Wednesday, March 20, 2013

दश वर्ष अगाडिको लेख

५. चिन्तनको खडेरी

कुनै पनि देशको विकासको कुरा गर्दा 'त्यहाँका जनताको जीवन स्तर कस्तो छ?' भनेर खोज्नुभन्दा 'त्यहाँका बुद्धिजीवीहरूको सोच कस्तो छ?' भनेर हेर्नु पर्दछ। नेपालको सन्दर्भमा पनि यही सोचको कुरा लागु हुन्छ। चाहे राजनितिज्ञहरू हुन, चाहे योजनाकारहरू हुन, या चाहे हामीले बुद्धीजीवी भन्ने गरेका कुनै पनि क्षेत्रका हस्तीहरू हुन, उनीहरूको सोच नै समाज विकासको मापदण्ड हो किनकि  व्यक्तिको सोचाइको स्तर उसको वरिपरिको सामाजिक वातावरणले निर्धारण गर्दछ र आफूले आर्जेको ज्ञानको प्रयोग पनि आफ्नै सामाजिक परिवेशको आधारमा गरिन्छ। संसारको कुनै पनि कुनाबाट ज्ञान चोरेर या कमाएर ल्याए पनि प्रयोगको थलो नै त्यसको उच्चताको कसी बन्दछ। अमेरिकी विद्यावारिध डाक्टरहरूलाई निख्खर सुनको टुक्रा ठानिएर धेरै ठूलो महत्वका साथ नेपालका विभिन्न महत्वपूर्ण क्षेत्रमा उनीहरूको प्रयोग भए पनि उनीहरूको कार्यउपलब्धि पनि  राणाकालिन खर्दार , मुखियाकोभन्दा ठूलो देखिन नसक्नु सामाजिक सोचको विकास नभएकोले नै हो। देखिन्छ पनि त्यस्तै। आजभन्दा दुई दशक अगाडि एउटा सोच राख्ने योजनाकार विज्ञहरूको सोचलाई नै आज रेडियो र टेलिभिजन च्यानेलहरूले प्राथमिकताकासाथ स्थान दिएको देख्दा  यो दुई दशक भित्र कुनै नया सोचको विकास हुन सकेन र राजनैतिक परिवर्तन भए पनि अहिलेसम्म त्यही पुरानो सोच नै समाजका हरेक क्षेत्रमा हावी रहेको छ भन्न कर लाग्छ।  

परिवर्तनको रूप भन्नु नै सामाजिक सोचको परिवर्तन हो र त्यो सोचको अग्रणी राजनितिज्ञ हो। वौद्धिक चिन्तकहरू त उसका पथप्रदर्शकहरू मात्र हुन् तर नेपालको सन्दर्भमा भने राजनितिज्ञहरूले आदर्शवादी चिन्तकहरूलाई गुरु मान्नुको साटो सबुत फेला नपारुन्जेल दोषी नठहरिने तर्कले अपराधीको वचावट गर्ने वकिलहरूलाई गुरु माने। त्यसैको परिणाम स्वरूप नेपालको राजनितिमा विपक्षिलाई गाली गलौज गर्नु बाहेक एउटा पनि राजनतिक दर्शनको सिर्जना हुन सकेन। ४६ सालको परिवर्तन पछि जेलनेल र यातनाले खारिएको ठानिएका प्रजातन्त्रवादीहरूबाट  एउटा अर्कै खालको राजनैतिक दर्शनको प्रादुर्भाव होला भन्ने आशा थियो तर  उनीहरू त्यागको बाटो छोडेर भौतिक उपलब्धि थुपार्न व्यस्त भए र आफूलाई दोषी प्रमाणित गर्ने चुनौति दिन लागे। आजको सत्ता परिवर्तन त्यसैको उपज हो तर यो कुनै सकारात्मक उपज भने होइन किनकि वहुदलिय व्यवस्थाको निकृष्ट तहमा पुग्न जसरी पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको ठूलो भूमिका छ त्यसरी नै पंचायत कालको अन्तिमतिर राजनितिलाई ओहोदाको तावेदार बनाउने प्रकृयाको आरम्भमा हाल प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको त्यति नै ठूलो भूमिका छ। त्यसैले यो सरकारको कार्य तावेदारीमै सीमित रहनेछ। त्योभन्दा पर यसबाट आशा गर्न सकिन्न र आशा गर्नु पनि हुन्न।  

