Monday, June 25, 2007

माओवादी र मध्यमवर्ग

गर्भमा रहेको छोरो भविष्यको तारा देखिन सक्छ तर जन्मेर सँगै बसेपछि लठुवा या दुर्जन निस्कियो भने सपना चकानाचुर हुन्छ र सार्‍है नै चित्त दुख्छ । जंगलमा बसेका माओवादी माथि आस्था र आशा राख्ने थुप्रै मध्यम वर्गियहरू खुलामा आएपछिका माओवादीका क्रियाकलापले त्यस्तै आहत स्थितिमा पुगेकाछन । वादका जुनसुकै विवाद उठाए पनि र जुनसुकै वादको प्रभुत्व भए पनि देशको शाशन शहरिया मध्यम वर्गियहरूको सहमति र सहयोग बिना चलाउन खोजियो भने कम्बोडियाली पोल पोटको नियति भोग्नु पर्दछ भन्ने माओवादीले नबुझेको प्रेस माथिको उनीहरूको आक्रमणले देखाउछ । अप्का हाउस, कान्तिपुर प्रकाशन र अब कामना प्रकाशनमा पुगेको माओवादी भातृ संगठनहरूको प्रेस माथिको आक्रमणले स्वतन्त्र समाचार माध्यम चाहने माओवादी समर्थक मध्यमवर्गियहरूलाई तर्साउन थालेको छ । जसरी एउटा मेलम्ची आयोजना माओवादीहरूको सहरी काठमाडौं उपत्यका प्रतिको अवधारणाको पर्याय बन्न पुग्यो त्यसरी नै छापाखाना माथिको व्यवहार वौध्दिकवर्ग माथिको व्यवहारसँग पर्याय हुनसक्छ । २१सौं शताव्दिमा उन्नाइसौं शताव्दिको मार्क्स र वीसौ‍को मध्यको माओका सिध्दान्तका आधारमा बिना मध्यमवर्गिय सहयोग कति शाशन गर्न सकिन्छ ? त्यो वर्ग विस्तारै माओवादी बाट टाडिदै गयो भने त्यो वादलाई सर्वसाधारण सम्म पुर्‍याउने माध्यम रहन्न भन्ने माओवादीले अझै नबुझे झैं देखिन्छ ।

Friday, June 08, 2007

सीताराम प्रसाई र वाइसिएल

एउटा सीताराम प्रसाईलाई समाएर आफ्नो छवि सुधारिन सक्छ भन्ने माओवादी सोच्छन भने त्यो उनीहरूको सपना हो । तैपनि प्रसाईलाई समाएर उनीहरूले एउटा मर्यादित काम भने अवश्य गरेका छन किनकि गृहमन्त्री कृष्णप्रसाद सिटौला प्रहरी प्रधान वाशुदेव ओली गृहसचिव मैनाली तीन कुमाईहरूको शक्तिको आडमा अर्का कुमाई सीताराम प्रसाई कानुन र सत्ताको खिल्ली उडाइरहेका थिए र गलत तरिकाले नै सही वाइसिएलले त्यो खिल्लीको जालो तोडिदिएको छ । मथुरा मास्केलाई पनि कठघरामा ढडयाउन सके भने जनताका आखामा त्यो पनि सर्‍हानिय हुनेछ । तर वाइसिएलले आफूलाई नसुधारेमा एउटा प्रसाई या एउटा मास्के माथि गरिने कारवाहीहरू वाइसिएलले गरेका ज्यादतिका तुलानामा ज्यादै नगण्य हुनेछन र प्रधानमन्त्री गीरिजाप्रसाद कोइरालाले लगाएको आरोप सही ठहरिने छ । बिना लक्ष गरिएका लुटपाट विनाश अपहरण र हत्या कुनै पनि नाराले सही ठहर्‍याउन सकिन्न । शान्तिको समयमा यिनका हिसाव–किताव मागिदा फलामका चिउरा बन्न सक्छन आजका ज्यादतीहरू ।