Tuesday, August 27, 2013

निर्वाचन लेख



आसन्न निर्वाचन

निर्वाचन किन ?
उत्तर एउटै हो । नेतादेखि नागरिकसम्म सबैलाई निकास चाहिएको छ । निकास के हो ? वैद्यसमूह भन्छ - "निकास गोलमेच सम्मेलन हो । गोलमेच सम्मेलनबाट सहमती गरौँ अनि चुनाव गरौँला ।" सजिलो उत्तर बनाएका छन् वैद्यबाले । १४० दलको सहमती हुदैन भन्न थाहा छ उनलाई र चुनाव हुने सम्भावना पनि छैन । चुनाव नहोस् यो वैद्यसमूहको चाहना हो । चुनाव चाहने दलहरू भन्छन् - "निकास निर्वाचन हो । दलहरूले समस्या समाधान गर्न नसकेपछि जनता सामु जानु लोकतन्त्र हो । को सही छ ? को गलत ? नागरिकहरूले निर्णय गरून् त्यो । लोकतन्त्रमा सर्वोच्च अधिकारी नै नागरिकहरू हुन् ।"

किन चाहदैनन् वैद्यसमूह निर्वाचन ?
वैद्यसमूहको सोचाइमा सर्वहाराको प्रतिनिधी दल कम्युनिष्ट पार्टीको बलपूर्वक सत्ता हत्याउने सिद्धान्त छोडेर मतपत्रको आधारमा हत्याउने बाटोमा लागेकाले प्रचण्डसमूह प्रतिगामी भएको छ । सत्ता नहत्याउन्जेल रक्तरञ्जित क्रान्तिको बाटो छोड्नै हुन्न कम्युनिष्टले भन्ने पुरातन सोचाइमा छ वैद्यसमूह । त्यसैले भर्सक चुनाव चाहदैन ऊ । दोश्रो चुनाव लड्नै पर्ने स्थितिमा त्यो समूह आफ्नो अस्तित्व देखाउन चाहन्छ तर उसको अहिलेको स्थिति कुनै समयमा एमालेबाट छुट्टिएर गएको वामदेव गौतमको मालेको भन्दा बढी देखेका छैनन् राजनैतिक विश्लेषक र जनताले पनि । त्यो वैद्यसमूहका नेताहरूलाई पनि थाहा छ ।

किन चाहन्छ दलिय संयन्त्र निर्वाचन ?
दलिय संयन्त्रका ४ दल नै मिलेर सरकार चलाउन सकेनन् । वहुलवादी लोकतान्त्रिक सिद्धान्त बोकेको नेपाली कांग्रेस र दलिय अधिनायकवादी सिद्धान्त बोकेको माओवादी बीच तेश्रो शत्रु हटाउने सहमती त भयो तर सँगै बसेर शाशन चलाउने संभावना भएन । संविधान पनि त्यसैकारणले बनेन । द्वितिय विश्वयुद्धमा नाजी जर्मन विरुद्ध कम्युनिष्ट सोभियत संघ र लोकतान्त्रिक पश्चिमा देशहरू बीच गठजोड एक उद्देश्यको निम्ति भयो तर नाजी जर्मनको पराजय हुने बित्तिकै त्यो गठजोडको अन्त्य भयो । माओवादी र अरू दलको गठजोड पनि राजतन्त्रको अन्त्य पछि सिद्धियो । त्यसैले यो निर्वाचनलाई उनीहरूले वहुलवादी लोकतन्त्र कि दलिय अधिनायकवादको निर्णय नागरिकले गरून् भन्ने चाहना राखे। यस्तो निर्णयको निम्ति बाहिरिया शक्तिकेन्द्रहरूले पनि जोड दिएका छन् र यसैलाई वैद्यसमूहले 'प्रभूको इसारा' भनेका पनि हुन् । दोश्रो, निर्वाचनलाई वैद्यसमूले दलिय संयन्त्रको अस्मितaको विषय पनि बनाई दिए । दलिय संयन्त्रले चुनाव गराउन सकेन भने ती दलहरूको इज्जत नागरिकहरू बीच स्खलित हुन सक्छ । अब प्रतिस्पर्धा गर्ने दलहरू बीच सकेसम्म धेरै जित्ने सँगसँगै चुनाव गराएरै छाड्ने दुबै कुरामा जोड चल्ने छ ।
के हुन्छ परिणाम ?
परिणामका विभिन्न पाटाहरू छन् । पहिलो, निर्वाचन भएन भने नागरिकहरू माझ ४ दलको इज्जत रहने छैन । त्यसैले ४ दलले निर्वाचन गराउने नै छन् । चुनाव बिथोल्न प्रयास गर्ने छ वैद्य माओवादले । उम्मेदवार हुनेलाई र मतदातालाई पनि धम्क्याउने छ, तर्साउने छ । सकेसम्म त्राशको वातवरण सिर्जना गर्न प्रयास गर्ने छ । हतियार नै उठाएन भने वहुसंख्यक नागरिक तर्सिने छैनन् । उनीहरूले माओवादी देखेका र चिनेका छन् अहिले । हतियार उठायो भने वैद्यसमूहको नियति कम्बोडियाली पोल पोटको भन्दा गतिलो हुनै छैन ।
कस्तो हुन्छ निर्वाचन ?