माओवादीहरूको अनाशातित सफलताको कारण पनि यही अग्रगामी बौद्धिक चिन्तनको खडेरीमा उनीहरूले अगाडि सारेको दर्शन हो। जतिसुकै हिंसावादी भनिए पनि माओवाद एउटा निश्चित दर्शन हो र नेपालको सन्दर्भमा एउटा नया मार्गदर्शन पनि हो।  विकल्पहीन अवस्थामा माओवादीहरूले अगाडि सारेको समानताको दर्शनले सुरु सुरुमा सर्वसाधारण जनतालाई यति प्रभावित पार्‍यो कि बहुसंख्यक ग्रामिण युवाहरू त्यसमा तानिएर माओवादी कहलाइए र अहिले कतिपयले चाहेर पनि सो जमात छोडन सकेका छैनन्। यो चिन्तनको खडेरीको बेलामा माओवादको विकल्पमा कुनै पनि राजनैतिक नेताहरूले नया दर्शन र आदर्शको व्याख्या नगर्नाले सर्वसाधारणले उनीहरूको पछि लाग्नु पर्ने कारण देखेका छैनन् र सर्वसाधारणको समर्थन बिना कसैले पनि राजनितिको सागर पार गर्छु भनी ठान्नु दिवास्वप्न हो।  

राजनैतिक चिन्तनको अभाव पत्रकारितामा समेत देखिन्छ। नेकपा एमाले र मालेको बिचको खिचातानीमा चेपुवामा परेको 'जन आस्था' ले मर्यादित पत्रकारिताको आदर्शबाट विचलित हुदै हुदै एउटी आइमाईको हुर्मत लिने नराम्रो बाटो समाएर नैतिक पतनको भासमा ओर्लनु पत्रकारको अनैतिकताभन्दा समाजको नैतिक विचलनको उदाहरण प्रस्तुत गर्दछ। बेइज्जतीभन्दा मृत्यु रोजेर एउटी आइमाईले आफ्नो नैतिकताको परिचय दिई र 'त्यत्रो बेइज्जती भयो भने मेरी स्वास्नी या छोरीले पनि त्यही बाटो समाउन वाध्य हुनुपर्छ' भन्ने सोच ती सम्पादक या पत्रकारमा भएको भए एउटी आइमाई, जो मर्नाले कसैलाई फाइदा थिएन, बाच्न पाउने थिई। आज मैले मारेको होइन , मारेको प्रमाण के छ ?  भनेर के हुन्छ र ? आजका राजनितिज्ञले जन अदालतको कठघरामा उभिनु परेझैं पत्रकार पनि त उभिनु नै पर्‍यो। राजनैतिक चिन्तनको अभावले समाजमा यति धेरै विचलन ल्याइदियो कि सौरव र शिव अधिकारी जस्ता स्थापित विद्वान स्तम्भकारहरूसमेत विवेचनात्मक चिन्तन प्रस्तुत गर्नुको साटो व्यक्ति गालीगलौजको भाकामा र्लिए।  

चिन्तन भन्नु नै विकल्पको स्वरूप हो र माओवाद नेपाली राजनितिमा एउटा उग्र विकल्पको रूपमा आएको छ। अब नेपाली राजनितिज्ञहरूको सामु एउटा मात्र विकल्प बाँकि छ माओवादलाई स्विकारगर्नु या यसकोप्रतिकार गर्नु। अघिल्लो बाटो त जसले पनि समाउन सक्छ तर पछिल्लो रोजाइ त्यति सुगम छैन। समानताको नारा दिएर जुन उग्र बाटो समाएर हिडेको छ माओवाद 'त्यो. समानता शान्तिपूर्वक पनि यसरी दिन सकिन्छ' भनेर दिइने उदाहरण चाहिएको छ। राजनिति गर्नेहरू, चाहे ती राजा हुन् या प्रजा, उदाहरणिय बन्नै पर्छ।  

