Saturday, April 06, 2013

लेख



चुनौती संजालका बुद्धिजीवीहरूलाई

फोटोमा देखिएको ६० वर्षिय वृद्धा राजकुमारी रानाको अनुहार कसैको आँखामा आँशु आएन भने पनि दयाले अवश्य नै 'च्च' त आएको होला किनकि आततायीको चोटले बनाएको विभत्स अनुहार र आन्तरिका पिडाले निरिह अनुहारले जसलाई पनि छाती पोल्ने नै थियो । बोक्सीको आरोपमा यातनापिडित ती महिला यातनापिडाको एउटा नमुनपात्र भएकी थिइन् र उनको अनुहारदेख्दा माओवादीद्वारा पछाडी पाता फर्काएर पलेटी मार्न लगाई खुकुरीले टाउको छियाछिया पारी मारेको लोग्नेको गति देखेर रुन पनि नसकी विकृत अनुहार बनाएकी संखुवासभा, मादीराम्बेनीका जीवप्रसाद पाखालीकी पत्नीको अनुहार झलक्क सम्झन पुगेको थिएँ । यातनापिडकले बराबर उन्मुक्ति पाएका कारणले दिनहुँ एउटा न एउटा यस्ता पिडक पाई रहेका छौँ हामीले । 

वृद्धा राजकुमारी रानामाथिको अन्यायमा उनका पिडक लालसिंह राना, निरा राना र रामसिंह रानाको प्रत्यक्ष संलग्नता त देखियो र उनीहरूले सजाय त भोग्लान् नै तर यतिमा मात्रै उनका पिडकको अन्त्य रहेनछ । यस अघि पनि त्यही आरोपमा भानुराम रानाले उनलाई पिडा दिएका रहेछन् र मेलमिलापको नाममा गाउँसमाजले पिडकलाई मुक्ति दिएर उनलाई अन्याय सहन वाध्य गराएको देखिन्छ । यसै पटक पनि पिडकले उनलाई पिडा दिदा छरछिमेक गाउँसमाज उनलाई छुटाउने प्रयास नगरेर रमिते बन्दै मौन समर्थन गरेर या पिडकलाई नै प्रोत्साहन दिएर बसेको देखिन्छ । त्यसैले अप्रत्यक्ष अपराधको भागी उनीहरूले पनि बेहोर्नै पर्छ । ५ होस् या ५०, मुठ्ठी होस् या मानो, दण्डसजाय पुरै गाउँको परिवारले पाउनु पर्छ । अन्यथा असक नारीहरूमाथि यस्ता अन्याय भई नै रहने छन् । हातमा कलम या साथमा कीबोर्ड हुने संजालका हरेक बुद्धिजीवीले उठाउने र माग गर्ने कुरा यही होइन र ?

राम दाहाल
जोरपाटी, काठमाडौँ
२०६९ चैत २४

No comments: