Wednesday, September 14, 2005

कित्ताकाट



-नेपाली भाषामा बालक देखि बुढो र भगवान देखि रङ्क सम्मलाई आदरपर्ूवक प्रयोग गरिने आदरार्थी प्रयोग 'तिमी' हो भन्ने म ठान्छु । तँ, तपाई, हजुर, मौसुफ आदि त आफू वा अर्कोलाई उच, निच देखाउन प्रयोग गरिने शब्दावली मात्र हुन । त्यसैले यस मेरो लेखमा तिमीवाचक सम्बोधनको प्रयोग कसैको मान-अपमान निम्ति नभएर संचार माध्यममा यस्तै र्सव आदरार्थी शब्द प्रयोग होस भन्ने चाहना राखेर भएकोले अन्यथा नसोच्न अनुरोध गर्दछु ।)
यो एक वर्षभित्र घटना र विचार प्रवाह अति तिब्र गतिमा भएका छन । वर्षदिन अगाडि प्रधान मन्त्रीको कुर्सीमा बसेर निर्वाचन गराउछु भनेर तात्ने शेर बहादुर देउवा आज खोर भित्र छन र उनको सहयोगी बनेर सत्तामा गएको नेकपा एमाले जनता द्वारा अपहेलित भएर हामीले गल्ती गर्‍यौं भनेर माफी माग्दै अर्को बाटो समाउन गएको छ । २००७ साल भन्दा अगाडि देखि नै राजतन्त्रलाई मान्दै आएको नेपाली कांग्रेसले बी.पी.को 'मेरो गर्धन राजाको गर्धन सँग जोडिएको छ' भन्ने वाक्यलाई तिलाञ्जली दिएर राजा विहिन नेपालको निम्ति पनि आफ्नो ढोका खुला गरेको छ । मौन छ राष्ट्रिय प्रजातन्त्र पार्टी शायद द्वन्द छ विचारको त्यहाँ भित्र पनि । यो वर्षदिन भित्रमा जनता विद्रोहको रूपमा मैदानमा देखापरेका त छैनन तर जनतालाई अगाडि ल्याउन सक्ने विचार प्रवाह भने तिव्र गतिमा भएको छ । वर्षदिन अगाडि राजतन्त्रको विकल्प सोच्ने मानिसलाई सजिलै माओवादीको संज्ञा दिइन्थ्यो त अहिले त्यसलाई स्वतन्त्र अभिव्यक्तिको रूपमा राजावादी स्वयम्ले पनि लिएर पर्यायवाची शब्दको खोजीमा लागेका छन । प्रजातन्त्र, लोकतन्त्र, जनतन्त्र एउटै व्यवस्था व्यक्त गरिने शब्दावली मात्र हुन भन्ने पूर्व पंचायती जाँचबुझ समितिका सदस्य र वर्तमान राजपरिषद स्थायी समितिका सदस्य यज्ञप्रसाद आचार्यको भनाइ यस्तै संदर्भमा आएको छ । 'यो केही होइन, आक्रोशको अभिव्यक्ति मात्रै हो' भने पनि आक्रोश सशक्त रूपमा अभिव्यक्ति भएको पक्कै हो । शब्द विशेषले मात्रै केही गर्दैन भन्दा पनि प्रजा शब्दसँग वितृष्णा देखिन्छ नेपाली समाजमा, नत्र प्रजातन्त्रलाई छोडेर किन लोकतन्त्र समाउन चाहन्छन दलहरू ? यसै प्रस्ट छ - प्रजा बन्न चाहदैनन कोही पनि, अझ प्रजा भनिन नै चाहदैनन । यसको अर्थ के हुन्छ - राजावादीहरूले सोच्ने कुरा हो त्यो ।
राजाको राजनैतिक सक्रियताको वकालत गर्ने सच्चित शमशेर हुन या निक्ष शमशेर या भरत केशर यी सबै नै आमाको पेटबाट सुनको चम्चा बोकेर आएका मानिसहरू हुन र उनीहरूले भारदारी सोच र जनताको सोचमा कति अन्तर छ त्यो थाहा पाउन सक्दैनन तर, कहीं न सही, फुस्रे देखि धरानका बाटामा भरियाले ढाकर डिलमा अडयाएर चिसो ढुंगाको चुलोमा ढिलो ओडालेको देख्ने यज्ञप्रसाद आचार्यले एउटा गरिब नेपालीको घरमा पाक्ने कोदाको ढिंडो ओडाल्न उसले दिनको कति भाग खर्चनु पर्छ भन्ने उनीले अवश्यै बुझेका छन र जनताको भाषा उनी बुझछन । त्यसैले होला, उनी जति नै चाहदा पनि सुनको चम्चा बोकेर जन्मिएका भारदार जस्ता सच्चा भारदार बन्न सक्दैनन र आफू सरहकोमा आइपुग्दा बाघको छाला ओडेको स्यालले झैं आफ्नो आवाज निकाली हाल्छन । केही दिन अगाडि मात्रै उनले भारदारहरूले 'देशमा राजा मान्ने मात्रै छन' भनेर चिच्याइरहेका बेला उनीले र्सवसाधारण नेपालीले भने झैं प्वाक्कै भनिदिए - 'यो देश राजावादी र राजाविरोधि दुई भागमा विभाजित भएको छ ।' आफूलाई सुनको पर्खाल भित्र नराख्ने कुनै पनि नेपालीले देखेको सत्य भनि त दिए तर राजावादको पूर्वाग्रहले पिडित आचार्यले एउटा गलत सोच राखेको भने छर्लङ्ग हुन्छ । जनताका पक्षमा उठ्ने आवाज र विचारलाई राजाविरोधीको संज्ञा दिनु अवश्य नै पनि विकृत सोच हो । बरु यसो भन्दा हुन्छ - 'यो देश राजावादी र जनतावादी दुई खेमामा बाँडिएको छ ।'
देशको वैचारिक राजनितिको ध्रुविकरण 'या राजतन्त्र मान या प्रजातन्त्र' भनेर डा.तुलशी गिरीको कथनबाट शुरु भएको थियो । 'राजा कुनै सम्विधान, विधान या विधिभित्र बस्नु पदैंन' भन्ने तर्क भरत केशरले निकालेका थिए भने 'राजतन्त्रको विरोध गर्ने माओवादी सरह हुने' उक्ति सच्चित शमशेरले पोखेका थिए । -भारदारहरूका बिचमा टंक ढकालको हैशियत स्थान उर्दी लगाउने गाउँले कटुवालको जति मात्र भएकोले म उनीलाई यो विवादको घेरा भन्दा फरक राख्दछु ।) यी विचारहरू दलिय नेताहरूलाई तर्साएर तह लगाउने राजनैतिक सोचबाट आएका थिए । यसरी राजा सक्रिय हुनु पर्छ भन्ने सोचका पूर्व पंच र भारदार बाहेक अरुलाई अर्को पक्षमा हुत्याउन गरिरहिएको काममा आचार्यले कित्ता विभाजित भइसकेको घोषणा गरेर र्सवसाधारण सबैलाई आ-आफ्नो पक्ष रोज्न बाटो खुला गरिदिए । तर कुरा यतिमा मात्र अडिएन । 'राजाको काममा सहमति हुन नसक्ने कर्मचारीलाई आफूले सहन नसक्ने' कुरा व्यक्त गरेर मुख्य सचिवको निम्ति छानिएका लोकमान सिं कार्कीले सरकारी कर्मचारीलाई पनि यो वा ऊ कित्तामा खडा हुन वाध्य पारिदिए । सबै भन्दा कनिष्ठ लोकमान सिं कार्कीलाई मुख्य सचिवमा नियुक्ति दिएको राजको काम पचाउन नसक्ने कर्मचारीको उभिने पाटो खुला भएको छ अब । आज सम्म मौन छन सेना र प्रहरी प्रमुखहरू तर भावी मुख्य सचिवको जस्तै अभिव्यक्ति यिनीहरू बाट पनि निस्कियो भने विभाजनले पूर्णता पाउने छ र देश राजावादी र राजाविरोधी या जनतावादी दुई विचारमा उभिएर अन्तिम फैसलाको निम्ति द्वन्द थाल्नेछ । कस्तो हुनेछ त्यो द्वन्द - भविष्यले मात्र बताउन सक्छ तर, भलै जति सुकै दुख किन न पाउन्, जनताले हारेको इतिहास छैन ।

