Monday, July 28, 2014

मेरो परिवेश १



जुवाखाल र खान्की

बिहानीको हिडाइको सिलसिलामा गाउँदेखि बजारसम्मको एक फन्को मारेर आउदै थिएँ चौबाटोमा झुरुम्म मानिस घेरा हालेर उभिएको देखेर उत्सुकतासाथ म पनि चियाउन पुगेँ । बिचमा लंगुरबुर्जाको खाल थापेका रहेछन केटाकेटीले । बुर्जाको साहु भएर बस्नेको अनुहार हेरेँ - मेरै चिनाजानीखो असम्पन्न परिवारको केटो रहेछ । १४ वर्ष काटेको थिएन होला त्यसले तैपनि ऊ पक्का खालेजस्तै कुरा गरिरहेको थियो । उभिएर बाजी थाप्ने केटाकेटीदेखि लिएर वयस्कसम्म थिए ।

"लौ बुर्जामा हान् सय रूपयाँ ।" - कसैले बुर्जामा सयको नोट फाल्दै भन्यो ।

मैले सोचेँ खालेले अस्वीकार गर्ला किनकि मेरो त्यही उमेरको नातिले १०० रूपयाँ पाउन ठुलै कारण देखाउनु पर्छ र लंगुरबुर्जामै थाप्नु परे पनि उसले ५ रूपयाँभन्दा बढी आँट गर्न सक्दैन तर खालेले त सयको नोट बुर्जामाथि राखेर भन्यो - "ल अरू क-कसको आउछ ?"

१००/५० झरेर २/४ सयको खाल नै बन्यो । अरू थप पैसा नआउने देखेपछि खालेले लंगुरबुर्जाका गोटीलाई टिनको बट्टामा हालेर हल्लाउदै घोप्ट्यायो र भन्यो - "ल को को के केमा आउने ? आई हाल्नोस् है । आई हाल्नोस् । पानामा खाली छ ।"

५/१० अरू झर्यो । सोभन्दा बढी नझर्ने देखेपछि बट्टा उठाएर पासा देखायो । कही मार्‍यो र कहीँ तिर्‍यो । २/४ हजारको कारोवार उसको त्यही नै भएको देखीयो ।

"प्रहरीले रोक्दैन यसरी चोकमा खेल्दा ।" - मैले सोधेँ केटालाई ।

"हामीले प्रहरीलाई मिलाएको छ ।" - केटोले जवाफ दियो ।

१४ वर्षको केटो प्रहरी मिलाएर जुवाको खाल थापिरहेको थियो भने उसको भविष्य कति पो राम्रो होला भनेर आशा गर्न सकिन्थ्यो र ? फेरि १४ वर्षे केटाले थापेको जुवाको खालमा वयस्क र अधबैँसेहरू निर्धक्क जुवा खेलिरहेका थिए भने तिनका नानीहरूले कुन बाटो समाउलान् ? त्यही प्रश्न मेरो मनमा त्यहीँ तर मैले सोध्ने हिम्मत गरिनँ र आफ्नो बाटो लागेँ ।

अर्को घटना पनि मेरो बिहानको हिडाइको क्रममा नै भएको थियो । घरमालिक्नीको आदेश बमोजिम  दही किन्ने मनशायले बाटोको डेरी पसलमा पसेँ । पसलमा नै मैले चिनेको केही परको छिमेकीको ८/१० वर्षको ४/५ कक्षामा पढ्ने छोरो उभिएको रहेछ । मलाई देख्ने बित्तिकै दुई हात उठाएर नमस्कार गर्‍यो र उसको अभिवादन फर्काउदै भनेँ - "के लिन आएको बाबु ?"

पसलेले मेरो आवश्यकता सोध्यो र मैले आफ्नो आवश्यकता सुनाएर उसलाई भने - "उसलाई पहिला देऊ । ऊ पहिला आएको ।'

पसलेले पहिला उसलाई दियो तैपनि ऊ हिडेन त मैले सोधेँ - "किन बसिराखेको त नगएर ?"