नेपालको राजनितिमा अब तीन चिन्तनहरू प्राथमिक रूपमा आएकाछनः १. माओवाद, २. राजावाद र ३. संसदवाद। माओवादले बाँकी दुवै वादलाई अस्विकार गर्छ। सहअस्तित्व र सहभागिता माओवादको उद्देश्य, लक्ष र निति होइन र प्रतिस्पर्धात्मक राजनिति पनि होइन उसको। उसको अस्तित्व नै एकलवाद हो। ऊ आफूलाई पूजिवादभन्दा पर पुग्ने माध्यम त ठान्दछ तर उसको बाटो कसरि त्यहाँ पुग्छ ? त्यो कहीँ पनि स्पष्ट छैन। त्यही अन्योलले गर्दा राज्यपूँजिवादसम्म पुगेर सोभियत संघ पतन भयो र चिन आधा बाटोमा नै पूजिवादतिर लाग्यो। त्यसैले नेपालमा माओवादको विजय त सम्भव छैन तर माओवादी विद्रोहले  समाजमा एउटा परिवर्तन भने अवश्य ल्याउँछ। अबका दिनहरू पहिलेका जस्ता हुने छैनन्। माओवादको परिणाम नेपालमा सामन्तवादको अन्त्य हो।  

राजावादका समर्थक यो अथवा ऊ रूपमा राजाको सकृय नेतृत्व कायम गराउन चाहन्छन्। यो देशलाई पृथ्वीनारायण शाहको आर्जन ठान्नेहरू राजाको सकृय नेतृत्वबाट फाइदा हुने दरवारिया मात्र होइन दल भित्रका मानिसहरू पनि छन। राजा बाहेक अरु कसैप्रति पनि जिम्मेवार हुनु नपर्ने हुनाले राजालाई रिझाउने प्रवृत्तिका मानिसहरूको बोलबाला हुन्छ र यसमा राजदरवारिया या नाता गोता या टुक्रेटाक्रे सामन्त जमिन्दार या सैनिक पदाधिकारीहरू नै राज्यका निर्णयका सहायक हुन्छन। थोरै भए पनि सामन्ती सँस्कार बोकेका मानिसहरूमा राजा रिझाउने सँस्कार यति बलियो हुन्छ कि 'तिमी त इन्दिरा गान्धी जत्तिकै हा'ै भनेर सन्काई दिदा आफैले टेक्ने धरातल भत्काउनु र फेरि 'चुनाव जितेर मन्त्री बन्न पाए भएन ?' भनेकै भरमा आफ्नै राजनैतिक धरातल भएका मन्त्री जस्ताले पत्याउनु र 'राजाको साढु भाइ पो त , राजाले सघाए पछि सेना र पुलिसले यसै पुर्‍याउछ सत्तामा' भनेर पछि लाग्ने कार्यकर्ता हुनु एउटा गुलामी प्रवृत्तिको अनुपम उदाहरण हो। 'एउटै आस्थाका छाता मनि हुर्किएका मानिसको निम्ति पक्ष विपक्ष विपरित हुन सक्दैनन' भनेर सोच्न नसक्नु आफूमा कुनै आस्था र चिन्तन नहुनु हो र आज पनि जो मन्त्री हुन गएका छन ती सबैको पृष्ठभूमि बाहुल्यमा कहीं न कहीं कुनै आस्था र चिन्तन नहुने सामन्ती व्यवस्थाको ओहोदामा हुर्किएकै मानिसहरूको छ।  
तेश्रो पक्ष हो प्रजातान्त्रिक चिन्तन। प्रजातान्त्रिक चिन्तनको मूल पक्ष नै सार्वभौम जनता हो। यसको मूल मन्त्र नै जनता माथि शाशनगर्ने अधिकार जनता स्वयंको हो र प्रतिस्पर्धात्मक राजनितिमा उसले एउटा वादको विकल्पमा अर्को वादलाई छान्न सक्छ। 'व्यक्तिभन्दा सिद्धान्त मुख्य हो' भन्ने यो चिन्तनको सोच हो।  

प्रजातन्त्रले राजावादलाई ठाडै इन्कार गर्दछ। शाशनमा राजाको हस्तक्षेप त्यसैले प्रजातान्त्रिक नै होइन। जनता राजा बिना पनि अस्तित्वमा रहन्छ र अझ कहिले कहीं त देश बिना नै पनि अस्तित्वमा हुन्छ तर जनता बिना त देश त हुदैन भने राजाको त कुरै छोडिदिऊँ। त्यसैले जनताले राजावादलाई स्विकार गर्नैपर्ने कुनै कारण छैन तैपनि राज्यको निम्ति एउटा राज्याध्यक्षको जरुरत पर्ने र राजसंस्थाले शाशन व्यवस्थामा जनप्रतिनिधिको कार्यमा हस्तक्षेप नगर्ने शर्तमा कतिपय देशहरूमा राजसंस्थालाई राष्ट्राध्यक्षको रूपमा स्विकार गरिएको हो। त्यसैले प्रजातन्त्रवादीहरूले यसमा पनि आफ्नो चिन्तनलाई प्रस्ट्याउनु आवश्यक भएको छ। 

राजनैतिक आस्थाको राजनिति गर्नेहरू बिच चिन्तनको खडेरी शुभ चिन्ह होइन। यसले हिजो शेर बहादुर देउवा जन्मायो, आज कमल चौलागाई जन्माएको छ र भोलि अरु कोही जन्माउन सक्छ। महेश आचार्य या डा.रामशरण महतको अर्थनितिको आस्थाहीन प्रयोगको कारण नेपाली कांग्रेस आफ्नो शाशनको उपलब्धि लिएर जनता सामु जान सक्ने स्थितिमा छैन। छेउ न टुप्पाको अन्धानुधुन्ध पश्चिमी अनुकरणले स्थापित उद्योगलाई त तहसनहस बनायो नै कुनै नया उद्योग पनि स्थापना हुन सकेन र जनतालाई दिइएको सग्लो वस्तु शायद केही पनि छैन। नेकपा एमाले पनि त्योभन्दा राम्रो स्थितिमा छैन। उसको १२ वर्ष पनि रचनात्मकभन्दा विध्वंसात्मक बढी देखियो र सत्तामा पुग्ने प्रयाशमा भविष्य नदेख्ने नेतृत्वको विकास भयो। आज कमल चौलागाई मात्र गए तर धेरैले त सोचेका थिए के. पी. ओली या वामदेव गौतम नै जानेछन। शुभ भयो - आजसम्म कोही गएका छैनन। जनमानसमा नेता र दलप्रति यस्तो अविस्वासको धारणा बन्नु  दलको निम्ति र प्रजातन्त्रकै निम्ति पनि हानिकारक छ।  

तुलशी गिरी र केशर जंग रायमाझीहरू जन्मिइरहन्छन , यो चिन्ताको विषय होइन। चिन्ता त नेतृत्व पंक्तीमा विचलन आउनु हो र विचलन आउनुको मुख्य कारण आस्था बिनाको सत्ताको प्रयोग हो , चिन्तन बिनाको नेतृत्व हो। आज चिन्तनको खडेरी छ , भोलि नहोस। यही शुभकामना छ।

