Monday, July 30, 2012

टिप्पणी - ४


त्यति गतिलो छैन कम्युनिष्टहरूको हालत पनि

भारतमा स्वतन्त्रता आन्दोलन चल्दै थियो । महात्मा गान्धीको नेतृत्वमा पुरै भारत आफूलाई स्वतन्त्र बनाउन द्वितिय विश्वयुद्धमा फसेको अंग्रेज विरुद्ध आन्दोलन गरिरहेको थियो त भारतिय कम्युनिष्ट पार्टी भने सोभियत संघ(अहिलेको रूस) का कम्युनिष्ट पार्टीको निर्देशनमा अंग्रेजहरूलाई सघाई रहेको थियो । त्यसैले भारतमा कम्युनिष्ट पार्टी लामै समयसम्म बदनाम भयो र स्वतन्त्रता पछि पनि एउटा पुस्ता नबितुन्जेल उसको कुनै साख भएन । पुष्पलालको अगुवाइमा नेपाल कम्युनिष्ट पार्टी पनि त्यसै समयमा स्थापित भएको थियो । भारतमा नै खास साख नभएको कम्युनिष्टहरूले नेपालको प्रजातान्त्रिक आन्दोलनमा खासै प्रभाव पार्न सकेनन् । २००७ सालपछि पनि निकै वर्ष बन्देजमा रहेकाले २०१५ सालको आम निर्वाचनमा पनि १०५ स्थानमध्ये ४ स्थानमा मात्र वहुमत ल्याउन सफल भयो । २०१७ सालको राजाको कू पछि नेपाली कांग्रेससँगै नेपाल कम्युनिष्टपार्टी पनि प्रतिबन्धित जस्तै भए ।

Thursday, July 26, 2012

टिप्पणी - ३


बिजोग छ नेपाली कांग्रेसको

बिना शाशनव्यवस्था देश चल्न सक्दैन । व्यवस्था बिनाको देश अराजकता हो जहाँ निर्धो मर्छ र बलियो मात्र बाँच्छ । जंगलको शाशन हो अराजकता त । त्यसैले देशमा अराजकता नआओस् भनेर शाशनविधि स्थापित गरिन्छ ।
शाशनविधिका आफ्नै मान्यताहरू हुन्छन् । ती मान्यतामा शाशकका अधिकार के? कति ? भने जस्तै शाशितका अधिर पनि के ? कति ? भनेर परिभाषित गरिएका हुन्छन् ।
अधिनायकवादी शाशनमा व्यक्ति या समूह सर्वेसर्वा भए पनि शाशितका पनि कर्तव्य र अधिकार हुन्छन् भलै त्यहाँ कर्तव्य धेरै र अधिकार सीमित किन नहुन् । अधिनायकवादी व्यवस्थामा शाशनमाथिको पहुँच एउटा समूह वा सीमित व्यक्तिहरूको मात्र हुन्छ । सर्वसाधारण जनताको त्यहाँ कुनै सहभागिता नै हुदैन र भइहाले पनि शाशकले दिएको विकल्पमा सहीछाप लगाउनु मात्र हुन्छ । राजतन्त्र र अरू अधिनायकवादी शाशन व्यवस्था यसै अधारमा टिकेका हुन्छन् ।

Saturday, July 21, 2012

देशबाहिर - ४


विरामीको लर्को

हामी मस्को पुगेको २।४ हप्तामा नै साथी सोमनाथ पौडेल विरामी पर्‍यो र अस्पताल लगियो । क्षयको रोगको शङ्का गरेका थिए र अस्पतालमा क्षय नै हो भन्ने पक्का भएपछि त्यो वर्ष ऊ अस्पतालमा पर्‍यो । भाषा अस्पतालमा नै सिक्न पाएकाले उसको वर्ष खेर गएन । विष्णुबहादुर कार्कीलाई पनि क्षय नै रहेछ । ऊ बिचराले त अस्पतालमा १८ महिना बस्नु परेकोले एक वर्ष पछाडि पर्‍यो । सधैँ शिक्षक बाबुको नियन्त्रमा बसेको र उमेर  नै नपुगेको रमेश भट्टलाई नियन्त्रण गर्ने कोही भएन र उसले मस्को पुगेपछि रक्सी खान सिक्यो । पैसा पायो कि रक्सी खाने त्यो समयको आदतले उसलाई पछिसम्म पिरोल्यो र त्यही कारणले उसले आफ्ना चालिसका वर्षहरू पनि छिचोल्न सकेन ।

