Monday, July 18, 2005

सात दललाई सल्लाह

आखिर छापाहरूमा सात दल र माओवादी बिच वार्ताको कुरा चल्ने समाचार देखा परे नै । वार्ता होला नहोला, भए के होला र कहाँ पुग्छ - त्यो पछिको विषय हो तर त्यो थालनी भन्दा अगाडि नै सात दलले केही विषयहरूमा प्रष्ट हुन आवश्यक छ । माओवादीले उठाएको गणतन्त्र या राजतन्त्रको कुरा थाल्नु भन्दा पहिले सबै दलहरूले लोकतन्त्र कि राजतन्त्र - यी दुई कुरा तय गर्नु पर्छ । लोकतन्त्र भनिदा राजा रिसाउलान भनेर दलहरूले जिब्रो चपाउन थाले भने राजनैतिक सिद्धान्तको आधारमा उनीहरूको दल सिद्धान्त नकिटिएको जमात बन्नेछ जो वास्तविकतामा दलविहिन प्रजातन्त्र जस्तै आर्थिक र सामाजिक मुद्दामा मात्रै आफ्ना कार्यक्रम प्रस्तुत गर्न सक्छ । अहिले सम्म संवैधानिक राजतन्त्रको प्रयोग राजतन्त्र भित्र प्रजाको अधिकार सीमित राखेर गरिएको हो । प्रजाका प्रतिनिधिहरूले राजालाई संविधान भित्र राखेका होइनन कि राजाले संविधान भित्र बसिदिने स्विकृति दिएका हुन । त्यसैले नै संविधानको केवल एउटा धारा १२७ मात्र सक्रिय राख्जे क्षमता संविधानले नै राजालाई दियो । अबको लेखाजोखामा त 'लोकतन्त्रमा राजाको ठाउँ कहाँ -' भनेर तय गरिने संविधानको आवश्यकता छ जसमा यो देशका बासिन्दा राजाका प्रजा या रैती नभएर र्सार्वभौम जनता हुनाले राजाको भूमिका देशको आवश्यकतानुसार जनताले तय गरिदिने छन ।
दोश्रो, माओवादी के चाहन्छन - वहुदलिय प्रतिस्पर्धात्मक शाशन कि एक दलिय शाशन - एक दलिय शाशनको पक्षमा जाने हो भने त्यो शाशन पनि राजतन्त्र जस्तै एउटा सामुहिक शाशन हुनेछ । फरक यति मात्र कि राजतन्त्रमा भारदार समूहको अनवरत शाशन हुन्छ, एक दलिय शाशनमा अरु दलका नेतृत्व पंक्तिलाई पनि हुलेर गरिन खोज्ने एक जमातको शाशन अथवा एक दलको स्विकृतिमा अरु दलले पनि उम्मेदवारी दिन पाउने व्यवस्था । त्यहाँ पनि आर्थिक र सामाजिक मुद्दामा मात्र कार्यक्रम प्रस्तुत हुन्छ , प्रतिस्पर्धात्मक राजनैतिक आस्थाका आधारमा होइन । त्यसैले माओवादीबाट हुने लोकतन्त्रको भ्रमात्मक व्याख्याबाट बच्न पनि लोकतान्त्रिक व्यवस्थाको व्याख्या सात दलले शुरुमा नै सामुहिक रूपमा गर्नु जरुरि छ ।
यी दुई सिद्धान्तले सात दलहरूलाई तुरुन्तै सत्तामा पुर्‍याउन नसके पनि गलत बाटोमा पुग्नबाट रोक्न सक्छन, नत्र सात दलको कार्यक्रमलाई र्सवसाधारणले 'राजालाई लगाइने घुर्की या माओवादीलाई फकाउने चाल' भनेर वेवास्ता गरिदिनेछन । दुई बन्दूकले प्रयोग गरिरहेको अधिनायकी अधिकारको स्वाद त्याग्न गाहारो हुनाले यी काम त्यति सजिला छैनन र त्यसको सफलताको लागि सात दलले दुई बन्दूक बिच एउटा लामो दूरि तय गर्नु पर्नेछ तर सात दलले अतितका गल्ती नदोहोर्‍याएर सस्ता सत्ताको लोभ छोडी संगठित रूपमा काम गर्ने हो भने त्यो पाउन असम्भव छैन ।

Saturday, July 02, 2005

विदेशी सहायता



पश्चिमी संचार माध्यमहरूमा 'विदेशी सहयोगले पनि किन विकाशशिल देशहरूको सम्पन्नता बढ्न सकेन ?' भन्ने छलफल भइरहन्छ । सहयोगको मात्रालाई हेर्ने हो भने सम्पन्नता बढनु पर्नेमा कुनै शंका देखिदैन तैपनि उदाहरणार्थ हेर्‍यौ भने नेपालको सम्पन्नता अमेरिका सँग दाँजेर ह्रेर्दा ५० बर्षअगाडि नेपाल जति सम्पन्न थियो आज त्यो भन्दा धेरै गुणा असम्पन्न छ । यही हालत अरु विकासशिल देशको पनि देखिन्छ भने वैदेशिक सहायताले किन सम्पन्नता वृद्धिमा सहयोग गरिरहेको छैन त?

