Thursday, April 04, 2013

संवृद्धिशास्त्र



संवृद्धिवाद

धेरैले सोध्छन् के हो जनसंवृद्धि? शव्द मात्रैको विश्लेषणले पनि यो जनताको संवृद्धि या सम्पन्नता भन्ने त बुझाउछ तर यतिले मात्रै नै यसको पूर्ण व्याख्या भने हुदैन । मानीसको संवृद्धीको व्याख्या गरिदा उसलाई दुई रूपमा हेरिनु पर्छ । प्रथमत ऊ प्राणी हो र उसको प्राणीवत बाँच्न पाउनु उसको पहिलो अधिकार हो । भलै ऊ सर्वोच्च विकसित प्राणी किन नहोस्, उसका उसका बाँच्न चाहिने आवश्यकता सामान्य प्राणीका भन्दा त्यति भिन्न छैनन् । मानिस हुनुका वुद्धि विवेकले उसले आफ्ना सुविधाकानिम्ति आवश्यकताको सूचि लामो बनाएको छ त्यो अर्कै कुरा हो । मानिसले आफ्ना सुविधाकानिम्ति पालेका पशुहरूले आफ्ना मालिकबाट खान पाउने अधिकार प्राकृतिक भए झैं कतिपय अधिकार स्वत प्राकृतिक भएर पनि आउछन् । 

मानिसको संवृद्धिको पहिलो आवश्यकता सास फेर्न चाहिने हावा पाउनु हो । यो आवश्याकता धरातलमा सित्तै पाइने हुनाले यो मुल्यहीनजस्तो देखिए पनि यो प्राणीको पहिलो आवश्यकता हो भन्ने कुरा इन्कार गर्न मिल्दैन किनकि सास फेर्ने हावा बिना मानिस केही मिनेटभन्दा बढी बाँच्दैन ।त्यो हावाको महत्व मानिसलाई पानीमनि या अन्तरिक्षमा पुगेपछि मात्र थाहा हुन्छ । 

आवश्यकताको प्राथमिकतामा पानीले दोश्रो स्थान ओगट्छ । पानी नपिएर मानिस दुई हप्ता भन्दा बढी बाँच्न सक्दैन, त्यो पनि बलियो मानिस । एक दिनको निर्जलिय उपवासले नै सामान्य मानिस त थला परी सक्छ । त्यसैले नै मानिस सहित सबै प्राणी पानी नजिकै भएको स्थानमा बस्ने गरेका हुन् । अझ सहर नै बसाल्नु पर्दा त मानिसले नदी किनार नै रोजेका हुन् सधैं नै । मानिसको उत्पत्ती या जन्म जंगल या गाउँमा भए पनि मानव सभ्यताको विकास सहरमा भएको पनि यही कारण हो ।

आवश्यकताको तेश्रो स्थानमा रहेको खाद्यले त मानव सभ्यताको क्रममा झन ठुलो ठाउँ ओगटेको छ । सर्वत्र पाइने वायु र चाहिनेभन्दा बढी पाइने पानीकानिम्ति कसैसँग पनि मानिसले प्रतिस्पर्धा गरिरहनु पर्ने आवश्यकता थिएन तर सीमित मात्रामा पाइने खाद्यकोनिम्ति भने द्वन्दको आवश्यकता पर्‍यो मानिसलाई । शुरुमा मानिसले आफ्ना विजातीसँग द्वन्द गर्‍यो र उसलाई जितिसकेपछि अरु प्राणीले जस्तै आफ्नै स्वजातीसँगको प्रतिस्पर्धामा लाग्यो । मानिस मानिस बीचको प्रतिद्वन्दिता यहींबाट शुरु भयो । योसम्मको स्थितिमा मानिस प्राणी भएर बाँचिरहेको थियो तर योभन्दा पर ऊ मानव हुन थाल्यो ।
सबै प्राणीमा जस्तै यौन पनि मानिसको प्राणीवत आवश्यकता हो । यौन शारीरिक आवश्यकता मात्र नभएर वंश सन्चालनको प्राकृतिक आवश्यकता पनि हो । मानिसजस्ता उच्च विकसित प्राणीमा यौनबिना वंशवृद्धिको संभावना पनि थिएन ।उसको यो चौथो प्राकृतिक आवश्यकता हो ।

अरु प्राणीभन्दा पर उसले चिन्तन शुरु गर्‍यो र उसमा मात्र भएको विवेक र वुद्धि प्रयोग गर्न थाल्यो । अनिकालको समयकालागि खाना नपाएर भोकै मर्नेको हालत सम्झेर केही जोहो गर्ने चाहना भयो उसमा । अरु प्राणी वर्तमानमा मात्र सीमित थिए, मानिस भविष्यको निम्ति सजग भयो ।सधैं जंगलमा गएर मारिने जनावर उसले घरमा ल्याएर पाल्न सिक्यो । जंगलमा टिपिने फलफूल, अन्नपात आदि आफ्नै घर या ओडारको हातामा रोप्न जान्यो । आफ्ना प्राणीजन्य आवश्यकतालाई स्थायी पूर्तिको व्यवस्था गर्‍यो मानिसले तर एउटा चाहना पूर्तिमा अर्को चाहनाको जन्म स्वत हुनथाल्यो र अनन्त चाहनाहरू जन्मदै गए मानिसमा । यिनै असंख्य चाहनाहरूको पूर्तिको प्रयाश र सफलता नै मानव सभ्यता हो, मानव सभ्यताको इतिहास हो ।

प्राणीजन्य आवश्यकताको सीमा हुन्छ । एउट प्राणीले खाने, पिउने या यौन समागम गर्ने उसको सीमा हुन्छ । उसले चाहे पनि एक पटकमा त्योभन्दा बढी उपभोग गर्न सक्दैन । त्यही कुरा मानिसमा पनि लागु हुन्छ । त्यसैले उसको त्यो आवश्यकता उसले चाहे अनुसार पूर्ति गरिदिन सकिन्छ । कार्ल मार्क्सले उन्नाइसौं शताव्दिका श्रमिकहरूको भोको पेट देखेर —आवश्यकता अनुसार माम‘ को सिद्धान्त पेस गरेका पनि त्यसैले हुन् । त्यसरी नै बलको काम गर्ने मानिसको बलको सीमा हुनाले —सामर्थ्य अनुसार काम‘ पनि यसैसाथ जोडिदिए मार्क्सले र यिनैका आधारमा —क्षमता अनुसार काम, आवश्यकता अनुसार दाम‘ को साम्यवाद भनिने भविष्यसंसार सिर्जना गरि दिए उनले । 

प्राणीजन्य आवश्यकतालाई पूर्ति गरेपछि मानव आवश्यकता र कार्य प्रस्ट देखापर्न थाल्छन् । बाँच्ने सामग्रीको पूर्तिपछि मानिस सुविधाका सामग्री खोज्न थाल्छ र आफ्नो बौद्धिक र शारीरिक दुवै क्षमतालाई  त्यो चाहना पूर्ति गर्न प्रयोग गर्छ ।त्यो चाहना पूर्ति नै उसको सम्पन्नतावृद्धि या संवृद्धि हो । तर जसरी एउटा इँटाले मात्र घर बन्दैन त्यसरी नै एउटा व्यक्तिको विकासलेमात्रै पनि समाज विकसित हुदैन । त्यसैले एउटा नरम जुत्ताको मोल दुई कडा जुत्ता बराबर छ भने नरम जुत्ता लगाउन चाहने जुलाहाले दुई कडा जुत्ता साटिने मुल्य कपडा उत्पादन गर्न सक्नुपर्छ, अन्यथा उसले कडा जुत्तामा नै चित्त बुझाउनु पर्छ । नरम जुत्ता बनाउनेले त आफ्नो सम्पन्नता वृद्धि गर्छ नै, त्यो लगाउन चाहनेले पनि त्यो समान मुल्य उब्जाउँछ । त्यो वृद्धि क्रमश एकपछि अर्को गर्दै क्रमिक प्रतिकृया भएर समाज भर नै फैलन्छ । यस्तो विकासको क्रम नै जनसंवृद्धि हो । असंख्य मानिसहरूको प्रयाश र असंख्य यस्ता उपलव्धिको परिणाम नै आजको मानव सभ्यता हो ।

अब संवृद्धिवादका कुरा गरौं । जनसंवृद्धिवादका दुई खण्डहरू छन् । पहिलो, मानिस प्राणी भएकोले एउटा राज्यमा बस्ने कुनै पनि प्राणीका प्राणीजन्य आवश्यकतापूर्तिको सुनिश्चितता राज्यले गर्नु पर्छ । राज्य त्यसका नागरिकको रक्षा र सुविधाका निम्ति स्थपित भएको संस्था हो र सरकार त्यो राज्य संचालनको निम्ति नागरिकबाट अधिकार प्राप्त इकाइ हो । यी जिम्मेवारिबाट न राज्यले मुक्ति पाउछ न सरकारले । सरकार संचालन गर्न चाहने कोही कसैले पनि यसलाई पहिलो प्राथमिकता स्विकार्नु पर्छ । तर यतिमा मात्रै राज्यको व्यवस्था छोडिदिने हो भने राज्य चिन्तनशिल मानिसको समाज होइन भेडीगोठ जस्तो जमात हुन्छ जहाँ —भ्या भ्या‘ गरेर कराइदिदा र आफूसँग भएको ऊन र मासु दिए पुग्छ ।
मानव समाज स्वतन्त्र चिन्तकहरूको समूह हो जहाँ ऊ आफ्नो स्वतन्त्र अस्तित्वको चाहना राख्छ । उसको पहिलो चाहना नै सम्पन्नता वृद्धिको चाहना हो । वर्तमानभन्दा बढी ज्ञान खोज्ने, बढी सुविधा सिर्जना गर्न प्रयाश र परिश्रम गर्ने, आफ्ना धारणा अभिव्यक्त गर्ने, आफ्ना ज्ञानका आधारमा नयाँ कुरा आविष्कार गर्ने मानिसको मानविय प्रयाश हो जसलाई ऊ निरन्तरता दिन चाहन्छ र अरुलाई पनि त्यसमा प्रोत्साहित गर्दछ । त्यसैले स्वतन्त्र अभिव्यक्ति र कार्यको अधिकार उसको प्राणीजन्य दोश्रो र मानवजन्य पहिलो अधिकार हो । दुवै अधिकारको नागरिक समाजमा उत्तिकै महत्व छ । न पहिलो पूर्ती गरिदिएको आधारमा दोश्रोलाई बन्देज लगाउन सकिन्छ, न दोश्रो खुला गरिदिएको आधारमा पहिलोलाई बेवास्ता गर्न मिल्छ ।यी दुई अधिकारको संरक्षण गरेर राज्यमा सुशाशन चलाउन खोज्ने राजनैतिक सिद्धान्त नै संवृद्धिवाद हो ।  

राम दाहाल
काठमाडौं, जोरपाटी   
२०६८।६।३  

No comments: