Sunday, December 18, 2005

चिहानडाडा नरसंहार ः शाहीसेनाको निम्ति चुनौती


गाउँघरका धार्मिक जात्रा, मेला बुढाबुढीका निम्ति तिर्थ गर्ने स्थल हुन्छन भने युवायुवतीका निम्ति नाचगान गर्ने मनोरञ्जनका अवसरहरू र केटाकेटीका निम्ति हँसीखुशीका चाहाड । यस्ता जात्राका मध्य रमझममा युवायुवती बिच मर्यादा भित्रका छेडखानी चल्छन, घोचपेच हुन्छन । यो सामान्य कुरा हो । तर त्यसमा कसैले मर्यादाको सीमा अतिक्रमण गर्‍यो भने उसले भनाइ खान्छ र कहिले कही त पिटाइ नै पनि । यस्ता भनाभन या झगडालाई 'जात्रे झगडा' भनिने हुनाले कसैले पनि यसलाई गम्भिरता साथ लिएर प्रतिशोध पट्ट लाग्दैन । भारदार, राजा, महाराजाहरू नपुग्ने तर आमजनताको सहभागिता हुने पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जात्रा, मेलाहरूको रूप यस्तै हुन्छ जहाँ सबै समान हुन्छन र जहाँ कसैले पनि आफ्नो पदिय मान खोज्दैन र खोजे पनि पाउदैन । नगरकोटको चिहानडाडामा लाग्ने मेला पनि यो भन्दा फरक हुनसक्दैन । त्यहाँ पनि गाउलेको मर्यादा अतिक्रमण गर्ने सिपाही (हरू?)ले अवश्य नै भनाइ या पिटाइ नै पनि खायो । त्यो सिपाहीले 'जात्रेझगडा' भनेर त्यसलाई बिर्सिदिएको भए हुन्थ्यो तर आफूलाई सामान्य नागरिक भन्दा माथिको सिपाही ठान्ने स्वगर्वले उसलाई प्रतिशोध तिर पठायो । सामान्यतः व्यारेकको नजिकै हुने गाउले सँग सिपाहीको गुनासो भए झैं त्यहाँ पनि त्यो गुनासो बोक्ने मानिसले उसलाई उक्साए होलान - 'राजाको सीन्दूर पहिरेको सिपाही छोरोले गाउलेको कुटाइ खाएर आएको !' अति सामान्य त्यो युवालाई यस्तै एउटा सामान्य भनाइ पनि अपराधिक कार्य तिर धकेल्न पर्याप्त भयो होला ।

ब्यारेकको सिपाहीलाई मेलामा जाने छुट दियो कसले ? आधा रातमा सादा पोशाकको सिपाहीलाई हतियार लैजान स्विकृति किन र कसले दियो ? घटनास्थलको प्रहरी मुचुल्का हुनु अगाडि नै शाही सेनाले त्यो ठाउँको सरसफाइ गरेर र गोलीका खोका या यस्तै अरु सामान हटाएर घटनाका दशी, प्रमाण नष्ट गर्‍यो किन ? यी सब कुरा त गठित आयोगहरूले केलाएर जन समक्ष ल्याउला नै तर त्यो भन्दा अगाडि नै चर्को रूपमा संचारका विभिन्न माध्यममा 'मारिने जनजाती तर मार्ने खस, आयोग बनाउने खसहरू र आयोगका सदस्य जम्मै खसहरू' भन्दै आयोगहरूलाई नै अविश्वासको घेरामा तान्न थालिएको छ । अर्को तिर सरकारद्वारा गठित आयोगका अध्यक्षद्वारा प्रस्तुत कतिपय पूर्व प्रतिवेदनहरूमा सरकारले कुनै कारवाही त के ? तिनलाई सार्वजनिक नै पनि नगरेकाले यो आयोग पनि सत्य पत्ता लगाएर कारवाही गर्न भन्दा मुख टाल्न गठित भएको भन्ने त यसै पनि छदैछन । शुरु हुदै शङ्काको दायरामा बेरिएका आयोगहरूमा जनजातीका प्रंतिनिधिलाई सहभागी बनाइएन भने त्यसको औचित्य र तटस्थता प्रमाणित गर्ने काम फलामको चिउरा सरह हुनेछ र आयोगमा त्यो प्रमाणित हुन सकेन भने शाही सेनाको विश्वासनियता धरापमा पर्न सक्छ ।

प्रश्न उठछ - सामान्य विवादले त्यत्रो रूप लियो किन त - यो प्रश्नको उत्तरको खोजीमा सेनाको गठन विधि तिर हेर्नु पर्छ । एउटा काँचो माटो जस्तो १८ वर्षे युवालाई कुनै एउटा आस्थाको संरक्षणको निम्ति पोलेर, पिटेर, ठोकेर पाइन चडाइएको व्यक्तिको नाम सिपाही हो र अनुशाशन र मर्यादाको सीमामा बाँधेर राखिएका यस्ता सिपाहीहरूको समूह नै सेना हो । मध्ययुगिन सामन्तकालमा यस्ता सेनाको आस्था राजभक्ति हुन्थ्यो र उनीहरू राजा र राजाको स्वामित्व भनिने राज्यलाई संरक्षण दिन्थे । रैती, प्रजा या जनता भनिने समूह नासिए अर्को समूहले त्यो स्थान भर्छ भन्ने धारणा थियो त्यो समयमा । तर आजको सिपाही र सेनाको आस्था जनताको सर्वोच्चता हो र सेनाको जिम्मेवारी उनीहरूको संरक्षण गर्नु हो । शाशकको संरक्षण त ऊ जनप्रतिनिधि शाशक भएकोले मात्रै हुने हो । त्यसैले लोकतान्त्रिक शाशन व्यवस्थामा एउटा सिपाहीलाई उसको तालिमको समयमा नै 'तेरो मालिक जनता हो र तँ जनताको सेवक सिपाही होस' भनेर जनताको सर्वोच्चता घोकाइन्छ । हाम्रो शाही सेनाको जवानलाई त 'तँ राजाको सिन्दूर पहिरेको सिपाही होस र देश(राजाको राज्य) र नरेश (राजा)को संरक्षण तेरो जिम्मेवारी हो' भनेर पढाइन्छ । अझ 'राजाको सिपाही कसैको सामु हारेर र्फकदैन, एकको बदला चार दिन सक्नु पर्छ' पनि भनिएको हुन्छ । यही जनता सँग नहार्ने मानशिकताले एउटा सिपाहीले जात्रेझगडालाई आफ्नो अपमान ठान्यो र चिहानडाडामा नरसंहार मचायो ।

सिपाही ब्यारेकमा रहुन्जेल यस्तो मानशिकता सुसुप्त थियो तर सेना सडकमा ओर्लिए पछि त्यो मानशिकता र जनमानशिकता बिच द्वन्द शुरु भएको परिणाम हो यो नरसंहार । यस्ता घटना संचार माध्यमको दृष्टि भन्दा पर जिल्लाहरूमा नभएका होइनन तर राजधानीको संघारको यो घटनाले देशका सारा संचारमाध्यम, मानवअधिकारवादी समूह र राजधानी स्थित विदेशी निकायहरू समेतको दृष्टि एकै चोटी पुगेकोले घटना छताछुल्ल भएको हो र भोलि यस्तै घटना राजधानीको मुटुमा हुन सक्ने सम्भावना सेनाको अहिलेको नै टाउको दुखाइ हो । सेनाले आफूलाई जनसर्वोच्चता मातहतका जनसेवक र जनसंरक्षक सेनाको रूपमा परिवर्तन गर्न सकेन भने सेनाका प्रत्येक व्यक्तिले आफूलाई आफ्नै आमाबाबु, दाजुभाइ, दिदीबहिनी भन्दा परको शाशकको रूपमा मात्र पाउने छन । सोच्ने बेला आएको छ शाहीसेनाका सबैले ।

