Thursday, October 02, 2014

Journey to LIfe: चैनपुर बजार



चैनपुर बजार

मैले भखैरै आठौं वसन्त पार गरेको थिएँ। मेरो घर र मेरो परिवारको दूरी केवल दुई घण्टाको पैदल यात्रा थियो र म र मेरो परिवारको मिलन हप्तै पिच्छे हुन्थ्यो तापनि मेरो त्यो वसन्त दुखमय थियो। योभन्दा अगाडि म मेरो परिवार र मेरो घर छोडेर एक रात पनि बाहिर सुतेको थिइनँ । मेरा बडाबाका छोराहरूसहित मेरा गाउँका अरूहरू पनि  पढ्न नगएका भए मेरी आमाले मलाई बाहिर पठाउने आँट गर्न सक्ने थिइनन् होला। केवल बडाबाहरूसँगको प्रतिद्वन्दिताले मात्र उनलाई त्यो आँट दिलाएको थियो। दोश्रो, मेरी आमालाई प्रकाशसरको संरक्षणमाथि पनि विश्वास थियो र त्यसले पनि उनलाई बल दियो। आज मादीराम्बेनी शिक्षा, स्वास्थ्य, सँस्कृति र सम्पन्नताले हेर्दा कुनै पनि पूर्वी दुर्गम पहाडी बजारसँग दाँजिन सक्छ तर त्यो समयमा बजारियाले त्यो गाउँलाई पाखे भनेर हेला गर्दथे। अन्न उब्जनीबाहेक अरू कुनै पनि विशेषता नभएको गाउँलेले हेपाइ खानु पनि अस्वाभाविक थिएन र हामी बजारियाको हेपाइमा त पर्थ्यौ नै। पढाइमा म कमजोर थिइनँ र म झगडा गरिहाल्ने खालको पनि हैन तर दौंतरी सहपाठीहरूका बीचमा म अति दुब्लो र सानो भए पनि खेलको मैदानमा भने जसरी भए पनि जित्नै पर्ने दृढता बोक्ने हुनाले बजारिया केटाहरू मेरो विरुद्धमा उभिन्थे। ठुला खालका मेरा गाउँलेका सामु त उनीहरू केही गर्न सक्दैनथे तर विद्यालय हाताभन्दा बाहिर भने म उनीहरूद्वारा लखेटिन्थें। त्यसैले म प्रत्येक दिन घर सम्झन्थें र रुन्थें पनि। विद्यालयबाट फर्किएपछि अजीआमै(प्रकाशसरकी आमा)ले सधैं खाजा दिन्थिन् र बिहान बेलुकाको खाना त यसै नै छदै थियो तर पनि शुक्रवारको आधा छुट्टी हुनासाथ कापी किताब डेराभित्र फालेर खाजा पनि नखाई हिडेको मानिस आफ्नो घर पुगेर मात्र थामिन्थें। 

हाम्रो मादीको विद्यालयमा त एउटा मात्र कक्षा थियो र शिक्षक पनि प्रकाशसर मात्रै। चैनपुर बजारमा त कक्षा पनि ५।६ वटा थिए र शिक्षक पनि धेरै। महानन्द सापकोटाले त्यहाँ नियमित शिक्षा र कक्षाको ढाँचा बसालिसकेकाले कक्षा संचालन पनि अलगअलग गरिन्थ्यो। मेरो कक्षामा हामी गाउँका २।४ जना बाहेक सबै चैनपुर बजार क्षेत्रका नै थिए। उनीहरू बीच नातासाइनो हुन्थ्यो र बोली फुट्नासाथ एकअर्कालाई चिनेका हुन्थे। शिक्षक र विद्यार्थी नै पनि नातासम्बन्धभित्र पर्न सक्थे। हामी त विद्यार्थी थियौं, मात्र विद्यार्थी। उनीहरू हामीलाई आफूभन्दा अलग्ग ठान्दथे भेडाका बीचका बाख्राजस्तै र हामीले पनि उनीहरूलाई आफ्ना ठानेनौं। ९।१० महिना त्यहाँ पढे पनि मेरो कसैसँग मित्रता हुन सकेन र एक वर्षपछि त मैले उनीहरूको नाम पनि सम्झन सकिनँ। हाम्रा बीचमा मित्रता या समझदारी नहुनको कारण शायद उनीहरूका बाबुबाजेले हामीलाई 'गाउँले, पाखे' भन्ने गरेकाले हामीलाई हेय सम्झन्थे र हामी पनि बिर्तावालका छोरा भएकाले हाम्रा बाबुबाजेजस्तै आफूलाई बजारियाभन्दा उच्च र कुलिन ठान्दथ्यौं।  