"होइन, हजुरसँगै जान्छु ।" - उसले जवाफ दियो ।

मैले आफ्नो सामान लिएपछि हामी सँगै निस्कियौँ ।

"सधैँ लान्छौ तिमी मोही ?" - मैले जिज्ञासा राखेँ ।

"सधैँ त होइन । ममीले जा भनेको बेला लिन आउछु । मोही नलगेको दिन दही लान्छु ।"
जवाफ दियो उसले । मोही कि दही ऊ सधै खाँदो रहेछ भन्ने मैले अर्थ लगाएँ ।

हामीभन्दा अगाडि एउटा केटो जाँदै देखेर केटो उसको नाम लिएर बोलायो । पछि थाहा भयो मलाई ऊ साथी रहेछ केटोको एउटै कक्षाम पढ्ने । उसले पनि केटोले बोकेजस्तै प्लास्टिकको झोलामा तरल पदार्थ बोकेको प्रस्ट हुन्थ्यो । फरक अघिल्लो केटाको झोला सेतो थियो र पछिल्लो केटाको कालो ।

उत्सुकतावस मैले सोधे - "के बोक्यौँ तिमीले मोही ?"

"होइन । हामी मोही खादैनौँ । यो त निगार हो ।" - उसले सहज स्वरमा भन्यो ।

"सधैँ निगार खान्छौ त ?" - उत्सुकता बढ्यो मेरो ।

"बाबाले पनि खोज्छ अनि ममीले लिन पठाउनु हुन्छ ।" - उसको सहजतामा कुनै कमी आएन ।

"अनि तिमी पनि खान्छौ त निगार ?" - मैले ठाडो प्रश्न गरेँ ।

"खान दिएन भने त को बोक्न आउछ र ?" - उसको उत्तर ठोस थियो ।

अलि वर आएपछि हामी तीनै जना आ-आफ्नो बाटो लाग्यौँ ।

मेरो मनमा एउटै प्रश्न घुमिरह्यो - दुवै मोही र निगारका क्रेताहरूले कुन बाटो समाउलान् ?

जोरपाटी-१ काठमाडौ
२०७१ श्रावण १२

Sunday, July 27, 2014

खसदलित

खसबाहुन र खसदलित
 
पहाडी हिन्दुहरूको वर्ण विभाजन पनि बढो अनौठो छ । बाहुनहरू चुच्चो नाक गरेका आर्य नश्लका देखिन्छन भने नेप्टा नाक हुने मंगोल समुदायलाई वैश्यको समुदायमा हालेका छन । दई थरी छेत्री मध्ये एका तिर बाहुन बाबु र मंगोल आमाको सन्तानलाई खत्रीको दर्जा दिएर छेत्री समान बनाएका छन भने अर्को तिर मंगोलियन नश्लका ठकुरीहरू आफूलाई उचो दर्जाको छेत्रीमा दावी गर्दछन । शुद्ध मंगोल नश्लका छेत्री हिन्दुहरू भारतिय आर्य मूलका हुन नसक्ने हुनाले हिन्दर्धर्मको विस्तारको क्रममा बाहुनहरूले आफ्नो संरक्षण र सुरक्षार्थ तत्कालिन जनजातीका सानाठूला सबै शाशक वर्गका सदस्यलाई तागाधारी व्राह्मण कर्म गराएर क्षत्रिय वर्ण दिई धर्म विस्तार गरेको हुनु पर्छ । पुरातन सिन्जा क्षेत्र मानिएको अहिलेको कर्णाली र सो आसपासको क्षेत्रमा जनजातीहरूको तुलनामा बाहुन, अझ क्षेत्रीहरूको, वाहुल्य त्यतै तिर सङ्केत गर्दछ ।

पहाडे हिन्दु समुदायको शुद्र वर्णमा राखेर अछुत मानिएका कामी, सार्की र दमाई अपवाद वाहेक मूलतः आर्य नश्लको देखिन्छ । यिनीहरूको भाषा बाहुनको जस्तै खस नेपाली भाषा  हो । यिनका रिति, रिवाज, चाल, चलन, कर्मकाण्ड सबै नै खस बाहुनका जस्तै छन । अरु त अरु, त्यो समुदायको गोत्र र थर पनि बाहुन सँग मिल्छन र जहाँ बाहुन छन त्यहाँ मात्र उनीहरूको उपस्थिति छ र बाहुन द्वारा संरक्षित छन भने यसलाई बाहुनको एउटा हाँगो मान्नुको विकल्प पनि देखिदैन ।

