Friday, August 31, 2012

प्रेम, विवाह र यौन


प्रेम, विवाह र यौन

प्रेम, विवाह र यौन मानिसका आदिमकालदेखी चली आएका व्यवहारहरू हुन् ।अल्प मस्तिष्क विकास भएकाले अरू प्राणीहरूमा यौन मात्र विकसित हुन्छ, अरू शुन्य या अति न्यून हुन्छन् । मानिसका बीचमा पनि कतिपयले यी तीनै चीजलाई एउटै पोकोमा राखेर व्याख्या गर्न खोज्छन् र गलत निर्णय निकाल्छन् । वास्तविकतामा यी तीन वटा आफ्नै अस्तित्व भएका इकाईहरू हुन् र यिनीहरूको आफ्नै परिभाषा र सीमा छन् ।
प्रेम मायाको उपज हो अर्थात् प्रेम माया भनिने स्थुल इकाइ भित्र पर्छ। माया प्राणी बीच हुने सर्वव्यापी अनुभूती हो जसलाई दया, स्नेह र प्रेम तीन खण्डमा विभाजित गर्न सकिन्छ । दया अर्काको पीडा देखेर उत्पन्न हुने अनुभूति हो । यस्तो अनुभूति यदाकदा अरू प्राणीमा देखिए पनि मानिसमा भने सधैँ देखिन्छ र त्यो प्राणी जति नजिक भयो त्यति नै त्यो अनुभूति तीव्र हुन्छ । अर्काको कुकुरले दुख पाएको देख्दा हामीलाई जति दया लाग्छ आफ्नो घरको कुकुरले पाएकोमा त्यो भन्दा बढी नै लाग्छ । निकटताको परिणाम हो त्यो ।
मायाको दोश्रो रूप स्नेह हो । अपवादमा वाहेक मानिसले स्नेह मानिसलाई मात्र गर्छ । स्नेहको मात्रा पनि निकटतामा आधारित हुन्छ । घरपरिवारका सदस्य बीच बाहिरकासँगकोभन्दा बढी स्नेह हुन्छ । अझ बच्चासँग आमाको निकटता सबैभन्दा घनिष्ट निकटता हो र नै आमाको बच्चा प्रतिको स्नेह सबैभन्दा र सबैकोभन्दा बढी हुन्छ । स्नेह अरू प्राणीमा पनि देख्न पाइन्छ । सँगै बसेका भालेपोथीमा त्यो स्नेह देखिन्छ र देखिन्छ त्यसरी नै वात्सल्य स्नेह पनि ।
प्रेम मानिसको सर्वोच्च अनुभूति हो र प्रेम समलिङ्गी बीच होइन, विपरितलिङ्गीप्रतिको आकर्षण अभिव्यक्ति हो । प्रेमले जहिले पनि वयस्क पुरुष र स्त्री अथवा पुरुष र स्त्री स्वभावका दुई व्यक्ति बीच मानसिक निकटता खोज्छ । प्रेम सशक्त शारीरिक उपस्थिति अत्यावश्यक ठान्दैन तर उपस्थिति सुनमा सुगन्ध भने हुन सक्छ किनकि प्रेम शारीरिकभन्दा आत्मिय अनुभूति हो । त्यसैले सांसारिक जिम्मेवारीमा नजेलिएका केटाकेटीको प्रेम छर्लङ्ग र गहिरो देखिन्छ । लैलामजनु, हिरराँझा, रोमिओजुलियटका प्रेमकथा अमर हुनु प्रेमप्रतिको उनीहरूको बलिदान ठूलो भएर नै हो ।
यौन प्रेमसँग गाँसिएको विषय होइन । त्यो त सन्तानवृद्धिसँग जोडिएको छ ।प्रकृतिले नै यसलाई प्राणीमा सन्तानवृद्धिका लागि नियोजित गरिदिएको छ र सन्तानवृद्धि प्रेम हुनु या नहुनु सँग सम्बन्ध  राख्दैन । भोक, तिर्खा जस्तै यौन आवश्यकता पनि जीवनचक्रको एउटा भाग मात्रै हो । प्राणीले हुर्कन, बढ्न, जीवन धान्न खानु, पिउनु, सासफेर्नु परे झैँ पुनर्उत्पादनका निम्ति यौन आवश्यक हुन्छ र यौन शारीरिक आवश्यकता मात्रै हो । प्रेम नभएका यौनसम्पर्कहरू अनगिन्ति हुने हुनाले प्रेम र यौन अलग अलग हुन् भन्ने प्रस्टै हुन्छ ।
विवाह यौनसँग जोडिएको छ । विवाह पुरुष र स्त्री बीच यौनसम्पर्क स्थापित गर्न र त्यसको परिणाम संयुक्त रूपमा बेहोर्न दुई जना बीच भएको सम्झौता हो । तिनीहरू बसेको समाजको धारणा अनुरूप त्यो सम्झौतालाई स्थायी बनाउन समाजले विभिन्न नियमका ढाँचाहरू राखी दिएका हुन्छन् । विवाहका निम्ति प्रेम आवश्यक वस्तु होइन । भए राम्रो नभए केही छैन । प्रेम भएकासँग विवाह भए सम्पर्क नजिकिदै गएपछि त्यो प्रेम स्नेहमा बदलिन्छ र लोग्नेस्वास्नी बीच प्रेम अन्त्य भएर स्नेह मात्र बाँकी रहन्छ । बिना प्रेम विवाह भएको छ भने त्यो स्वतः स्नेहमा परिणत हुदै जान्छ ।
हामीले सधैँ सुन्ने पौराणिक कालको कथालाई नै लिऊँ । महाभारतको अन्तिम स्वर्गारोहण पर्वमा जब स्वर्गतिर चढ्दै जादा द्रौपदी ढलिन् भीमले युधिष्ठिरलाई सोधे ‍- दाइ ! द्रौपदीले कुनै पाप गरे जस्तो त लाग्दैनथ्यो । यिनी कुन पापले स्वर्ग जान नसकेर ढलिन् ?
युधिष्ठिरले जवाफ दिए – पक्षपातको दोषले ढलिन् । बिहे त यिनले हामी पाँचै जनासँग गरेकी हुन् तर प्रेम यिनले अर्जुनसँग मात्र गरिन् । यही नै उनको पाप हो ।
बिहे गरे पनि प्रेम गर्नु पर्ने वाध्यता छैन भन्ने देखाइन् द्रौपदीले ।
भागवत महापुराणका नायक श्रीकृष्णको प्रशंसा आदिदेखि अन्त्यसम्म हुन्छ । उनका आठ वटी त पटरानी नै थिए । रानीहरूको संख्या त कति कति ? तैपनि कसैको पनि नाम श्रीकृष्णसँग जोडिदैन । जोडिन्छ त कोही अर्कैकी पत्नी भइसकेकी राधासँग । राधाको प्रेम कृष्णसँग र कृष्णको प्रेम राधासँग । अमर भयो परपुरुष र परस्त्रीसँगको प्रेम । प्रेम एउटासँग र विवाह अर्कोसँग सामान्य मानियो त्यहाँ । त्यसैले पति या पत्नी जीवन प्रवाहको एउटा शरीरिक अङ्ग हो भने प्रेमी या प्रेमिका मानसिक सन्तुष्टिको आवश्यकता ।यो आवश्यकता कुनै व्यक्ति विशेषको मात्र नभएर प्रत्येक व्यक्तिका लागि समान आवश्यकता हो र सनातनदेखि अहिलेसम्म चली आएको चलन हो । विवाहितले अर्को पुरुष या नारीसँग प्रेम गर्न हुन्न भन्ने भनाइ कसैको मानसिकता कसैमा बाँधेर राख्ने प्रयाश मात्रै हो । पुरुषभन्दा पनि महिलालाई बन्देजमा राख्ने निति नात्रै हो ।
 

Tuesday, August 28, 2012

टिप्पणी - ७


पहिचान र अधिकार

दुई दाजुभाइको सम्पत्ती हडप्नु पर्‍यो भने उनीहरूको कुभलो चाहनेले उनीहरू बीच छुल्याइँ हालेर विभाजन ल्याउछ र तिनीहरूमाथि आफ्नो अधिकार जमाउछ । दाजुभाइका बीचमा केही असमानता हुनु नौलो कुरा पनि होइन । त्यस्तो विभाजनले नोक्सानी ल्याउने सधैँ दाजुभाईलाई नै हो । समानता कही पनि छैन र सम्पूर्ण समानता त कही पनि हुन सक्दैन । यसरी दाजुभाइ भिडाउनेको आफ्नो निजी स्वार्थ हुन्छ त्यो विभाजनभाट फाइदा उठाउने । सामान्य जीवनमा परिवारमा यस्तो समस्या देखा परी नै रहन्छन् । राज्य पनि परिवारको एउटा विशाल रूप मात्रै हो । त्यहाँ पनि परिवारमा जस्तै असमानता देख पर्दछन् । कही क्षेत्र बीच असमानता हुन्छ, कहीँ जाति बीच र कहीँ वर्ग बीच । व्यक्ति व्यक्ति बीचका असमानता त असंख्य नै हुन्छन् त्यहाँ । राज्यले यस्ता असमानताहरूलाई न्युनिकरण गर्न सक्छ, निमिट्यान्न पार्न सक्दैन तर यस्तो असमानतालाई नै वैमनश्यताको विज बनाएर विभाजन गर्न र फाइदा उठाउन एक थरी मानिस, समूह, दल या राज्य नै पनि सधैँ तयार रहन्छन् ।

नेपालको सन्दर्भमा पनि यस्तै लागु भइरहेको छ । यो देशमा असमानता छन् जातिय, क्षेत्रिय, वर्गिय सबैतिर । ती असमानताका समाधानका विभिन्न उपायहरू छन् तर वर्गियद्वन्दका पक्षपाती  माओवादीहरूले वर्गसंघर्षको साटो जातिसंघर्षलाई बढावा दिएर आफ्नो स्वार्थको लागि यस्तो असमानताको अपव्याख्या गरेर जातिजाति बीच द्वन्दको विजारोपण गरे । खसआर्यहरूको विरुद्धमा आदिवासी र जनजाति भावनालाई उक्साएर आफू सत्तामा पुग्ने प्रपञ्च रचे जसको परिणाम सयौँ वर्षदेखि विद्यमान जातिय सद्भाव खल्बलियो र जाति बीच द्वन्द बढ्ने संभावना बढ्दै गयो ।

माओवादीको जातिय विभाजनको पहिलो आधार हो जातिय पहिचान । वास्तवमा के हो त जातिय पहिचान ?

मानिसको उत्पत्तीको समयदेखि बिभिन्न जातिका मानिसहरू देखा परे जसमध्ये अहिले ककेसियन भनिने नाकचुच्चे आर्यसमूह, नाक नेप्टे मंगोलसमूह र ओठल्याब्रे निग्रोसमूह तीन प्रमूख पहिचान हुन् आजको विश्वमा । उनीहरूको पहिलो पहिचान भन्नु नै उनीहरूको शारीरिक बनोट हो । तर त्यतिले मात्रै विभाजनको अन्त्य भएन । जो जहाँ बस्यो त्यो क्षेत्रको नाममा अर्को पहिचान शुरू भयो । ककेसियन युरोपेली भए, भारतिय भए, अरब भए र त्यसरी नै बाढिए अरू समूह पनि । एक अर्काबाट धेरै टाढा बसेपछि बोली, लवज, शब्द, व्याकरण सबै नै फरक हुदै गएर एक अर्काले बुझ्नै नसक्ने गरी परिवर्तन भए । भाषा तेश्रो पहिचान बन्न पुग्यो । फरक बोली, फरक स्थान र फरक वातावरणमा बसेका मानिसका समूह बीच आचारविचार, रहनसहन, रितिरिवाज पनि फरक बन्दै गए जसले सँस्कृतिको नाम पायो । यो अर्को पहिचान हो । यतिमा पनि पहिचानको अन्त्य भएन । सबै चिज एकै हुदाहुदै पनि समूहमा कबिला(clan) भन्ने पहिचान देखा पर्‍यो । कबिलाभित्र पनि कुन खाल, कसको सन्तान भन्ने वंशगत पहिचान स्थापित हुन पुग्यो भने प्रत्येक व्यक्तिको 'म फलानो' भन्ने नाम उसको अन्तिम पहिचान भयो । यसरी हेर्दा म फलानो व्यक्ति हुँ भन्ने पहिचान नै मूल पहिचान हो र व्यक्तिको परिचय नभए उसलाई अरू पहिचानले कहीँ पनि पुर्‍याउदैनन् । व्यक्तिको विकासले मात्रै समूह विकास हुन्छ र व्यक्ति विकासको लागि समयको चालसँगै परिवेश अनुरूप मानिस पनि परिवर्तन हुदै जान्छ । आधुनिक मानिसको रूप ऊ जहाँ पुग्यो त्यहीँ अनुरूप ढाल्न सक्ने विशेषता हो ।

एउटा सामान्य व्यक्ति, चाहे ऊ नेपाली होस् या जर्मन, फ्रेन्च होस् या इन्डोनेसियन, जीवन धान्नको निम्ति कहीँ अन्जान मुलुकमा पुग्यो भने उसको पुरानो पहिचान रहदैन । उसले त्यहाँको रैथाने समूहको भाषा, सँस्कृति, अँगालेर आफूलाई त्यहाँको परिवेशमा मिलाउनै पर्छ । त्यो व्यक्तिको भाषा, सँस्कृति र सँस्कार परिष्कृत भए पनि त्यसलाई उसले त्याग्नै पर्छ, अन्यथा ऊ त्यहाँ बाँच्न सक्दैन । त्यस्तै एउटा ठुलो जमात २।४ जनाको मात्र समूह भएको रैथानेहरू बीच पुग्यो भने रैथानेहरू सँस्कृति हराएर आगन्तुकहरूको भाषा, सँस्कृति रैथाने बन्न पुग्छ । आगन्तुक रैथानमा परिणत हुनु या आगन्तुकले रैथानेलाई परिणत गर्नु यो प्राकृतिक नियम हो । विजेता सँस्कृतिले विजित सँस्कृतिलाई मेटाउन खोज्छ तर उसको सफलता उसको समूहको संख्या, उलको सँस्कृतिको स्तर र उसको स्थायित्वमा भर पर्छ । हुणहरूले रोम त जिते तर उनीहरू त्यही रोमन सभ्यतामा बिलिन भए । साँस्कृतिक रूपमा उच्च र संख्यात्मक हिसाबले धेरै रोमवासीहरूको तुलनामा उनीहरूको उपस्थिति, र विजय नै पनि, नगण्य भयो ।