राम दाहाल
ramdahal@hotmail.com

Sunday, December 11, 2005

पूर्वको एउटा शालिक



नौरङ्गी नखरा देखाएर एउटा पार्टी खोले पछि केशर बहादुर विष्ट त २०४७ साले प्रतिकार समिति जस्तो भिमकाय मंत्री परिषदमा छिरे भने सरकार बाहिर हुदा नै सरकारका अघोषित प्रवक्ता जस्ता कमल थापा, रोशन कार्की या अरु यस्तै पूव पञ्चहरू सरकारमा सामेल हुनु स्वाभाविक भएकोले यो पुनर्गठनलाई अब पूर्व पंच र आफ्नै दलहरूले निकालेका-दुत्कारेकाहरू (वद्रि मण्डललाई छोडेर) को पंच भेला भने हुन्छ । तर यो मंत्री परिषदको औचित्य पुनर्गठन भन्दा पहिलेको मंत्री परिषदको भन्दा बढी भने छैन । चार वटा गतिला गोरु पाइएनन भनेर ५० वटा बोका मियोमा बाँधेर दाइँ कही पनि भएको छैन । तिनीहरूले त बेकार बडकुल्याएर पराल मात्र फोहोर पार्छन । त्यो भन्दा त खलो धनीले एक्लै धान झाँटे धेरै उपलब्धि हुन्छ । यो बारे यति नै ।

पूवांचलको कोशी राजमार्गको धरान आइपुग्दा हामी धरानको भानुचोकमा भानुभक्तको शालिकले ठाउँ पाएको देख्छौं । राजमार्ग या सहरका ठूला चोकहरूमा आफूलाई राजभक्त देखाएर दुनौ सोझ्याउनेहरूले ठडयाएका राजा-महाराजाहरूका शालिक देख्ने बानी परेका नेपाली स्रष्टा प्रति विरलै देखिने यो सन्मानको निम्ति धरानवासी प्रति कृतज्ञ हुनै पर्छ । यो बाटोमा अरु पनि शालिक छन । यो बाटोले पूव-पश्चिम राजमार्गलाई काटने इटहरी चोकमा संवैधानिक राजतन्त्रका संस्थापक राजा वीरेन्द्रको शालिक छ तर यो शालिक गरिब रैती भानुभक्तको जस्तो छाती माथि टुसुक्क होइन, राजसी ठाँटको पुरै आदमकदको छ । त्यो असमानता बनाउनेहरू सँग भएको तस्विरको उपलब्धताले हुनसक्छ या उनीहरूले जुटाउन सकेको रकमको कारणले पनि । यो राजमार्गको अन्त्यको ५ किलोमिटर उत्तर बिराटनगरको महेन्द्र चोकमा पंचायत व्यवस्थाका प्रवर्तक राजा महेन्द्रको शालिक छ । बाबुछोरा राजाहरूको शालिकमा प्रत्यक्ष त्यति ठूलो अन्तर नदेखिए पनि राजा वीरेन्द्रको शालिकको नजिकै प्रत्यक्ष सुरक्षाकर्मी नदेखिने र राजा महेन्द्रको शालिकको १० मिटर मात्र पर संगिन सहितका सुरक्षाकर्मी तैनात देखिनाले शाशकवर्गले त्यो शालिक बढी असुरक्षित अनुभव गरेको हुनु पर्छ ।

यही राजमार्गमा सुनसरी र मोरङको सीमानामा दुहुवी भन्ने सानो बजार छ र बजारको पुछारमा सीमानाकै छेउमा सडकको विचमा भूपालमान सिं कार्कीको शालिक छ जसको नाम कतिपय इटहरीका युवाहरूलाई पनि थाहा छैन । त्यो शालिक किन त्यहाँ ठडियो - यो प्रश्नको जवाफ धेरैले दिन सकेनन र जसले दिए उनीहरूले यति मात्र भने - 'यो बजार उनले बसाएका रे ।' दुई राजाका बिचको यो शालिकको अर्को औचित्य कसैले दिएन ।

अमेरिकीहरू पहाडमा खोपिएका तीन मूर्तिलाई देखाएर गर्व साथ भन्छन - 'यी हाम्रा लोकतान्त्रिक गणतन्त्रका संस्थापक र संरक्षक हुन ।' त्यसै गरी भारतियहरू एउटा जिर्ण्र्ााय बुढाको शालिक अगाडि निहुरेर आदर साथ बरबराउछन - 'पिता † हाम्रो स्वतन्त्रताको लागि हामी तपाई्र प्रति रिणी छौं ।' सिंहदरबार अगाडि पुग्दा प्रत्येक नेपालीले भन्न सक्छ - 'उनी नभएको भए आजको नेपाल बन्ने थिएन ।' आफ्नो घर भित्र बाबु बाजेको आदमकद मूर्ति नै स्थापना गरे पनि कसैको चासोको विषय हुनसक्दैन तर र्सार्वजनिक स्थानमा ठडिने शालिकले त देशको, जनताको प्रतिनिधित्ज गर्छ । त्यो स्थान त सम्पर्णा देशवासीको भलोको निम्ति कार्य गर्ने सन्त र बहादुरहरूलाई दिइन्छ र यसको अन्यथा प्रयोग भनेको शक्ति र अधिकारको दुरुपयोग हो । यसै भनेर होला कुनै समयमा राजधानीका चोकचोकमा ठडिएका राणाशाशकका शालिकहरू कुनाकुनमा लगेर खाँदिए ।

राजा-महाराजाहरूका शलिक त शक्ति र सत्ताका प्रदर्शन हुन र शक्ति र सत्ता अन्त्य भए पछि राणाशाशकका शालिक झैं कुनामा मिल्किएर बस्दछन । संसारकै इतिहास यही भन्छ । त्यसैले ती शालिकका बारेमा अरु औचत्यको आवश्यकता पर्दैन । भूपालमान सिं कार्कीको शालिक भने ठडियो किन ? बस्ती बसाल्दैमा सार्वभौम नेपालीको छाती जस्तो राजमार्ग र सडकमा शालिक उभ्याउन पाइने भए अनगिन्ति ठडिने थिए शालिकहरू यो देशका बस्तीहरूमा । तर वास्तविकता त्यो भन्दा धेरै परको छ ।

भूपालमान सिं कार्की एउटा सामन्त हुन भन्ने कुरामा त कसैको दुई मत हुन सक्दैन । सामन्तहरूको काम जमिन आवाद गराउन बस्ती बसाल्नु, ती बासिन्दाले उब्जाएको मध्ये धेरै आफूले लिनु हो । आफ्नो र आफू समान सामन्तहरूको उत्पादन भण्डार गर्न र बेचबिखन गर्न गोदाम बनाउने र काँटा राख्ने काम गर्छन मूल सामन्त र कार्कीले सो भूमिका पुरा गरेका पक्कै हुन । दुहुवी बजार यही प्रकृयाको उपज हो । त्यो भन्दा पनि अझ भूपालमान सिं स्थानिय सामन्त भारदार प्रतिनिधि हुन । उनले राजसभाको अध्यक्षता झण्डै आधा शताब्दि सो भारदारी प्रतिनिधित्व गरे वापत पाएका हुन, कुनै राजनैतिक, सामाजिक या वौद्धिक गरिमाबाट होइन । तिनै सामन्त भारदारको प्रतिनिधि प्रतिमा स्थापना गराउने भारदारको चाहनालाई ऋषि धमलाको डबलीमा मात्र 'लोकतन्त्र' भनेर कुरा छाँटन सक्ने सामन्त सँस्कृतिका दलिय नेताहरूले भूपालमान सिं पुत्रलाई सरुवा र बढुवा गराउन कानुन नै मिचे झैं सार्वजनिक भूमिमा भूपालमान सिंको शालिक ठडयाउने स्विकृति दिए । एउटै सामन्त सँस्कृतिमा हुर्किएकाले जतिसुकै 'सीताराम कहो' भनेर घोके पनि जख्खु विरालोले समात्दा ती नेताहरूले 'क्याँक' बोलेर स्विकृतिमा सहीछाप गरे ।

लोकमान सिं सरुवा-बढुवा, भूपालमान सिं शालिक स्थापना यी व्यक्ति वा घटना होइनन, सामन्त सँस्कृतिमा लोकतन्त्रको कोठे हौवा बोक्ने अर्को एउटा विकृत सँस्कृति हो जो सामन्त सँस्कारबाट उम्कन सक्दैन । त्यो सँस्कारबाट उम्कन त कि दलित, पिडित परिवारको एउटा गुमनामले उठेर आउनु पर्छ या कृष्ण पहाडीले झैं आफ्नै दिदी या बहिनीको जागिर सिफारिस गर्न इनकार गरेर 'नामर्द, मुर्ख, अव्यवहारिक' आदिले गरिने पुरै परिवारको भर्त्सनालाई सुन्दै त्यही परिवारमा शिर निहुराएर दुई छाक खानु पर्छ र मुख छोपेर सुत्नु पर्छ । त्यसैले 'यो शालिकलाई त्यहाँ ठाउँ छैन, यसलाई आफ्नो निजी जमीनमा लैजाउ या यसलाई बुढी खोलोमा लगेर सेलाइने छ' भन्न त त्यहींको त्यस्तो तेश्रो पुस्ता उठेर भन्नु पर्छ, अनि मात्र थालिनेछ तेश्रो पुस्ताको आन्दोलन, त्यसले मात्र आन्दोलनको सुनामी र युग परिवर्तनको आँधि ल्याउन सक्छ । चुनौती हो भूपाल मान सीं कार्कीको शालिकको अस्तित्व वर्तमान दुहुवीको निम्ति, सुनसरी र मोरङको निम्ति र पुरै यो देशको अस्मिताको निम्ति । यही विकृति नै हो २०४६ सालका प्रतिकार समितिका उग्र निरञ्जन थापा, कमल थापा जस्तालाई २०४७ सालको सम्विधानका हामी संरक्षक हौ भनेर कुर्लन सक्ने सामर्थ्य दिने र प्रकाश कोइराला, राधाकृष्ण मैनाली, दुर्गा पोखरेल जस्तालाई सत्ताको भतेरमा सामेल गराउने । अब पनि तेश्रो पुस्ता नउठने हो भने भूपालमान सिं कार्कीको शालिक त्यही उभिएर हरेक नेपालीलाई गिज्याइ रहनेछ ।

राम दाहाल
ramdahal@hotmail.com

Wednesday, December 07, 2005

राजाको फिर्तिसवारी


नहुनु पर्थ्यो तर भयो । राजाका स्वागतार्थ सवारी भएका युवराजको गाडीमा ढुंगा हानियो । कसैले अवश्यै हान्यो नत्र सडकमा ढुंगा आउने थिएन । दोषी समातियो वा समातिएन , थाहा छैन तर केही निर्दोष भने समातिए । कतिपय विद्यार्थी नै परे । ओडने ओछयाउने बिना चिसो छिडीमा थुनिनु, भोकै बस्न वाध्य हुनु जस्ता शारिरिक यातना त पाए नै त्यो भन्दा बढी नपाए पनि तर उनीहरूको मानशिक पिडा भने जिन्दगी भरको निम्ति रहने खालको छ । एस.एल.सी परिक्षामा जानु पर्ने विद्यार्थीको परिक्षा छुटनु भन्दा ठूलो यातना के हुन सक्छ ? देखिएकै कुरा हो - त्यो दिन राजाको स्वागतार्थ सडकको पेटीमा छात्रछात्रा उभ्याइकै थिए भने ती समातिने विद्यार्थीको विद्यालयलाई स्वागतमा विद्यार्थी उभ्याउने उर्दी गए पनि नगए पनि उनीहरू पेटीमा स्वागतार्थ उभिएकै हुन । तिनै स्वागतार्थ उभिएका विद्यार्थीले त्यो उभिए वापत यातना पाए भने अधिराज्यव्यापी विद्यार्थी र तिनका अभिभावक बिच 'ती विद्यार्थीलाई यातना दिएर राज्यले ठीक गर्‍यो' भन्ने या 'विद्यार्थीलाई स्वागतमा उभियाएर यातना दिइयो' भन्ने कुन सन्देश जान्छ ? तब के प्रत्येक विद्यार्थीका अभिभावकले 'हाम्रा नानीहरूलाई स्वागतार्थ भनेर सडकमा नलैजाउ' भन्नु पर्ने बेला आएन अब ? फेरि, ती विद्यार्थीले पाएको यातनाको निम्ति अधिराज्यव्यापी विद्यार्थी समुदाय र अभिभावक सँग क्षमा याचना गर्ने कसले ? नाबालकहरूलाई सडक छेउ उभियाएर तिनीहरू दण्डित भए भने तिनीहरूको क्षतिपूर्ति गरिदिने कसले ? फेरि, विद्यार्थीलाई सडक छेउ उभ्याउनु नै किन ? के नाबालकहरूले पेटीमा उभिएर जयजयकार नगर्दैमा राजाको मान घटछ र ?

