Thursday, April 25, 2013

विचार



प्रविधिसँग मेरो सहवास

साठी नाघेका बुढाहरूको जमघटमा म आफूलाई कहिले कहीँ एक्लो पाउछु । बुढाहरू हरिकिर्तनमा गएको कुरा सुनाउछन्, प्रवचनमा सुनेको कुरा बखान्छन् र स्वर्गप्राप्ति कसरी हुन्छ ? त्यसका उपमा ल्याउछन् । पल्टनमा जुनी बिताएका एउटा बुढा रामायण र सुखसागर आद्योपान्त सुनाएर सबैलाई मख्ख पार्छन्, पल्टने उपदेश दिन्छन् र भन्छन् - "भाग्यको लेखा हो सबै । नलेखेको त कहाँ पाइन्छ र ?" दिनभरि ढुंगा बोकेर ज्याला कमाउने बाबुको प्रयासलाई उनी मानिसको भाग्यको कर्म भनेर पन्साउछन् र बाटोमा उसको सानो छोरोले भेटेको सुनको औँठीलाई स्वर्गको बाटो देखाउने हरिभजनसँग दाज्दछन् । उनको कुरा सुनेर कुनै न कुनै रोगले पिडित बुढाहरू मृत्युको डर मानेर 'हरि, हरि' भन्न थाल्छन् ।

'सत्तरी नाघी सके पछि पनि म ती बुढाहरूजस्तो किन हुन सक्दिनँ ? कहिले कही म आफैलाई अचम्म लाग्छ । उनीहरूकाभन्दा धेरै रोगव्याधि मसँग छन् र मेरो समय धेरै छैन भन्ने पनि मलाई थाहा छ तैपनि किन मृत्युको डर मानेर उनीहरूको बाटो समात्न सक्दिन ? कालाजयी म होइन त किन म बुढौतीको लय झिक्न सक्दिन ?

प्रश्न ती सडकछाप बुढाहरूको मात्र होइन । मेरा समकालिन वरिष्ठ विद्वानहरूको दिनचर्यालाई नियाल्दा पनि मैले ती दुईमा त्यति ठुलो अन्तर पाइनँ । आधुनिक विश्व र आधुनिक समाजबाट उनीहरू प्रस्ट अलग्ग देखिन्छन् । हो, तन्देरी जस्तो काम गर्ने सामर्थ्य अवश्य नै उनीहरूमा छैन तर हातखुट्टा चलाउन सक्ने झिनो बल त अझै पनि उनीहरूमा छ र सोच्न र व्यक्त गर्न अझै पनि सक्छन् । तैपनि गर्दैनन् उनीहरू । भन्छन् - "हामी बुढा भयौँ ।" दौडन्छन् पुराण सुन्न, रुद्रि पाठ गराउन, महात्माहरूक प्रवचन सुन्न । शायद मृत्युसँगको डर हो यो उनीहरूको ।

कुराको थालनी त अर्कैतिरबाट भएको हो । मेरा एकजना भाइ मुकुलमणी दाहालले फेसबुकमा लेखे - " दाइ ! तपाई बुढो भएर पनि आधुनिक प्रविधि प्रयोग गर्नु हुन्छ ।" प्रयोग गरेकोमा उनले मेरो सराहना पनि गरेका छन् । त्यसको निम्ति म उनलाई धन्यवाद दिन्छु । तर आधुनिक प्रविधिको उपभोग सबै बुढाबुढीले गरी रहेका छन् । कुनै दिन ढिकीमा कुटेको चामल खाइन्थ्यो, आज मिलमा कुटेको । दाउरा या गुइँठाले पकाइन्थ्यो भात, आज ग्यासमा पकाइन्छ । समाचार लिएर कुदाइन्थ्यो मानिस उहिले, आज सेलफोन उठाएर संसारसँग बोलिन्छ । ढुंगा र माटोले घर बन्थ्यो उहिले, आज कंक्रिटले बन्छ । यी सब प्रयोग गर्न बुढाहरू पछि छन् र ? छैनन् तर बुढाहरू छोरानातिले समाए पछि मात्रै समाउछन् कर लागेर समाए झैँ गरेर । लाज लाग्छ उनीहरूलाई पहिले समाउन । हीनताबोध छ उनीहरूमा कहीँ छोराछोरी, नातिनातिनीहरूले 'पात्तिएको बुढो' भनी दिन्छन् कि भनेर । मैले कम्प्युटर चलाउन साठी पार गरी सकेपछि सिकेको हुँ  र मेरो घरमा यो भाँडो छोराछोरी या नातिको मागले होइन मेरै चाहनाले आएको हो । मेरो घरमा कम्प्युटर नहुदा इ-मेल र हटमेलमा के अन्तर छ ? थाहा नहुदा 'मेरो विदेशमा बसेको छोरोलाई हटमेल गरिदेउन' भनेर साइबर केन्द्रमा पुग्दा त्यहाँ बस्ने सबैले हँस्यौली गरेका थिए मेरो । अहिले मेरो १३ वर्षे नाति मभन्दा धेरै जान्दछ कम्प्युटर बारे र मलाई लाज लाग्दैन ऊसँग सिक्न ।

कम्प्युटरको माध्यमाट म आधुनिक विश्वसँग सम्पर्क राख्न सक्छु । कुनै पनि चिज पढ्न सक्छु । केटाकेटीसँगै उच्छ्रिङ्खल पनि भई दिन्छु । म बिथोविन पनि सुन्छु, पप संगित सुन्न पनि हिचकिचाहट छैन । रोमियो म हुन सक्दिन तर बुढाको पनि प्रेम हुन्छ भन्ने म ठान्छु । रोगले म मिठो खान सक्दिन भन्दैमा हलुवाई पसलमा नै छिर्नु हुन्न भन्ने त छैन नि ।

म फेसबुकमा हेर्छु । त्यहाँ मेरा मित्रका पङ्तीमा ९०% युवाहरू छन् । ट्विटरमा छिर्छु । झन त्यहाँ त तन्देरी गफ चली रहेका हुन्छन् । ट्विटरमा त झन् के कुरा ? तर साठीको दशक नाघेका त औँलामा गने पुग्छ होला त्यहाँ पनि। नामोनिसान छैन बुढाहरूको । त्यसैले पनि धेरै जसो लेखनी म युवाहरूका निम्ति लेख्छु र मेरो बुढा मित्रहरूबाट पात्तिएको बुढोको नाम पनि कमाउछु तर जे होस्, मलाई इन्कार दुवै थरीले गरेका छैनन् । मलाई यसैमा सन्तोष छ । 

राम दाहाल
जोरपाटी, काठमाडौँ
२०७० वैशाख १२

No comments: