Thursday, May 29, 2014

विद्युत उत्पादन




हाम्रो विद्युत उत्पादन लक्ष

हाम्रा बिजुलीविज्ञहरूले कहिले कही हामी सोझो हिसाब गर्नेलाई अलमल्ल पारिदिन्छन् । एकातिर घोषणा गर्छन् कि ३ वर्षपछि लोडसेडिङ हुदैन त अर्कोतिर कसरी हुदैन त ? भन्दा यसमा आधरहरू पर्याप्त दिदैनन् । हामीले भेटेसम्मका तथ्याङ्कले अहिले हाम्रो स्थापित विद्युत क्षमता(installed electric capacity) ७०० मेगावाटको हाराहारीमा छ । हिउदका दिनमा लोडसेडिङ हुदा हामीले एक दिनको सक्रिय समय विहान ५ बजेदेखि बेलुका ९ बजेसम्मको १६ घण्टाको समयमा जम्माजम्मी एक तिहाइ समय बिजुली पाएका थियौ । अर्को शब्दमा भनिदा त्यो सक्रिय समयको एक समयमा देशका बिजुलीका एक तिहाइ उपभोक्ताले मात्र बिजुली पाएका थिए । बाँकी दुई तिहाइ उपभोक्ता बिना बिजुली बसेका थिए । सोझो हिसाबमा ती दुई तिहाइ उपभोक्ताको निम्ति हालमो क्षमताको दुई गुणा अर्थात् १४०० मेगावाट क्षमताको आवश्यकता पर्ने देखिन्छ । दिइएका तथ्याङ्क अनुसार तीन वर्षमा वृद्धि हुने क्षमता ७०० मेगावाट पनि नाघ्दैन त बाँकी ७०० मेगावाट आउने ठाउँ पनि छैन । सो बाहेक वर्षेनी १०० मेगावाटका ग्राहक थपिई रहन्छन् । त्यो हिसाबले अर्को तीन बर्षमा ३०० मेगावाट माग यसै पनि बढ्छ । यसरी हामी तीन वर्षमा २४०० मेगावाटको आवश्यकतामा पुगिसक्छौँ । पर्याप्त बिजुली प्राप्त हुन्छ भन्ने जानेपछि घरेलु विद्युत उपकरणहरू वृद्धि हुन्छन् र उद्योगहरूले पनि विद्युत उर्जाको माग गर्दछन् । त्यसैले अर्को १० वर्षमा विद्युत माग कम्तिमा पनि ४००० मेगावाट त हुन्छ नै । त्यसैले यो दशकमा ५ हजार मेगावाट विद्युत उत्पादनको लक्ष राखेर राज्यका स्रोतहरू त्यतैतिर केन्द्रित हुनु पर्छ ।

Tuesday, May 27, 2014

परदेशी माया (कविता)




परदेशी माया

जिन्दगी पनि के जिन्दगी बैँसभरि एक्लै हुने ?
झण्डै आयु बितेपछि त्यही बैसको लागि रुने ।
तनले भोग्न पाएन भने मन मारेर के हुने ?
चालिसेले छुन नपाई बुढोलेझैँ झोक्रिने ।
माया पनि के माया तनले स्पर्श पाएन भने ?
बजारका मिठाई सम्झी घरमा नै मुख मिठ्याउने ।
कमाइ पनि के कमाइ आफैँ भोग्न पाएन भने ?
बबुरो जवानी के जवानी मायाप्रिति लाएन भने
घरको जोडी पनि के जोडी सागर वारी पारी भए ?
कति पो चित्त दुखी हाल्ला भई बिरानो छोडी गए ?
आशा नै पनि के आशा दिन फर्केला कि भनी कुर्ने ?
आशा आशै बैँस बितेको जीवन बितेको पत्तो नहुने ।

Saturday, May 24, 2014

विद्युत र वातावरण



विद्युत र वातावरण

कतिपयले सोच्छन् कि बत्ती बाल्ने पुगे बिजुली भई हाल्यो नि । फर्पिङको बिजुली चन्द्रशमशेरले बत्तीकै निम्ति मात्र बनाएका थिए । यस्तै समझ आज पनि वहुसंख्यक नागरिकहरूमा छदै छ तर आजको युगमा बिजुली बत्ती या घरेलु उपभोगभन्दा उद्योगको आवश्यकता र विकासको पूर्वाधार हो । बिनाबिजुली आजका उद्योग चल्दैनन् र विकास पनि हुदैन । त्यसैले विकासको निम्ति बिजुली प्राथमिकता हो । उद्योगमा विकसित देशहरूमा त बिजुलीले घरेलु प्रयोजनको स्थान पनि पुरै ओगटेको छ । विकसित आधुनिक सहरमा बिजुली नभए जीवन चल्दैन । आफ्नो फ्ल्याटमा पुग्ने लिफ्ट  चल्दैन, खाना पाक्दैन, फ्रिज चल्दैन र घरेलु उपभोगका निम्ति बनाइएका आधुनिक उपकरणहरू कुनै पनि चल्दैनन् । त्यसैले बिजुली प्राथमिकता हो भन्ने यसै छर्लङ्ग छ र नेपालको बिजुली निकाल्ने जलउर्जास्रोत पर्याप्त भएको र खनिजस्रोत नभएकोले जलविद्युत विकास अनिवार्य छ तर कतिपय वातावरणविदहरू जलस्रोत दोहनले पर्यावरण बिगार्छ भनेर यसको विरोध गर्छन् । अवश्य, जुनसुकै दोहनकार्यले वातावरणमा प्रभाव त पार्छ नै तर त्यसले नया वातावरण पनि सिर्जना गर्छ । उदाहरणमा यसरी हेरौँ ।

एउटा ४ जनाको परिवारलाई दुई छाक पकाएर वर्षदिन खान कम्तीमा पनि १ क्युबिक मिटर सुकेको दाउरा चाहिन्छ । त्यो भनेको ४ फुट परिधि(गोलाइ) को ३० फुट उचाईको वयस्क रूख हो । यसैमा अब विश्लेषण गरौँ ।
१ क्युबिक मिटर(क्युमि) सुकेको काठ ताप क्षमता ‍= ५८७०३७‍ बृटिस थर्मल युनिट (BTU) को बराबर=
                      = २३५.५ केजी लिक्विड पेट्रोल ग्यास kg LPG) को बराबर =
                      = १६९६ किलोवाट आवर (kWh) को बराबर
चार जनाको एक परिवारको हिसाबले नेपालमा झण्डै ६० लाख परिवार पर्न आउछ र प्रति वर्ष ६० लाख रूख मासिने रहेछन् । ग्यास लिए पनि १ अर्ब ४१ करोड केजी ग्यास आवश्यक पर्ने रहेछ र प्रति केजीको ५० रूपया दाम राखे पनि प्रतिबर्ष ७० अर्ब रूपयाँ ग्यासमा पर्ने रहेछ । ६० लाख परिवारको निम्ति विद्युत खर्च गरे ६० लाख परिवारको निम्ति दुई छाक खान पकाउन बिजुली  ६०लाख x  १६९६ = १० अर्ब १७ करोड ६० लाख युनिट(kWh) पर्दो रहेछ । ०.५ क्यापासिटि फ्याक्टर(FC) काम गर्दा २३२० मेगावाट(MW) क्षमताको विद्युत केन्द्रले प्रतिवर्ष सो विद्युतउर्जा उपलब्ध गराउदो रहेछ । यही लक्षलाई लिएर जाने हो भने पर्याबरणमा प्रतिबर्ष ६० लाख वृक्ष जोगिने र सो बराबरको इन्धन दहनबाट उत्पन्न हुने कार्बन ग्यासबाट वातावरण पनि जोगिने रहेछ । अभ भन्नोस् यसले बातावरण बनाउछ कि बिगार्छ ?

जोरपाटी, काठमाडौ
२०७१ जेठ १०

Friday, May 23, 2014

संस्मरणः इअसंमा चोरी




इन्जिनियरिङ अध्ययन संस्थानमा चोरी


३० को दशकको शुरूतिरको कुरा हो । इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकमा अचम्म भयो । तीन ताला भित्रको रकम चोरी भयो । त्योभन्दा पनि ठुलो अचम्म त ताला यथास्थानमा लागेको लागेकै थिए दराज भित्रको पैसा थिएन । हल्लीखल्ली भयो, पुरै क्याम्पस पढाइ समेत बन्द गर्नु पर्ने स्थिति आयो ।

सिमेष्टर प्रणाली लागु थियो त्यो बेला र जाँचमा उत्तर पुस्तिकाहरू शिक्षकहरूले परिक्षानियन्त्रण कार्यालयमा नै जाँच्दथे र दस्तुर पनि जाँचेको उत्तरपुस्तिकाको अनुपातमा पाउथे । शिक्षकहरूको कसैप्रति मोलाहिजा पनि थिएन र 'म यो कपी जाँच्छु' भन्ने रोजाइ पनि थिएन । कतिपय विवाद आएमा सामुहिक छलफलद्वारा समस्या समाधान गरिन्थ्यो । परिक्षा नियन्त्रकले उत्तरपुस्तिका जाँचेको दस्तुर तत्कालै दिनको निम्ति रकम पहिले नै निकासा लिएर सो रकम आफ्नो कार्यालयको दराजमा राखेका हुन्थे । त्यो दिनको पैसा दिएर पठाउथे र रहेको बाँकी त्यही दराजमा हुन्थ्यो । दराजको मात्रै होइन, दराज भएको कोठाको ढोकामा पनि ताला लाग्थ्यो र त्यो ढोकासम्म पुग्ने अर्को बाहिरी कोठाको ढोकामा पनि ताला लाग्थ्यो । सबै ढोकाका २/२ वटा साँचा थिए र परिक्षानियन्त्रक र सह-परिक्षानियन्त्रकले १/१ सेट बोक्दथे । रकमको जिम्मेवारी भने सह-परिक्षानियन्त्रकको थियो ।

सधैँझै सह-परिक्षानियन्त्रक आए र काम शुरू गरे तर दराज खोलेर हेर्दा रकम पाएनन् । हल्लीखल्ली भयो । सोचे सबैले सोचे - चोरी भयो नियन्त्रकको साँचो । नियन्त्रक आएपछि थाहा भयो उनको साँचोको झुत्तो कार्यालयको बाहिरीकोठाको दराजमा यथास्थानमा छ । कसैले उनको नियतमाथि शंका गरेन तर उनी आफैले अप्ठ्यारो माने । 

प्रहरी आयो, निरिक्षण गर्‍यो र निष्कर्शमा पुग्यो कि रातभर चौकिदारी हुने क्याम्पसभीत्र चोर आउनसक्ने संभावना नभएकाले चोर त्यहीँको भीत्रिया हुनुपर्छ । त्यति पैसाको निम्ति सबैको बयान लिने पक्षमा संस्थान गएन । बरु भित्रभित्रै खोजीनीतिको पक्ष लियो र केही दिनमा एउटा जानकरी आयो परिक्षानियन्त्रण कार्यालयमा सह-परिक्षानियन्त्रकले माया गरेर राखेको १८ वर्षे पियनकेटोले रेडियो किनेको कुरा । कमाइ हुनेको निम्ति पनि शोख ठहरिने सो समयको रेडियो पिउनकेटाका हातमा शंका ल्याउने नै भयो । सोधपुछ गरियो क्याम्पस भित्रै तर भरपर्दो जवाफ दिन सकेन उसले । प्रहरीको पञ्जामा परेपछि भने कुरा प्रस्ट भयो ।

यो प्रशङ्गको विवरण दिनुपर्दा अर्को एउटा घटना पनि सँगै आउछ । इन्जिनियरिङका कक्षामा २/४ जना विद्यार्थी थिए जो पढाइमा अति कमजोर देखिन्थे तर परिक्षामा अति राम्रो गर्थे । शिक्षक इन्जिनयरहरूको निम्ति यो एउटा बुझ्नै नसकिने पहेली भएको थियो । उत्तरपुस्तिका लिइन्थ्यो, ताला लगाएर राखिन्थ्यो र २/४ दिनपछि कपी जाँच्न शुरू गरिन्थ्यो । चाबी सधैँ परिक्षानियन्त्रकसँग हुन्थ्यो । उनीहरूको इमान्दारीमाथि शंका गर्न सकिन्नथ्यो ।