बागडोल, ललितपुर
२०५९। ८। १२

Wednesday, March 13, 2013

लेख



दश वर्षगाडि मैले लेखेको एक लेख आज पनि सान्दर्भिक लागेकोले प्रस्तुत गरेको छु ।

भ्रष्टाचार विरुद्ध अभियान 

म प्रत्येक दिन बिहानी अखवारको पाना पल्टाउछु र मध्य पानामा लेखिने लेख पढछु। देशका जल्दाबल्दा समस्याहरूको विवेचना नै यस्ता मध्य पानाका लेखहरूको उद्देश्य हुनु पर्ने हुनाले म मध्य पानालाई प्रथम पाना भन्दा प्राथमिकता दिने गर्दछु। मेरो यो सोच राष्टि्रय र अन्तरराष्टि्रय दुवै अखवारहरूको अनुभवबाट आएको हो। अन्तरराष्टि्रय अखवारहरूमा त यो पानाका स्तम्भकारहरूको पहँुच केन्द्रिय राजनितिज्ञहरूमा समेत हुन्छ र यसका लेखहरूले केन्द्रिय नितिका लक्षणहरू समेत इ195ि139त गर्दछन। नेपालको संदर्भमा पनि कतिपय स्तम्भकारहरूको सम्बन्ध केन्दिं्रय नेता सम्म पनि पाइन्छ तर त्यो पत्रकारिताको कारणले नभएर राजनैतिक कारणले हुने गरेको देखिन्छ।
नेपाली पत्रिकाहरूका मध्य पानामा सबै किसिमका विषय वस्तु छोइएको पाइए पनि नेपालको विकासको अवरोधको मूल समस्यालाई कसरी रोकथाम गर्ने त्यो बारे कही पनि छलफल गरेको पाइन्न। पहिले मैले सोचेको थिएँ - शायद त्यो बारे स्तम्भकारहरूको दृष्टि नपुगेको हुन सक्छ। तर समयले के देखाइदियो भने हाम्रा स्तम्भकारहरू आँखा अगाडिको सत्यलाई देख्न नसक्ने मुर्ख होइनन। उनीहरूले त्यसमा चाहेर नै दृष्टि नदिएका हुन। जुन विषय वस्तु खोतल्नाले आफ्नो राजनैतिक आस्थामा धक्का लाग्न सक्छ या आफ्ना निकट राजनितिज्ञहरूको स्वार्थ्यमा वाधा पुग्न सक्छ त्यो विषयमा उनीहरू मौन बस्ने प्रवृत्ति शायद पत्रकारिता नभए पनि प्राकृतिक भने हो।
नेपालको विकाश हुन नसक्नुको एउटै मात्र कारण भ्रष्टाचार हो र भ्रष्टाचारका जरा यत्रतत्र सर्वत्र देश भरि छरिएका छन। यसबाट म चोखो छु भनेर कसैले पनि दावीगर्न सकने परिस्थिती आज छैन। जो भ्रष्टाचारमा संलग्न भएको छैन उसले पनि भ्रष्टाचारलाई समाजको एउटा स्विकृत दिनचर्याको भाग ठान्ने परिस्थितिको वातावरण बन्नु नै भ्रष्टाचार एउटा समाज स्विकृत अपराधहुन पुगेको देखिन्छ। यसो नहुदो हो त भं्रष्टाचार गरे पनि यसो एउटा घर घडेरी जोडन हुने भ्रष्टाचार पो गर्नहुन्छ त भन्ने आशयको अभिव्यक्ति भ्रष्टाचार निवारण आयोगका मुख्य आयुक्तको मुखबाट आउने थिएन।
कतिपयले सोचेका छन - भ्रष्टाचारले नेपालीहरूलाई मात्र छुने गरेकोछ तर वास्तविकता त्यो भन्दा पर छ। गरीब देशका मानिसहरूलाई पैसाले किन्न सकिन्छ भन्ने कुरा विदेशीलाई पनि थाहा छ र त्यसमा प्रयोगहुने पैसा मध्ये केही भाग यो नाम या ऊ नामले नेपाल सँग सम्बद्ध विदेशीले पनि यो देशमा उपभोग गर्दछ जुन कुरा आफ्नो देशमा गर्नसक्दैन। आफ्नै हातले नेपालीलाई दिनहुने राशी त ऊ तालिम, भ्रमण आदि अनावश्यक कार्यक्रम मार्फत उपलब्ध गराउछ नै, सो बाहेक ठेकेदार, कम्पनि प्रतिनिधि आदि द्वारा कमिशन रकम राशी पनि जुटाइदिन्छ। त्यसैले ऊ भ्रष्टाचारको माध्यम पनि बनिदिन्छ कहिले कहीं।
नहुनेले मात्र भ्रष्टाचार गरेको छ भन्ने पनि होइन। धन सम्पन्न र सत्ता सम्पन्नले पनि उत्तिकै भ्रष्टाचार गरेका छन। राजादेखि जनता सम्म जो कोही पनि मौका पाउने बित्तिकै त्यो आहालमा पौडी खेलेकै छन। राजाको बोलीमा कानुन हुने पंचायती व्यवस्थामा राजपरिवारलाई त यसै पनि छुट थियो नै , नुनको सोझो गर्ने काले बाजे या अरु यस्तै सबैको निम्ति भ्रष्टाचार छुट थियो। ०३६ सालको जनमत संग्रहमा त थापा काजीहरूले इतिहासमा नै नाम राख्नसक्ने विकृत भ्रष्टाचारको रुप देखाइदिए। त्यसैको देखासिकी जन प्रतिनिधि भएर सत्तामा आइपुगेका दलिय मन्त्रीहरू पनि सत्तामा पुगे पछि सात खत माफ हुन्छ भन्ने विकृत धारणाले पतनको बाटोमा ओरालो लागे र पंचायती मानशिकतामा तालिम भएका कर्मचारीहरू उनीहरूका मार्गदर्शक बने। धन नभए सत्ताबाट ओर्लिए पछि केले राजनिति गर्ने भन्ने एउटा त्राश उनीहरूको मनमा ल्याइदिएर उनीहरूलाई भ्रष्ट बनाइयो। अन्यथा चिरञ्जीवी वाग्ले या खुम बहादुर खडका लोकेन्द्र बहादुर चन्द या सर्य बहादुर थापा भन्दा भ्रष्टाचारको निम्ति मलिलो माटो त कसै पनि होइनन।
अब विषय प्रशङ्ग तिर जाऊँ। भ्रष्टाचारको अन्त्य नभई देश विकाशगर्ने आशा एउटा दिवास्वप्न हो र भ्रष्टाचार एउटा अति निष्कृष्ट कार्य हो भनेर भ्रष्टाचारीलाई समाजमा हेयको वस्तु मानिने जनधारणाको विकाश नहुन्जेल सम्म भ्रष्टाचार रोकिने सम्भावना छैन। एउटा मासिक रु.५००० कमाउने मानिसले पाँच वर्ष भित्र पाँच लाखको घर किन्छ र कानुनी दृष्टिमा अपराध गरेको छैन भनेर उसलाई छुट दिइन्छ भने त्यो कानुनले भ्रष्टाचारलाई प्रोत्साहन गर्दछ र छुट दिनेलाई नै पनि भ्रष्टाचारी भनेर कारवाही गरे हुन्छ किनकि मागेर त गौंथलीको गुँड पनि बन्दैन , गुँड पनि सिन्को सिन्कोले मात्र जोडिन्छ। आँखा अगाडिको सत्यलाई नियम र कानुनको छिद्रमा हालेर असत्य बनाउने प्रयाशै पनि भ्रष्टाचार हो।
कसले भ्रष्टाचार गरेको छ र कसले छैन त्यो समाजमा घाम जस्तै छर्लंग देखिन्छ। हरेक भ्रष्टाचारको अन्तिम लक्ष त्यसको भौतिक उपभोग नै हो र समाजमा भ्रष्टआर्जन उपभोगको खोजी र पर्दाफासको निम्ति समूह गठन हुने बित्तिकै भ्रष्टाचार धेरै नै घटछ र ती समूहले कोही कसैको पर्दा च्यात्ने बित्तिकै धेरैलाई त्यसले सचेत गराउछ। त्यसैले भ्रष्टाचारको निरिक्षण र भ48डाफोर गर्न सचेत नागरिकहरूको टोली पहिलो आवश्यकता हो।
दोश्रो , न्याय प्रतिपादन पनि भ्रष्टाचार रोक्ने एउटा बलियो माध्यम हो तर यसले राम्रो काम गरेन भने यसले रोक्ने भन्दा बढाउने गर्दछ। नेपालको सन्दर्भमा पहिलो भन्दा पछिल्लोले धेरै काम गरेकोछ। नियम र कानुनका प्वाल नै खोज्ने हो भने त्यसलाई जहिले पनि र जसले पनि आफ्नै किसिमले परिभाषितगर्न सक्छ र त्यो भएको छ पनि। भ्रष्टाचार विरुद्धको अभियानमा त्यहाँ पनि चौकसीगर्ने समूहको आवश्यकता छ अन्यथा व्यवशायको इमान्दारीमा भन्दा कमाउने पेशामा लागेका व्यक्तिहरूले भ्रष्टाचारीको कमाइमा हिस्सेदार भएर भ्रष्टाचारीलाई छुटाउने र छुट दिनेछन। भ्रष्टाचार निवारण आयोगले समाएका सम्पन्न र शक्तिशाली व्यक्तिहरू अदालत सम्म नपुग्नु वा पुगेर पनि दण्डित नहुनुको मुख्य कारण नै न्याय प्रतिपादनको समयमा  जन चौकसीको अभाव हो।