हाम्रा पाठ्यपुस्तकहरू विशेषतः दार्जिलिङबाट प्रकाशित हुने किताबहरू हुन्थे र किताबमा जुन कक्षाका लागि भनेर लेखिएको हन्थ्यो त्यही पढाइन्थ्यो। त्यहाँ आवश्यकताभन्दा उपलब्धता निर्णायक हुन्थ्यो। त्यसै गरी जो उपलब्ध हुन्थ्यो त्यही नै शिक्षक बन्थ्यो। ठिक वा बेठिक छुट्याउन थाले त्यही शिक्षक पनि नपाइन सक्थ्यो। फेरि छुट्याउन खोजे पनि त्यो छुट्याउन सक्ने क्षमता थियो कहाँ र? त्यसैले चैनपुर बजारको मेरो एक वर्षभन्दा पनि कम समयको शिक्षणकालमा ४।५ वट शिक्षक आए गए। 

चैनपुर बजार झन्डै एक किलामिटर लामो बाटो र आँगनामा ढुंगा छापेको बजार थियो र झन्डै पाँच दशकपछि पनि २।४ घर वृद्धि हुनु, नालाको खानेपानी व्यवस्थित हुनु बाहेक अरू सबै उस्तै उस्तै छ। उही पुरानो मानसिकता, उहि पुरानो सोचाइ छ। उही पुरानै हाटबजार छ र तिनै छिमेकी बजारका गाउँलेहरू हाट भर्न आउँछन्। सम्पन्नहरू बजार छोडेर भागिरहेका छन् र असम्पन्नहरू उही पुरानो गुनासोसाथै त्यही अल्भि्कएका छन्। सबै फर्कन्छौं भनेर गएका छन् तर जो गए ती फर्केका छैनन्। त्यो बेलाको सदरमुकाम अहिले छोटिमुकाममा परिणत भएको छ। गाउँलेरू आवश्यकता पर्दा आउँछन् र जान्छन् तर गाउँ र बजारको तनाव चैनपुर झेलि नै रहेको छ। 

चैनपुर सुन्दर बजार हो र मेरो विश्वभ्रमणमा मलाई यति राम्रो अरु कुनै पनि पहाडी बजार लागेन। लगभग १००० मिटर उचाइमा पहाडी पानी ढलोको समानान्तर डाँडामा लमतन्न उत्तर-दक्षिण तन्किएको बजार वारीपारीबाट हेर्दा साँच्चै रमाइलो देखिन्छ र अझ पन्छीदृष्टिले हेर्दा अति रमणिय लाग्छ। चुनले पोतेका र झँगटी या खरले छाएका र घरै पिच्छे पसल कवल निकालिएका घरहरू यसै पनि हामी गाउँलेलाई रमाइला त लाग्ने नै भए त्यसमा पनि सम्पन्न, असम्पन्न सबैका आँगनमा ढुंगा छापिनु ती चैनपुर बजारको साझा स्वरूप हो। खास बजार भ्यागुते ढुंगादेखि टुँडिखेलभन्दा पर कहिले पनि जान सकेन र अरू बजारहरूले विशालताको रूप लिन थाल्दा चैनपुर बजार विशाल चैनपुको अवधारणा आत्मसात् गर्न नसकेर अझै पनि संकुचित मानसिकता शिकार भएको छ।
चैनपुर सुन्दर र सुकिला मानिसहरूको बजार हो। हाटको दिन हाट भर्न तलमाथि गर्ने चैनपुरे युवायुवति मलाई सुन्दर र सुकिला लाग्थे। त्यसमा पनि बजारभन्दा केही तल या पर हरिया खेतका बीचको पँधेरामा मुखमा पानी भरिएका काँसमा करुवा राखिएका सुनजस्ता पहेँला पित्तले गाग्री काँखीमा अड्याएर भर्खरै मात्र ढुंगाले घोटिनाले गुलाफ झैं राता भएका कुर्कुच्चा झल्काउदै र खुट्टा, नलीखुट्टा र हात पाखुरा टल्काउदै हिडने आइमाई देखेर जहिले पनि म सोच्दथेँ — 'हाम्रा गाउँघरमा किन होला यति राम्रा आइमाई नभएका?' 

आज मेरो विश्व अनुभवको सन्दर्भमा भन्नु पर्दा म चैनपुर बजारलाई पहाडको अति ठुलो गाउँ मात्र भन्न सक्छु तर पनि त्यो बेला चैनपुर बजारसँग गाउँकोजस्तो आत्मियता न भएजस्तो लाग्छ मलाई। गाउँमा कुनै नौलो, नया मानिस आयो भने ऊबारे चासो लिइन्छ, सक्ने सहयोग गरिन्छ र सानो बालक छ भने ऊमाथि सहानुभूति देखाइन्छ। सहरकै कुरा गर्दा पनि मस्को, बर्लिन या लण्डनजस्ता सहरमा पनि परदेशि भन्ने जानेपछि मप्रति सहानुभूति गर्ने देखापरि रहन्थे तर ९ वर्षे बालकको निम्ति अन्टार्टिकाभन्दा पनि टाडा लाग्ने त्यो चैनपुर बजारमा प्रकाशसरको परिवारबाहेक कसैले पनि मलाई माया गरेर दुई शब्द बोलेन, ', यो ला' भनेर पित्को दिएन र सहानुभूतिको दृष्टिले हेर्‍योजस्तो पनि मलाई लाग्दैन। त्यसैले मलाई लामो समयसम्म पनि लाग्यो चैनपुर बजार सुन्दर र सुकिला मानिसहरूको चिसो आत्माको बजार हो र अझ उक्रैनी व्यङ्गकार गोगलको शब्दमा भन्ने हो भने 'मृत आत्मा' हरूको बजार हो।

Wednesday, October 01, 2014

विद्यालय र परिवेश



विद्यालय र परिवेश

नारदगुरुको पाठशाला थियो र उनको पठशालामा युगौंदेखि चलिआएको पारम्परिक शिक्षा दिइन्थ्यो। त्यो श्रुति, स्मृति, धुलौटो, डिको, बाँसका खबटा र बाँसका कलममा आधारित थियो र किताब, कापी, पेन्सिल, कलम, स्लेट, खरीको प्रकाशसरको विद्यालयसामु त्यो धेरै दिन टिक्न सकेन। विद्यार्थी पनि असम्पन्नहरूमध्येबाट भएकाले गुरुदक्षिणा पनि नगण्य हुन थालेपछि नारदगुरु आउन छोडे  र उनका विद्यार्थी पनि लाखापाखा लागे।  

हामी स्वनिर्मित डेस्क, बेन्चमा बसेर लेखपढ गथ्यौं र प्रार्थना पनि त्यही नै उभिएर गर्थ्यौं। पाठशालामाजस्तो त्यहाँ एकले अर्कालाई उछिन्न सक्ने संभावना थिएन। तीक्ष्ण विद्यार्थीले कमजोरलाई पर्खनु पर्थ्यो र कमजोरले तीक्ष्णलाई भेट्न बढी परिश्रम गर्नु पर्थ्यो। पुरानो पाठशालामा विद्यार्थीले गल्ती गरे कन्सिरीका रौं तानिन्थे भने नया विद्यालयमा हातमा पिटाइ पाइन्थ्यो।  

अघिल्लो दिनको शिक्षाले आफ्ना केटाकेटीलाई के सिकाउछ? त्यो हाम्रा अभिभावकलाई थाहा थियो र उनीहरू त्यो शिक्षाबारे अर्ति, उपदेश दिन सक्थे तर पछिल्ला दिनको शिक्षामा भने उनीहरू हामीभन्दा पनि अनभिज्ञ थिए र सो विद्याप्रति उनीहरूको उत्सुकता यति धेरै थियो कि सामाजिक मर्यादाले नरोकेको भए उनीहरू आफ्ना छोराछोरीसँगै बसेर पढ्ने थिए। 

प्रकाशसर र त्यो स्कुल मेरो गाउँको परम्परामा परिवर्तन ल्याउने थालनी भए। प्रकाशसर गाउँका सबैभन्दा अलग्ग थिए। उनी जुल्फी पाल्थे, छरी काटथे, प्यान्ट, कमिजसुरुवाल लगाउथे र साबुन मन्जन प्रयोग गर्थे। उनले सम्पन्न बजारको सँस्कृति जानेका थिए र त्यसलाई गाउँसम्म ल्याइ पुर्‍याए। त्योभन्दा पनि पर उनी गाउँमा कसैले नजानेको विद्या जान्दथे। त्यसैले उनी हामी विद्यार्थीका निम्ति अनुकरणिय र उपमा भए। हामी टुप्पी राखे पनि कपाल बढाउन थाल्यौं, कैंची नभए दमाईका कतर्नाले कपाल काटिमाग्यौं। परम्परको हाम्रो दौरासुरुवालले कमिजपाइजामालाई ठाउँ दिनु पर्‍यो। हामीले सफा हुन सिक्यौं। नुहाउने साबुन नपाए कपडा धुनेले नै सही नुहाउन थाल्यौं। बुरुस र मन्जन उपलब्ध नहुनाले सिँवालीका डाँठका दतिवन भए पनि चल्यो। जुत्ता त हाम्रो लागि महँगो थियो र त्यो नकल गर्न भने हामीले निकै वर्ष पर्खनु पर्‍यो। 

प्रकाशसर र मेरो सम्बन्ध अभिभावक र आश्रितजस्तै रह्यो सधैं नै। आज यो लेख्दा प्रकाशसरसँगको पहिलो भेटपछिका ४५ वर्ष बितिसके(आज त उनी स्वर्गिय भइसकेः लेखक) पनि हामी एक अर्काका प्रिय नै छौं र एक अर्काको सुखदुखलाई खोजी गरि नै रहन्छौं। मेरा बडाबाहरूले भने प्रकाशसरलाई कहिले पनि रुचाएनन् र उनको सधैं अपमान नै गरे। उनीहरूले उनलाई नरुचाउने धेरै कारण हुन सक्छन्। मेरी आमाले सधैं उनीहरूसँग संरक्षण नमागेर प्रतिद्वन्तिता गरेको कारणले पनि त्यसो हुन सक्थ्यो या आफ्ना छोराहरूको शिक्षादिक्षाका निम्ति सो समयमा सो ठाउँमा शिक्षित ठहरिएका प्रकाशसरसँग मेरी आमाले राम्रो सम्बन्ध राख्नुलाई मेरा बडाबाहरूले 'यसको नियत ठिक छैन' भन्ने सोचेका पनि हुन सक्थे। ती दिनभन्दा केही समय अघि मात्रै मेरा साहिँला बडाबाकी, मेरै आमका उमेरकी र मेरै आमाका जस्तै दुई छोरा भएकी, विधवा सम्धिनी घरभित्रको सम्पत्ती लिएर अर्कैसँग हिडेकीले उनीहरूका मनमा आफ्ना बाबुको सम्पत्ती जाने त्राश पनि हुन सक्थ्यो। मेरी आमा भने उनीहरूका कुरा नमानेकाले उनको खेदो गरेको भनि ठान्थिन् भने म बडाबाहरूको डर पनि स्वभाविक हो भनि ठान्छु। 

हाम्रो शिक्षा कुनै नियमित शिक्षा थिएन। जो किताब थिए त्यही पढ्न थाल्यौं। ए बी सी डी बाट थालनी गरेर अंग्रजी शब्द घोक्न थाल्यौं। उच्चारण के कस्तो? स्वर तल कि माथि? कहाँ छिटो कहाँ ढिलो? व्याकरणको यस्तो ज्ञान गुरुलाई पनि थिएन, हामी शिष्यलाई त झन् हुने कुरै भएन। आफ्नै स्वरमा, आफ्नै भाकामा पढ्यौं, घोक्यौं। अंग्रजी बाहेक सबै पाठ्यपुस्तक नेपालीमा हुन्थे र पुस्तक छिचोल्न अगाडि नै अमरकोषसमेत छिचोलेका हामीलाई त्यति गाहारो पनि भएन। हाम्रो जम्माजम्मी एउटा कक्षा थियो र त्यसलाई कुन कक्षा भनेर छुट्याउनु पनि परेन। पढाइ सुरु भएको १।२ महिनामा नै फेरि नया किताब आए र सरले कक्षा उक्लिएको घोषणा गरे। यसरी हामीले ८।१० महिनामा नै ४ कक्षा पास गर्‍यौं। 

प्रकाशसर त्यही पाटीको माथिल्लो तलामा बस्थे र उनीसँगै पढ्न भनेर आएका अमरबहादुर श्रेष्ठ उनको खानापिनाको बन्दाबस्त गर्थे। केटाकेटी नै थिए अमरबहादुर पनि। दालचामल त जोहो गरेर राखिन्थ्यो नै। सागपात, तरकारी, दहीमोही आदि सामान भने त्यो समयमा गाउँमा बेच्ने चलन नभएकाले छरछिमेबाट मागेर नै चलाउनु पर्थ्यो। हाम्रो घर नजिकै भएको र सम्बन्ध पनि रामै्र भएकाले म बराबर सागपात, दहीमोही लगिदिन्थें। 

प्रकाशसर जसरी आए त्यसरी नै बर्ष दिन नपुग्दै विदा भए तर त्यो छोटो समयमा नै गाउँको र विशेष गरेर शिक्षामा हाम्रो मनस्थितिले ठुलै फड्को मारिसकेको थियो। पाठशाला त वर्ष दिन अगाडि नै विदा भएको थियो र अब त्यहाँ फर्कने संभावन थिएन। छोराहरू पनि नपढाई नभएकाले हाम्रा अभिभावकहरूले हामीलाई चैनपुर बजारको विद्यालयमा पढ्न पठाए। म पनि ९ वर्षको उमेरमा परदेश लखेटिएँ र प्रकाशसरको संरक्षणमा उनकै घरमा बसेर चैनपपुर विद्यालयमा पढ्न थाले।