Monday, September 29, 2014

हामी कहाँ छौ ? (लेख)



हामी कहाँ छौँ ?

विद्वानहरूका आ-आफ्ना राय र तर्क होलान् तर मजस्तो सामान्य मानिसले मेरा वरिपरिका कुरालाई लिएर नै हाम्रो स्थितिको आँकलन गर्नु पर्दो रहेछ । हिजो मात्रै एउटी नानीले भनिन् "गरिबले कसरी बाँच्ने बा ? एक छाक पनि नपुग्ने जाबो एक मुठो सागको ५० रुपयाँ तिर्नु परिरहेको छ । पोहोर १००० तिर्दै थिएँ एक बोरा चामलको निम्ति अहिले १५०० तिर्छु । खानमा पनि कति कटाउने ? छोराछोरी भोकै मार्न भएन ।"

नेताहरू कहाँ उपचार गराउछन् ? त्यो सर्वसाधारण जनताको चासोको विषय हुनु नपर्ने हो तर जब एकातिर केटाकेटी भोकै बस्नु पर्ने स्थिति आउछ अनि नागरिक जिम्मेवारप्रति आक्रोशित हुनु स्वभाविक हो । उसले नेताहरू विदेशका सानदार अस्पताल र वीर अस्पतालमा मर्नुमा अन्तर देख्न छोड्छ । जब सानो विरामी छोरोलाई औषधी किन्न नागरिक खुत्रुके फोर्दै हुन्छ र उसको रेडियोले नेताज्यू विशेष हवाइजहाज मार्फत 'हाछिउँ' उपचारको निम्ति विदेश भ्रमण लागेको समाचार भट्याउँछ, उसलाई खुत्रुकेसँगै यो संसार नै फोरिदिऊजस्तो लाग्नु स्वाभिविक हुन्छ । 

मेरो घरको वरिपरि जवान केटाहरू छैनन् । प्रत्येक घरमा सोध्दै गयो भने प्रशान्तमहासागरिय टापुदेखि पातालदेशसम्म चारो खोज्न हिडेका पाइन्छन् उनीहरू । सम्पन्नका छोराहरू यो वा ऊ नाममा पातालदेशतिर लागेका छन् भने असम्पन्नहरू १००/५० डलरको निम्ति ज्यान फालेर भतुवा हुन संसारभरि छरिएका छन् । हाम्रा विद्वान अर्थशास्त्री विश्वग्रामको प्रभाव ठान्छन् यसलाई र यसैले देशको अर्थस्थिति बिग्रन नदिएकोमा गर्व गर्छन् । तर जब मेरा फेसबुकका भित्तामा विदेशमा मरेका/मारिएका युवाका लाशहरू दिनहुँ टाँसिन्छन्, ती छोराछोरीको सुद्धाइँ खान वाध्य आमाबाबुहरू मेरा अगाडि लम्पसार परेजस्तो लाग्छ । 

के छ देशमा ? अर्थशास्त्री भन्नु हुन्छः "पैसा छ ।" हो पैसा छ हामीसँग । पैसा नहुदो हो त न सुखसयलका सामग्री सम्पन्नहरूले पाउने थिए, न हाम्रा नेताजीहरू 'हाछिउँ' को ओखती गर्न पातालदेशतिर धाउने थिए । एउटै हवाइजहाजले लाश देशभित्र भित्र्याएर नेताजीहरूलाई विदेश पुर्‍याउने थिएन । हातमा स्मार्टफोन लिएका सम्पन्न तन्देरीहरू प्रेमिकासँग जिस्किन पाउने थिएनन् । 

अर्थशास्त्री सोच्छन् कति नै गएका छन् र देश बाहिर ? बढीमा भए त्यही ५० लाखका हाराहारी त हो नि । अझ त्यति नै पठाउन सके देश सम्पन्नताले हराभरा हुने ठान्छन । त्यति समस्या हाम्रा नेतालाई पनि छैन । आफूले सत्ता पाउन यो देश टुक्र्याउन तयार छन्  र उस्तै परे बेच्नै पनि । उनीहरूलाई शाशनाधिकार दिने हो भने के फरक पर्छ उनीहरूलाई ? माथि एउटालाई रिझाउनु परे पनि तलका सबै जनतालाई कज्याउन त पाइन्छ । त्यसैले होला देश छुट्याउनु पर्छ भन्नेलाई त्यो प्रचारप्रसार गर्ने अधिकार दिनु पर्छ भन्छन् हाम्रा नेताहरू । के थाहा ? भोलि 'हतियार उठाउने अधिकार पाउनु पर्छ उसले' पनि भन्ने हुन् कि ! भोलि यो देश बेच्नु पर्छ भन्नेले पनि छुट पायो भने अचम्म नमान्नु पर्ने दिन आउन सक्छ नेताहरूको यही रवैयाले ।

कहाँ छौँ हामीहरू ? कहाँ छौँ ? थाहा छैन । कुनै दिन १४ हजार बिजुली बनाइदिनेहरू झोलामा खोला बोकेर दौडेका थिए र हाम्रा नेता भन्थेः दिन सप्रेका छन् हाम्रा, देश झलमल्ल हुने छ । तर हामी अन्धकारमा छौँ आज । आज तिनै नेता र अर्थशास्त्री भन्छन् 'माथिल्लो कर्णाली सन्धी भयो । अब हाम्रो मुलुकमा उद्योग खोलिदिने ताँती लाग्ने छन् ।' आशा  गरौँ हामी त्यसमा भर नपरे पनि किनकि विशाल छिमेकीहरूको मुलुकको बजारमा लगानी गर्न छोडेर, कुन मुर्ख होला ? कुनै राजनैतिक नैतिकता पनि नभएको मुलुकमा लगानी गर्न आउने ?

यहाँको मुद्राको भर छैन । मुद्राको भर हुदो हो त स्वयम् अर्थमंत्रीले देशमा बसेर विदेशी मुद्राको खाता खोल्ने थिएनन् । ३ करोड नेपालीले बेहोर्नु पर्ने स्वास्थ्यसेवामा पनि यहाँका नेताहरूलाई विश्वास  छैन र सरकारी रकममा विदेश दौडन्छन् । शिक्षामा भर छैन यहाँका सम्पन्न र नेताहरूलाई । यहाँका विद्यालयहरू त सामान्य नागरिकका लागि हुन् । यहाँ जन्मिएकैमा अपराध ठान्न थालेको छ नेतादेखि सामान्य नागरिकसम्मले र मौका पाउने बित्तिकै भाग्न चाहन्छ ऊ । विदेशीमुद्राका खाता, अमेरिकी डीभी, विदेशमा पढाइ, नकली पासपोर्ट, विदेशमा लगानी यी सबै त्यही अपराधबोधको परिणाम हो । 

प्रधानमंत्रीले नागरिकता बाँडुन् या नबाडुन्, निजी स्वार्थ विना कोही पनि यहाँ पसेर काम गरिदिदैन । त्यसैले विदेशिएका नेपालीले आएर गरिदिन्छन् भन्ने नसोचे हुन्छ । त्योभन्दा आफ्नो स्वार्थ हेरेर छिमेकी भारतकाले गर्न सक्छन् । त्यसैले लगानीका आशले नागरिकता बाँड्नु पर्ने जरुरत छैन ।
इन्द्रचोकको घर बेचेर मेनेसोटाको फाँटमा घर बनाउनेको त विश्वास नहुने नै भयो तर विदेशीमुद्रामा खाता खोल्ने मंत्रीको पनि विश्वास रहेन । यति हुदाहुदै पनि आश छ मलाई किनकि यो देश छोडेर जान नचाहने पनि छन् र तिनले यो देश बनाउन सकेसम्म प्रयास गर्ने छन् । तिनलाई म सपुत भन्ने छु । बाहिरका त आएर हलो जोती दिने हुन् ज्यालादारीमा या अधियामा । 

हो यही स्थितिमा छौँ हामी दोबाटोमा । गन्तव्य निश्चित छैन । गन्तव्य पहिल्याउने आशामा छौँ ।

Journey to Life: प्रवेश आङ्ल भाषाको



प्रवेश आङ्ल भाषाको

(मेरा अंग्रेजी गुरु स्व.प्रकाशराज जोशी)
 
बाहुनले गाईखाने म्लेच्छ भाषा पढ्न हुन्न भन्ने मान्यता त्यो समयमा हाम्रा गाउँमा थियो। म्लेच्छभाषा या गाईखाने भाषा पढ्नेलाई जातबाट र अझ पानीबाट नै पनि काढन सकिन्थ्यो। जुल्फी पाल्नु (पछाडि कपाल बढाउनु), छरी काट्नु(पछाडिको कपाल काट्नु) भातमा नचल्ने अझ जातै जान सक्ने कुकर्म मानिन्थे। नियमले त बाहुनले बिहानै दिसा, सुची गई ३६ पल्ट हात माटोले सफा गरी लगौंटी लाएर नुहाउनु पर्थ्यो। सफा धोती फेरेर पानीको मूलमा बसी एक सय आठ पल्ट गायत्रीमंत्र जप पनि गर्नु पर्थ्यो। शुद्ध धोती लगाएर अल्गो चुलोचौकोमा बसेर कसैले नछोई खाना खानु पर्थ्यो र एउटा फरिया मात्र लाएकी बिहे भएकी बाहुनी मात्र त्यो चुलोमा पुग्न पाउथे। व्रतबन्ध नभएका छोरा र बिहे नभएका छोरी समेत चुलोमा चल्दैनथे। यी मर्यादाहरूलाई मादीबिर्ताका बाहुनहरूले सकी नसकी धेरथोर पालन गर्थे। लुकीछिपीका कुरा गर्ने हो भने त लसुन, प्याज, छ्यापी, गोलभेडा खाँदा जातै जाने भए पनि मेरी बजैले सबै जना सुतिसकेपछि लसुन खाएको कुरा त मैले अगाडि नै भनिसकें र यस्ता लुकीछिपी काम अरूले पनि गर्थे। 

बाहुनले वेदविद्याजस्तो देवभाषा मात्र पढनु पर्ने मान्यता बोकेको समाजमा म्लेच्छभाषा पढ्ने हावा एकाएक आयो। मेरी बजै मरेको एक डेढा महिना नबित्दै चैनपुर बजारबाट वीस वाइस वर्षको नौजवान प्रकाशराज जोशीलाई(जसलाई हामी सर भन्ने गर्थ्यौ र अब पछाडि प्रकाश सर भनिने छ) वार्षिक एक निश्चित अन्नपात र रकम दिने शर्तमा हामीलाई पढाउन ल्याइयो। कसले के र कति दियो त्यो त मलाई थाहा भएन तर प्रकाशसरको प्रवेशले मेरो मात्र होइन सारा गाउँको जीवनढाँचामा प्रभाव पार्न सुरु गर्‍यो।  

कुनै पाठशाला खुल्नु, कुनै शिक्षक आउनु ठुलो कुरा थिएन। ठुलो कुरा त पाठशाला चाहिन्छ, शिक्षक चाहिन्छ भन्ने मानसिकता विकास हुनु हो। हिजो अपवित्र, अछुत र अमान्य भएको भाषा, कोही कसैले पनि किन नहोस्, त्यसलाई स्वीकार गर्ने विद्रोह देखाउनु पनि तत्कालिन समाजमा ठूलो थियो र दर्‍है आँटको आवश्यकता पर्थ्यो। हुनत शिक्षाप्रेमी महानन्द सापकोटाले मादीबिर्ताबाट एक घण्टाको बाटो परको सदरमुकाममा ५।७ वर्ष अगाडिनै अंग्रेजी भाषापठनको विद्यालय खोलेका थिए तर त्यसलाई सम्पन्न बिर्तावालहरूको गाउँले आत्मसात गर्न सकेको थिएन। पहिलो चैनपुर बजार थियो र बजारको मानसिकता गाउँको भन्दा धेरै उदार हुन्छ। दोश्रो, चैनपुर बजार नेवार वहुसंख्यक बस्ती हो र उनीहरूको आवतजावत, नातागोता धनकुटा, धरान, धुलिखेल र काठमाडौं उपत्यकासँग पनि भएकाले त्यसले केही प्रभाव त पारिनैहाल्थ्यो। बजार समूहमा तागाधारी थोरै र वहुसंख्यक मतवाली भएकाल तागाधारीमाजस्तो कट्टरता उनीहरूमा थिएन। मेरो गाउँ त कट्टर बाहुनहरूको थलो थियो, आफ्नो ठिंग्रो, मुंग्रो कायम राख्न सत्ताधारीको समर्थन गर्नुपर्नेहरूको विर्ता थियो। त्यस्ता गाउँमा पनि आधुनिक शिक्षाको चासो बढ्नुको अर्थ भारत स्वतन्त्रताको प्रभाव परेर नेपालमा सत्ताविरोधको विस्तारै विस्तारै चल्दै थियो। विद्यालय मादीबिर्ताको रामालय-शिवालयको नारद गुरुको पाठशाला भएको पाटीमा स्थापना हुने भयो। यो विक्रम संवत् २००६ सालको कुरा हो।
हुनत मेरा मोरङमा केही जग्गा हुनाले बिराटनगरतिर आवतजावत गर्ने जेठा बाजेका छोरा रुद्रप्रसाद दाहालले प्रकाशसरभन्दा एक वर्ष अगाडि नै एक जना शिक्षका बिराटनगरबाट ल्याएर आफ्नै घरमा राखी अंग्रेजीभाषा पढाउन थालेका थिए तर म सानो भएको र उनको घर टाढा भएकोले मलाई त्यहाँ पढाउन पठाएनन्। फेरि उनको त्यो प्रयास सामुहिक नभएर व्यक्तिगत भएकाले त्यो टिकाउ हुन सकेन जस्तो लाग्छ मलाई। 
अंग्रेजी विद्यालय सुरु गर्न शिक्षक आउने बित्तिकै गाउँका परिवार दुई भागमा विभाजित भयो। एक थरी आङ्ल भाषाका कट्टर विरोधी भए। विरोध गर्नेहरूमध्ये एक थरी नयाँ विद्यालयमा लाग्ने खर्च सुनेर नै आत्तिएका थिए भने अर्का थरी पूर्वमान्यतालाई त्याग्नु सत्ताको विरोध गर्नु हो भनेर नयाँ विद्यालयको विरोध गरे तर समय यति चाँडो बदलिरहेको थियो कि उनीहरूको विरोध त्यही समयमा पनि फितलो देखिन्थ्यो र पछि त्यो विरोधले कुनै आधार पनि पाएन।
प्रकाशसरको प्रवेशपछि हामी विद्यार्थी पनि दुई भागमा बाँढियौं। अंग्रेजी पढनेहरू प्रकाशसरको पाटामा गए र सँस्कृत पढनेहरू नारदगुरुतर्फ रहे। नारदगुरुकहाँ पढ्न सस्तो थियो। बाबुबाजेका पालादेखिका दुर्गाकवच, चण्डी, रुद्री, वेद, अमरकोष, लघुकौमुदीका पुस्तकहरूले नै काम चल्थ्यो र नारदगुरुलाई गुरुदक्षिणा पनि थोरै थिए पुग्थ्यो। मेरो पनि तात्कालिन पुस्तक त अमरकोष मात्रै थियो। प्रकाशसरकातिर भने सुरुमा नै सिङ्गै पाँच रूपयाँको किताब किन्नु पर्ने। एक सुकामा एउटा खेताला पाइने जमानाको त्यो दुर्गमा ठाउँमा पाँच रूपया निकाल्न जोसुकैले सक्ने कुरा पनि थिएन। त्यसैले पनि हाम्रो विद्यालयलाई असकहरूले ठुलाठालुको विद्यालय भन्ने गर्थे।
मेरो घरबाट २।४ मिनट परको रामालय-शिवालयको पाटीमा नारदगुरुले पढाइ सुरु गरेका हुन्। हामी पराले सुकुलको चकटीमा बसेर पढ्थ्यौ र घाम ताप्न मन लागे त्यही चकटी ओछ्याएर मन्दिरका वरिपरिका ढुंगामा बसेर पढ्थ्यौं। युगौंदेखि चलिआएको शिक्षापद्धतिमा न विशेष आसनको जरुरत थियो न विशेष पाठ्यपुस्तक नै चाहिन्थे। श्रुति र स्मृतिका आधारमा चलेको शिक्षापद्धतिमा आधुनिकता आएपछि केही पुस्तकहरू प्रयोग हुन थालेका थिए, नत्र त उही गुरु-शिष्य परंपरा, उही डिको-धुलौटो र बाँसका खबटा र उही श्रुति, स्मृति नै कायम थियो तर प्रकाशसर आएपछि हाम्रो परंपरा तोडियो। हाम्रा हातमा सुरुका दिनमा नै नयाँ पुस्तक र कापीहरू परे, डिकाको सट्ट कलम र पेन्सिल पायौं। तितेपाती र गाजलका दिन गएर नया मसीका चक्कीहरू आए। धोती लगाउने भारतिय उपमहाद्वीपको शिक्षा सुकुलमा पलँटी मारेर आर्जन गर्न सकिए पनि प्यान्ट लगाउने आङ्लहरूको विद्या लिन, दिन कुर्सी, डेस्क, बेन्च आवश्यक ठानिए। त्यसैले पाटीको पश्चिमपिट्ट नारदगुरुको भाग लाग्यो र पूर्वपिट्ट प्रकाशसरले डेस्क बेन्च लगाउन थाले। 
हाम्रा डेस्क, बेन्च सार्‍है भद्दा थिए। जमिनमा चार वटा वाँसका किला गाडेर त्यसमा चुकुल हाली चुकुलमाथि फल्याक तेर्स्याइएको फलैंचालाई हामी बेन्च भन्थ्यौं र त्यसको ठिक अघिल्तिर बेन्चभन्दा एक फुट अल्गो अर्को बेन्च हाम्रो बेन्च बनेको थियो। हाम्रा डेस्क र बेन्चमा उचाइमा बाहेक अरू अन्तर थिएन। प्रकाशसरका निम्ति भने कहीं कतैबाट कसैले काठको कुर्सी उब्जाइ दियो। 
हामी अल्गो बेन्चमा बस्नेहरू हामीबाहेक  अरू कसैले पनि नबुझ्ने भाषा पढिरहेका थियौं र त्यो उचाइबाट सुकुलमा बस्ने हाम्रा अघिल्ला दिनका सहपाठीहरूलाई तल देखिरहेका थियौं। हाम्रो शिक्षा सम्पन्न र असम्पन्नका बीचमा विभाजित थियो। अघिल्ला दिन नारदगुरु सबैका गुरु थिए तर भोलिपल्ट नै उनी असम्पन्नहरूको मात्र प्रतिनिधित्व गर्न थाले। त्यो दुर्गम ठाउँको त्यो बेलाको शिक्षा विभाजन यो देशका आजका उच्चस्तरिय आवासिय विद्यालय र सरकारी या सामुहिक विद्यालयहरूका शिक्षाजस्तै विभाजित देखिन्थे।

म्लेच्छ शिक्षाका अध्ययनका दिनहरू हाम्रा निम्ति आनन्दका दिनहरू हुनथाले। हामीलाई पलेटी मारेर बस्नु पर्ने वाध्यता थिएन। सरलाई गुरुलाई जस्तो खुट्टामा ढोग्नु पर्दैनथ्यो। नमस्ते गरि दिए पुग्थ्यो। हामी केटाकेटी थियौं र प्रकाशसर पनि कुनै पाका थिएनन् र एक दिन यस्तै केटाकेटीपनको शिकार हुन पुगेथें म।

प्रकाशसरले हामी प्रत्येकलाई पाँच रुपयाका पुस्तक र कापी दिदा १५ दिन भित्र पैसा बुझाउनु पर्ने जानकारी दिएका थिए। मैले मेरी आमालाई सो कुरा सुनाएँ तर मेरी आमाले भनिन् — "पर्‍या छैन पाँच पाँच रुपया हालेर किताब किन्नु। सात वर्षका मान्छेलाई पाँच पाँच रुपयाको किताब ! केटाकटीलाई पाएर ठग्न खोज्छन् ठग मोराहरू।"

"पैसा नदिए किताब फिर्ता लान्छन् रे।" — मैले रुन्चे स्वरमा भने। 

"लगे लान्छन्।"— मेरी आमा आफ्नो भनाइमा अडिग रहिन्।

मैले दिनदिनैजस्तो आमालाई मनाउन खोजें। आमा आफ्नो अडानबाट डेग चलिनन्। आखिर त्यो दुर्दिन आइहाल्यो जो आउने कुरामा शंका थिएन। म्याद नाघेको २।४ दिन पछि पनि मैले पैसा नल्याएकोले प्रकाशसरले भने — "तैले किन पैसा नल्याएको?"

"आमाले दिइनन्।" — मैले डराएर जवाफ दिएँ। 
प्रकाशसरले सबै किताब र कापी खोसेर लिए र भने — "भोलि पैसा लिएर आउनु अनि किताब कापी लानु।"
साथीसँगातीहरूको बिचमा म अपमानित भएर घर आएँ र आमासँग रोइकराइ गर्न लागें तर मेरी आमाले आफ्नो अडान छोडिनन्। अन्ततः मैले रुदै भनेँ — "सबैका किताब छन्, मेरा छैनन्। मैले के पढने त?"
मैले सोचेको थिएँ मैले व्रह्मास्त्र छोडेँ र आमासँग त्यसको काट छैन तर आमाले तुरुन्तै जवाफ दिइन् — "अमरकोषको किताब लिएर जा र गुरुसँग पढ्। पर्दैन अंग्रेजी पढनु।"
त्यो उमेरमा मेरोनिम्ति ती अंग्रेजी पुस्तक र अमरकोष पढनुमा कुनै अन्तर नभए पनि मेरा सहपाठीहरू बेन्च र डेस्कमा पढिरहेका र म भने केही दिन अघि मात्र छोडेको अमरकोषको किताब समाएर त्यही सुकलमा बस्नु परेको पीडा र अपमानवोधले आहत भएँ र मेरा आँखाबाट आँशु र घाटीबाट हिक्का आइनैरह्यो। नारदगुरुले मलाई धेरै सम्झाए तर म सम्झन सक्ने स्थितिमा नै थिइनँ। म त कसैले नदेख्ने ठाउँमा लुक्न चाहन्थे। त्यसैले मैले मृत्युको आह्वान पनि गरें किनकि कसैले नदेख्ने ठाउँमा लुक्नु नै मृत्यु ठानेको थिएँ मैले। तर मृत्यु मैले बोलाउदैमा आउन सक्ने कुरा भएन र त्यो आँशु, त्यो हिक्काको बीचमा मैले मेरी बजैको अभावको तिखो पिडा अनुभव गरें।
मेरी आमा भन्थिन् — "यो सार्‍है रुन्चे छ। बिहान रुन थाल्यो भने रातिसम्म रुन्छ। अझ निन्द्रामा नै पनि रोइरहन्छ।"
हुन पनि हो। चाहे आफ्नो होस् या अर्काको दुख देख्यो कि मेरो आँखामा आँशु आइहाल्छ। त्यो दिन त झन रोक्न सक्ने कुरै भएन। किताब अगाडि खुला भए पनि मैले एक अक्षर पनि पढ्न सकिनँ। 
नयाँ आङ्ल विद्या भर्खर भर्खर खुलेको र शिक्षक र विद्यार्थी दुवै पनि नया भएकाले हाम्रा अभिभावकहरू सबै नै दिनहुँ विद्यालयमा आउथे। उनीहरूले पारम्परिक शिक्षाको विधि त जानेका थिए, नौलो आङ्ल शिक्षा बारे भने पुरै अनभिज्ञ भएकाले त्यो शिक्षाका बारेका केही जान्न खोज्ने उत्कण्ठा पनि थियो उनीहरूमा। सधै झैं त्यो दिन पनि उनीहरू एकल या हुल भएर आए र सबैले निरिक्षणको सिलसिलामा म सुकुलमा बसेर रोइरहेको पनि देखे। सबैजसोले नै म रुनुको कारण जान्न खोज्दा नारदगुरु जवाफ दिन्थे — "आमाले किताब कापीको पैसा दिइनन् रे। सरले फिर्ता लगे भनेर रोएको।"
कुरा सामान्य थियो र जटिल पनि। मेरी आमाले नदिएपछि सिङ्गो पाँच रुपया मलाई कसैले पनि दिने र दिलाउने आँट गर्न सक्दैनथ्यो। सानो भए पनि म त्यति बुझ्थे र मैले कसैतिर पनि अनुरोध गरेर हेरिनँ। मेरो मनस्थिति पराजित थियो र मैले आँशु पनि रोक्न सकिनँ। मेरी आमाको त्यो अडान मेरो जीवनको नकारात्मक पक्ष हुने थियो कि सकारात्मक? त्यो छुट्याउन गाहारो छ तर त्यो अडान कायम नै रहेको भए आज जस्तो असीमित ज्ञान खोज्दै भौंतारि रहने भने म थिइनँ। मेरा नैतिकता-अनैतिकता, पाप-धर्म, न्याय-अन्यायका परिभाषा पनि आज जस्ता हुने थिएनन्। म एउटा साधारण गाउँको एउटा सामान्य मानिस रहने थिएँ र त्यही अज्ञानले मलाई स्थिर बनाउने थियो। 
औशीको रात नै भए पनि कहीँबाट जुनकुरी छिरेर प्रकाश जन्माइ दिन्छ। सुनसान ठाने पनि कुनै प्वालबाट छिरेको हावाले सुसेली हालिदिन्छ र मेरो जीवनमा पनि त्यस्तै भयो। निराशाको मेरो त्यो अनन्त सागरमा एउटा दरिलो स्वर सुनियो - "ए पण्डित, किन रुन्छ यो?"
"आमाले किताब कापीको पैसा दिइनन् रे। सरले फिर्ता लगे भनेर रोएको।" नारदगुरुले उही रटिरटाउ जवाफ दिए।
ती अभिभावकले मलाई उठाएर बेन्चमा बसालेर प्रकाशसर तिर हेरेर भने — "ए प्रकाश ! यसका किताब फिर्ता दे। यसले पैसा ल्याएन भने म तिरिदिउँला।"
सबै आश मरिसकेको स्थितिमा ती किताब फिर्ता पाएको क्षणको जति आनन्द मैले कहिले पनि पाइनँ र त्यो क्षण मेरो निम्ति सधैं स्मरणिय भयो। उनले मेरी आमालाई के भने? त्यो मैले थाहा पाइनँ र पाउने कोशिश पनि गरिनँ तर मेरी आमाले त्यो पैसा भोलिपल्ट नै तिरिदिइन् र जीवनमा आफूले जतिसुकै कष्ट सहनु परे पनि मेरी आमाले आफ्ना छोराहरूको पढाइमा पैसाको लोभ त्यसपछि कहिले पनि गरिनन्। त्यसै गरी मेरोनिम्ति आफूलाई धरौटी राखिदिने ती अभिभावक मेरो जीवन भर श्रद्धेय भए र सधैं मलाई मार्गदर्शन गरिरहे। मेरा गाउँका कैयौं बाजेमध्येका ती मेरा बाजेका काकाका छोरा लीलानाथ बा (२०१५ को निर्वाचनमा प्रतिनिधि सभाको सदस्य भएपछि हामी एम् पी बा भन्थ्यौ) ले मेरो जीवनमा एउता ढुंगा गाडेर मेरा बाटो तय गरिदिए।
मेरी आमालाई लीलानाथ बाले के भने त्यो बेला मैले चासो राखिनँ। पछि म उमेरदार भएर सोध्दा आमाले भने अनुसार बाले भनेका थिए रे — "सँगैमा तेरा जेठाजुहरूका छोरा भने पढेर ठुलो हुने तँ भने छोरालाई हलो नै जोताउँछेस् त, बुहारी?"
शायद त्योभन्दा ठुलो व्रह्मास्त्र पनि थिएन होला उनीसँग त्यो बेला। लीलानाथ बाले यिनै शब्द भने वा भनेनन् त्यो त्यति जरुरी थिएन तर उनले भनेका शब्द मेरी आमाका मनमा यसरी गाडियो कि उनले हामी दाजुभाइको पढाइलाई सधैं प्राथमिकता दिइन् र आज हामी जो र जस्ता छौं यो उनकै अथक प्रयासको परिणाम हो।

Sunday, September 28, 2014

Journey to Life: अन्त्येष्ठि र अंशबण्डा



अन्त्येष्टि र अंशबन्डा

मेरी बजै देवी थिइनन् त राक्षसी पनि थिइनन् तर मानिस मानिसको सोच र समझ अनुसार उनलाई देवी पनि बनाए र राक्षसी पनि माने। नत्र त मेरी बजै सबल इच्छाशक्ति, दूरदर्शिता भएकी र समयानुकूल बाँच्न सिकेकी एउटी आइमाई मात्र हुन्। उनी बाँचुन्जेल सिंहजस्तै सान लिएर बाँचिन् र मरेपछि त बाघको छालामा स्यालको पनि रजाइँ चल्दो रहेछ र छालामा अधिकार जमाउन स्यालहरू ङार्रङुर्र गर्दै झगडा गर्दा पनि रहेछन्।  

मेरी बजैको अन्त्येष्टिका लागि उनको सम्पत्तीको कमी थिएन तैपनि उनको काजक्रियाका निम्ति पैसा कसले निकाल्ने भन्ने कुरामा उनका छोराहरूको विवाद हुन्थ्यो। पाइला पाइलामा पैसाको आवश्कता थियो। शेष गंगामा पुर्‍याउन, काजक्रियाका सामानहरू किन्न, दान गर्न आदि सबै कामका निम्ति पैसा चाहिए पनि छोराहरू बजैको बाकस खोलेर पैसा निकाल्ने आदेश दिन सक्दैनथे। आफ्नो अनुपस्थितिमा अर्कोले पाएर दमपच गरिदेला भन्ने डर थियो उनीहरूमा र वास्तवमा अर्को कसैले पाएमा दमपच नगरिदेला भन्ने पनि थिएन। बाघको छाला थियो र मौका पाए, छोराबुहारी मात्रै किन?, छोरीजुवाइँ, नातिनातिनी, इष्टमित्र, छरछिमेक कसैले पनि गरिदिन सक्थ्यो दमपच। तीस वर्षपछि हामी दुई दाजुभाइको अनुपस्थितिमा हाम्री आमाको मृत्यु हुदा बाघको छालामा रजाइँ गर्नेहरू थुप्रै निस्किएको हामीले पाएका थियौं। अन्तकारी मृत्यु भने पनि मर्नेका निम्ति पो अन्तकारी थियो त बाँच्नेका निम्ति त मृत्यु दिनदिनै भइरहने घटनामध्ये एक थियो र सो घटनामा सबै आफ्नो नाफानोक्सान मात्र हेरिरहेका थिए। साँझ पर्दा त मेरी बजैलाई सबैले बिर्सिसकेका थिए र मलामी फर्केपछि पनि मेरी कान्छी फुपू रोइरहेकी देखेर भाउजूहरूले हप्काएका थिए — "के रोइरहेकी, ए नानी? मर्ने मरिहाल्नु भयो। अब रोएर फर्कने हो र?" 

कान्छी फुपूको आँशु रोकियो वा रोकिएन त्यो थाहा भएन तर उनी भाउजूहरूकासामु रोइनन्। त्यो भनाइले मैले यस अर्थमा बुझें कि लाश नचलाउन्जेल मानिस त्यो लाश बिउँझहाल्छ कि भनेर रुँदा रहेछन् अन्यथा रुनुको कुनै  अर्थ रहेनछ।  

किरिया गर्न कोराभित्र बसेका मेरा बडाबाहरू राडी ओडेर परालका ओछ्यानमा सुते, एक छाक मात्र खाएर बसे, दुई टुक्रा सेतो कपडाबाहेक अरू आँङमा हालेनन् तर अम्मल भनिने त्यो सुर्ती कटुसका पातमा बेरेर खान भने छोडेनन्। त्यसैले त्यो बेला मेरो मनमा अर्को धारण पनि बन्यो कि सबै चिज छोड्दा पनि छोड्न नपर्ने त्यो सुर्ती भनिने वस्तु सार्‍है चोखो हुन पर्छ।  

बजैको मृत्यु मेरा लागि मृत्युसँगको पहिलो भेट थियो र त्यसले मलाई धेरै कुरा सिकायो। बुझ्नसक्ने भएपछि भने मैले त्यो बेला जानेका कतिपय कुराहरू गलत थिए भन्ने बुझें। त्यो बेलासम्म जीवन मलाई स्वप्नसंसारजस्तो लाग्थ्यो। बजैको मृत्युले मलाई नहुनुको परिभाषा स्वत गरिदियो। बजैको मृत्युले ममा एकाकीपन भरिदियो। मेरी बजै मेरो चाहनालाई बु226ि128ऒ्ढथन्, मेरा आवश्यकतालाई पुरा गरिदिन्थिन्। उनी मेरी आमा थिइन्, मेरी मित्र थिइन्। मेरो विपत्ती या दुखको समयमा उनी मेरो साथमा हुन्थिन्। म सानो भएकाले मैले उनको मृत्युको पिडा त भोगिनँ तर विछोडको एक्लोपन भने बेहोरेँ। मेरा लागि मेरी आमा मेरो संघर्ष र लक्षप्राप्तिकी गुरु थिइन् भने मेरी बजै मेरा लागि स्नेह र प्रेमकी नमुना बनिन्। 

मेरी बजैको तेर्‍हौं खुवाउन सबै बोलाइए। काँध सुन्निउन्जेल लाश बोक्ने मलामी त यसै बोलाइने नै भए। अपसव्यको स्थितिबाट सव्यमा आएपछि आफू चोखिएको स्वीकृत गराउन गुठियार दाजुभाइलाई बोलाउनै पर्‍यो। दानादि कर्मकाण्डको निम्ति वा्रह्मण आवश्यक भए र गरिब त भोज खानकै निम्ति पनि आए। नातगोता छरछिमेकी पनि त्यसबाट छुटेनन्। मेरी बजैको काजक्रिया उनको इज्जत अनुरूप नै भयो।  

मेरी बजैले आफूले दिनु पर्ने अंश छोराहरूलाई दिइसकेकी थिइन् र आफूले दिन सक्ने जति छोरीहरूलाई पनि आफू जीवित हुदै दिइसकेकी थिइन् तैपनि मेरा फुपूहरू 'योचाहि मलाई मेरी आमाको चिनो' भन्न छोड्दैनथे भने उनीहरूका माइती भने 'आमाले तिमीहरूलाई दिएकै छ नि तिमीहरूलाई' भनेर टार्न छोड्दैनथे। मेरा बडाबा र मेरी आमालाई मेरी बजैको त्यो जिउनी भनिने हण्डी चिरा पार्नु थियो र चुनदाम पनि तलमाथि नपारी बन्डा गरिदिने मानिस चाहिएको थियो। यसका लागि जान्ने बुझ्ने जुवाइँभन्दा उपयुक्त मानिस अरू कोही हुन सक्दैनथ्यो। जुवाइँले जिउनीको बन्डा अवश्य नै निश्पक्ष गरे होलान् तैपनि एक दशक नबित्दै उनलाई पक्षपात गरेको आरोप लाग्यो।  

मेरी बजैको जिउनीमा जग्गा थिए, गरगहना थिए, अन्नपात, घिउ, तेल, नुन, बेसार, लत्ताकपडा, भाँडाकुँडा आदि गृहस्थलाई चाहिने सबै चिज थियो। दानदक्षिण, भोजभतेर आदि सकेर पनि पर्याप्त सामान उब्रिएको थियो। यी सबै चिजहरूमा अंशियारहरूको समान हक लाग्ने नै भयो।  

मध्यस्थकर्ताले जिउनी बन्डा जग्गाबाट सुरु गरे। उनले जग्ााको क्षेत्रफल, उब्जनी, सन्धिसर्पन सबै मिलाएर जग्गाहरू चार भागमा विभाजित गरिदिए र एकएक भाग रोज्न अनुरोध गरे। बन्धुहरूबीच कुरा मिलेन। मध्यस्थकर्ताले विभिन्न विभाजनका गाँठा बनाए तैपनि चित्त बुझेन उनीहरूको। दुई दिनसम्म पनि त्यो गलबदीको गाँठो नफुके पछि मध्यस्थकर्ताले 'लौ तपाईहरूको भाग्य परिक्षण गर्नोस्' भनेर गोला हालि दिए। अंशियारहरूले आफ्नो छनौट अनुसार लिनै पर्‍यो। गरगहना र सबै सामान बन्डा हुदै गयो र लोभ पनि बढदै गयो। हुँदाहुदा अंशियारहरूको विभाजन स्तर यति तल झर्‍यो कि बुढियाले राखेको सिधे नुनको ढिको पनि फोरियो र दुनामा तेल पनि बाँडियो। पिण्डदानमा चढाइएको नैवेद्य श्राद्धकर्ता दाजुभाइहरूले पितृप्रसाद भन्दै खाएको देख्दा आज पनि मेरो आँखा अगाडि त्यो जिउनी अंशबन्डा झलझली आउँछ।

Saturday, September 27, 2014

Journey to Life: मेरी बजै

मेरी बजै

मेरी बजै कडा मिजासकी थिइन्। उनीसँग, अरूहरू त के, त्यो समयको बाघ ठानिने उनकै काका ससुरासमेत थर्कमान हुन्थे। भनिन्छ मेरा बाजे  कमाउन त सक्थे तर संचय गर्न सक्दैनथे र त्यो संचय गरिदिने काम मेरी बजैको थियो। नरम स्वभाव भएका कारण कतिले उनको स्वभावको दुरुपयोग गर्थे र बजैले तिनीहरूको त्यो दुष्कर्मलाई कठोरतासाथ उल्ट्याइ दिन्थिन् रे। मैले मेरा बाजेलाई देखिनँ। उनको मृत्यु म जन्मनुभन्दा १० महिना अगाडि भएको थियो। त्यसैले मेरी बजै म बारे भन्ने गर्थिन् — "यसको बेहोरा पनि मेरा बुढाकोजस्तै छ। जन्मन पनि बुढा जन्मिएको दशै महिनामा जन्मियो। मेरा बुढा नै आएका हुुन् नाति भएर।

मलाई लाग्छ शायद मेरी बजैको मप्रतिको लगाव आफ्ना लोग्नेको छायाँछविको मृगतृष्णा हुन सक्थ्यो।  

मेरी बजै भन्थीन् दश वर्षको उमेरमा त्यही उमेरको लोग्ने र एउटी तरुनी सासु मात्र भएको घरमा दश नंग्री खियाएर काम गर्दा पनि ५०।६० मुरी अन्न घरभित्र भित्रिइन्थ्यो रे र मेरो बाजेको मृत्युताका उनले नै दुई हजार मुरीसम्म आफ्नो घरमा हुलिन्। त्यत्रो विशाल (त्यो ठाउँको तुलनामा विशाल) सम्पत्ती केवल दुई दम्पतीको देन थियो। वार्‍ह वटा सन्तानकी आमा भएर पनि उनलाई कुनै सन्तानले सहयोग गरेनन्। छोरीहरूलाई उनले बिहे गरिदिएर लखेट्दै ठिक भयो र छोराहरू बाबुको सम्पत्तीमा मात्र आँखा लाएर बसे। बाबुको मृत्युपछि कमाउ व्यक्ति नभएकाले सम्पत्ती नबढ्ने र जुन भाइले पायो उसैले हडप्ने प्रवृत्ति देखेपछि मेरी बजैले आफ्नो भाग जिउनी राखेर छोराहरूलाई सम्पत्ती बण्डा गरी दिइन्। मेरी बजैलाई माहिलो छोरो सार्‍है मन परेको र कान्छो छोरो सानो भएकाले दुई जनालाई आफूसँगै मूलघरमा राखी जेठो र साहिँलोलाई नयाँ बनाएका दुई घरमा राखिदिने चाहना थियो तर लेखापढी जानेका बाठा र आमाबाबु, दाजुभाइको सुखसुविधा ख्याल नराखी आफ्नो र आफ्नै सन्तानको मात्र स्वार्थ हेर्ने मेरा माहिला बडाबा आमाको इच्छा विरुद्ध घर छोडेर सबभन्दा अगाडि निस्किए। त्यसैले साहिँला छोरालाई आमा र भाइसँग बस्न कर लाग्यो। त्यसमा पनि अंशबण्डाको केही महिनापछि नै मेरा बाबुको मृत्यु भएपछि त त्यो वाध्यता नै भयो। 