तेश्रो, बिरुवा जस्तो छ फल पनि त्यस्तै पाइने हो। 'जसरी कमाए पनि हुन्छ , कमाउनु चाहिं पछ' भन्ने बाबुको छोरो भ्रष्टाचारगर्न हिचकिचाउदैन। यो त देखिएको , भोगिएको सत्य हो। 'आजको युग व्यक्तिवादी युग हो , मान्छेको प्रगति भए देश त्यसै प्रगति हुन्छ' भन्ने गुरुका चेलाचेलीले गुरुको तलव लुटेर खान्छन। यो आजको वर्तमान हो। त्यसैले प्रजातन्त्रको नाममा बालकहरूको बिद्यालयमा मनपरी शिक्षादिने छुट दिनुहुन्न। शिक्षानितिमा नैतिकताको निश्चित माप र दायरा राख्नै पर्छ किनकि जसमा नैतिकता र माटोको माया छैन त्यो व्यक्ति देशमा हुने भ्रष्टाचार प्रति सचेतहुन पनि सक्दैन या जो बालक अर्काको मानु खाएर वा अर्को देशको भक्ति गीत गाएर पढाइ गर्छ त्यसमा यो देशप्रति माया र वफादारी हुनुपर्ने वाध्यता छैन र यो उसको देाष  पनि होइन। आफ्ना छोराछोरीलाई तिरंगा या स्टार एण्ड स्ट्राइप को हावा खुवाएर सोलुको भोटे या दाङको थारुको छोराको बराबरी राष्टि्र्यता ल्याउछु भनेर सपना देख्नेहरू भ्रष्टाचारका अर्का नमुनाहरू हुन।
भ्रष्टाचारको अर्को ठूलो स्रोत वैदेशिक सहायता भएको छ। दाताहरूका परामर्शदाताहरूमा निश्पक्षताको कमी र वैदेशिक ठेकेदारहरूको अपारदर्शी कमिशन प्रणाली लोभ्याउने र भ्रष्टाचार निम्त्याउने माध्यम भएको छ। कमिशन दिन सकिने तर त्यो रकम खुला देखाइनु पर्ने र त्यसको झुटो विवरण दिएमा ठेकेदार दण्डितहुने व्यवस्था दाताहरूसँग नै तय गर्नु दुई पक्ष  बिचको नैतिक इमान्दारी हो र यसले उच्च पदस्थ अधिकारीबाट हुन सक्ने भ्रष्टाचारलाई रोक्दछ। यस्तो व्यवस्थाको निम्ति पनि सजग समूह सक्रिय हुनु आवश्यक छ।
एक थरीको सोचाइ छ - भ्रष्टाचारको मूल जरो व्यवस्था हो। तर उनीहरू के सोच्न सक्दैनन भने भ्रष्टाचार हिजो पनि आज भन्दा कम थिएन। उडने र गुडने घर हिजो पनि बनेका थिए , नेपालमा सय वर्षमा पनि नजन्मिएका सर्पका छाला हिजो पनि निकासी भएका थिए। त्यसरी नै रातारात लाखौं बिगाहा बन स्वाहा भएका थिए। हिजो पनि आज जस्तै एउटा देश हिडेका प्रधानमन्त्री अर्कै देश पुगेका थिए। राष्ट्रबैंकबाट स्विसबैंकमा व्यक्तिको नाममा रकम उडेको पनि हिजो नै हो र नमिता र सुमिताले न्याय नपाएको पनि त्यही हिजोको दिनमा हो। फरक कति मात्र हो भने हिजोका दिनमा कानुन बनाउनेलाई कानुनले समाउन सक्दैनथ्यो भने आज स्वयम कानुन बनाउनेहरू त्यही कानुनको दाम्लोले बाँधिएर आफूलाई निर्दोष प्रमाणित गर्नु पर्ने वाध्यताले जेल भित्र परेकाछन। शिशु अवस्थामा नै भएकोले यसका कमी , कमजोरी भए पनि  प्रजातन्त्रको विशेषता भन्नु नै यही हो। व्यवस्थामा परिपक्वता आउन त समय लाग्दछ। त्यसैले प्रजातन्त्र प्रति आस्था राख्नु हाम्रो परिपक्वताको परिचय हो।
आउनोस , भ्रष्टाचार विरुद्ध एउटा अभियानको थालनी गरौं। एउटा सजग समूहको थालनी गरौं। शुभ कार्यको निम्ति सबै क्षण शुभ हुन र ढिलाइ हाम्रो कमजोरी बन्न सक्छ।
बागडोल , ललितपुर,
२४ मार्ग २०५९