निर्वाचन हर प्रकारले शान्तिपूर्ण हुने सम्भावना छैन । सहरमा होइन गाउँको कतिपय ठाउँमा त्राशको वातावरण सिर्जना हुन सक्छ र कहीँकहीँ बुथ पनि लुटिन सक्छ । फर्जी मत नखस्ला भने पनि छैन । कतिपय ठाउँमा हत्या नै पनि हुन सक्छ । यी सबै कुरा लोकतन्त्रवादी अल्पविकशित देशका निर्वाचनमा भई रहने कुराहरू हुन् । 

अन्ततः
निर्वाचन हुन निश्चित छ र निर्वाचन हुन्छ नै ।

राम दाहाल
जोरपाटी - १ काठमाडौँ
२०७० भाद्र ११

Friday, August 23, 2013

संसार रित्तो भयो(कविता)



 फेरि संसार रित्तो भयो



फेरि संसार रित्तो भयो
फेरि आकाश धमिलियो
लुक्दै गएछन् ताराहरू
जुन बिचरो एक्लो भयो ।

नाराजुलुस झ्याऊकिरीको
मसालजुलुस जुनकिरीको
राँकेभूतको बन्द आज
भोको बिचरा लाटोकोसेरो ।

तरुनी भइछ रजनीगन्धा
झुमी रहिछ सुवास छर्दै
बन्दी छ भमरा अँध्यारोमा
रात बित्ने पलपल गन्दै ।

सागरपारि मयालु उनको
सागरवारि उनको बास
अँध्यारो पछि भेटुँला भन्ने
यही छ भगवान एउटा आश !

फेरि संसार रित्तो भयो
फेरि आकाश धमिलियो
लुक्दै गएछन् ताराहरू
जुन बिचरो एक्लो भयो ।

राम दाहाल
जोरपाटी - १ काठमाडौँ
२०७० भाद्र ७

Thursday, August 22, 2013

मेरो टोल(कविता)




विषम छ मेरो टोल

कट्टु लगाई कुदेकी तरुनी हेरेर बुढी भन्छे
"नकच्चरी लाज नभएकी नाङ्गै नाङ्गै हिड्छे
कोही पनि किन नसक्ने भुत्ल्याएर राख्न
कस्ता आमाबाबु होलान् लुगा नदिने ढाक्न ?"
केटी झन् के कम्ती हुन्थी भुत्भुताई भन्छे
"नकचरी बुढी आफू भने झन् आधा नाङ्गै हुन्छे
चार अमलको चोलो लाउछे भुँडी नाङ्गै पार्छे
सकेसम्म भ्याएसम्म फरियाँ तल झार्छे ।"

धन्य, भगवान ! जुधेका छैनन् जुधेमा के पो होला
विषम छ मेरो टोल, विषम छ यसको चाला ।

आठ बज्यो कि निन्द्रा लाग्ने बाजे सुत्न जान्छ
"अब पो बल्ल ढुक्क भयो" नाति मख्ख पर्छ
रातचर्या शुरू हुन्छ त बाजे उठ्दा सुत्छ
शंखघण्टले उसलाई सधैँ सधैँ नै पिर्छ ।
"सुताहा, अल्छी के गरी खाला ?" बाजे सधैँ नै भन्छ
"पापी बुढा सुत्न दिदैनन्" नाति झन्‍झन् झर्कन्छ

धन्य, भगवान ! जुधेका छैनन् जुधैमा के पो होला ?
विषम छ मेरो टोल, विषम छ यसको चाला ।

खेल्ने ठाउँ त्यही एउटा सिङ्गो नदीकिनारा
सकी नसकी सफा गर्छन् टोलका लालाबाला
दुई चार पैसा जम्मा गर्छन्, बल पनि ल्याउछन्
भोलि खेल्ने तालिकाको चिनो पनि लाउछन् ।
अँध्यारो भयो कि टोलको लर्को त्यही ठाउँ दाग्छ
बिहानी त नदीकिनारा पहिल्यै जस्तो लाग्छ
"मारी दिनेथ्यौँ फोहोर फाल्ने त्यसलाई भेटे"
चिच्याउछन् केटाकेटी सबै नै रुन्चे स्वरले ।

धन्य, भगवान ! भेटेका छैनन्, भेटेमा के पो होला ?
विषम छ मेरो टोल, विषम छ यसको चाला ।

राम दाहाल

जोरपाटी, काठमाडौ

२०७० वैशाख ८

Wednesday, August 21, 2013

छुटेको साथी(कविता)



 एक्लो त फेरि म पनि छैन

पर्खन्थ्यो साथी अब पर्खदैन,
बर्सन्थ्यो माया अब बर्सदैन,
देख्दैमा हाँस्थ्यो अब देखिदैन,
रुँदा ऊ हुन्थ्यो अब ऊ हुदैन ।
छुटेछ बाटो अब भेटिदैन
मेटेको माया अरू मेटिदैन,
मरिसक्यो मन अब यो रूदैन,
एक्लै त फेरि म पनि त छैन ।