नेपाली समाज पनि अपवाद होइन । हजारौ वर्षको अन्तरालमा पूर्व, पश्चिम, ऊत्तर, दक्षिण चारैतिरबाट नेपाल छिरेको कुरा इन्कार गर्न सकिदैन । राईलिम्बु किरातिहरू उत्तर र पूर्वबाट छिरे । यसरी नै छिरे शेर्पा, तामाङ, भोटे र लेप्चाहरू उत्तरबाट र मगर गुरुङ उत्तर-पश्चिमतिरबाट नेपाल पसे । त्यहीबाटो समाएर आएका हुन् खसआर्य भने आदिआर्यहरू दक्षिणबाट पसे । खोज्दै जाने हो कतिपयको पुर्ख्यौली दक्षिण भारत पुग्न सक्छ, कतिपयको मध्यएसियाको खसक्षेत्र र कतिपयको गोभी मरुभूमिभन्दा माथि पुग्न सक्छ । यति ठूलो अन्तरालमा मानिस यसरी मिसिदै र फैलदै गए कि वर्तमानमा नेपालमा एउटा अति सीमित क्षेत्रभन्दा बाहिर कहीँ पनि र कसैको पनि वहुमत रहेन । त्यसैले कुनै क्षेत्र कुनै पनि जातिको सबै नै साझा बन्न पुग्यो । नेपालको अहिलेको वास्तविकता यही नै हो र समूह विशेषले कुनै क्षेत्रमा विशेष अधिकार लिनु नै अरू समूहलाई समानतको अधिकारबाट व़ञ्चित गर्नु हो तर कुनै समूहको भाषा, सँस्कृतिको विकासको लागि विशेष सुविधा लिने कुरा भने न्यायसंगत देखिन्छ ।

Monday, August 20, 2012

टिप्पणी - ६

जाति तथ्याङ्क


जातिय तथ्याङ्कले धेरै कुरा प्रस्ट्याई दिन्छ । प्रथमत यसले जातिहरुको बसोबासलाई औँल्याई दिन्छ, त्यो समाजमा उसको उपस्थिति देखाई दिन्छ । त्यो बाहक कुनै जाति किन त्यो ठाउँमा पुग्यो र किन त्यहाँ बस्यो त्यो पनि जानकारी दिन्छ जाति तथ्याङ्कले । नेपालका जातिहरूका सम्बन्धमा पनि यही कुरा लागु हुन्छ ।

Thursday, August 09, 2012

टिप्पणी - ५


मानव विकासमा संवृद्धि

नुनिलो माहासागरमा एउटा जीवाणुको उत्पत्ति शायद घटनावस भयो होला तर उसको वंशवृद्धि भने गुणनवर्गको अनुपातमा भयो । उसका वरिपरि पर्याप्त खाद्यसामग्री थियो तापनि बलियो र छिटोले त्यहाँ पनि अरूलाई लखेटेर आफू पहिले खान्थ्यो । भाले र पोथीको विकास भएपछि त बलियोले प्रजननको अधिकार पनि आफूमा सीमित राख्न चाहन्थ्यो र आफ्ना प्रतिद्वन्दीलाई लखेट्थ्यो पनि । पशुका त कुरै छोडौँ, आदिम मानिस पनि यस्तै आचरण देखाउथ्यो । मानिसको मानसिक विकास हुन थालेपछि मात्रै मानिसमा अरू प्राणीभन्दा फरक आचरण देखा पर्न थाल्यो । 

Saturday, August 04, 2012

सौदामिनी - ८


सौदामिनी


देख्यौ कसैले कि?” – म सोधी हिडथें
हिडेकी नानी बिच हुरी रातमा
भन्थे सबै – “मुर्ख भयौ कसोरी
छोडेर नानी प्रलयको साथमा?”

चौकीमा सोधें – “कहीं भेट्नु भो कि?”
पुर्पक्ष गर्दं कति दिन बिताए
बाटोमा सोधेँ वटुवा मिलेर
बौलाहा हो यो भनी दोष लाए ।

Wednesday, August 01, 2012

सौदामिनी - ७


सौदामिनी

सातौँ सर्ग

यो रात कालो र अतिव निलो 
आकाश ढाक्यो घनघोर मेघ
विध्वंशिनी भै प्रकृति उठेर
तोडी सबैका नियमित वेग ।

हुरी चल्यो स्थिर सबै बढार्‍यो
भेट्यो जहाँ जे सब सम्म पार्‍यो 
त्राही भनी मानिस काप्न थाले
सुनामी झैं छाल उडेर आयो ।