Friday, September 09, 2005

बोकाको मुखमा कुभिण्डो ?


राम दाहाल द्वारा
सच्चित शमशेर जबरा , भरतकेशर सिंह र टंक ढकाल भन्दा पनि अझ राजावादी भएर अहिले मुख्य सचिव लोकमान सिं कार्की कुर्लदै राज्यका कर्मचारीहरूंलाई तर्सउन अगाडि आएका छन । जसले जे जस्तो राजनैतिक आस्था राखे पनि राज्यको नियम कानुन पालना गरेर राज्य व्यवस्थामा सहभागी हुनु सरकारी कर्मचारीहरूको कर्तव्य हो र यो भन्दा पर गर्न व्याध्य हुनु नपर्ने उसको अधिकार पनि हो । १२ वर्षे प्रजातान्त्रिक पद्धतिले उनीहरूलाई यो कुरामा सचेत बनाएको छ । हिजो सम्म राणा, सिंह र ढकाल त्रिमूर्तिले पंचायत सँगै पाखा लागेको 'देश नरेश' को नारा निकालेर देश र राजालाई एउटै धागोमा उने र राजाको विरोध भनेको देशको विरोध भन्दै राजाका कदमका विरोधिलाई देशद्रोहीको पगरी भिराएर राजा विरोधि खेमाको कित्ता फराकिलो पारिरहेका थिए । आज 'राजमुकुटमा निष्ठा नराख्ने कर्मचारीको दोहोलो काडने' सन्देश प्रवाहित गरेर मुख्य सचिवले दुई फराकिला पाटा तयार गरिदिएका छन जसमा एकातिर देश रक्षार्थ बन्दुकको मोहोरी सामु छाती थाप्न तयार बहादुर सैनिक जवानले पाउनु पर्ने जर्नेली पद बन्दुकको मोहोरी पनि नदेखी हुकुम प्रमाङ्गीले हत्याउन सक्ने बाबुका छोरो हुनाले कर्मचारीले नियुक्ति र बढुवाको निम्ति पार गर्नु पर्ने लोकसेवा आयोगको ढोका पनि नदेखाइ नियम र कानुनको र आम जंगी र निजामति कर्मचारीहरूको आस्थालाई बेवास्ता गरी हुकुम र निगाहले नै चाकडीको भरमा नियुक्ति र बढुवा पाएका लोकमान सिं कार्कीहरू जस्ता हुनेछन भने राज्यका नियम र कानुनका दायरा भित्र बसेर देश र जनता प्रति वफादारी राख्दै कर्तव्य पालनगर्ने कर्मचारीहरू अर्को तिर । यो त प्रस्ट हुदै जाला नै तर निगाहले मंत्री भएका ढकालले र सेवा निवृत्त राण र सिंहले राजनिति गर्नु एउटा कुरा हो तर पंचायतकालिन मुख्य सचिवले पनि तठस्थता देखाएर राखेको पदको गरिमा र राजनैतिक निश्पक्षताको खिल्ली उडाउने बुद्धि मुख्य सचिवलाई आयो कहाँ बाट ? यो कसैलाई खुशी पार्न आफूले उडाएको परेवा आफ्नै थाप्लोमा बसाएर हाँस्ने र्सकसको जोकरको जस्तो विदुषकिय शैली हो कि क्षमता परिक्षण बिना नै माथि उक्लिएकाले बोकाका मुखमा कुभिण्डो ठुलो भएको हो ?