Friday, April 25, 2014

कुन बाटो रोज्ने ? श्रमप्रधान कि प्रविधिप्रधान ?



कुन बाटो रोज्ने ? श्रमप्रधान कि प्रविधि प्रधान ?

कुनै समयमा मानिसका सबै आवश्यकता एउटै गाउँमा पाइन्थ्यो र त्यसलाई स्वावलम्वी गाउँ भन्न मिल्थ्यो । त्यो बेला त्यो गाउँका आवश्यकता अति सीमित थिए । खाने अन्न, बस्ने ओतभन्दा अरू आवश्यकता त छदै थिएनन् भन्दा पनि हुन्छ । छोटकरीमा भन्दा त्यो गाउँका मानिस र पशुका आवश्यकताको अन्तर त्यति थिएन । थियो त हलो कोदालो । श्रम गर्थ्यो, खान्थ्यो । जन्मन्थ्यो, मर्थ्यो । न उपचार न शिक्षा । न आमोदप्रमोद न मनोरञ्जन । आजका कतिपय मानिस भन्छन् - "अहा ! कति सुखी जीवन ! न कोलाहल न दौडधुप । न धुलो धुवाँ न मारामार । स्वच्छ हावा, स्वच्छ पानी । तितोमिठो, सादा जीचन ।" तर अर्कोतिर मानिसलाई त्यसले सन्तोष दिएन र लगातार प्रयास गरी रह्यो आफ्नो सम्पन्नता वृद्धि गर्न । उसको प्रयासले प्रति दिन सम्पन्न हुदै गयो मानवसमाज तर उसको सम्पन्नताको सीमा पनि भएन । उसको प्रविधिको ज्ञान र त्यसको प्रयोग बढ्दै गयो र मानिस र पशु बीचको भिन्नता विशाल हुन पुग्यो । प्रविधिले मानिसको श्रमको क्षमता हजारौँ गुणा बढाई दियो ।

यहीँ आएर प्रश्न उठ्छ - अबको नेपालले विकासको बाटो श्रमप्रधान लिने कि प्रविधिप्रधान ?
एक थरीले भन्छन् - मानिसलाई जति भए पनि पुग्दैन । त्यसैले श्रम गरेर खान लाउन पाए पुग्छ र त्यसैमा सन्तोष गर्न सक्नु पर्छ किनकि लोभको सीमा हुन्न । उनीहरूको सोचाइ प्रविधिप्रधान ठुला उद्योगहरूले श्रमप्रधान कुटीर उद्योगहरूलाई मास्छन् भन्ने हो । सही छन् उनीहरू । गाडीबाटो बने भरियाको रोजगार मासिन्छ । फलाम कारखाना खुले कामीहरूको आरन बन्द हुन्छ । चिकित्साप्रविधि आए धामीझाँक्रीको कमाइखाने भाँडो टुंगिन्छ । तर यो सोच्दैनन् उनीहरू कि एउटा चरनमा घाँस सिद्धिए जानवर अर्को चरनतिर बसाइँ सरेझैँ मानिस पनि एउटा व्यवशाय बन्द भए विकल्पको रूपमा  अर्को पेशातिर बसाइँ सर्छ । मानिसको कार्य श्रमप्रधान त हो तर सो श्रमलाई उच्चतम प्रविधिसँग जोडे मात्रै उच्चतम उपलब्धि पाउछ उसले र आधुनिक उद्योग नै त्यो प्रविधिको उच्चतम प्रयोग हो । अपुग त मानिसलाई जहिले पनि हुन्छ । मैले थाहा पाउदा नै मेरै गाउँम वर्षभरि खान नपुग्नेलाई गरिब भनिन्थ्यो । पछि शिक्षा र स्वास्थ्यको सुविधा नपाउनेलाई गरिब भन्न थालियो । अहिले त हातमा कम्प्युटर बोक्नेले पनि आफूलाई गरिब भन्छ । आजका आवश्यकतापूर्तिका निम्ति आजका उच्चतम प्रविधि र उद्योगलाई प्राथमिकता दिन करै लाग्छ किनकि अबको समाज सानो गाउँमा सीमित रहेन । विश्वग्राममा परिणत भई सक्यो र सोही अनुरूपको प्रविधी र उद्योग ननिम्त्य्राउने हो भने हाम्रो प्रगति र विकासको बाटो रोकिन्छ । पशुको जस्तै श्रमप्रधान समाज त मानिस सभ्यताको आदिमकालदेखि नै थियो । मानिसको आजको सभ्यता त प्रविधिप्रधान हो र त्यसलाई नसमाए हामी जहीँकोतहीँ रहने छौँ ।
जोरपाटी - १, काठमाडौ
२०७१ वैशाख १२

Monday, April 14, 2014

विकास १

हाम्रा विकास समस्या

म 'विकास किन भएन ?' भनेर अतित सम्झेर रुवाबासी गर्नु भन्दा 'विकास गर्न के गर्नु पर्छ ?' भनेर छलफल गर्न उचित ठान्छु किनकि हाम्रो भविष्य वर्तमानको गतिविधिमा निर्धारित हुन्छ अतितको कथाले होइन ।

विकासको थालनी त्यसै हुदैन । त्यसका लागि पूर्वाधारहरूको आवश्यकता पर्छ । विकासको लागि राज्य वा अरूबाट लगानी आवश्यक हुन्छ र बिनापूर्वाधार लगानी आउदैन । नेपालको समस्या पूर्वाधार अनुपस्थितिको समस्या हो ।

१.शान्ति सुरक्षा
माओवादीको द्वन्दले देशभरि नै असुरक्षाको स्थिति पैदा भएकोले नयाँ उद्योग त स्थापना भएनन् नै पुराना पनि पलायन भए । अहिले स्थिति सुध्रिए पनि यदाकदा सशस्त्र आतंकवादी समूह देखा पर्छन् जो सबल सरकारले चाहदा निमिट्यान्न पार्न सक्छ ।

२.सुशाशन
विकासउद्योग संचालनको लागि चाहिने दोश्रो पूर्वाधार सुशाशन हो । अघिल्लो शान्तिकालमा यही सुशाशनको अभाव नै मूल कारण हो विकास नहुनुको । कुशाशनले जहिले पनि विकास प्रयासलाई हतोत्साहित गर्यो । विकासउद्योगका निम्ति एक द्वार प्रणाली कायम गरेर भ्रष्टाचारी र बलशाली   गुण्डाहरू माथि कानुनको बल प्रयोग गर्नु अत्यावश्यक हुन्छ ।

३.भौतिक पूर्वाधारहरू
विकासउद्योग स्थापनाका निम्ति बाटो, पानी, उर्जा र संचार अती आवश्यक पूर्वाधार हुन् । नेपालमा अहिले बाटो कच्ची नै सही धेरथोर पुगि सकेकाले हाललाई तिनको सुधार मात्र आवश्यक हो । संचार तारविहीन उपलब्ध छ जहीतहीँ । पानी नेपालको निम्ति समस्या होइन । उद्योग आफैले पनि व्यवस्था गर्न सक्छन् यसको । पूर्वाधारमा हामीले भोगिरहेको दुर्दशा उर्जाको  हो ।

आजको स्थितिमा सुशाशन र उर्जा दिने हो भने उद्योग स्थापित हुन थाल्छन् । सरकार दृढनिश्चय, निस्पक्ष र निस्वार्थ भएर लाग्ने हो भने यी समस्या पनि समाधान हुन्छन् । हामीले त आवाज उठाउने  हो मात्रै हो, निर्णय त शाशनाधिकारीहरूको हो । टाढा जानै पर्दैन । सुशाशन थालनीको निम्ति बिहारका नितिस कुमारलाई र उर्जाका निम्ति गुजरातका नरेन्द् मोदीलाई उदाहरण लिए हुन्छ ।

Thursday, April 10, 2014

डेरा

उपपति

    एकपल्ट लामो सास फेरेर रित्तो खाटमा बस्दै कोठाका बीचमा  थुप्रो लागेका सामानतिर हेर्‍यो। डेरा सर्ने कामजस्तो झन्झट उसलाई अरू केही पनि लाग्दैनथ्यो तर घरबारविहीनहरूको भाग्यमा लेखिएको बराबर अर्काको घरमा आफ्नो घर बसाल्नु पर्ने दुर्भाग्यमय परिपाटीबाट ऊ पनि जोगिन सक्ने संभावना अवश्य नै थिएन। ऊ एक ठाउँबाट अर्को ठाउँमा नसर्न हरसम्भव प्रयास गर्थ्यो। घरधनीसँग कहिल्यै मनमुटावको वातावरण सिर्जना गर्दैनथ्यो। भाडा समयभन्दा अगाडि नै दिन्थ्यो। भर्सक सानातिना मर्मत पनि आफैं गर्थ्यो र समय समयमा घरधनीले बढाउन खोजेको भाडालाई पनि ऊ स्वीकार गर्थ्यो। यी सब प्रयासहरूको केवल एउटै मात्र कारण हुन्थ्यो - डेरा सर्नु नपरोस्, उसका आफ्नो जिवनका दुखसुखका आन्द्राभुँडी देखाउने राम्रा-नराम्रा, नयाँ-पुराना झटीमिटीका टुक्राहरू पुराना सामान बेच्ने लिलामेले गल्ली, टोल र बजारमा सामान प्रदर्शनी गरेजस्तै देखाउँदै हिडनु नपरोस् तर घर घर हो जहाँबाट अन्तिम पटक लाश भएर निस्किइन्छ र डेरा डेरा हो, जहाँ निस्किने प्रतिकृया हेर्दा पटके होइन्छ। प्रत्येक घरधनी र डेरावालको सम्बन्ध दुर्ईका  बीचमा मनमुटाव नहुनु, समयमा भाडा तिर्नु, घरधनीलाई झिझ्याहट नदिनुसम्ममा मात्र सीमित हुँदैन। दुर्ई  बीचमा जस्तोसुकै सुमधुर सम्बन्ध भए पनि घरधनीले डेरा दिनुको अर्थ उसले आफ्नो सम्पत्ति अर्काको हातमा सुम्पिएकोले ऊ सधै सशङ्कितत हुन्छ र डेरावाललाई पराई ठान्दछ। डेरावाल भने अर्काकै धन भए पनि भोगचलन गरिल्याएकोले त्यो धन आफ्नो निजी अनुभव गर्दछ र घरधनीले अन्तिम सूचना दिई सक्दा पनि बुझ्न नसक्ने बाँदरको छाउरोले मरेकी आमा नछोड्न समाएर चिच्याए झैं ऊ पनि डेरा नछोड्न खोज्छ। त्यसैले उनीहरू  बीचमा अन्तर्द्वन्दको संघर्ष चल्छ र विजय जहिले पनि घरधनीकै हुन्छ। डेरावाललाई निकाल्न अरू केही कारण नभए घरधनीकी भान्जीको बिहे त्यही घरबाट हुने टुङ्गो लाग्छ या नातीको पास्नीलाई ठाउँ पुग्दैन या यस्तै अरू कुनै मानविय कारण जन्मन्छन् या जन्माइन्छन् र मानवताको नाताले नै सही डेरावाल डेरा छोड्न बाध्य हुन्छ। अनिलले जतिसुकै सतर्क भएर डेरावालको जिम्मेवारी पुरा गरे तापनि पछिल्ला कारणले बाध्य गरायो उसलाई डेरा सर्न।
 --(लामोकथा 'उपपति' बाट)http://ramdahal.tripod.com/upapati.html