Wednesday, April 24, 2013

लोकतन्त्रका दुई बालक



लोकतन्त्रका दुई बालक

चिकित्सकको आदेशानुसार म बिहान मेरो टोलको एक फन्को सधैँ लगाउने गर्छु र आज पनि त्यही फन्कोमा बाटोमा मैले चिनेका दुई बालकहरूलाई भेटेँ । उमेरका हिसाबले पनि उनीहरू समवयस्क नै हुन् र शायद विद्यालय फरक भए पनि कक्षास्तर पनि एकै छ दुईको । लोकतन्त्र दिवसको दिन दुवै जना छुट्टीको मुडमा थिए  नत्र त तिनीहरूलाई बिहान ९ बजे सडकमा भेट्ने सम्भावना हुने थिएन । मैले तिनीहरूलाई १०।१५ पाइलाको फरकमा भेटेको थिएँ । दुवैका हातमा प्लास्टिकका झोला थिए । पहिले भेटिनेको झोला सेतो थियो भने दोश्रो भेटिनेको केही कालो । पहिलो भेटिनेलाई मैले सोधेँ ‍- "छुट्टी छ, बाबु, आज तेरो ?"

"छ ।" - उसले अलि लजाएर जवाफ दियो ।

"केको छुट्टी नि ?" - मैले उसको ज्ञानको परिक्षण गरेँ ।

"आज लोकतन्त्र दिवस नि, त्यसैले ।" - अहिले भने उसले फुर्तीसाथ जवाफ दियो किनकि उसले मलाई त्यो दिवस थाहा नभएकोमा आफ्नो ज्ञान प्रदर्शन गर्ने मौका पायो ।

"के लिएर आइस् त आज लोकतन्त्र मनाउन ?" - मैले हाँसेर सोधेँ ।

"आमाले मोही लिएर आइज भन्नु भयो अनि एक लिटर लिएर आएको ।" - उसले मोही अलिकति उचालेर देखायो ।
"ल त ल । आज मोहीसँग लोकतन्त्र मना ।" मैले उसलाई मुस्कुराउदै जिस्क्याएर अघि बढेँ ।

१०।१५ कदम अगाडि मैले पहिलेको केटो जस्तै अल्छि पाराले हातमा अलि कालो झोला झुन्ड्याउदै हिडने दोश्रोलाई भेटेँ र पहिलेको जस्तै पारामा भनेँ - "आज लोकतन्त्रको छुट्टी तेरो, बाबु ?"

"हो ।" - उसले पनि अलि लजाउदै जवाफ दियो ।

"के ल्याइस् त लोकतन्त्रमा खान ? अनि कति ल्याइस् ?" - कालो झोलामा पहिलेको बालकको जति नै झोल पदार्थ हल्लिएकोले मैले सोधेँ ।

"एक लिटर निगार ।" - उसले सहज जवाफ दियो ।

कालो झोलामा सेतोपन देखिएकोले मैले सोचेको थिएँ ‍- त्यो झोलामा पनि मोही नै हुनु पर्छ तर बालकको जवाफ सुनेर खंग्रङ्ग भएँ र त्यो बालकबाट मैले अरू सोध्नु पर्ने कुरा पनि रहेन । म आफ्नो बाटो लागेँ ।

अब ती बालकका अभिभावकका बारेमा पनि छोटो टिप्पणी गर्न चाहन्छु । पहिलोको बाबु कुनै साहुजीको गोदाममा चौकिदारी गर्छ । घर चलाउन, छोराछोरी पढाउन त्यसले पुग्दैन । त्यसैले आमा कसैकोमा १।२ ठाउँ जुठोचौकोको काम गर्छे । बाहुन हुन् तिनीहरू । दोश्रोको बाबु तामाङ माइक्रो बस चलाउछ र आमा पनि थप आमदानीका निम्ति कहीँ कसैकोमा जुठोचौकोको काम नै गर्छे । दुई परिवारलाई हेर्‍यो भने बाहुन छोराछोरीको पढाइमा बाहेक अरू ठाउँमा लोभी किरन्टोकी भएर गुजारा गर्छ । तामाङ पढाइ पट्टि त्यति ध्यान नदिए पनि खान भने टन्न दिन्छ ।

त्यो मोही खाने र त्यो निगार खानेका बीचमा भविष्यमा अवश्य नै प्रतिस्पर्धा हुने छ । त्यो जीवनको त्यो दौडमा को अगाडि होला ? म भन्न सक्दिनँ । त्यो निर्णय गर्न पाठकलाई नै छोडी दिन्छु ।

राम दाहाल
जोरपाटी, काठमाडौँ
२०७० वैशाख ११
७तौँ लोकतन्त्र दिवस

No comments: