Tuesday, April 16, 2013

देश विभाजन(लेख)



जातिय राज्यः एक विश्लेषण

अफ्रिकी जंगलमा हात्ती, सिंह, बनघोडा, हरिण नघटाउन पश्चिमाहरू अनुरोध गर्छन् । अझ तिनका संरक्षणका लागि पैसा पनि खर्च गर्छन् र ती जानवरहरू हेर्न या शिकार गर्न सक्ने अफ्रिका धाउछन्, नसक्ने आफ्नै सहरमा लगेर राखिएको चिडियाखानामा हेर्छन् । मानवभन्दा धेरै विकसित जीवले मानिसलाई पनि चिडियाखानामा राखेर रमिता हेर्न सक्छ भन्ने एउटा कल्पना व्रह्माण्ड भ्रमण सम्बन्धि एउटा अमेरिकी टेलिशृङ्खलामा देखाइएको पनि थियो । आफूभन्दा कम मस्तिष्क विकसित प्राणीको रमिता हेर्न बढी विकसित जीवले सधैँ चाहन्छ भन्ने चित्रण थियो त्यो ।
आफूलाई विकसित भन्ने पश्चिमाहरू हामीलाई अविकसित ठान्छन् भौतिक रूपमा पनि र मानसिक रूपमा पनि । उत्तर भारतियहरूले प्रत्येक नेपालीलाई बुडवक, भुच्चड गोर्खे देखे झैँ पश्चिमाहरू हामी पूर्वियाहरूलाई त्योभन्दा गतिलो ठान्दैनन् । उनीहरू भक्तपुरको भित्रीगल्लीको काँचोमाटोले बनेको घर नभत्काई आधुनिक सुविधासम्पन्न घर बनाउन सकिन्छ भन्ने सपना देखाउछन् हामीलाई र हामी पत्याउछौँ । उनीहरू भने नया नया सिर्जना गरिरहेका हुन्छन् र हामीलाई पुरानैमा बस्नु पर्छ भनेर सिकाउछन् । हामीमा परिवर्तन नभए उनीहरूले हामीलाई चिडियाखानामा जस्तै हेरेर हामीलाई २।४ पैसा दिदै मनोरञ्जन गर्न पाउछन् । नेपाली नेवारहरूका जात्राका फिल्म, लिम्बुको जातिय बहादुरीका कथा, गुरुङको गाउँबस्तीका घाटुको बयान या शेर्पाको तोङ्बा या चौँरीको दुधको छुर्पीको महत्व आदि बेचेर हामी प्रगति गर्छौँ भनेर फुरुङ्ग पार्छन् हामीलाई र उनीहरू भने मंगल ग्रहको यात्राको निम्ति सामान उत्पादन गर्न थाल्छन् । यो विडम्बना पनि पत्याउछौँ हामीहरू । 

हामी त्यसरी नै सोच्छौँ कि राज्य पुनर्संरचनामा विदेशीको सल्लाह हाम्रो भलोको निम्ति हो भनेर तर त्यसमा हाम्रोभन्दा उनीहरूको स्वार्थ बढी हुन्छ । जसरी एक मधेस भारतले नेपाललाई कँज्याई राख्नको निम्ति बलियो हतियार ठान्छ त्यसरी नै टुक्रे आदिवासी राज्यहरूमा युरोपेलीहरूले आफ्नो प्रभाव जमाउन सके बाँकी हुन आउने खस राज्यहरू अमेरिकी प्रभावमा स्वत आउछ र चीनलाई घेरी राख सजिलो ठाउँ ठान्छन् उनीहरू । शेर्पा, जडान या भोटे राज्य बने नै पनि दलाई लामाका अनुयायीहरूका प्रभावले ती राज्य आफ्नो प्रभावमा आउने सम्भावना कमै देखेको चीनले 'जातिय राज्य ठिक होइन' भनेर जनाउ दिनु आफ्नो स्वार्थको निम्ति स्वभाविक हो । चीनको भनाइ पनि हाम्रो हितलाई हेरेर आएको होइन । 

यो देशको पहाडी भागका ६ जातिका केही नेताहरू आफ्ना जातिका नाममा राज्य चाहन्छन् । कस्तो राज्य ? पहिचान जनाउने स्वायत्तता सहितको राज्य । कसको लागि ? नेपालमा नेपालीको भनिए झैँ मगरातमा मगरको लागि, तमुआनमा गुरुङको लागि, नेवा राज्यमा नेवारको लागि, ताम्सालिङमा तामाङको लागि, किरात राज्य राईको लागि र लिम्बुआन लिम्बुको लागि । जसले जे भने पनि त्यसको ध्येयमा कुनै शंका नै छैन ।

कतिपयले भन्छन् - नाममा के छ ? नाम जेराखे पनी के फरक पर्छ ? नामले धेरै कुरा देखाउछ । राज्य पहिले एकल नाम पाउने जातिको अग्राधिकारमा जान्छ । यो स्वाभाविक पनि हो किनकि 'जसको बिहे उसलाई हेर्न न दे' त कसैले पनि गर्न सक्दैन । त्यपछि मात्र अरू जातिको नाम आउछ, भाग आउछ । नेपाल भन्नाले नेपालीहरूको देश भन्ने जनाउछ । यो देशको नाम गोर्खाराज्य रहुन्जेल हामी सबै गोरखाली थियौँ । जसरी हाम्रै पूर्वी सीमानापारीका हाम्रा नेपालीभाषी दाजुभाईले आफूलाई गोर्खाली भन्न रुचाउछन् र गोर्खाराज्य माग गर्छन् त्यसरी नै त्यसैको छेउको लिम्बुआनमा बस्ने एक चौथाइको लिम्बुले 'म लिम्बु हुँ' भन्छ भने बाँकी तीन चौथाइ आदिवासी, खसआर्य, आदिआर्य सबै नै 'म लिम्बुआनवासी हुँ' भन्नु पर्ने हुन्छ । यस्तै कुरा अरू जातिय राज्यमा पनि देखा पर्छ । यसको साटो सबैले साझा रूपमा ' म अरुण या सुनकोशी या हलेसी निवासी हुँ, 'म तमोर निवासी हुँ' या म्याङ्लुङ निवासी हुँ' आदि यस्ता साझा नाम भन्न पाउदा धेरै सामन्जस्यता पाइन्छ । 

जाति र धर्मका नाममा मानिसलाई उचाल्न सार्‍है सजिलो छ र माओवादीले आफ्ना स्वार्थका निम्ति यही हतियार प्रयोग गरे तर जातिकै आधारमा राज्य विभाजन भइरहेमा देश सिंगै रहिरहने कुरामा शंका नै छ । टुक्रिएपछि त आफूले जति ओगट्न सक्छ त्यतिमा आफ्नो नाम लेखाउने हो ।

No comments: