Wednesday, June 15, 2005

लक्ष प्रजातन्त्रको

आषाड संक्रान्तीको कान्तिपुर मलाई एकदम विशेष लाग्यो । आधा पेजको रामचन्द्र पौडेलको र एक एक चौथाइ पेजका खगेन्द्र संग्रौला र इश्वर पोख्रेलका लेख । खगेन्द्र संग्रौला सधैं झै अधिनायकवादका काला करतुत छताछुल्ल पार्दै थिए भने इश्वर पोखरेल ' आफै चोर्न गएको हो र - सबैले 'जा' भने अनि गएको मलाई खगेन्द्र संग्रौलाले किन 'चोर' भन्यो -' भन्ने भाकामा गनगन गरिरहेका थिए । सधै एक्लो निर्णाय गरेर भारदार बन्न इच्छुक शेरबहादुर देउवाले भविष्य देख्न नसक्नु त्यति ठूलो कुरा होइन तर सधै दलिय निर्णय गर्नेले प्रतिगमन आधा सच्चिएको देखेर शाशनको तर मार्न जादा धोखा खानु भनेको नेतृत्वको कुर्सीमा बस्न अयोग्य हुनु हो । प्रतिगमन आधा सच्चिएको भन्दै सत्ता समाउन गएको एमाले नेतृत्वलाई उसले कुबाटो समाएकोले एमालेका अयोग्यहरूले नया योग्य पुस्ता आउन ठाउँ छोडिदिनु पर्छ भन्ने जिकिर जहिले पनि संग्रौलाको रहेको छ र यो संदर्भमा भनिदा संग्रौलाको कलमको तिक्ष्णता अनुसार इश्वर पोखरेललाई केही चर्को लागेको हुन सक्छ तर नबिर्सनोस कि त्यो भन्दा बढी पिडा भएको थियो जनतालाई इराकमा नेपाली बन्दीको आर्तनादमा टेलिभिजनको पर्दामा उर्वादत्त पन्तको भनाइ र तेलको मुल्य वृद्धिको हाहाकारमा इश्वर पोख्रेलको छाती ठोकाइमा । इश्वर पोखरेल पट्टि यत्ति नै । अन्त्यमा बरु भन्छु कि खगेन्द्र संग्रौलालाई ठाउँ दियो, हामीलाई दिएन, भन्ला भनेर मात्र कान्तिपुरले त्यो लेख छापेको हुन सक्छ, अन्यथा संग्रौलालाई टेलिफोन गरेर सुनाइ दिए हुने लेख छाप्ने आवश्यकता म देख्दिन ।

खगेन्द्र संग्रौलाको लेखका संदर्भमा म प्रजातन्त्रका जननी जीन जेकस रुसो कथन उद्धृत गर्दछु - " प्रजातन्त्र भन्दा तल्लो दर्जामा राखिने राजतन्त्रको अत्यावश्यक र अवश्यम्भावी दोष यो हो कि प्रजातन्त्रमा जनआवाजले असमर्थ र सुसुचित नभएका व्यक्तिहरूलाई माथिल्लो स्थानमा पुर्‍याउदैन भने राजतन्त्रमा वहुसंख्यक स्थितिमा भुरेभारे अपराधी, ठग, छट्टुहरू आफ्ना धुर्त छटयाइका बलले दरबारको माथिल्लो स्थानमा पुग्दछन र त्यहाँ पुगेपछि मात्र उनीहरूको असक्षमता जनतामा प्रस्ट हुन्छ । छान्ने विषयमा राजाभन्दा जनताले कम गल्ती गर्छन । राजाका मन्त्री मध्ये एउटा साँचै सक्षम मानिस हुनु जनतान्त्रिक सरकारको थाप्लोमा एउटा मुर्ख हुनु जत्तिकै अति कम सम्भव हुने कुरा हो ।" त्यसैले डा.तुलशी गिरी कुनै कारण होइनन, परिणाम मात्र हुन । परिणामको अन्त्यले कारणको अन्त्य हुदैन । बोल्न र खोल्न नपाइने हुनाले मात्र देखिदैनन, अदण्डनिय छाता मनि अपराध त भइ रहन्छन । रुसोको भनाइ सँग म सहमत छु । अपराधवृत्तमा स्वच्छता पाइदैन । स्रगौलाको संग्रहले पनि यही कुरा देखाइ दिएको छ ।

तेश्रो लेखमा रामचन्द्र पौडेलले नेपाली कांग्रेसले अपनाएका दुई धार संर्घष या सम्झौताका उपलब्धि दर्शाएका छन । नेपाली कांग्रेसमा अहिलेको अन्तरिम स्थितिमा एउटा सशक्त र दृढ निश्चयी नेताको खाँचो छ जो लोभलालच नगरोस, सुखसयल नखोजोस र उसको दर्शन र गन्तव्य एउटा खुला किताब जस्तै प्रस्ट होओस । नेपाली कांग्रेसका दोश्रा पुस्ताका नेता मध्ये अब त्यसको निम्ति रामचन्द्र पौडेल मात्र देखिन्छन । नेपाली कांग्रेस अब घर फर्किएका शेर बहादुर देउवा वा गोविन्द राज जोशी जस्ता मानिसबाट चल्दैन । तैपनि 'राजकिय अहंकार देश विकाशको सबभन्दा ठूलो बाधक बन्दै आएको नस्विकारिएसम्म कुनै समस्याको हल निष्कने छैन' भन्ने वहाँको निष्कर्षमा राष्ट्रिय नेता बन्न चाहनेले त्यसपछिको बाटो जनता सामु प्रस्तुत गर्न सक्नु पर्छ । त्यो कुरा भने लेखमा देखिएन ।त्यो कुरा स्विकार भए पछि बाटो तय गरौंला भन्ने सोच अनिर्णयको बन्दी हो र जनता अनिर्णर्यको पछाडि लाग्दैन । संर्घष गर्नु पर्ने त यसै छदैछ भने सम्झौता पनि अघि जस्तै अन्त्यहीन संघर्षको र्निम्ति जनता तयार हुदैन । बन्दी अवस्थामा नै पौडेलले यो कुरा हृदयङ्गम गर्नु आवश्यक छ अन्यथा कृष्ण पहाडी, शम्भु थापा जस्ता मानवअधिकारवादीहरू या गगन थापा जस्ता तरुणहरूले संर्घषमा नेपाली कांग्रेसको नेतृत्वलाई पाखा लाउन सक्छन ।