हिन्दुधर्ममा मानिस मात्र होइन सबै प्राणी नै ऋषि कश्यपका सन्तान मानिन्छन र सबै जीव कश्यप गोत्री हुन भन्ने गरिन्छ । कालान्तरमा वंश वंशमा युगपुरुषका नामका आश्रमहरू जन्मदै गए पछि तिनै आश्रमका अनुयायीहरूले युगपुरुषको नामका गोत्रहरू लिए । त्यसैले कुनै गैर्‍‍ह हिन्दुले हिन्दुधर्ममा प्रवेश गर्न चाहे या हिन्दुले गोत्र परिवर्तन गर्न चाहे उसले शुरुको काश्यप गोत्र लिन पाउछ । त्यसैले आफ्नो अलग्गै गोत्र हुने खस दलितहरू गैर्‍ह हिन्दु बाट प्रवेश गरेका होइनन । खसहरूमा तागाधारीका मात्र विभिन्न गोत्र छन र त्यति नै गोत्र छन खस दलितका पनि । वैश्य भनिएका जनजातीका त गोत्र हुने कुरा पनि भएन र भए पनि उनीहरू काश्यप गोत्री मात्र हुने भए । उत्तरी भारतका हिन्दु, गैर्‍ह हिन्दुको आफ्नो समूह चिनाउने प्रचलन भनेको थर हो । थर विभिन्न कारणले स्थापित हुन्छन । दुई गोत्रिय बाहुनका कहिले कहीं एउटै थर हुन सक्छ र थर कहिले कही जनजाती सँग पनि मिले पनि सबैको सबै सँग सधैं मिल्छ भन्ने छैन तर खस बाहुन र खस दलितको थर सधै मिल्नु संयोग मात्र पक्कै पनि होइन । त्यसैले खस बाहुनको उत्पत्ती खस दलित बाट हुन नसक्ने हुदा खस दलितको उत्पत्ती खस बाहुनमा खोज्नु पर्ने हुन्छ ।

खस बाहुनहरू विजेता राजाले जस्तै आफूलाई चाहिने जति सबै नोकर चाकर, होमे-डोमे आदि लिएर पसेका होइनन । त्यसैले खस दलित उनीहरू सँगै आएका होइनन र खस बाहुनका थरहरू नेपाल बाहिर नपाइने हुनाले तिनीहरू यहीं उब्जिएका हुन भन्न कर पनि लाग्छ । आफूलाई चोखो ठान्ने बाहुनहरूले वाध्यता नभइ दलितलाई आफ्नो गोत्र र थर चलाउन दिन तयार हुने थिएनन र त्यो वाध्यता पनि कि त राजदण्डको भयले कि मायाले मात्र उत्पन्न भएको हुनु पर्छ । सो समयका समाजच्युत दलितलाई बाहुनले गोत्र, थर दुवै दिनु पर्छ भनेर वाध्य गराउन सक्ने सामर्थ्य सो समयको राज्यको थिएन र त्यो आवश्यकता पनि देखिदैन । बाहुनहरूले आफूखुशी स्वविवेकले नै दलितलाई गोत्र र थर दिएको निश्चित छ । तर, कारण के थियो त बाहुनले दलितलाई त्यत्रो माया गर्नु पर्ने ?

नेपाल अधिराज्यको मुलुकी ऐन जंग बहादुर कुँवरले स्थापित गरे पनि हिन्दु धर्मव्यवस्था सिन्जा राज्य कालमा पनि थियो र जात च्युत गराउने व्यवस्था पनि थियो हिन्दु धर्मव्यवस्थामा । धर्म छोडने, म्लेच्छ संसर्ग गर्ने, अभक्ष खाने, हाडनाता करणीमा पर्नेहरूलाई जात च्युत गराइन्थ्यो र राज्य विरोध गर्नेहरू पनि त्यो समूहमा पर्दथे । जनजातीमा जातच्युतको व्यवस्था नै नभएकोले राज्यले जातच्युत भनिदिए पनि त्यो लागु हुन सक्ने समाज त बाहुन मात्रै थियो र जातच्युत भएर अछुत हुने बाहुनको जाने ठाउँ पनि कही नहुदा ऊ त्यही बाहुन समाजमा त्यही गोत्र र थर लिएर बस्थ्यो । आफ्नो स्वजन भएकाले बाहुन समाजले त्यसको विरोध गर्ने कुरा पनि भएन । सबै किसिमले खस बाहुन र खस दलितमा समानता देखिनुको कारण यो भन्दा अर्को हुनै सक्दैन ।

