Tuesday, February 25, 2014

विकास बारे



विकासनीति संचालन

विकास सम्पन्नतावृद्धिको क्रम हो र त्यो वृद्धि भौतिक र मानसिक दुवै नै हुन्छ । मानसिकवृद्धिले भौतिकवृद्धिलाई डोहोर्‍याउछ । जति ठुलो मानसिकवृद्धि हुन्छ त्यति नै धेरै भौतिक विकासको सम्भावना बढ्छ र जति धेरै भौतिकवृद्धि हुन्छ मानसिकवृद्धिका निम्ति अरू सम्भावनाका बाटाहरू खोल्छ । त्यसैले विकास एकाङ्गी नभएर द्विआयामिक हो अर्थात् भौतिक र मानसिक विकास समानान्तर वृद्धि भएमा मात्र विकासको उपलब्धी प्राप्त हुन सक्छ । व्यक्तिका लागि यो नियम जति लागु हुन्छ राज्यका निम्ति पनि त्यति नै सत्य हो । फरक यति मात्र कि व्यक्ति एकल उत्थानको प्रयाश गरेर आफ्नो सम्पन्नता वृद्धि गर्छ भने राज्यको प्रयाश सामुहिक उत्थानको हुन्छ । व्यक्तिको उत्थान परिवारको मूलपुरुषको सोचाइमा धेरै भर पर्छ भने राज्यका नागरिकको जीवनस्तर राज्यसंचालकको चिन्तनमा आधारित हुन्छ ।
राज्य एउटा स्थुल इकाइ हो र विकास उसको गति हो । स्थुल इकाइको गतिको निम्ति त्यसलाई मार्ग, गतिस्रोत र चालकको आवश्यकता पर्छ । यो स्वचालित हुदैन । यसको मार्ग राजनैतिक व्यवस्थाले तय गर्छ । राज्यसंचालक राजनैतिक व्यवस्था पूर्वनिर्धारित हुन्छ । अझ सरल शब्दमा भनिनु पर्दा राज्य संचालन व्यवस्था संविधानद्वारा निश्चित गरिन्छ । चालकको काम राजनैतिक दल या राजनितिज्ञले गर्छन् । राज्यको गतिस्रोत नागरिकहरू अथवा जनता हुन्छन् । जसरी उत्पादन उद्योगमा पूँजि, व्यवस्थापन र श्रमको आवश्यकता हुन्छ र एकको अनुपस्थितिमा उत्पादन प्रकृया रोकिन्छ या शुरू नै हुन सक्दैन, त्यसरी नै राज्यसंचालनका यी तीन अवयवमध्ये एउटा मात्रै निष्कृय हुने बित्तिकै राज्यको विकासक्रम नै रोकिन्छ र अझ राज्यको अस्तित्व नै नरहन सक्छ ।
कतिपयले सोच्छन् कि मार्ग जस्तोसुकै होस् चालक असल र दक्ष भए विकासगति बढ्छ । कतिपयले त अझ अगाडी बढेर हलोमा नारिएका गोरुलाई झैँ जनतालाई राज्यसंचालकले चाहेको बाटोमा हिडाउन सकियो भने राज्यले विकास गर्छ भनेर पनि सोच्छन् र मानिसको मानसिक चिन्तनलाई दबाएर पाइएको एकाङ्गी भौतिक उपलब्धिलाई विकासको संज्ञा दिन्छन् । यस्तो अधिनायकवादी सोचले केही भौतिक विकास गरेर मानिसका न्यूनतम पशुजन्य आवश्यकता पूर्ति पनि गरी दिन सक्छ तर मानिसका मानवजन्य आवश्यकता माग हुने बित्तिकै स्वयम् व्यवस्था धराशायी हुन पुग्छ । अधिनायकवादी राजतन्र्त्रिय शाशनहरू त बराबर अन्त्य भएर गएकै हुन् तर आफूलाई प्रगतिशिल मान्ने साम्यवादी शाशनहरूले पनि पछिल्लो शताब्दिको अन्त्यतिर त्यही नियति भोग्नु पर्‍यो ।
अगाडि नै भनियो कि विकास भौतिक र मानसिक दुई अवयवमा विभाजित हुन्छ । भौतिक विकासलाई राज्यको आर्थिक नीतिले मार्ग तयार गर्छ भने मानसिक विकासलाई राजनीतिले । २१ सौँ शताब्दिमा राज्यका शाशकिय अवधारणाहरू यिनै दुई पांग्रामा आधारित हुन्छन् । भौतिक विकासले शारीरिक आवश्यकतालाई पूर्ति गर्छ र मानसिक तृप्तिका निम्ति राजनैतिक स्वतन्त्रता चाहिन्छ । पेट भर्नका लागि मानिस जे कुरा पनि मान्न तयार हुन्छ तर पेट भरिए पछि उसले मान्ने नै छ भन्ने निश्चित हुदैन । त्यसैले शाशन गर्न चाहनेले राजनैतिक स्वतन्त्रताको वकालत पनि गर्नै पर्छ र भौतिक विकासको आर्थिक ढाँचा पनि जनता सामु तेर्स्याउनु पर्छ ।
राज्य समष्ठिगतमा एउटा विशाल परिवार हो र राज्यसंचालक त्यो परिवारको मूलपुरुष । जसरी परिवारको मूलपुरुषको जिम्मेवारी परिवारका प्रत्येक सदस्यको न्यूनतम प्राणीजन्य आवश्यकता पूर्ति गर्ने साधन जुटाई दिनु उसको दायित्व भित्र पर्छ त्यसरी नै राज्यले त्यसका नागरिकहरूको न्यूनतम प्राणीजन्य आवश्यकता पूर्ति गर्ने जिम्मेवारी पनि लिनै पर्छ । कुनै पनि भोकै या नाङ्गै बस्नु, सडकमा सुत्नु भनेको राज्यको गैर्‍ह-जिम्मेवारी हो । त्यो नागरिकको निम्ति मरुभूमिमा एक्लै बस्नु र राज्यमा बस्नुको अन्तर हुदैन । आर्थिक नीतिको आधार नै यसैबाट शुरू हुन्छ । मानिस भोको, नाङ्गो नभए पछि उसको स्वतन्त्र सोचको शुरू हुन्छ । ऊ आफूलाई पशुभन्दा माथि देखाउने प्रयास गर्छ । ऊ आफ्नो स्वतन्त्रताको उपभोग गर्न चाहन्छ, आफ्नो अभीव्यक्तिको अधिकार खोज्छ र सो पाए पछि आफ्ना  चिन्तनहरूलाई अरूसामु पुर्‍याउन पनि प्रयास गर्छ । राजनैतिक व्यवस्थाले सो मानसिक आवश्यकताको बाटो खोल्छ ।
आजसम्मका दर्शन, विज्ञान, नितिनियम सब नै पेट भरिएका मानिसले सिर्जना गरेका हुन्, भोको पेटले होइन । पेट भरिए पछि भने मानिस पशुवत स्थितिबाट उक्लेर स्वतन्त्र चिन्तक हुन थाल्छ । आविष्कार, निर्माण, व्यवस्थापन र संवृद्धि मानिसका चिन्तनका परिणाम हुन् र चिन्तनबिना त मानिस र पशुमा कुनै अन्तर नै हुदैन । स्वतन्त्र चिन्तनको आधार नै राजनैतिक स्वतन्त्रता हो । त्यसैले राजनितिज्ञहरूले नागरिकहरूलाई उन्नतिको बाटोमा डोहोर्‍याउने शाशन व्यवस्थाको ढाँचा प्रस्तुत गर्दा आर्थिक र राजनैतिक दुवै ढाँचा प्रस्तुत गर्नु पर्छ भनिएको हो ।

राम दाहाल


Thursday, February 20, 2014

के छ अमर ?(कविता)

के छ अमर ?  

थोपा थोपा पानी बाढी बन्यो कसरी ?
 मन्द शितल हावा आँधी बन्यो कसरी ?
जुगौँदेखि अडेको तारा टुट्यो कसरी ?
सधैँ गर्छु भनेको मायाँ छुट्यो कसरी ?
पाइतालाले आफ्नै बाटो मेट्यो कसरी ?
सुख खोज्ने मनले दुख भेट्यो कसरी ? '
सत्य हो वाचा' भन्थे फरक पर्‍यो कसरी ?
'अमर छ मायाँ' भन्थे मायाँ मर्‍यो कसरी ?

पान्चाली(कविता)

कुरुक्षेत्रकी पान्चाली

सोचेथेँ 'पाँच पतिकी पत्नी विवस त कहिले हुन्न'
तर पान्चाली म
जुवाको खालमा थापिएँ सुनका टुक्राझैँ
मेरो प्राणको कुनै अर्थ भएन
पत्नीलाई दाशीसमान बेच्न खोज्दा
कसैले धर्मराजलाई अनधिकार भनेन ।
कुरुसभामा नंग्याइएँ म
रक्षा गरेन कसैले
गुहार मागेथेँ आर्तनाद गरि
सुनेन पनि कसैले
बेचिएकी मलाई
 नंग्याइएकी मलाई
विवस र आर्त मलाई
हेरी रहे मेरा पाँच पतिहरू ।
बाँचेकी छु त तिम्रै कारणले, कृष्ण पृयतम !
तिमी आई वस्त्र नओडाएको भए
तिमीले आफ्नो अँगालोमा नसुम्सुम्याएको भए
सधैँ रक्षा गर्ने वचन नदिएको भए
त्यही क्षण मर्ने थिएँ म
 त्यही क्षण मेटिने थिएँ म ।