मूल विषयमा जानु भन्दा पहिले 'के हो विकाश ? र के हो सम्पन्नता ?' यी दुई शब्दार्थमा जाऊँ । विकाश भन्नु मानविय समाज संरचनामा प्रविधिको आविष्कार र उपयोग हो । प्रविधि उपयोगलाई पनि तीन चरणमा विभाजन गर्न सकिन्छ - प्रविधि विकाश, प्रविधि उपभोग र प्रविधि मूल्य अथवा त्यो प्रविधि विकाशका सुविधा पाउन सक्नु, त्यो प्रविधिको उपभोगको मौका पाउनु र त्यो प्रविधि विकाश र उपभोगको मूल्य तिर्नसक्नु । यी तिनै चिजको निम्ति सम्पन्नता आवश्यक पर्छ । यहीं आउछ दोश्रो प्रश्न, के हो त सम्पन्नता ? जनसाधारणको भाषामा भनिदा 'को कति धनी ? वा को कति गरिब ?' भनिए पनि वास्तवमा सम्पन्नता मानिसको जीवनस्तरको मापदण्ड हो । सम्पन्नताको पहिलो सिद्धान्तले (refer Principles of Prosperity) यसलाई व्यक्ति, समूह या राष्ट्रको इकाइ समयको मुल्य अनुपात मान्दछ र सम्पन्नता इकाइ समय मूल्यको सरल अनुपातमा घटबढ हुन्छ भन्दछ । उपभोगको भाषामा भनिदा इकाइ समयमा प्राप्त हुने सुविधाका मात्रा र गुणको आनुपातिक हुन्छ भने हाम्रा दैनिक मुद्रामा रुपान्तर गरिदा दैनिक, मासिक या वाषिर्क आमदानीहरूको अनुपात मान्न सकिन्छ । बन्द आर्थिक समाज भित्र सम्पन्नताको गणना त्यही समाजको दायरा भित्र गर्न सकिए पनि आजको विश्वमा त्यस्तो बन्द समाजको सम्भावना नहुने हुदा सम्पन्नताको नाप विश्व तुलनामा मात्र गर्न सकिन्छ । त्यसैले नेपाल या नेपालीको सम्पन्नता चिनिया या भारतियहरूको तुलनामा सामान्य देखिए पनि युरोपिय या अमेरिकीको दाँजोमा दरिद्रतम देखिन्छ ।

एउटा अर्को विषय पनि उठाइ हालौं । अर्थशास्त्रीहरूले क्रयशक्ति सममूल्यन (Purchasing Power Parity) भन्ने एउटा शब्दावली खडा गरेका छन । त्यो गरिब देशमा सस्तोमा पाइने चिज धनी देशहरूमा महँगोमा मात्र पाइन्छ भन्ने अवधारणा हो र कुनै देशको या व्यक्तिको आमदानी तुलनात्मक गणना हुदा यही अवधारणामा गणना गरिन्छ । उदाहरणको निम्ति, २४० अमेरिकी डलर औशत आमदानीले नेपालमा किन्न सकिने सुविधा अमेरिकामा १३६० अमेरिकी डलरमा मात्र किन्न पाइन्छ भन्ने मान्यता राखिन्छ अर्थात मुद्रा विनिमयमा नेपालको औशत प्रति व्यक्ति आय २४० अमेरिकी डलर भए पनि नेपालको औशत क्रय शत्ति सममूल्यन १३६० अमेरिकी डलर भनिन्छ । यसको विवाद आफ्नो ठाउँमा छदैछ तर अहिलेलाई यतिमै टुंग्याउँ ।

म सानो छदा गाउँका जमिन्दारकोमा गरिब किसान अन्न किन्नको निम्ति रिण माग्न आउदा जमिन्दारले कहिले पनि 'जहाँ सस्तो छ त्यहीबाट किन' भनेर पैसा दिदैनथे । उनी भन्ने गर्थे - 'किन अर्कोकोमा जाने दुख उठाउछस - म सस्तोमा दिन्छु अन्न र ब्याज पनि तँलाई अरुको भन्दा कमै लिइदिन्छु ।' यसमा दुई लक्ष हुन्थे । पहिलो त उनको कुहिन लागेको अन्न बिक्थ्यो र दोश्रो १।२ प्रति शत कम ब्याजले उनको उदारताको बखान हुन्थ्यो । माग्नेको रोजाइ त हुदैन र हात थाप्थ्यो गरिबले । अझ कहिले कहीं त 'ल है, त्यो मेरो झगडामा 'मैले देखेकै हो' भनेर भनिदिनु पर्छ नि तैंले' भनेर २।४ पाथी अनुदान नै पनि दिइदिन्थे उनी । यस्ता धेरै घटना देखें मैले तर कुनै पनि गरिब जमिन्दारले अनुदान या रिण दिएर धनी भएको भने देखिनँ ।