वीसौं शताब्दिका प्रशिद्ध दार्शनिक बट्रान्ड रसेलले भनेका छन - 'हुलमा पुगे पछि विद्वान र मुर्खको मनोविज्ञानमा अन्तर हुदैन, त्यो त हुलको मनोविज्ञान हुन्छ ।' हुलको मानशिकता व्यक्तिको जस्तो संयमित हुदैन, स्वभावैले उत्तेजित र उदण्ड हुन्छ । त्यसैले पनि भनिन्छ - 'हुलमालमा जिउ जोगाउनु ।' १७ गतेको नेकपा एमालेको जनसभामा प्रकाण्ड विद्वान देखि अपठ सम्म भेला भएका थिए र सो जमातलाई एमाले नेता र कार्यकर्ताले आफ्नो कार्यक्रम सम्म संयमित राखेर ठूलै परिपक्वता देखाए । कुनै कारणवस जुध्न गएको एमालेको जनसभा र राजाको सवारी भित्रिने समयमा सभाको स्थान र मुखलाई परिवर्तन गरी निश्चित समयमा टुंग्याएर एमालेले आङ्खनो संयम देखाएकै हो । त्यसपछि जो जमात सभाबाट उठेर गएको त्यो जमात बाटोमा रोकिए पछि हुलमा परिणत हुने नै भयो । बाटो हिडने बटुवालाई रोकेर जम्मा गर्न थाले पछि अवश्य नै त्यो जमात लक्ष विहिन हुल हुन पुग्छ र राष्ट्राध्यक्ष, राजनेताको सवारीको समयमा मानिस रोकेर हुल हुनदिने मौका जुटाउनु नै हुदैन । एक्काइसौं शताब्तिमा हुल जम्मा गराएर फूल, अविरले जयजयकार गराउनु खोज्नु भनेको अनिष्ट र उदण्डतालाई मौका दिनु हो । त्यसमा पनि प्रत्यक्ष शाशनको विरोधमा सहभागी भएर निस्केको हुल माथि व्यंग्य र घोचपेच हुन थाले पछि भिड उत्तेजित हुने नै भयो ।

मूल प्रश्न त बाँकी नै छ । कुनै पनि नेपाली नागरिकलाई त जहीसुकै जान अधिकार छ भने राजालाई त झन जहिसुकै बाट पनि जाने अधिकार नहुने कुरै छैन तर केही समय अगाडि मात्रै राजाको प्रत्यक्ष शाशनको विरोधि मानशिकता बनाएर सडक छेउ उभिएका हुलको बिचबाट राजा र राजपरिवारको सवारी चलाउनु उपयुक्त, अझ सुरक्षित, थियो त ? सवारी चलाउनेहरूले वैकल्पिक बाटो रोजेको भए राजाको सन्मानमा के कमी आउने थियो र ? यहाँ त राजाले, राजपरिवारले जहिले पनि, जहाँबाट पनि र जसरी चल्न हुन्छ भन्ने र हुण राजा एटलीले जस्तै 'राजा हिडने बाटोमा घाँस पनि ठाडो हुनुहुन्न' भन्ने मानशिकता बोकेका व्यक्तिहरूले राजा र राजपरिवारका सदस्यको सवारीको बन्दोवस्त गरेको देखिन्छ । यस्तो हठधर्मिताले उग्र मुठभेड अझ दुर्घटना नै निम्त्याउन पनि त सक्थ्यो ।

राजा र राजपरिवारको सवारीमा उर्दी लगाएर हुल जुटाउने प्रयाश नै गर्नु हुदैन, न यस्ता सवारी हुलको बिचबाट नै हुनुहुन्छ । विदाइकै निम्ति पनि उच्च पदस्थ सीमित मानिसहरू नै पर्याप्त हुन्छन । फूल-अविर, लावा-लस्कर, पञ्चैबाजाको स्वागत र विदाइ त सीमित क्षेत्रका रजौटाहरूको संस्कार हो । राजा त समयानुसार परिवर्तन हुन्छन । हेलिकप्टरमा उडदा हुने समयमा लावा-लस्कर लगाएर हिडनै पर्ने आवश्यकता छ र ?

राम दाहाल
ramdahal@hotmail.com