Tuesday, February 18, 2014

ट्विटर संजाल

चलन ट्विटर संजालमा

म आजकल चल्तीका फेसबुकदेखी लिङ्केडइनसम्मका सामाजिक संजालहरूको सहभागी भएको छु ।कुनै संजालमा आफ्नो वास्तविक परिचय दिनु पर्छ, कुनैमा त्यो वाध्यता छैन ।वास्तविक परिचय दिनु पर्ने र छ्द्मनामले चल्न पाइने संजालमा एउटै व्यक्ती विभिन्न रूपमा चल्दो रहेछ भन्ने मैले तिनै संजालमा पाएँ । पहिलोमा भद्र र शालिन देखिने व्यक्ती आफूलाई स्वतन्त्र र बन्धनमुक्त बनाउन छद्मनाम लिदो रहेछ र आफूलाई छिचरो र अझ कहिले कहीं त अभद्र बनाउदो रहेछ । ट्विटर यसको उदाहरण हो । संजालका मेरा मित्रहरूमा वहुसंख्यक नेपाली नै छन । नेपाली समाज दवित रहेछ भन्ने संजालले देखाउछ ।त्यसमा पनि यौन बारे समाज उदार छैन र युवाहरू यौनकुण्ठाग्रस्त छन भन्ने ट्विटर संजालमा प्रस्ट देखिन्छ ।जुन कुरा फेसबुक जस्ता संजालमा देखाउन सकिन्न तिनै कुरा छद्म नामले ट्विटरमा छताछुल्ल पोख्दा रहेछन नेपाली युवाहरू । २/३ नानीहरूका बाबू पनि त्यहाँ कुमारकेटोझैँ प्रस्तुत हुन्छन त कुमार केटा त आफूसँग एउटा नानीकोठी (harem) नै भएझैँ नक्कल गर्छन् । केटी सदस्य पनि लचिलो भाषामा केटाहरूलाई उकासी रहेकै हुन्छन । त्यहाँ धेरै जसो ट्विट छलफलहरू जहाँबाट थालनी भए पनि अन्त्यमा यौनको एउटा टुक्रामा गएर अन्त्य हुन्छन् । ट्विटर सदस्यहरू आफ्ना राजनैतिक नेताहरूलाई गाली गर्नमा पनि पोख्त छन ।कुनै घटनालाई लिएर छलफल शुरू भयो भने अन्त्यमा सबै दोष नेतामा खन्याएर गाली टुंगिन्छ । सायद ट्विटर संजालमा शिर्ष नेता मध्ये उनी मात्रै त्यहाँ भएर होला त्यहाँ प्रत्यक्ष गाली खाने डा. बाबुराम भटराई पर्छन र उनको एउटा ट्विटमा हजारौँ झम्टन पुग्छन् । ट्विटर सन्जालमा ट्विटेहरूको यो चालाले समाज, सरकार र आफ्ना ज्येष्ठजनहरूका सामु आफ्ना कुरा अभिव्यक्त गर्न आँट नभएर कुण्ठित हाम्रा युवाहरू छद्मनाम लिएपछी आँटिला हुदा रहेछन भन्ने निश्कर्ष ट्विटर संजालमा देखिन्छ ।

Monday, February 17, 2014

उनको चाला(कविता)

उनको चाला

चट्ट निस्किन् झट्ट फर्किन् निस्किइन् किन ?
कहिले पनि जानिएन जिस्किइन् किन ?
ओठ खोलिन् बोलुँला झैँ फेरि बोलिनन्
भन्छु भन्छु जस्तो गर्दै केही खोलिनन्
कोल्टे कोल्टे आँखा पार्दै फेरि मर्किइन्
भेटुँला झैँ गर्दा गर्दै फेरि तर्किइन्
चट्ट निस्किन् झट्ट फर्किन् निस्किइन् किन ?
कहिले पनि जानिएन जिस्किइन् किन ?

Friday, February 14, 2014

विदाइ चिठ्ठी प्रेमिकाको

एक प्रेमिकाको विदाइ चिठ्ठी

"दैवु राजै,

यी दुई शब्द लेख्नु अगाडि मैले बीसौं पटक दोहोर्‍याएर रोएँ, आफैंले बोलेर आफैलाई सुनाएँ किनकि यी शब्द तिमीलाई भन्नु मेरो पहिलो पटक हो र अन्तिम पटक पनि। हुन् त तिमी भनौला - 'तँ ती शब्द अगाडि पनि भन्न सक्थिस्।' हो सक्थें तर भन्न सक्नु र भन्नुको बीचमा ठुलो अन्तर छ। कति कुरा भन्न चाहेर पनि भन्न सकिंदैन र कति कुरा भन्न सकेर पनि भनिदैन। आज म स्वतन्त्र छु भन्नलाई र त्यसैले भन्दैछु। यो मेरो भनाईले अब कसैलाई पनि नोक्सानी गर्दैन। नोक्सानी हुने सीमाभन्दा बाहिर जाँदै छु म मृत्यु सम्म पुग्न नसके पनि।"