आफूले आर्जन गरेको त्यत्रो सम्पत्तीको आधिपत्य छोडेर सानो जिउनीको भरमा बस्नु मेरी बजैलाई कठिन त थियो नै। जुन घरमा उनको वचन लोग्नेले पनि काट्न सक्दैनथे र छोरीबुहारीले त शिर उठाएर कुरा पनि गर्न सक्दैनथे त्यही घर लोग्नेको मृत्युपछि छिन्नभिन्न भएको, छोराहरूद्वारा बेवास्ता हुन थालेको र बुहारीहरू पनि मुख लाग्न थालेको देखेपछि बुढिया आफ्ना दिन बितेको अनुभव गर्न थालेर आफ्नो आत्माले नमाने पनि वाध्यताले घरको एक कुनामा थन्कन थालिन्। 

मेरी बजैका बारेमा भन्नु पर्दा उनले भोगेको परिवेशलाई पनि एकपल्ट हेर्नु आवश्यक ठान्छु। जुन काल, परिस्थिति र वातावरणमा उनले जीवन बिताइन् त्यो स्वयम् एउटा इतिहास थियो।  

मेरा बजैको जन्म एउटा सम्पन्न बिर्तावाल परिवारमा भएको थियो। त्यो समयको त्यो ठाउँको परिवेशमा उनका माइती भित्र, बाहिर सबैतिरबाट सम्पन्न थिए र मेरी बजै मेरा बाजेको घर पस्दा तिनले असम्पन्नतासँग सामना गर्नु पर्‍यो। कुल, वंशका हिसाबले मेरा बाजे कुलिन थिए तर चार वर्षको उमेरमा उनी टुहुरा भएका र आमा नभएको समयमा उनका बाजेले केही जग्गा दिई उनलाई बाख्राका खोरमाथिको मतान सारिदिएका निर्धो व्यक्ति धनधान्य र सम्पन्न हुने सम्भावना थिएन। बुहारी भित्य्राएको बेला आफ्नो असम्पन्नता देखेर बुहारीले चित्त दुखाउली भनेर मेरा बाजेकी आमाले ५।७ भकारी माटोले भरेर माथिबाट धानले भरेकी थिइन् रे। मेरी बजै भन्थिन् के धान रहेछ भनेर भकारीमा हात गाडेर झक्दा माटो पाएर आफ्नो कर्मलाई धिक्कार्दै त्यहीं बसेर रोएकी थिइन् रे। 

मेरी बजै घरभित्र पस्दा जहानमा सासू र लोग्ने मात्र भए पनि ५।७ जना कमारीकमारी भने थिए रे। जति कमारा कमारी भए त्यति नै सम्पन्न ठानिने त्यो जमानामा मेरा बाजेले उनका बाजेबाट कमाराकमारी पाएका थिए र मेरी बजैले पनि दाइजोमा उनीहरूलाई लिएर आएकी थिइन्। जग्गा जमिन प्रशस्त हुदा करियाहरूको श्रम उपयोगी नै हुने थियो तर जमिन कम हुने परिवारमा उनीहरू त खाने मुख मात्र बढी भए। 

भनिन्छ मेरा बाजे सामान्य मानिस थिए, अति नै सामान्य। उनलाई खानेलाउने कुराको सोख थिएन। पेट भर्न र आङ ढाक्न पाए पुग्थ्यो रे उनलाई। उनी नम्र र मृदुभाषी थिए। विपक्षी या शत्रुकोसामु पर्दा पनि उनी नम्र भएर बोल्थे। उनको परिचालन शक्ति त मेरी बजै नै थिइन्। चौध वर्षको उमेर उनी आफ्नो दुखेसो सुनाउदै माहिला दाजुसँग रोइन् र दाजुले उनलाई सो समयको दुइ हजार रुपया सापटी दिए रे। त्यही नै मेरा बाजेको लगानीको स्रोत भयो। सो समयमा चर्को ब्याजमा लगानी गर्ने चलन थियो तर मेरा बाजेले सस्तो ब्याजमा रिण दिन थाले। नम्र, मृदुभाषी, थोरै ब्याज लिने र अझ घरैमा आएर रिण दिने साहु अरूभन्दा निकट हुने नै भयो। उनी तीन महिना, छ महिनाको भाखामा रिण दिन्थे र सो असुल गर्न समयमै त्यहाँ पुग्थे। आसामीले तिर्न नसके तागिता पनि गर्दैनथे बरु सावाँ ब्याज जोडेर अर्को भाखामा नया तमासुक बनाउथे। ब्याज सस्तो भए पनि उनले चक्रवृद्धिको सिद्धान्तलाई राम्रैसँग प्रयोग गरे। कर्जा असुलीमा उनी नगदको माग पनि गर्दैनथे। आसामीसँग नगद जिन्सी जे छ त्यही समाइदिन्थे। यसो गर्नाले उनले जिन्सी चलनचल्तीको मोलभन्दा सस्तोमा पाउँथे र त्यही जिन्सी अर्कोलाई बढी मोलमा लगानी गर्नाले मोलको अन्तर पनि नाफा हुन्थ्यो। त्यसैले होला आजभन्दा ७० वर्ष अगाडि त्यो अति दुर्गम गाउँको मेरो घरमा मैन्टोल (पेट्रोम्याक्स), फोनबाजा (ग्रामोफोन) र, अझ अचम्म !, युरोपेली बजारमा मात्र पाइने बच्छेबाजा (कन्सेर्टिना एकर्डियन) पनि थियो।  

घरको चार दिवारभित्र पसेको सम्पत्तीको रक्षा मेरी बजै गर्थिन्। त्यसैले सम्पत्तीको संचिति र संरक्षणको काम मेरी बजैको थियो। आफूले अभाव भोगेकीले उनको संरक्षण यति कठोर थियो कि बुहारीले खाजा र नातिनातिनी लगाउने तेलसम्म पनि माइतीबाट ल्याृउनु पर्थ्यो या सासुको आँखा छलेर ससुरासँग माग्नु पर्थ्यो। बाहिर लोग्ने सम्पत्ती सबै दान दिए पनि केही नभन्ने बजै भित्र भने कठोर थिइन् र भनिन्छ उनी त्यति कठोर नभएकी भए सम्पत्ती रहने पनि थिएन।  

कारोवार थालेको २५ वर्षपछि मेरा बाजेसँग जमिन थियो, पैसा थियो, धनधान्य थियो, गोठालोले चिनि नसक्नु गाईभैंसीको गोठ थिया, थुप्रै कमाराकमारी थिए, बथानका बथान खसीबोका थिए तर उनको बास भने त्यही बाजेको मतान भनिने बाख्राका खोरमाथि नै थियो र घरको वरिपरि कमाराकमारीका खोप्रा थिए। हरेक वर्ष वर्षका दिनमा उनी हिउँद लागेपछि नयाँ घर बनाउने संकल्प गर्थे र सुखा दिन आउने बित्तिकै उनलाई लगानीपातबाट फुर्सद हुदैनथ्यो। भनिन्छ मेरा बाजे प्रत्येक वर्ष वर्षा लागेपछि 'यसपालि पनि घर बनाउन पाइनँ' भनेर रुन्थे रे। आखिर मेरी बजैले बाबुकहाँ गएर गुनासो सुनाइन् र बाबुले बनाइ दिने वचन दिए। सिंहदरवारभन्दा अगाडि बनेको त्यो घर बनाउने जनशक्ति, ज्याला, सामग्री मेरा बाजेले जुटाइ दिए र ससुराले दुई वर्षमा त्यो घर, कम्पाउन्ड, मूलबाटो आदि बन्नु पर्ने सबै नै बनाइदिए। चार पैसामा ज्यामी पाउने त्यो जमानामा हजारौं रूपयाँ लागेको थियो सबै जना तर त्यसको लेखाजोखा भने कसैसँग भएको मैले भेटिनँ। कालान्तरमा त्यो घर, कम्पाउन्ड सबै मेरी आमा मार्फत हामी दुई दाजुभाइसम्म आइपुगेको छ।  

मेरी बजैले पच्चीस वर्षको अन्तरालमा ८ छोरी र ४ छोरा गरी १२ सन्तान जन्माइन्। तीमध्ये दुई छोरीका बाहेक सबैका सन्तान छन्। यति विधि सन्तान भएर पनि मेरी बजैलाई सुख भयो कि भएन त्यो त मेरासामु कहिले पनि भनिनन् तर मैले थाहा पाउदाका २।४ वटा घटना भने उनका पिडादायी अनुभव थिए।  

त्यो बेला  हामी (आमा, दिदी, म र भाइ) साहिँला बडाबासँग अंश र भान्सा छुटाएर अलग्ग खान थालेका थियौं। लोग्ने भएकी र नभएकी देउरानी जेठानी मिलेर बस्ने संभावना पनि थिएन। मूलघरको पहिलो तलामा हामी पकाएर खान्थ्यौं। भैंतलाको मूलचुलोमा साहिँला बडाबाको भान्सा थियो। बजैको खाना पनि मूलचुलोमा नै पाक्थ्यो। 

बजैको आफ्नै जिउनी थियो, आफ्नै अन्नपात आउथ्यो, आफ्नै दुहुनो गाई थियो। नुन, तेल, भुटुन, तरकारी सबै सामान बजैको आफ्नै थियो। हुने भए बजैले आफ्नै भान्से पनि राख्ने थिइन् होला। केवल एउटै भान्सामा दुई वटा चुलो नमिल्ने हुनाले मात्रै साझा खान पाक्थ्यो। साहिँली बडीआमाले बजैको भात पकाइदिन्थिन्। यसरी नै चलेको थियो। कसका मनमा के थियो? दैव जानोस् तर मेरी बजै र साहिँली आमाका बीचमा कटुता पैदा भयो र त्यसको बिज पनि म नै हुन पुगें।  

अगाडि नै भनिसकें कि म शायद मेरी बजैको मृगतृष्णाको त्यान्द्रो थिएँ। त्यसैले नै होला, सखर हालेर मुछेको आफ्नो अन्तिम दुई गाँस जुठो दुधभात मेरी बजैले सानो कचौरामा हालेर बाहिर निस्कदा कुकुरलाई झैं मलाई बोलाउथिन् र म पनि, जहाँ भए पनि दौडेर आउने कुकुरजस्तै, बजैको स्वर सुन्ने बित्तिकै दौडेर आइपुग्थें। त्यो सखर हालेको दुधभात त मेरी आमाले पनि दिन्थिन् तर, किन हो कुन्नि?, बजैको पुराजस्तो मिठो लाग्दैनथ्यो।  

"हरे ! किन दिनुपर्‍यो त्यो दुई गाँस भात के के न दिएजस्तो गरेर? भरे प्याच्च एक थोक भन्छन् अनि !" — मेरी आमा विरोध गर्थिन्।  

"दिएँ त मेरै सम्पत्ती दिएँ मेरा नातिलाई। कसले के भन्न पाउँछ?" — बजै सजिलै कहाँ टेर्थिन् बुहारीलाई। तर कहल सुरु भइ नै हाल्यो।  

मेरी जेठी बडीआमा सोझी र झगडा गर्न नसक्ने, बरु आफै रोइदिने खालकी थिइन्। माहिली बडीआमा जेठीचाहिँ मेरा बाबु मरेको १।२ महिना पछि नै मरेकीले उनलाई मैले देखिनँ। कान्छीचाहिँ कम बोल्ने र बोले पनि मेरा माहिला बडाबाका डरले मसिनो स्वरले बोल्ने। फेरि मेरा जेठा र माहिला बडाबा बाहिरको सबै आफैंले बेहोर्ने र स्वास्नी बाहिर निस्केर कराएको मन नपराउने भएर पनि त्यसो भएको हुन सक्छ। मेरा बाबु हुदा मेरी आमा कस्ती थिइन्? त्यो त मलाई थाहा हुने कुरा भएर तर पछि भने लोग्नेमानिस र स्वास्नीमानिस दुवैको जिम्मेवारी लिनु पर्ने भएकाले लोग्नेमानिस झैं लड्न भिड्न पनि सक्थिन् र स्वास्नीमानिस झैं रुन्थिन् पनि। त्यसमा पनि बालक छोराछोरी हुने विधवा आइमाई त आफूलाई निर्धो र निरिह ठान्छन् र बच्चा कुरेर बसेकी घाइते बघिनी झैं जहिले पनि झम्टन तयार हुन्छन् नै। मेरी बजै हुदासम्म त मेरी आमालाई लोग्नेकाजस्तो आड नभए पनि एउटा सहारा भने थियो।  

मेरी साहिँली बडीआमाका हकमा भने अलि भिन्दै किसिमले हेरिनु पर्ने हुन्छ। बाहिर हेरिदिने साहिँला बडाबा थिए तैपनि उनको मुख मेरी आमाकोजत्तिकै छिटो चल्दथ्यो। स्वभाव पनि सानो कुरा पनि सहन नसक्ने अलि दुच्छर नै। त्यसैले आफ्नो भान्सामा पाकेको दुधभात सासुले भतिजोलाई दिएको मन पर्दैनथ्यो होला र मनमा पनि लाग्थ्यो होला — "मेरा पनि त साना छोराछोरी छन् नि। तिनीहरू पनि नातिनातिनी नै हुन्। तिनीहरूलाई दिए पनि त हुन्छ। त्यो अर्को भान्सामा खाने नातिलाई बोलाइबोलाइ किन खान दिनु पर्ने?" 

सोचाइ त उनको पनि गलत थिएन। त्यसैले एक सहन नसकेर भनि हालिन् — "मेरा छोराछोरी मारीमारी आफ्नो नाति पोस्ने।

"मैले आफ्नो दिएकी छु र पनि त्यत्रो वचन !" — मेरी बजैलाई सार्‍है चित्त दुख्यो।  

मेरी साहिँली आमाले के बुझनन् भने बुढियाले नातिहरू बीच भेदभाव गरेर मलाई दुधभात दिएकी होइनन्। 'बाबु हुनेका त बाबुहरूले दिइहाल्छन् नि' भनेर टुहुरो नातिलाई कान्छो छोरोले खाने दुई गाँस पुरा दिएकी मात्रै हुन्। ठुलो हृदयले हेर्दा त्यो तुच्छ कुरा थियो तर मेरी बजैलाई बुहारीको वचन भन्दा पक्षपातको आरोपले मन कुँडियो।  

सासू बुहारीका बीच मनमुटाव बढ्दै गयो। बुहारीले जेमा पनि सासूले भतिजाहरूको पक्ष लिएको देख्न थालिन् र सासूले आफूले खटन गरेकी बुहारीले आफूलाई खटन गरेको देखेर र छोरोले पनि त्यसमा केही नबोलेकाले आफू बढता भएर निकालिन लागिछुु भन्ने सोचिन्। त्यसैले मेरी बजै एक दिन हाम्रै भान्सामा पुगेर खान थालिन् र अरूका निम्ति बढ्ता नै भए पनि लोग्ने नभएकी तरुनी आइमाईका निम्ति सासू ठुलै सहारा भइन्।  

हाम्रो मूलघर र जग्गा हामी र साहिँला बडाबाका बीचमा साझा थियो। त्यसैले मेरी बजैले आफ्ना जान्ने बुझ्ने जुवाइँ बोलाएर घर-जग्गा बण्डा गर्न लगाइदिइन् र घरको मोलको आधा मेरी आमाले तिर्ने शर्तमा मूलघर हामीले पायौं। मेरी आमाले घरको मोल चुक्ता नगरुन्जेल र आफ्नो घर नबनाउन्जेल साहिँला बडाबा पहिले मूलघरमा नै र पछि तीनतले मतानमा बस्न थाले। मेरी बजै हामीसँगै मूलघरमा नै बसिन्। 

मेरी बजै र मेरी साहिँली बडीआमाको सम्बन्ध कहिले पनि सुधि्रएन। साहिँला बडाबाले स्वास्नीमाथि नियन्त्रण नगर्नाले बडीआमाको आँट पनि दर्‍हो हुदै गयो र मेरी बजै त सासू नै भइहालिन्, उनी किन दब्थिन्? अन्ततः दुई जना बीचको कटुता यति बढ्दै गयो कि सानो कुराको सत्य-असत्य छुट्याउन बडीआमाको बुढियालाई टाउकोमा तामे पाथी राखेर धर्म भाक्नु पर्छ भन्दै तामाको पाथी सासूसमिप लिएर पनि आइन्। यस्तो उच्छि्रङ्खलताले कसलाई कहाँ पुर्‍यायो त्यो बडीआमाले पछि बुझन् होला तर सासूले बुहारीलाई त्यो कु्रामा माफी कहिले पनि दिइनन् र घरको आँगनको पल्लो छेउमा बसेकी बुहारी सासूको मृत्युपछि मात्रै मूलघरमा छिर्न पाइन्।  

मेरी बजैका आठ छोरीमध्ये मैले थाहा पाउँदा पाँच बटी जिउदै थिए र बराबर माइती पनि आइरहन्थे। उनीहरूका आफ्नै समस्या र आवश्यकता थिए। उनीहरूले दुख सुनाएर रुने ठाउँ पनि आमा नै थिइन् र केही अभर पर्दा माग्ने भाँडो पनि उनी नै थिइन्। त्यसैले एउटी फुपूलाई (कुनचाहिं हुन् म अहिले सम्झन्न) पैसाको आवश्यकता पर्‍यो र आमा छेउ आएर कराइन्। पैसा मेरी बजैसँग रहेनछ र मेरी आमासँग मागिन् बजैले। मेरी आमा पनि किन दिन्थिन् चेलीबेटीलाई दिएका रकम फिर्दैन भनेर जानेपछि। छोरीले सार्‍है करकर गरेपछि बुढिया पल्लो गाउँमा गएर कसैकहाँबाट सापटी या रिण के लिएर आउदा दुई रुपयाका मुद्रा बाटैमा खसालिछन्। आमासँगै बन गएको मैले फर्कदा बाटोमा सो रुपयाँ पाएँ र पाएको कुरा बाटोभरि सुनाउदै आएँ। आमाले मैले पाएको पैसा फिर्ता दिनलाग्दा मेरी बजैले भनिन् — "मैले त रूपयाँ हराएँ भनेर माया मारेकै थिएँ। मेरै नातिले भेटेछ। त्यसैलाई लुगा हालिदे।

मेरी बजैले कहीँबाट रिण लिएको र मैले दुई रूपयाँ पाएको कुरा कुनै गोप्य रहेन। एक कान दुई कान गर्दै छोराहरूकहाँ पनि पुग्यो  र गाउँभरि फैलियो। कतिले भने सत्को धन बुढीको। कहाँ हराउथ्यो त्यसै। नातिले नै भेटेछ।  

छोरी रूपयाँ लिएर गइन् र यो कथा यहीं नै टुंगिनु पर्ने थियो तर दुर्भाग्यवस यतिमै टुंगिएन। 

मेरा जेठा बडाबाको मिजास खरो थियो। त्यसमा पनि सम्पत्तीवालको तीन छोरीमनिको जेठो छोरो उदण्ड हुनु स्वाभाविक पनि थियो। तर त्यो उदण्डता परपिडक भने थिएन। जुवाजस्तो अम्मल समाएकाले छुिट्टएर अलग्गै बसेपछि त्यो अम्मलले सम्पत्ती घटाउन थालेको थियो र 'अब खेल्दिनँ' भनेर किरिया खाए पनि साथीभाइले जुवाको खाल नारेपछि उनी आफूलाई रोक्न सक्दैनथे। उनी सोझा मानिस थिए र कसैले भनेको कुरामा सजिलै विश्वास गर्थे र आवेशमा आउथे। आवेशमा आएर गरेका कतिपय कामले नकाम गरिसक्ने हुनाले पछि सो कामको पछुतो भए पनि पिडितले उनलाई माफी शायद नै दिन्थ्यो। 

जुवाडे, खरो मिजास, फुलेल र सोझा मेरा जेठा बडाबाले कसैलाई दुख दिउँन्न भन्ने मनमा नराखे पनि यिनका यी दुर्गुणले उनका सामिप्यका सबैले दुख पाउँथे र दुख बेहोर्थे। 

मेरा माहिला बडाबा जेठा बडाबाभन्दा फरक थिए। दाजुभाइमध्ये उनी पढेलेखेका मानिन्थे। हामी छोराहरूलाई तीनधारा पाकशालामा मात्रिकाप्रसाद कोइरालासँगै पढेको कुरा सुनाउथे तर उनी पढालेखा भए पनि उनको विचार समयानुसार फराकिलो कहिले पनि पाइनँ। उनीमा आफ्नो स्वार्थ बढी थियो, छुच्याइँ बढी थियो। दाजुभाइलाई अंश लुटेर खाने शत्रुमा दर्ता गर्थे। घरका आइमाई कसैसँग बोले पनि 'राँडी पोइला जान लागी' भन्थे। मैले थाहा पाएसम्म नैतिक आधारका पक्षमा उनी कहिले पनि बोलेनन् र नैतिकतामा बसेनन् पनि। 

मेरा साहिँला बडाबा बलिया थिए र हामीलाई भन्थे — 'म त गोठमा बसेको गोठालो पो त। दुध, दही, घिउ खाएको मान्छे। तिमीहरूको माहिलो बाबुजस्तो भुटेको आलु खाएर बसेको हुँ र?' उनी अजङको छेलो हान्थे। कसैले भेट्न नसक्ने गरी दौडन सक्थे। सबैभन्दा छिटो डिल नाघ्न सक्थे तर उनी चार जनाका बीचमा विवाद गर्नु त के उभिएर आफ्नो कुरा राख्न सक्दैनथे। यसै पनि उनी कम बोल्ने हुन्। त्यसमा पनि उनले सभामा बोलेको मैले कहिले पनि देखिनँ। त्यसैले शब्दभण्डारको कमीले उनी कम बोल्ने हुनाले उनलाई उनीसँग नमिल्नेहरूले 'घोसे, कप्टी' आदिका नामले विभुषित गर्थे। प्रत्यक्ष कुरा गर्न धक मान्ने या डराउनेले परोक्षमा अर्काको चियोचर्चो गर्नु स्वभाविक भएको र मेरी आमा र उनकी आमा दुवै नजिकै भएकाले त्यहाँको विशेष खोजीनिति स्वभाववस हुने नै भयो। 

एक दिन अचानक मेर तीनै जना बडाबाहरू हाम्र घरको दलानमा आइपुगे। बाबुको श्राद्ध पनि अलग अलग गर्नु पर्ने छोराहरू कुनै सामुहिक स्वार्थ नभइ पक्कै आएनन् भन्ने बुझे पनि मेरी बजैले आफ्नो दलानमा आएका छोराहरूलाई मिठो वचनले सोधिन् — "आज तीनै भाइ मिलेर आएछौ नि।

दुई भाइ चुपै लागे। जेठा बडाबाले गजक्क फुलेको स्वरमा भने — "सर्वश्व हुन लागेपछि मिल्नै पर्‍यो नि।

"के सर्वश्व हुन लायो र, नानी

अरू छोराहरूलाई माहिला, साहिँला, कान्छा भने पनि जेठा छोरालाई बजै नानी भन्ने गर्थिन्।  

जेठा बडाबाले गर्धन फुलाएर भने — "त्यो शत्रुकहाँबाट कति पैसा ल्यायौ? के गर्न ल्यायौ? त्यसै जिउनी उडाउन कहाँ पाइन्छ?" 

बजैले बुझन् त्यो तीनै जनाको सवाल थियो। साहिँलो छोरोले अलि पर घर भएको माहिलो छोरोलाई पनि साथ लिएर जेठोलाई उल्क्याउनुसम्म उल्क्याएछ भन्ने बजैलाई प्रस्ट भयो तर बजै पनि नागिनी थिइन्। समयले उनको दाँत उखेलेको भए पनि फुंकार अझै बाँकी नै थियो। उनले पनि भनिहालिन् — "मेरो सम्पत्तीको लेखाजोखा खोज्ने तँ को होस्?" 

विवाद चर्कदै गयो। दाजुको तर्फबाट भाइहरू पनि थपिए। 'बाबुको सम्पत्ती' भन्ने छोराहरू भए, 'मेरा लोग्ने र मैले कमाएको' भन्ने आमाको दाबी थियो। स्वरको झगडा र चर्काचर्की यति ठूलो भयो छिमेक र वरपरबा मानिस केही परेमा सहायताका निम्ति घरबाहिरको चौतारोमा जम्मा भए पनि मेरी बजैको डरले कोही कम्पाउन्डभित्र छिर्ने आँट भने गरेनन्। मेरी आमा घरभित्र एउटा कुनामा बसेर सबै कुरा सुनिरहेकी थिइन् र जेठी बडीआमा घरमाथिको बगैंचामा ओझेल परेर उभिएकी थिइन्। हामी केटाकेटी घरको होहल्ला केही रमाएर र केही डराएर बाहिर आँगनमा झुम्मिएका थियौं।  

"छोरा मासेर रिन गरीगरी तेरा नाति पोस्ने बुढी।" — एउटा छोराले भने। मलाई लाग्छ त्यो भन्ने जेठा छोरा नै हुनु पर्छ किनकि बजैका अगाडि 'तँ तँ, म म' गर्न सक्ने कि जेठा छोरा नै थिए कि साहिँली बुहारी। 

"त्यसो गर्न त कहाँ पाइन्छ? जिउनी सबैलाई बराबरी भाग लगाउनु पर्छ।" — माहिला छोराले हाँस्दै आगोमा घिउ थपे।  

"झक्, बुढी, त्यो बाकस। यहीं फुटाएर भाग लाउछु।" — मेरा जेठा बडाबा बम्किए।  

"पाउला, बजिया हो, भाग। म जिउँदी हुन्जेल फुटेको कौडी पाउन नि।" — बजै झन् जोडले बम्किइन्। आमा न हुन् दप्थिन् किन छोराहरूसँग उनी।   

"झिक्छु र फोर्छु।

मेरा जेठा बडाबा घरभित्र। बजै पनि सँगै छिरिन् भित्र। आमाछोराको झगडामा कहीं आफ्नो बाकस नफुटोस् भनेर मेरी आमा पनि दौडदै गएर आफ्नो कोठामा ताला मारिन्। 

आमा छोरा बाझ्दै दुई तलामाथि आमाका कोठामा पुगे र अरू छोराहरू पनि उनकै पछिपछि लागे। कोठामा पसेर छोराले आमाको सुनचाँदी, कागजपत्र र नगद पैसा राख्ने गरेको सानो बक्सा उठाए। आमाले भम्टिएर त्यसलाई खोस्न थालिन्। आमाले बाकस लिन नदिएकाले हात छुटाउन आमालाई धक्का दिए। बुढी आमालाई जवान छोरोले धक्का दिदा बुढिया चार हात पर पुगेर भित्तामा ठक्कर खाइन्। ठक्करको चोटलेभन्दा छोराको हातहालाइले चोट परेकी आमा एकै छिन स्तब्ध भए पनि बाकस बोकेर बाहिर निस्कन लागेका छोरालाई ढोकाको आग्लो झकेर नलीखुट्टा बजाइन् र छोरा थचक्कै बसे।  

नलीखुट्टाबाट रगत आइरहेको थियो। त्यो देखेर छोराले भने — "छोरो मार्न खोजेकी होस्, बुढी?" 

"मार्छु पनि, त्यो बाकस लिएर निस्की मात्रै त।" — आमा बघिनी झैं गर्जिन्। 

ढोकाबाहिर उभिएका माहिला, साहिँलाले आमाको क्रोध र दुखको सीमा पार भएको र त्यो क्रोधमा उनी कसैको पनि अहित गर्न सक्छिन् भन्ने देखे र दाजुलाई समाएर तल ओराले। बजै तल ओर्लिनन् र छोराहरू त्यही बसिरहने कुरा पनि भएन। चौतारामा बसेको हुल पनि छरपस्ट भयो।  

सम्पत्तीको लोभ हुनु स्वभाविक हो तर बजैको सम्पत्तीको लेखाजोखा सबै छोराहरूसँग थियो। आमदानीको स्रोत जमिन बुढियाले छोराहरूको स्वीकृतिबिना कन्चो बेचबिखन गर्न सक्दिनथिन्। बजैका भागका सुनचाँदीसमेत लिखतमा परिसकेकाले उनी त्यसको प्रयोग त सक्थिन् तर बेचबिखन गर्न वा कसैलाई दिन सक्दिनथिन्। जिन्दगीभर कन्जुस्याइँ गरेर अनावश्यक एक पैसा पनि खर्च गर्न नसक्ने बुढियाले त्यो बुढेसकालमा के पो खर्च गर्न सक्थिन् र। त्यसमा बथान छोरी र उनीहरूका आउने सन्तानलाई लुगाफाटो, कोसेलीपात त्यसैबाट दिनु पर्थ्यो, दानदक्षिणा पनि त्यसैबाट चल्नु पर्थ्यो र पाउनापाछा पनि त्यसैबाट पाल्नु पर्थ्यो। बुढियासँग पहिलेको सम्पत्तीको दशांश पनि थिएन तर आशे, गाँसे र पाहुनापाछाको कमी हुदैनथ्यो। यस्ता जान्दाजन्दै पनि छोराहरूले आमासँग किन त्यस्तो व्यवहार गरे त? के बुढियाले रिण गरीगरी टुहुरा नातिहरूलाई खुवाउदै छन् भन्ने उनीहरूको मनमा थियो त? कि यो आवेगमा भनिएको कुरा मात्र थियो? मलाई अहिले लाग्छ सधै आमाको शाशनमा बसेका छोराहरूले आफ्नो लघुताभाषलाई लुकाउन र यो सम्पत्तीको मालिक त हामी छोरा पो हौं त भन्ने देखाउन एक्लै सामु पर्न सामर्थ्य नभएकाले सामुहिक रूपमा आमामाथि खनिएका थिए तर त्यो प्रयास पनि सफल हुन सकेन। छोराहरूले अप्रत्यक्ष रूपमा त्यो नकामको निम्ति क्षमा याचना गरेपछि बुढियाले त्यो कुरा त दोहोर्‍याइनन्  तर समाजको तत्कालिन कानुन र प्रावधानले बुढियाले आफ्नो पराजय देखे पनि उनीहरूको त्यो व्यवहारलाई बुढियाले कहिले पनि माफी दिइनन्। त्यो कटुता मृत्युसम्म पनि उनको मुखबाट निस्किइ नै रह्यो र छोराहरू सधैं नै आमाको अगाडि लघुताभाषले पिडित नै भइरहे। छोराहरूको त्यो आक्रमणले मेरी बजैले आफ्ना दिन बितेको अनुभव गरिन् र शिकार समाउन नसक्ने सिंहले आफ्नो मृत्यु कुरे झैं मृत्यु कुर्दै लाटोकोसेरो कराउनु, गिद्ध घुम्नु, गाईले हान्नु, कुकुरले लखेट्नु आदि जुनसुकै घटनामा पनि मृत्युको सन्देश देख्न थालिन्।  

मेरी बजैलाई मेरा भाइ मन पर्दैनथ्यो र उनले उसलाई एकपल्ट पनि काँखमा लिएको मैले देखिनँ। उनको छोरो अर्थात् हाम्रा बाबलाई मेरै भाइले खाएको हो भन्ने पूर्वाग्रहपिडा थियो उनलाई र उसलाई 'बाबुटोकुवा' भन्ने गर्थिन्। मेरी आमाले पनि भरिसक्के उनकोसामु राख्दिनथिन् र मेरो भाइको सेवा मेरी आमा र मेरी दिदीले गर्थे। मेरी दिदी नै पनि कुन ठुली थिई र? मभन्दा तीन वर्ष मात्रै जेठी हो। तैपनि आठ वर्षकी छोरी विवाह गरेर अर्काका घरमा पठाइ दिने जमानामा ८।९ वर्षकी छोरी घरव्यवहार धान्न सक्ने ठुली ठान्थ्यिो र उसलाई भाइबहिनीको पुरै जिम्मेवारी दिइन्थ्यो। एकै घरमा भएका हामी मध्ये दिदी र भाइ आमासँग सुत्थे भने म बजैसँग। बजैको मिठो जुठोपुरो म खान पाउथें र दिदीभाइको झगडा परे बजै सधैं मेरै पक्ष लिन्थिन्।  

मेरा पाठशालामा म मेधावी छात्र थिएँ। आठ वर्ष पनि नपुग्दै वीससम्मको दुनोट, परार्धसम्मको गिन्ती, जोड, घटाउ, गुणा, भागाका विधि जानिसकेको र दुर्गाकवच, सप्तशति चण्डी कण्ठस्थ पारेको थिए। त्यो देखेर मेरी बजै आफ्नो प्रयास सफल भएको ठानेर मेरी आमालाई मेरो भाइ देखाउदै भन्थिन् — "यो मेरो नातिजस्तो तेरो छोरो हुदैन।

मेरी बजै देख्दा डाल परेकी मोटी थिइन् स्वस्थजस्तै तर पनि बेलाबखत ओखतीमुलो भने गरि नै रहन्थिन्। कहिले बाथ भयो भनेर कक्र्‍याककुक्रुक पर्थिन्, कहिले गानो गयो भनेर जराजुरी कुट्न लगाएर त्यसको झोल खान्थिन् त कहिले पिसाब पोल्यो भनेर घोडताप्रेको रस पिउथिन्। लसुन, प्याज खाए बाहुनको जातै जाने भए पनि मेरै बजै बाथ निको हुन्छ भनेर नोकरचाकर समेत सबै सुतिसकेपछि मेरी आमालाई घिउमा लसुन तार्न लगाएर खान्थिन् र मलाई पनि त्यो बेला चाखेको लसुनको स्वाद अझै मिठो लाग्छ।  

मेरी बजैलाई पिसाब खलास नहुने रोगले समायो र क्रमश थला पर्दै गइन्। छोराहरूका निम्ति आमा आवश्यक थिइनन्। त्यसैले उपचारपिट्ट उनीहरूले वास्ता राखेनन्। सासू आवश्यक हुने मेरी आमा उनको उपचारको प्रवन्ध गर्न सक्दिनथिन्। शरिर सुन्नियो। अन्ततः कसैमार्फत बजै विरामी भएको कुरा उनका डिठ्ठ जुवाइँकहाँ पुर्‍याइयो र उनी केही औषधी लिएर आए र उपचार थाले तर समय घर्कदै थियो।  

विरामी कुरुवा बस्ने चलन सबै गाउँको हो। जुवाइँ सासु कुर्न आएभन्दा पहिले मेर बडाबाहरूको ध्यान त्यतापिट्ट गएन होला या मेरी बजैले निषेध गरिन् होला। बुहारीहरूको त झन् त्यहाँ जाने आँट पनि भएन होला। त्यसैले मेरी आमाले रातभर नसुतेर सासूको सेवा गर्नु पर्‍यो। मेरी आमाले पनि ठुलो दयावान भएर त्यो सेवा गरेको भने होइन। उनीलाई त सासू बचाउनु थियो र सासू बाँचिरहे उनी आफू सुरक्षित हुन सक्थिन्। हो, ४।५ वर्ष एउटै घरमा एउटै भाँडोबाट खाएर एकअर्काका सहयोगमा बसेका दुई विधवा सासूबुहारीका बीचमा स्नेह त अवश्य नै थियो र त्यही स्नेहले पनि गर्न लगाउथ्यो सेवा।  

जुवाइँ आएपछि छोराहरू पनि कुरुवा बस्न वाध्य भए र आमाले पनि निषेध गर्न सकिनन् तैपनि खाना खाएर राति सुत्न आउने छोराहरूलाई परै ओछ्यान लगाउन लगाउथिन्। छोराहरूको उपस्थिति बजैलाई मन पर्दैनथ्यो  र भुत्भुताउथिन् — "तिघ्रे मोराहरू रातभरि 'घ्वाँर घ्वार' गरेर सुत्न आउछन्। ओछ्यान लाउदा र उठाउदैको हैरानी।

बजै गल्दै गइन्। छोरी, नातिनातिनी, नातागोदा थपिदै गए। पाहुनापाछालाई खुवाउनु, सुताउनु, सासूको हेरचाह गर्नु सबै मेरी आमाको जिम्मा थियो र मेरी आमा बल्दो बैंसमा नभएकी भए उनी पनि ढल्ने थिइन्।  

मेरी बजै अब पुरै सुन्निइन् र छाला फुटेर पानी बग्न थाल्यो उनको शरिरबाट। अब उनको धेरै दिन छैन भनेर मृत्यु अगाडिका दाान संस्कारहरू सबै गरिदिए। मृत्यु नजिकै आइसकेको मेरी बजैले पनि बुझन् र उनलाई त्यो कुरा स्वीकार गर्न गाहारो पनि भएन तर छोराहरूले 'अहिले कस्तो छ, आमा?' भनेर सोद्धा 'बुढी कहिले मर्छे र बाकस फोरुँला भन्ने मोराहरू अहिले स्वाँग पार्छन्' भनेर उनीहरूको अनुपस्थितिमा भनेकीले उनले उनीहरूलाई माफी नदिएको कुरा प्रस्ट हुन्थ्यो भने साँहिली बुहारीको हकमा त 'म नमरी तेरी स्वास्नीलाई यो घरभित्र नहुल्' भनेर साँहिला छोरालाई त आदेश नै दिइन्  र साँहिली बडीआमा सासूको मृत्युपछि मात्रै मूलघर भित्र पसिन्। मृत्युको डरले पनि मेरी बजैको अभिमानलाई हटाउन सकेन।  

बजैको मृत्यु नजिकै आइपुगिसक्यो भन्ने जानेपछि उनका शत्रु, मित्र सबै नै उनको अन्तिम विदाइको निम्ति आँगनमा जम्मा हुन आइपुगे। शत्रुले पनि सन्मान गरिएकी मेरी बजै सात दिनको लगातारको साउने झरीपछि झलमल्ल घाम लागेको बिहान केही घण्टा रोग नै नभएजस्तो गरी चङ्गा भएपछि ढलिन् र आँखा खोलिनन्। सबै आइमाई हाहाकार गर्दै रुन थाले र त्यही रुवाइका बीचमा मेरी आमाले मलाई भनिन् — "बाबु ! आमाले हामीहरूलाई छोडेर जानु भयो।

आठ वर्ष पुग्नै लागेको मैले त्यो लाशमाथिको हाहाकार र त्यो हुलहाललाई नै मृत्युको रूप ठानें र बिना लक्ष घुम्दै मेरा बडाबाहरूको नजिकै पुगें। उनीहरू मसिनो स्वरले छलफल गर्दै थिए र छलफल टुंगिएपछि उनीहरूमध्ये एक जनाले एक नाताले काकाबाजे र अर्को नाताले सानाबा पर्ने गाउँका ठुला मुखिया श्रीप्रसादलाई लक्ष गर्दै भने — "बा ! आमाको कोठा ताल्चा लगाएर साँचो आफूसँग राख्नोस्।

त्यो भनाइको अर्थ मैले त्यो बेला बुझनँ।