Saturday, March 09, 2013

दुई कविता



माया अघोरी जिउदै रह्यो

सुन्यौ ! मेरी प्रेमिका आज
आइछन् राति ज्योति बनेर
अँध्यारो मेरो कोटरीभित्र
साथ सबैका आँखा छलेर ।

तप्त स्पर्शले छुदै भनिन् -
"नभेटेको जुग नै भयो
मन त मारे तैपनि किन हो ?
माया अघोरी जिउदै रह्यो ।

कैयौँ आए छोएर गए
कैयौँ आए भोगेर गए
जलगंगा ठाने सबैले
पाप ममा पोखेर गए;
पाएँ पनि सबै मैले
मन सधैँ नै रित्तै भयो
मन त मारे तैपनि किन हो ?
माया अघोरी जिउदै रह्यो ।

सधैँ साझा पिडा हाम्रो
भागमा तिम्रो सारेकी थिएँ
सुख जति मेरो आफ्नै ठानी
आफ्नै पोल्टा पारेकी थिएँ
फर्कने न कुनै चाह भयो
न भेट्ने आश खास थियो
मन त मारे तैपनि किन हो ?
माया अघोरी जिउदै रह्यो ।

झट्ट अर्को मनले सम्झ्यो
विदाइ त हुनै पर्ला
कुनै दिन त साथ थियो
पालोपैचो गर्नै पर्ला
त्यसैले नै भेट्न आएँ
त्यसैले नै भेट्न पाएँ ।

तिमी बिना त जीवन मेरो
सधैँ सधैँ नै खल्लो भयो
मन त मारे तैपनि किन हो ?
माया अघोरी जिउदै रह्यो ।"

घच्घच्यायो कसैले मलाई
छिटो मिठो मुस्कान दिइन्
मेरो सामु कुहिरो जस्तै
क्षणमा नै ती अलप भइन् ।

आँखा खुले बहिनी सामु
नयन उसका स्निग्ध थिए
शुन्यमा झैँ उसले बोली -
"सखारै उनी आज गइन रे ।"

 २०६९ फाल्गुण २२


उनी

अन्यमनस्क उनका चेतनाहरू
अनभ्यस्त उनका आँखाहरू
बारीका डिलमा फूलेका फूल नदेखेर
नचिनेर
वन वन चहारी रहिछन्
सौन्दर्य र सुवास खोजेर र
पलाँस तानी रहिछन् कहीँसौन्दर्य पाएँ भनेर
उनिउँ समाती रहिछन् कहीँ सुवास भेटेँ भनेर ।

धमिलो दृष्टिदोषले देखिदैन आफ्नो अनुहार
समयको ऐनामा र
अतितको धमिलो छायाँसँगै रमाई रहिछन्
भत्किएको चिहानमाथि फूल ओछ्याएर
अतितको पूनर्जीवनको छन् उनी आशामा
र अगाडिको चिसो पानी पिउन छोडेर
अतितको शीतले तिर्खा मेटाउन खोज्छिन् उनी ।

लोकलज्जा भन्दै दबाउदी छन् खुशीका चाहना
मर्यादा भन्दै सीमित छन् आफैँभित्र
बैँस ढल्दै जाँदो छ, रूप गल्दै जाँदो छ
समय पर्दा हाल्दै छ पत्रपत्रमा
र कोर्दैछ बुढौतीका धर्काहरू ।
खुल्दैनन् तैपनि आँखा
बुझ्दैन तैपनि चेतना
बारीका डिलमा फूलेका फूल नदेखेर
नचिनेर
वन वन चहारी रहिछन्
सौन्दर्य र सुवास खोजेर र
पलाँस तानी रहिछन् कहीँ सौन्दर्य पाएँ भनेर
उनिउँ समाती रहिछन् कहीँ सुवास भेटेँ भनेर ।

जोरपाटी, काठमाडौ
२०६९ फागुन २५