"तिमीलाई लाग्ला म अति भावुक भएकी छु। हो, भावुक भएकी छु। भावुक हुने अधिकार छैन र मसँग? मैले भावुक हुन् पाउने क्षण आउनुहुन्न र म भित्र? तिमी पो वास्तविकता र व्यवहारिकतामा बाँच्नु पर्ने मान्छे। तिमी पो भावुक हुन, रून र हाँस्न सक्दैनो, जान्दैनों। तिमी त अर्काको निम्ति बाँच्ने मान्छे। कसैको पैताला बालुवाले खोस्याउला भनेर उसको बाटोमा आफ्नो छाती ओछ्याइदिने मान्छे।"

 "दैबु ! काल पनि कति निर्दयी हुन्छ, ह कि? एकदिन आफू जन्मेर हुर्किएको माटो सँधैको निम्ति छोडेर हिंडदा मेरा पाइला अनन्त भास तिर लागेको अनुभव गरेथें र त्यही भासमा डुबेर बिलाउने आशा म निश्चिन्त थिएँ। तर कहाँ पाएँ र मैले डुब्न? तिमी मेरो आशाको त्यान्द्रो भएर अगाडि उभिई रह््यौ। तिमी मेरो संरक्षक भएर मृत्युसँग लडिरह््यौ। तिम्रो सामु त अजेय मृत्यु पनि हारेर गयो। ह कि? मलाई बचाएकोमा तिमीलाई अवश्य गर्व भयो होला तर सोचेनौं नि तिमीले त्यो बेला -मेरो निम्ति बाँच्नु कति कष्टकर छ भनेर। मैले बाँच्न त रामायणमा वर्णित राजा श्वेतकेतुले आफ्नो लास स्वर्गबाट ओर्लेर आफैं खाए झैं आफैंलाई खानु पर्छ, आफ्नै रगत पिउनु पर्छ। अहिले हेर त। आज कालचक्र एक फन्को मारेर फेरि मलाई यो मैले टेकेको ठाउँबाट बाहिर हुत्याउँदै छ तर, मेरो दुर्भाग्य। अहिले तिमी मेरो साथमा छैनों। केवल तिम्रो सम्झनाको चिनो मात्र हुनेछ मसँग। मृत्युसँग पनि म एक्लैले लडनु पर्नेछ किनकि आज त मर्ने चाहना पनि छैन ममा।"

"राजै ! भन्न त मलाई धेरै मन थियो तिमीसँग - धेरै, धेरै, यति धेरै कि त्यो बोली, सँगै प्राण उप्किएर जिब्रोमा आएर टाँसिए बोली नरोकिए सम्म। तर भाग्यमा म लेखिएको चिज म कहाँ पाउँ्क? मैले तिमीलाई धेरै दिन मन गरेथें तर मसँग दिने चिज केही रहेनछ। म त रित्तै रहिछु। मैले तिमीसँग माग्नु पनि धेरै थियो तर आफूसँग दिने केही नभए पछि तिमीसँग मात्र  मागेर कति दुःख दिउँ्क तिमीलाई? तिमीले जति दियौ त्योभन्दा बढी एउटी नारीले के पाउन सक्छे? तिम्रो सामु म त स्वार्थी मगन्ते मात्रै हुँ र तिमीसँग त अझै माग्नु छ। त्यसैले यो मगन्तेको अन्तिम मगाइ न नकारिदेऊ।"