Friday, July 20, 2012

टिप्पणी - २


तीन प्रश्न
कतिपय छापाहरूमा देश विकासबारे विज्ञहरूका लेख र टि भी र रेडियोहरूमा अन्तर्वार्ताहरू पढिन्छन्, देखिन्छन् र सुनिन्छन् । ठुलाठुला आर्थिक विज्ञहरूले त अन्तर्राष्ट्रिय मौद्रिक नितिदेखि लिएर झारपात उत्पादजसम्मका उडन्ते गफ पनि दर्‍होसँग केलाएर व्याख्या गर्छन् तर सर्वसाधारणका मूल समस्या के हुन् भनेर सोच्न पट्टि नलागी आफ्नो विद्वत्ता देखाउनतिर जोड दिन्छन् । अझ राजनैतिक विज्ञहरू नै भए भने त सामान्य मानिसले के चाहन्छ या सोच्छ भन्ने हेक्का नै नराखी आफ्ना लेख र अन्तर्वार्तामा एउटा स्वर्गको कल्पना नै गरिदिन्छन् । यो देश नेपालको समस्या नै यही हो । त्यसैले सबभन्दा पहिले नागरिकका मूल आवश्यकतामाथि उठ्ने तीन प्रश्नको समाधानतिर नै छलपःल गरौं ।

Thursday, July 19, 2012

देशबाहिर - ३

हाम्रो पढाइको थालनी

मस्को पुगेको चौथो या पाँचौँ दिनदेखि हाम्रो भाषा कक्षा शुरू भयो । रुसी भाषाका अक्षर पनि हामीलाई छानीछानी पढाउन थालियो । सबभन्दा पहिले नेपालीमा र रुसीमा समान उच्चारण हुने अक्षरहरू सिकाइए । आमालाई बुझाउने 'मामा' र बाबु बुझाउने 'पापा' हाम्रा पहिला रुसी शब्दहरू भए । त्यसपछि अलि फरक उच्चारण हुने अक्षरहरू सिकाइए र अनि मात्र अन्त्यमा एकदम फरक उच्चारणका अक्षरहरूको पालो आयो । अक्षरले बनेको शब्दलाई सयौँ पटक भन्न लगाएर उच्चारण शुद्ध पार्ने प्रयाश गरियो ।
एउटा अक्षरले एउटै मात्र उच्चारणको प्रतिनिधित्व गर्ने हुनसले रुसी अक्षरबट बनेका शब्द उच्चारण गर्न अंग्रेजीभन्दा धेरै सजिलो छ । न रुसी भाषामा अंग्रेजीमाजस्तो दुई वा दुईभन्दा बढी अक्षर मिलेर अरको उच्चारण नै बन्छ, न नेपाली भाषाको देवनागरी लिपीमा झैँ अक्षरहरू जोडेर नया उच्चारण निकालिन्छ । रुसी भाषाको व्याकरणले भने हाम्रो टाउको खाएकै हो । नेपालीमा 'आउनु, जानु' र अंग्रेजीमा 'कम, गो' जस्ता दुई वटा चालन क्रियापदहरूले काम चलाउने हाम्रा लागि रुसी भाषा व्याकरणमा हुने विभिन्न चालनका निम्ति अलग अलग शब्द र शब्द संमिश्रण प्रयोग गर्न हामीलाई निकै गाहारो भयो तर जे होस्, १।२ महिनामा नै हामी, सडकमा बोलेको नबुझे पनि, हाम्री शिक्षिकाले बोलेको बुझ्न सक्ने र कनीकुथी जवाफ दिन सक्ने भयौँ ।

सौदामिनी - ५


सौदामिनी


सदैव झैं रात थकाइ मारी
विहानीको घाम झुलुक्क हेर्छ
आकाशले लिन्छ गुलाव लाली
माटो पनि रङ्गिन रूप फेर्छ ।

बिउझन्छ मानिस बिउँते सरि भै
आशा निराशा सब साथ बोकी
तर्सन्छ सम्झेर अतित आफ्नो
भविष्य छोटो अति सुक्ष्म देखी ।

Wednesday, July 18, 2012

टिप्पणी - १


त्यो भाइसँगको सम्वादमा टिप्पणी

मैले अघिल्लो पोस्टमा दिएको एउटा भाइसँगको सम्वाद म आफैलाई रमाइलो लाग्यो । मैले मादी छोडेको नै ५५ वर्ष भइसक्यो र पछिल्लो पटक मादी पुगेर फेरि नगएको पानि २३ वर्ष भएछ । त्यसैले मैले मादी छोड्दा उनका बाबु नै पनि सानै थिए होलान्, यदि थिए भने । उनको त कुरै छोडि दिऊँ । उनले जे भनेका थिए त्यो उनको आफ्नो भोगाइभन्दा बाबुबाजेको कथनीमा आधारित थियो । अझ बाजेको कथनीमा हुन सक्छ । जुन मानिसलाई उनले देखेको, चिनेको छैन, र फेसबुकमा हठात् भेट भएको मात्रै हो, ऊप्रति उनको पछिल्लो भनाइ 'हवस् त, मुखिया बा' सन्मानजनक नभएर व्यंग्यात्मक भएकाले सो व्यंग्य मप्रति नभएर मादीका दाहालप्रतिको उनको घृणाको उपज हो भन्ने म ठान्छु ।

Sunday, July 15, 2012

सौदामिनी - ३


सौदामिनी


कुनै ठूलो मण्डप एक रूखको 
अघि बनायो रहमा कसैले
र किम्वदन्ती र कथा पुराणमा 
नामी भयो त्यो रह काष्ठमण्डप ।

श्रीमञ्जुश्रीले जनजीव थाल्न
चोभार काटी रह त्यो सुकाए
अर्को कथामा इतिहास भन्छ रे
उपत्यका नेमुनिले फुटाए ।

Wednesday, July 11, 2012

सौदामिनी - २


सौदामिनी


कमल हिलोमा बिच गोलमा हिरा
सुनाखरी फुल्छ कुहेको काठमा
ढुँडी किरो त्यो सिपी दिन्छ मोती 
कुमुदिनी फूल्छे अँधेरी रातमा

न घाम छायाँ, न त ओत पानी
न धर्ती, आकाश इन्द्रेनी फूल्छ
कालो, अँध्यारो जल मेघ च्याती
सौदामिनी रुप धपक्क बल्छ ।

सौदामिनी - १


सौदामिनी
—— रामप्रसाद दाहाल

आकाशको छाती चिरेर झर्ने
सौदामिनीको चमकै ठूलो छ
स्वर्गिय शौन्दर्य सबै समेटी
बाटो ऊ झर्ने त हिलो गिलो छ

झलक्क देखें एक दिन मैले 
सौदामिनीको झरिलो छटामा
कहीँ पनि देख्न नपाइएको 
दैविय शौन्दर्य छिँडी कुनामा

Tuesday, July 10, 2012

साहित्य - १


गीत

यो बाँच्नुको नशा अनौठो नशाभरि म सुतेकै हुन्छु
सधैँ बिहानी ब्युँझेर उठ्दा म आफूलाई बधाई दिन्छु ।

कति घाट नाघेँ, चिहान नाघेँ
दिन, रात, साँझ, बिहान नाघेँ
सकिनँ नाघ्न वाचा कसैको ।

यो मोह डोरी कस्तो बलियो छिन्ला कि भन्दै पर्खेकै हुन्छु
सधैँ बिहानी ब्युँझेर उठ्दा म आफूलाई बधाई दिन्छु ।

कहीँ आए माया, कतिले घिनाए
बहार, बाढी कति चोटी आए
पुगेन वाचा आउने कसैको ।

यो आशा डोरी कस्तो बलियो पुग्ला कि भन्दै पर्खेकै हुन्छु
सधैँ बिहानी ब्युँझेर म आफूलाई बधाई दिन्छु ।

यो बाँच्नुको नशा अनौठो नशाभरि म सुतेकै हुन्छु
सधैँ बिहानी ब्युँझेर उठ्दा म आफूलाई बधाई दिन्छु ।