अब आएर खस बाहुनको परिभाषा भित्र खोजी शुरु गरौं । उपाध्याय र जैशी दुई समूह त यसै पनि बाहुन भित्र परिरहेकै कुरा हो । पितृ सत्तात्मक हिन्दृ समाजमा खत्री छेत्री त बाहुनको परिभाषा भित्र पर्ने नै भए । कुनै समयमा पुर्खा बाहुन बाट च्युत भए पनि बाहुनकै समाज भित्र राखिएका बाहुनका सन्तान पनि बाहुन भन्दा फरक कसरी हुन सक्छन र ? फेरि जुन कारणले सो समयमा उनीहरू जातच्युत भएका थिए आज तिनै कारण बाट बाहुन जातच्युत भएर अछुत बन्दैनन भने त्यो समयको कारणलाई अहिले मान्यता दिनु सरासर वेइमानी हुन्छ । त्यसैले बाहुनका यी चार समूह एकै हुन भन्ने मान्यता स्थापित गर्दा हुन्छ । तर मान्यता आफै स्थापित हुदैनन । मान्यता खोज्नेले मान्यताको दावी गर्नु पर्छ र मान्यता दिन त्यो समाज पनि तयार हुनु पर्छ । उपाध्याय, जैशी र खत्री समुदायले त आफू बाहुन भएको दावी गरेकै हो र त्यो पाएको पनि छ । अब खस दलित मात्र बाँकि रहेकोले खस दलितले पनि आफू खस बाहुन भएको कुरा दावी गर्नु पर्‍यो र अरुलाई मनाउन प्रयाश पनि गर्नु पर्‍‍यो ।

शुरुमा नै भनियो – हिन्दुधर्म व्राह्मणमा आधारित धर्म हो र हिन्दुधर्म भित्र रहुन्जेल यो मान्यतालाई इन्कार गर्न सकिदैन । थरका आधारमा मात्रै हिन्दु हुने भए व्राह्मण जातीलाई बुझाउने 'शर्मा' थर समाएर क्रिश्चियन पादरी बनेका यहीं भेटिन्छन । त्यसैले खस दलितहरू पनि बाहुन हुन भन्ने मान्यता अरु तीन समूहले दिनु पर्छ भन्ने मेरो जिकिर हो । जसरी भगवान देखि मानिस सम्म सबैले क्षत्रिय बाट तपोबलले बनेको विश्वामित्र व्राह्मण समूहलाई व्राह्मण मानिदिदा पनि वशिष्ठ व्राह्मण समूहले नमान्दा सम्म उनीहरू व्राह्मण बन्न सकेनन त्यसरी नै खसबाहुन समाजले नमानुन्जेल अरु जोसुकैले मान्यता दिए पनि खसदलित बाहुन समाजमा पस्न सक्ने छैनन । त्यसैले खस दलितले जनै पूणिर्माको डोरो बाँधिदिएनन भनेर बाहुन कुटुनु भन्दा बाहुन समाजको हुँ म भनेर दावी गर्नु बढी फलदायक हुन्छ र खसबाहुनले पनि आफ्नो एउटा अंगलाई काटेर फाल्नु भन्दा त्यसलाई आफूमा समाहित गराउन श्रेयकर छ । हिन्दु बिचको जातिय विभेद यसरी मात्रै मेटिदै जान्छ , कटुता बढाएर होइन ।

जीवनयात्रा ५



मेरी बजै


 मेरी बजै कडा मिजासकी थिइन्। उनीसँग, अरूहरू त के, त्यो समयको बाघ ठानिने उनकै काका ससुरासमेत थर्कमान हुन्थे। भनिन्छ मेरा बाजे  कमाउन त सक्थे तर संचय गर्न सक्दैनथे र त्यो संचय गरिदिने काम मेरी बजैको थियो। नरम स्वभाव भएका कारण कतिले उनको स्वभावको दुरुपयोग गर्थे र बजैले तिनीहरूको त्यो दुष्कर्मलाई कठोरतासाथ उल्ट्याइ दिन्थिन् रे। मैले मेरा बाजेलाई देखिनँ। उनको मृत्यु म जन्मनुभन्दा १० महिना अगाडि भएको थियो। त्यसैले मेरी बजै म बारे भन्ने गर्थिन् ― “यसको बेहोरा पनि मेरा बुढाकोजस्तै छ। जन्मन पनि बुढा जन्मिएको दशै महिनामा जन्मियो। मेरा बुढा नै आएका हुुन् नाति भएर।” 