"दैबु ! तिम्रो संगतमा आएर मैले दुइवटा प्रिय वस्तुहरू कमाएँ। एउटी बहिनी जसलाई तिमी स्वास्नी भन्ने गर्छौ। उसको ह्दय हिमालको हिमशिला जस्तै छ, बाहिरबाट कडा र चिसो तर प्रेमको न्यानोपनले छोपिदिए पछि ऊ पग्लन्छें स्वच्छ र निर्मल पानी जस्तै भएर। ऊ असत्लाई असत् भनिदिन्छे। तिमी हामी जस्तो छोपेर राख्न सक्दिनँ ऊ। तिमीले बाँच्न दियौ भने ऊ बाँच्छे, मर्न दियौ भने मर्छे। ऊ तिमीलाई माया गर्छे, यति धेरै माया कि प्रत्येक स्वास्नीमान्छे माथि ऊ शंका गर्छे 'उसले तिमीलाई आफूबाट खोस्छे कि' भनेर। त्यसैले ऊ अकारण त्यो स्वास्नीमानिससँग झगडा गर्न पनि तयार हुन्छे तर कुनै स्वास्नीमानिसले तिम्रो भलो चाहन्छे भन्ने उसको मनमा विश्वास भयो भने तिमीलाई उसको हातमा सुम्पन पनि सक्छे। मेरो त्यो मुर्ख बहिनीलाई तिम्रो काँखमा छोडेर गएकी छु। उसलाई सुखी हुन् सिकाईदेऊ अन्यथा उसको आँसुले मलाई पिर्ने छ। तिमीलाई अर्को नासो पनि छोडिदिएको छु-मेरो भाग्य या दुर्भाग्यले कमाइदिएको नासो। सामाजिक र कानुनी नाताले ऊ मेरो लोग्ने हो र हामी दुई बीचको हार्दिक भावना र सम्झैाताले मेरो भाइ। कस्तै विषम परिस्थितिमा पनि उसले मलाई 'दिदी'भन्दा अर्को भावनाले हेरेन र आमाको नैतिक दबावमा पनि उसको मनमा पाप उब्जिएन। मैले सक्ने भए म उसलाई हुर्काइदिने थिएँ तर त्यो असम्भव हो भन्ने तिमीलाई थाहा छँदै छ। ब्याहिता स्वास्नी दिदी भएर यो समाजमा कसरी बाँच्न सक्छे र? तिमी बाहेक उसको जिम्मेवारी लिने कोही छैन। ऊ आफू आफ्नो खुट्टामा उभिने नहुन्जेलसम्म सहारा देऊ। मेरो माग्ने यत्ति नै हो।

"तिमी भन्थ्यौ नि, दैबु ! मानिस मानिसको बीचमा साइनो बाँधिएको हुन्छ भनेर। मलाई काकीको नाता भित्र बाँध्न खोज्यौ सँधै नै तर कसले स्वीकार गरिदियो तिम्रो त्यो साइनोलाई? अरू त अरू तिम्री आमाले पनि मानि दिनु भएन त्यो तिम्रो ढिपीलाई। सबैले मलाई तिम्रो पोल्टा भित्रको 'तिम्रो वस्तु' ठानें, सँधै तिम्रो अधिकारको दायरा भित्र राखे मलाई। जुन कुरा मैले चाहिंन त्यही गर्न बाध्य गरे मलाई र जो तिमी हुन् चाहेनौ त्यही बनाए तिमीलाई। यो माटोमा जन्मले बाँधेको नाता त बलियो हुँदो रहेनछ भने संकल्पले बाँधेको साइनोमा अडन खोजेर आफैं पीडा भोग्नु बाहेक अरू के पायौ तिमीले? म त बिना साइनो आएकी मान्छे बिना साइनो मेटिन जादैछु - मैले तिमीलाई दिएको दुःखको प्रायश्चित गर्न।

"मेरो राजा ! आफ्नो भाग्यको निम्ति त मलाई रून छैन तर तिम्रो दुर्भाग्य सम्झेर मेरो मुटु घाँटीसम्म आइपुग्न खोज्छ। तिमीले अर्काको वारेस भएर सँधै नै आफूले नगरेको अपराधको सजाय भोग्नु परिरहेको छ, अर्काको जिम्मेवारी आफूले बेहोर्नु परिरहेको छ। तिमी सँधै सँधै आफ्ना सबै घाउ लुकाएर एक्लै आफ्नो दायित्व पूरा गरिरहेका छौ। न कसैले तिमीलाई सह्योग दिन्छ, न सहानुभूति। तिमी आगोमा हाम फालेको बखान त सबैले गर्लान् तर त्यो आगोले पोलेको तिम्रो घाउको दुःखाई कसैले पनि अनुभव गर्न सक्दैन। मैले त तिमीलाई भेटेको दिन देखि नै सँधै दुःख दिएँ तिम्रो मुस्कान भित्र अमिलो दुःखाई भएको थाहा पाई पाई पनि। माफी देऊ मेरा सबै अपराध। बिन्ती छ। बिर्सिदेऊ एउटा दुस्वप्न ठानेर सुभद्रा भन्ने तुच्छ जीवलाई। म आफैले तिम्रो वारेसनामा च्यातेर गएकी छु म प्रतिको तिम्रो सबै जिम्मेवारी छुटाएर।  

सुभद्रा    

Friday, February 07, 2014

अवसरवाद(लेख)

एमाओवादीको समस्या

निर्वाचनले एउटा जनादेश कायम भयो । मतदाता नामावलीमा दोहोरो नाम काटियो, अनागरिकको नाम राखिएन र कतिपयले फोटो खिचाउनु र नाम लेखाउनु अनावश्यक ठाने या थाहा पाएनन् र मतदाता संख्या घट्यो। त्यसैले गत निर्वाचन सचेत नागरिकको मतदान भन्दा हुन्छ।

०६४ को चुनावमा एमाओवादीले त्राश र आशको मत पाएको थियो तर ०७० मा ती दुवै फर्के । त्राशका मत लोकतन्त्र समर्थक थिए र आशका मत कम्युनिष्ट समर्थक । पहिला थरीको मत कांग्रेसमा आयो र दोश्रो थरीको एमालेमा। यो निर्वाचनले प्रस्ट गरि दियो कि एमाओवादी र एमाले दुवैका कार्यकर्ता र तिनका प्रभावका मानिस बाहेकका वामपन्थी मत साझा रहेछन् र यो समूह उनीहरूको मतको ठूलो हिस्सा ओगट्दो रहेछ ।त्यसैले एउटाले अर्कोलाई नमासी ठूलो हुने संभावना न्यून रहेछ। त्यसैले एमाओवादीले आफ्नो विस्तारको लागि एमालेको अवसरवादसँग लड्नु पर्ने हुन्छ ।कांग्रेससँगको उसको लडाइँ सिद्धान्तसँगको लडाइँ हो तर एमालेसँगको अवसरवादसँग।सिद्धान्तसँगको लडाइँ  प्रस्ट र निर्दिष्ट हुन्छ।अवसरवाद रंग फेरिरहन्छ।
आज एमाओवादीका सामु प्रश्न तेर्सिएको छ - अवसरवादलाई प्रोत्साहन दिएर आफू मासिने कि अवसरवादलाई मासेर आफू माथी जाने ?

Tuesday, February 04, 2014

संवृद्धिशास्त्र (मानव चाहना २)

संवृद्धिशास्त्र 

मानव चाहना(क्रमश:)


२.मानव चाहना

आखिर, मानिसका गतिविधिलाई सक्रिय बनाउने त्यो चाहना के हो? र मानिसका आवश्यकता र चाहनामा कति फरक छ?

कुनै पनि प्राणीलाई जीवन धान्न र सक्रिय हुन् कतिपय चिज आवश्यकता पर्छ र सबै जीवित प्राणी दैनिक आधारमा ती चिज पाउन प्रयास गर्छन् र त्यो पाएपछि सन्तुष्ट हुन्छन्। ती चिजहरूलाई प्राकृतिक या प्राणीजन्य आवश्यकता भनिन्छ। तर मानिस त्यतिमा नै सन्तुष्ट हुदैन र त्योभन्दा पनि बढी खोज्दछ। त्यो प्राकृतिक आवश्यकताभन्दा परको माग चाहना हो। प्राणीजन्य आवश्यकता मानिसको जैविक अस्तित्वकोनिम्ति अपरिहार्य छ भने चाहना त सन्तुष्टि र खुशीकोनिम्ति खोजिने प्राकृतिक आवश्यकताभन्दा परको तुष्णा हो। जब कि मानिसका आवश्यकता समान हुन्छन, चाहना समय–समयमा, ठाउँ–ठाउँमा व्यक्ति व्यक्ति बीच फरक हुन्छन्। चाहना बिनाको व्यक्ति त भूत, भविष्य, वर्तमान कुनै नभएको शुन्यसम अजीव मूढमात्र हुन् सक्छ।

आफ्नो पहुँचको पातमात्र टिपेर खान सक्छ, दुई बटा साँढे जुध्दा सामर्थ्यसम्ममात्र एक अर्कालाई हान्न र ठेल्न सक्छन् र सबैभन्दा छिटो चितुवाको पनि दौडका गतिको सीमा हुन्छ तर मानिसकोनिम्ति त्यस्तो सीमा हुदैन। आफू पुग्न सकेन भने मानिस आंंकुसे झुंड्याउछ, भर्‍याङ लाउँछ, क्रेनले उचाल्छ, लिफ्टले माथि पुर्‍याउछ। गति बढाउन घोडा, गाडी, हवाइजहाज र अझ रकेट नै पनि प्रयोग गर्छ र आफ्नो प्रतिद्वन्दिलाई हराउन छिर्के दाउहरू प्रयोग गर्छ, हतियार नै पनि चलाउछ। उसको विकसित वुद्धि आफ्नो चाहना पूर्ति गर्न नकारात्मक या सकारात्मक दुवै रूपमा साम, दान, दण्ड र भेद प्रंयोग गर्छ। त्यसैले जब कि अरू प्राणीको सामथ्यलाई भौतिक इकाइमा नाप्न सकिन्छ, मानिसको सामर्थ्य अतुलनिय हुन्छ। र त्यस्तै हुन्छ उसको चाहना पनि।            

 एउटा चाहना पूर्तिले अर्को चाहना जन्माउछ। चाहनाले सामर्थ्य जन्माउछ, सामर्थ्यले कार्य सम्पादन गर्छ, कार्यसम्पादनबाट लाभ प्राप्ति हुन्छ, र लाभले सन्तुष्टि दिन्छ र सम्पन्नता बढाउछ। एउटा सम्पन्नता प्राप्तिपछि सम्पन्नता वृद्धिको चाहना या सबृद्धिको चाहना स्वत जन्मन्छ र फेरि अर्को चाहनाचक्र चल्दछ। यो कहिले पनि अन्त्य नहुने चाहनाचक्रको फेरोले मानव ज्ञान र सम्पन्नता बढाइ रहन्छ। सम्पन्नताको वृद्धि सँगै जगको पेच फेरोमा गाडी उठे झैं चाहनाचक्रको फेरोमा सधैं मानव सभ्यताको संवृद्धिको उचाइ बढदै जान्छ।  

भन्न त 'सन्तोषम् परमम्ं सुखम्' भनिन्छ तर जो आफुसँग छ त्यसैमा मानिसले सन्तोष गर्ने हो भने उसलाई अरू आवश्यकता पर्छ नै किन र? चाहनाले त असन्तुष्टि जन्माउछ र असन्तुष्टिले चाहना पनि। मानिस अरूभन्दा राम्रो र श्रेष्ठ हुन् खोज्छ। कमाइ गर्ने घरमूलीले पनि आफ्ना परिवारबाट सन्मान खोज्छ। मानिस श्रेष्ठता र सन्मानको चाहना गर्छ, र त्यो प्राप्त गर्न प्रयास गर्छ। यी सबै कुराबाट हामी यो निर्णयमा पुग्छौ्रः प्राण्ीका आवश्यकता उसको अस्तित्वरक्षाकानिम्ति चाहीने प्राकृतिक माग हुन् भने चाहना सम्पन्नतावृद्धि या संवृद्धिका सोख हुन्। 

Prosperology (human desire2)

Prosperology

Human Desire(cont.)

2.Human Desire


After all, what is desire that boosts human activities ? What is the difference between human need and desire?

 Living beings need something basic to sustain their life and to continue their activities. Every living being labours to acquire these items in daily basis and is satisfied if it gets them but human being wants something more than his basic need. Such want beyond the natural requirement is called desire. While human need is essential for his survival, desire is just string longing for satisfaction and happiness or for something beyond natural need. Desire may vary from time to time, place to place and person to person. A person without desire is a hermit living in the wild, who has neither plan nor better expectations.

Desire motivates a person to have more and activates him to gain it. A tallest giraffe cannot grab the leaves above its height. Two bulls can hit or push hard each other by what their strength provides. Even the fastest cheetah has limit in its speed but human has no such limits. He uses stairs, cranes, and lifts to raise himself above his height, uses bicycles, vehicles, horses, airplanes to gain speed and wrestles cunningly bare hand or uses tools to overcome his opponent. The superb brain acts both positively and negatively to fulfill his desire. Capacity or strength of other animals can be measured in power units but that of human cannot be done so. Other animals have measurable physical strength but mental creativity of human is un-measurable. And so is desire.

Fulfillment of one desire creates another and so on. Desire creates capacity, capacity fulfils action, action creates gain and gain brings satisfaction and raises affluence level where another desire rises automatically. This never ending circle of human activity moves like a spiral upward, raising human knowledge and affluence. Thus, human civilization is a creation of revolving activity of desire.

         'Necessity is mother of invention’ – says a proverb but what a person needs if he is satisfied on what he has. Desire creates dissatisfaction or vice versa. A person desires to be better than or superior to others. Even a breadwinner demands loyalty or respect from family members. He desires superiority, efforts for it and gets it to earn respect and superiority. Thus we come to conclusion: animal needs are natural necessities for survival of the self and desires are human necessities for prosperity.

Monday, February 03, 2014

संवृद्धिशास्त्र (मानव चाहना १)