पियनकेटोको बयान दुवै घटना प्रस्टिन थाले । परिक्षानियन्त्रक नया इन्जिनियर थिए केवल २/४ वर्ष पुराना । सहनियन्त्रक धेरै वर्ष काम गरेका पुराना । त्यसैले जिम्मेवारी धेरै सह-नियन्त्रकमा नै हुन्थ्यो । उनी कडा थिए हत्तपत्त कसैलाई विश्वास नगर्ने । त्यसैले उनको साँचोको झुप्पो सँधै खल्तिमा हुन्थ्यो । आलाकाँचा नियन्त्रक सबैलाई विश्वास गर्थे । त्यसैले बाहिरी ढोकाको साँचो लिएर अरू चाबी आफ्नो टेबलको ड्रअरमा राख्दा रहेछन् ऊनी । बाहिरी कोठका दुई ढोका थिए । एउटामा भित्रबाट गजबार लगाइन्थ्यो र अर्कोमा बाहिरबाट ताला मारिन्थ्यो । पर्दा दुवै ढोकामा थिए । नियन्त्रकहरू पियनलाई ढोका बन्द गर्न अराउथे । विश्वास थियो पियन माथि उनीहरूको । तर पियनले त्यो दिन गजबार हालेन । राति भएपछि गजबार नहालेको ढोकाबाट भित्र पस्यो । नियन्त्रकको ड्रअरबाट चाबी निकाल्यो, ताला खोल्यो, पैसा निकाल्यो र फेरि सबै चिज यथावत राखिदियो । भोलि आउने नियन्त्रकहरूले केही पत्ता पाएनन् ।

त्यो केटाकेटी पियनले यो सबै अक्कल गर्‍यो भन्ने पत्याएनन् अनुसन्धानकर्ताले र 'कसरी जानिस् तैँले ?' भनेर केर्न थाले । पहिले त आनाकानी गर्‍यो तर कडाइ गरेपछि बक्यो उसले । त्यहीँ एकजना हाकिमको छोरो पढ्थ्यो । पढाइमा सारै लद्दु तर परिक्षमा सार्‍है अव्वल । प्रश्नपत्रमा शिक्षकहरू सार्‍है कडा । त्यसैले अगाडि नै प्रश्नपत्र प्राप्त गर्न सक्ने संभावना नभएपछि हाकिमले अर्को बाटो अपनाएछन् । त्यसलै उनले सिकाएका रहेछन् पियनलाई त्यो अक्कल । प्रश्नपत्र पाएपछि एउटा विज्ञले उत्तर तयार गर्दो रहेछ । छोरोले नया उत्तर पुस्तिकामा विज्ञको लेखन सार्दो रहेछ र पियनको सहायताले परिक्षकेन्द्रबाट ल्याएको पुरानो उत्तरपुस्तिकाको बाहिरी पन्ना त्यसमा लगाएर पुरानोको ठाउँमा राख्न लगाउदा रहेछन् । यसरी नै छोराका सबै परिक्षा अव्वल गराएका रहेछन् उनले र छोराका केही मित्रले पनि सो फाइदा उठाएछन् । यसरी उत्तिर्ण भएका ती र तिनका केही साथी पछि इन्जिनियर बन्न पुगे र अहिले त जागिरबाट रिटायर पनि भइसके होलान् । यस्तैबाट आएको रहेछ पियनलाई रकम चोरीको आँट ।

पियनका बाबु आए, रोए, कराए र केही रकम तिरेर थोरै रकम चोरीमा मात्र उसलाई पारियो तर हाकिमलाई केही भएन । एउटा चोरीको कथा यसरी नै टुंगियो ।
जोरपाटी - १
काठमाडौ
२०७१ जेठ ९