनको जुँगा, लेनिनको बोके दार्‍ही र मार्क्सको लामो कपाल र दार्‍ही नचिन्ने मानिसमा प्रगतिशिल धारणा हुनै सक्दैन भन्ने मान्यतामा कम्युनिष्ट बाहेकालाई हामी देशघाती नै देख्थ्यौं। माओ त आलाकाँचै थिए त्यो बेला त्यसैले उनको कुरै रहेन। नपत्याए विक्रम सम्वत्को पहिलो या दोश्रो पुस्तामा केटाकेटी हुने राजनितिज्ञहरूलाई सोधनी गरे हुन्छ। जवाहरलाल नेहरु र विश्वेशर कोइराला समेत मार्क्सको दार्‍ही हेरेर नै समाजवादी बनेका हुन् कम्युनिष्ट बन्न नसके पनि। आज सोभियत संघ छैन र माओ सुट मात्रै लगाउन पाइने लाल चिनमा देङ ज्याओ पिङको अमेरिकी पूजिवादको प्रभावले सप्तरंगी लुगा आइसके र मार्क्सको साम्यवादका लक्षण मध्ये चिनमा अब अधिनायकवादी कम्युनिष्ट शाशन मात्रै छ तर चिनमा मार्क्सका परिभाषामा पर्ने धनी छन् र गरिब पनि छन्, पूँजि र शोषण छ र असमानता पनि छ। आजको चिनमा साम्यवादतिर जाने सानो सिन्को जत्रो लक्षणसम्म पनि देखिदैन तैपनि नेपालका माओवादी सोच्दछन् कि माओवाद मात्रै अकिञ्चन सत्य हो र समाजका हाम्रा केटाकटीमा फेरि उही पुरानो मान्यता र डर कायम छ – माओवादीको विरोध गर्नु भनेको अप्रगतिशिल हुनु हो, प्रतिगामी हुनु हो। अर्ध माओवादी वामदेव देखि प्रचण्ड माओवादी प्रचण्ड समेत सोच्छन् कि कम्युनिष्ट अधिनायकबाद मार्क्ससको देववाणी हो र भष्माशुर झैं जे मिल्यो त्यो ध्वंश गर्दै जानु कम्यनिष्ट साश्वत अधिकार हो किनकि वर्तमानको खरानी मात्रै साम्यवादको जग उठाउन सकिन्छ र यो सोच आजको कम्युनिष्टको होइन, मार्क्ससको परिभाषा नै हो। माओको महान साँस्कृतिक क्रान्ति शान्तिको समयमा सत्ताधारी द्वारा भएको कहिले पनि बिर्सन नसकिने ध्वंसकारी भष्माशुरी उदाहरण हो। एक चौथाइ जनता बाँकी रहे पनि साम्यवाद ल्याएर नै छाड्ने माओको अठोट त तुही नै सक्यो तैपनि चिन दक्षिणका माओवादी दश लाख नै भए पनि मानिस मराएर साम्यवाद ल्याउने सपना पालेर बसेका छन्। मलाई लाग्छ यो उनीहरूको विश्वास भन्दा पनि आफ्नै कार्यकर्ता र नाबालक सर्वसाधारणहरूलाई झुक्याई राख्ने एउटा चाल मात्रै हो। एउटा भएको घर भत्काएर त्यसको खरानीमा तितेपातीको भित्तोको घर बनाउनु माओवादी प्रगतिशिल उद्देश्य ठान्दछन् जब कि प्रगति त त्यो घर नभत्काइ अर्को घर बनाउनुमा हो। आजसम्म नेपालका माओवादीले भत्काउने बाहेक बनाउने काम नै गरेका छैनन् भने भोलि बनाउछन् भनेर पत्याउने आधार पनि केमा छ र? भत्काउने, टुक्य्राउने, मार्ने, मराउनेमा सीमित माओवादी काम अझै पनि माओवादी छोड्दैनन् र हामी नागरिकका अगुवा हौं भन्ने देवेन्द्रराज पा48डे या डा.सुन्दरमणी दिक्षित जस्ता कहीं माओवादीले आफूलाई सामन्ती भनिदिन्छन् कि भन्ने डरले माओवादीका खराब कामलाई खराब भन्न हिचकिचाउछन् भने छोरो अमेरिका पुगेको बखान्ने नव संभ्रान्त माकुने विरोधी खगेन्द्र संग्रौला जस्तालाई त एमाले र नेपाली कांग्रेसले गरेका नराम्रा कामलाई मात्र अगाडि ल्याएर गाली गलौज गर्नमा नै फुर्सद हुदैन। दश लाखको चिहानमा गुलाफ फुल्दैन, तितेपाती मात्रै उम्रन्छ र त्यो तितेपातीको जंगललाई बगैंचा ठान्नु बालुवामा बस्नेको भ्रम हो। यो सत्यलाई पहिले तातो रगतका किशोरलाई बुझाउनु आवश्यक छ र त्यसरी नै बुझ्न आवश्यक छ क्याम्पमा रहेका माआवादी सेनाले पनि। रह्यो परिवर्तनको कुरा । त्यो त समाजको क्रमशः रूपान्तरणको शान्तिपूर्ण प्रकृया हो। सामन्तहरूका महासामन्त भनिने राजासत्ता नरहेपछि सामन्तवादलाई पूजिवादले स्वतः विस्थापित गर्दै जाने प्रकृया हो। चिनमा नै पनि कम्युनिष्ट सामन्तवादलाई विस्थापित गर्न देङले पूँजिवादलाई भित्य्राउनै परेको थियो। एक रातमा नै एउटा युगको अन्त्य त समाजका सबैलाई शत प्रति शत नष्ट गरेपछि मात्रै हुन्छ। त्यसैले घर भत्काएर, जग्गा कब्जा गरेर , देश बन्द गरेर, अशान्त भिड खडा गरेर जनता माथि जाइलाग्नुको साटो वहुशंख्यक दलहरूलाई साथमा लिई शान्तिपूर्ण प्रयासमा लागेर परिवर्तनलाई प्रोत्शाहित गर्दै जानु श्रेयकर हुन्छ देशको निम्ति पनि र माओवादीको निम्ति।

राम प्रसाद दाहाल
जोरपाटी – १
काठमाडौं
dahalram@gmail.com