संवृद्धिशास्त्र

मानव चाहना

१.मानिस बारे
 म मानव सिर्जना इश्वरबाट भएको हो भन्ने अध्यात्मिक दर्शनमा विश्वास नगर्ने हुनाले डार्विनको विकासको सिद्धान्तलाई समाउने गर्दछु। आजकल नै पनि हामीले कोरल समान जीवित प्राणी र अजीवित वस्तु पाउने हुदा पहिलो जीवित प्राणी एककोशिकिय नै भएकोभए पनि तिनीहरूको उपस्थितिले प्राणीको र अझ मानिसको नै पनि विकास डार्विनको सिद्धान्त अनुरूप नै भएको प्रमाणित गर्छ र ती आदिम जीवहरूका आवश्यकता एउटै माध्यमबाट पुरा हुने हुदा उनीहरूको जीवन सरल थियो। कोरल–समान एककोशिकिय वस्तुबाट कोरल–समान जीवमा परिवर्तन हुन् एउटा लामो प्रकृया नै पुरा गर्नु पर्थ्यो र त्यो लामो झन्झटबाट मुक्ति पाउन त्यो एककोशिकिय जीवले आफैं विभाजित भएर एकबाट दुइटा हुदै असंख्य हुनसक्ने प्रकृयाको विकास गर्‍यो। त्यो समयमा प्रजनन पद्धति त शुरु नै भएको थिएन। एक कोशिकीबाट वहुकोशिकी जीवमा परिवर्तन भएपछि भने पोषणका स्रोत पनि वहुआयामिक हुदै गएर खाद्य, जल र जोडीकोनिम्ति प्रतिद्वन्दिता पनि बढदै गयो। तैपनि उनीहरूको आवश्यकता प्रकृतिले पुरा गर्थ्यो या प्रकृतिबाट जे प्राप्त हुन्थ्यो त्यसैमा उनीहरू बाँच्थे, नपुग भए मेटिएर जान्थे।

मानिस आएपछि त यो व्यवहारमा पनि परिवर्तन भयो।   मानिसको उत्पत्तिले प्रकृतिको नियममा एउटा नया आयाम सिर्जना गरिदियो। मानिस अगाडिका प्राणीहरू प्राकृतिका आवश्यकताको पूर्तिमा नै सन्तुष्ट हुन्थे भने मानिसले चाहनाजस्तो अप्राकृतिक सोख विकास गर्‍यो र यस्तो सोख मानिसजस्तो विकसित प्राणीको दिमागलेमात्र सिर्जना गर्न सक्थ्यो।   यसरी मानिस र अरू प्राणीहरूको बीचमा असमानता देखा पर्‍यो। मानिसले. आफ्नो चाहना पूर्तिकोनिम्ति आँट गरेर प्रयास गर्न सिक्यो। यसरी नै एककोशिकिय जीवबाट विकसित हुदै गएको प्राणी चाहनाजस्तो सोख पाल्न सक्ने वुद्धिजीवी प्राणीमा परिणत भएर, कतिपय स्थितिमा त प्राकृतिक नियम विरुद्ध नै पनि, पृथ्वीमाथि नै आधिपत्य जमाउन थाल्यो।

प्राणीहरू बाँच्नकोनिम्ति उपभोग गर्छन् र उच्च विकसित प्राणीहरूको उपभोग क्षेत्र पनि विस्तारित नै हुन्छ। मानिसको त प्राकृतिक आवश्यकतामाथि चाहना पनि हुन्छ र ती चाहना मध्ये सबैभन्दा उच्च चाहना नै सम्पन्नता वृद्धिको या सम्मृद्धि वृद्धिको या सम्मृद्धिको चाहना हो (अब अगाडि सम्पन्नतावुद्धि या सम्मृद्धिवृद्धि जनाउन संवृद्धि शव्द प्रयोग हुनेछ )। जीवनका आधारभूत आवश्यकता – हावा, पानी, खाना – नभई प्राणी बाँच्न सक्दैन र ती आवश्यकतालाई प्राणाधार आवश्यकता पनि भन्न सकिन्छ। चौथो आवश्यकता, यौन, वहुकोशिकिय प्राणीलाई वंशवृद्धिकोनिम्ति अनिवार्य अवयव हो। लाखौं वर्षसम्म प्राणीले यिनै आवश्यकता पूर्तिकानिम्तिमात्र संघर्ष गर्‍यो र बाँचेकै पनि हो। ओत उसले कतैकतै खोजे पनि यो अनिवार्य आवश्यकता भएन। खाली पाए ठीकै छ नपाए खोज्दै हिडिपनिरहेन प्राणी। मानिसको विकास नहुन्जेलसम्म त योभन्दा बढी खोजेन पनि प्राणीले।  

आवश्यकता र चाहना
१.हावा
२.पानी
 ३.खाना प्राणधारक आवश्यकता
४.यौन वंशवृद्धि आवश्यकता
५.ओत
६.ओडनी
७.शिक्षा, स्वास्थ्य, सुरक्षा, अरू सम्मृद्धि अनुरूप आबश्यकतासामाजिक परिवेश अनुरूप अरू विकसित आवश्यकता

पहिला तीन आवश्यताहरू आधारभूत आवश्यकता हुन् र तिनीहरूको प्राथमिकता हावादेखि खानातिर न्यून हुदै जान्छ। हावा, पानी, खान र यौन बाहेक अरू आवश्यकता मानव चाहनाबाट सिर्जित आवश्यकता हुन् र ती आवश्यकता मानव जीवनको स्तर र उसको समयमुल्यमा आधारित मानव चाहनामा भर पर्छ।