त्यसरी नै सम्पन्न राष्ट्रबाट असम्पन्न राष्ट्रलाई दिइने अनुदान सामग्री या सेवाको रुपमा मात्रै आउछ । झण्डै यही रूप रिणको पनि हुन्छ । अनुदान या रिण उपभोक्ताका शर्तमा कसैले पनि दिदैन । ती सामग्री र सेवाको मूल्य दाताको बजारको मूल्यमा आधारित हुन्छ र प्राप्तकर्ताको घरमा आइपुग्दा पनि त्यही मूल्य यथावत रहन्छ । त्यही मूल्य नै अनुदान या रिण मानिन्छ । अनुदान भए राजनैतिक र रिण भए आर्थिक र राजनैतिक बोझ प्राप्तकर्ताको थाप्लोमा त्यही मूल्य बराबरको हुन्छ । यहाँ क्रयशक्ति सममूल्यनलाई यसै गुपचुप राखिन्छ । अब उदाहरणलाई लिऊँ र अगाडि क्रय शक्ति सममूल्यनका कुरा गर्दा अमेरिकाको प्रशङ्ग उठाइएकोले उदाहरणमा त्यसैलाई निरन्तरता दिऊँ । मानौं, अमेरिकी बजारबाट हामीलाई १ लाख अमेरिकी डलर सामग्री र सेवामा प्राप्त भयो । हाम्रो बजारमा त्यही सामग्री या सेवा किन्नु परेको भए क्रयशक्ति सममूल्यन अनुरूप १८ हजार डलरभन्दा कममा प्राप्त हुने थियो अर्थात् हाम्रो घरमा त हामीले पाएको सहयोग १८००० डलरको मात्रै हो तर दुर्भाग्य ! त्यो लिएको रिण हो भने हामीले त्यसलाई हाम्रो बजारको मूल्यमा हाम्रो श्रम र सामग्री बेचेर हाम्रो बजारको १ लाख डलर परिवर्त्य मुद्रामा तिर्नु पर्छ । क्रयशक्ति सममूल्यन देखाएर सो रिण घटाउन हामी सक्दैनौ । १८ हजार रिण खाएर १ लाख तिर्ने आसामी कहीं उकालो लाग्छ ?

सामग्री जस्तै सेवा पनि अर्को बोझको भाँडो हो । विभिन्न किसिका सेवामा आएका व्यक्ति वा संस्थाहरू असम्पन्न देशमा बस्दा उनीहरूलाई दिइने सुविधा क्रय शक्ति सममूल्यनको आधारमा हुदैनन । बरु क्रय शक्ति अधिमूल्यनका आधारमा गरिन्छ अथवा आफ्नो देशमा बस्दा जति सुविधा त्यही कामको निम्ति प्राप्त हुन्थ्यो त्यो भन्दा बढी नै लिन्छन उनीहरू असम्पन्न मुलुकमा । यसरी कार्यस्थलमा प्राप्त हुने अनुदान या रिणको कार्यस्थल बजार मूल्य कैयौ गुणा कम भएर आइपुग्छ र तिर्नु पर्दा त्यही कार्य स्थल बजार मूल्यबाट उठाएर तिर्नु पर्दा त्यसले सम्पन्नता अझ खस्काइ दिन्छ । फेरि त्यो सेवा दाता असम्पन्न् वजारमा उपलब्ध विशेषज्ञ या संस्था भएको भए अवश्य नै क्रय शक्ति सममूल्यनको फाइदा उठाउन सक्ने थियौं तर दाताहरूले त्यसलाई स्विकार्दैनन । किन ? यसलाई पनि सम्पन्नताका सिद्धान्तमा नै हेरिहालौं ।

किन हुन्छ त यस्तो ?
सम्पन्नताको दोश्रो सिद्धान्तले भन्छ - 'एउटा आर्थिक संरचनाको सम्पन्नतामा परिवर्तन हुने बित्तिकै त्यो सँग सम्बन्धित अरु संरचनाहरूका सम्पन्नताहरूमा विपरित प्रभाव पर्दछ ।' गरिब हुन कोही पनि चाहदैन भने कुनै गरिब पनि धनी हुन सक्दैन अर्थात् बढी सम्पन्नता हुनेले आफ्नो सम्पन्नता कम गर्न चाहदैन भने कम सम्पन्नको सम्पन्नता बढदैन । सम्पन्न देशहरूले उपरोक्त जमिन्दारले रिणीलाई हातमा पैसा नदिए जस्तै असम्पन्न देशलाई रकम हातमा नदिएर आफ्नो बजारको सामान दिन्छन यो वा ऊ रूपमा र आफ्नो सम्पन्नतालाई यथावत कायम राख्छन । नगद नै हातमा दिए त प्राप्तकर्ताले सस्तो बजारमा गएर खरिद गर्दा उनीहरूको सम्पन्नतालाई खोटयाइ दिने सम्भवना हुदा त्यसलाई हटाउन यस्ता शर्त राखिएका हुन्छन । त्यसैले दाताले दिएको अनुदान या रिणले, प्रापकको होइन, दाताको भलो हुने लक्ष राखिएपछि प्रापकको सम्पन्नता नबढनु स्वभाविक हो ।

सम्पन्न मुलुकमा भन्ने गरिन्छ – 'भ्रष्टाचार हुने भएकोले असम्पन्न मुलुकहरूको सम्पन्नता बढन नसकेको हो ।'
एउटा बन्द आर्थिक संरचना भित्र भ्रष्टाचारको रकम पनि त्यही आर्थिक संरचना भित्र रहिरहने हुदा त्यसको स्थुल संरचना भित्र नै रकम या पूजि हस्तान्तरण भइरहन्छ । नेपालकै सम्बन्धमा पनि राणा शाशनकालमा भ्रष्टाचारको रकम राणा शाशकहरूले बाहिर खर्चिने बाहेक अरु सबै नै देश भित्र हस्तान्तरण भइरहन्थ्यो । बन्द द्वार खोलिए पछि प्रमोदका सामान ओहिरिन थाले र असम्पन्न मुलुकका सत्तामा पुग्ने सबै राजनितिज्ञ र उच्च पदस्थ व्यक्तिहरूले सम्पन्न मुलुकमा रकम जम्मा गर्न थाले ।

भ्रष्टाचारले के कस्तो असर पार्छ ? त्यसको चित्रणको निम्ति एउटा सरल उदाहरणलाई लिऊँ ।

मानौं, नेपालका शरणार्थीहरूलाई अमेरिकी बजारमा प्रति गोटा १०० डलर बराबरका १००० कम्बल पठाइएछ जसको मूल्य नेपाली बजारमा क्रय शक्ति सममूल्यनको १८ डलरका हिसाबले नेपाली बजारमा १८००० डलर मात्रै हुन्थ्यो । भ्रष्टाचारीलाई सामान चाहिदैन ।ऊ नगद खोज्छ र उसले त्यो १८००० को ५ प्रतिशत मात्र थुत्यो भने ९०० डलर जम्मा गर्छ । उसले स्थानिय बजारको ५० वटा कम्बल खान्छ र सम्पन्न बजारका ९ वटा कम्बल किन्छ । एउटा बजारको सामान अर्को बजारमा नगद भएर र्फकदा सम्पन्नताको या समयको प्रति इकाइ मूल्यको अन्तरले चोर पनि ठगिन्छ र असम्पन्न मुलुकका भ्रष्टाचारीहरूद्वारा सम्मन्न मुलुकमा राखिएका सम्पत्ती यस्तै नगण्य भएका छन ।

कहिले कही विकाश र सम्पन्नतामा भेद नदेखेर भुल गरिन्छ । त्यसैले उदाहरण लिऊँ । कुनै १००० मानिस बस्ने टापूमा एउटा खानी भेटियो र एउटा कम्पनीले त्यो खानीको रायल्टी स्वरुप प्रति वर्ष ५ करोड डलर दिनेगर्छ । तब त्यो टापुको सम्पन्नता प्रति व्यक्ति आय ५० हजार डलर हुन आउछ र ३० हजार डलर प्रति व्यक्ति पाउने अमेरिकीको तुलनामा व्यक्तिको सम्पन्नता डेढ गुणा भन्दा बढी हुन्छ तर त्यो टापुको विकाश अमेरिकाको दशांश पनि नहुन सक्छ ।

समाधान के त ?
समाधानको पहिलो बाटो त इमानदारी हो । जसरी बाबुको अंश अंशियारलाई इमान्दारीपूर्वक नबाडुन्जेल समानता हुदैन, त्यसरी नै असम्पन्नरूसँग सम्पन्नता बाँड्ने अठोट नगरेसम्म समाधान निस्कदैन । 'अलिनु पनि नखाऊँ, नुन ढिको पनि नफोरियोस' भनेर आफ्नो सम्पन्नता अलिकति पनि तल नझारी अरुको सम्पन्नता बढाउने कुरा त हावदारी गफ मात्रै हो ।

समाधानको पूर्ण विवरण अर्कोमा ।