मलाई लाग्छ शायद मेरी बजैको मप्रतिको लगाव आफ्ना लोग्नेको छायाँछविको मृगतृष्णा हुन सक्थ्यो।  

मेरी बजै भन्थीन् दश वर्षको उमेरमा त्यही उमेरको लोग्ने र एउटी तरुनी सासु मात्र भएको घरमा दश नंग्री खियाएर काम गर्दा पनि ५०।६० मुरी अन्न घरभित्र भित्रिइन्थ्यो रे र मेरो बाजेको मृत्युताका उनले नै दुई हजार मुरीसम्म आफ्नो घरमा हुलिन्। त्यत्रो विशाल (त्यो ठाउँको तुलनामा विशाल) सम्पत्ती केवल दुई दम्पतीको देन थियो। वार्‍ह वटा सन्तानकी आमा भएर पनि उनलाई कुनै सन्तानले सहयोग गरेनन्। छोरीहरूलाई उनले बिहे गरिदिएर लखेट्दै ठिक भयो र छोराहरू बाबुको सम्पत्तीमा मात्र आँखा लाएर बसे। बाबुको मृत्युपछि कमाउ व्यक्ति नभएकाले सम्पत्ती नबढ्ने र जुन भाइले पायो उसैले हडप्ने प्रवृत्ति देखेपछि मेरी बजैले आफ्नो भाग जिउनी राखेर छोराहरूलाई सम्पत्ती बण्डा गरी दिइन्। मेरी बजैलाई माहिलो छोरो सार्‍है मन परेको र कान्छो छोरो सानो भएकाले दुई जनालाई आफूसँगै मूलघरमा राखी जेठो र साहिँलोलाई नयाँ बनाएका दुई घरमा राखिदिने चाहना थियो तर लेखापढी जानेका बाठा र आमाबाबु, दाजुभाइको सुखसुविधा ख्याल नराखी आफ्नो र आफ्नै सन्तानको मात्र स्वार्थ हेर्ने मेरा माहिला बडाबा आमाको इच्छा विरुद्ध घर छोडेर सबभन्दा अगाडि निस्किए। त्यसैले साहिँला छोरालाई आमा र भाइसँग बस्न कर लाग्यो। त्यसमा पनि अंशबण्डाको केही महिनापछि नै मेरा बाबुको मृत्यु भएपछि त त्यो वाध्यता नै भयो। 

आफूले आर्जन गरेको त्यत्रो सम्पत्तीको आधिपत्य छोडेर सानो जिउनीको भरमा बस्नु मेरी बजैलाई कठिन त थियो नै। जुन घरमा उनको वचन लोग्नेले पनि काट्न सक्दैनथे र छोरीबुहारीले त शिर उठाएर कुरा पनि गर्न सक्दैनथे त्यही घर लोग्नेको मृत्युपछि छिन्नभिन्न भएको, छोराहरूद्वारा बेवास्ता हुन थालेको र बुहारीहरू पनि मुख लाग्न थालेको देखेपछि बुढिया आफ्ना दिन बितेको अनुभव गर्न थालेर आफ्नो आत्माले नमाने पनि वाध्यताले घरको एक कुनामा थन्कन थालिन्। 

मेरी बजैका बारेमा भन्नु पर्दा उनले भोगेको परिवेशलाई पनि एकपल्ट हेर्नु आवश्यक ठान्छु। जुन काल, परिस्थिति र वातावरणमा उनले जीवन बिताइन् त्यो स्वयम् एउटा इतिहास थियो
 
मेरा बजैको जन्म एउटा सम्पन्न परिवारमा भएको थियो। त्यो समयको त्यो ठाउँको परिवेशमा उनका माइती भित्र, बाहिर सबैतिरबाट सम्पन्न थिए र मेरी बजै मेरा बाजेको घर पस्दा तिनले असम्पन्नतासँग सामना गर्नु पर्‍यो। कुल, वंशका हिसाबले मेरा बाजे कुलिन थिए तर चार वर्षको उमेरमा उनी टुहुरा भएका र आमा नभएको समयमा उनका बाजेले केही जग्गा दिई उनलाई बाख्राका खोरमाथिको मतान सारिदिएका निर्धो व्यक्ति धनधान्य र सम्पन्न हुने सम्भावना थिएन। बुहारी भित्य्राएको बेला आफ्नो असम्पन्नता देखेर बुहारीले चित्त दुखाउली भनेर मेरा बाजेकी आमाले ५।७ भकारी माटोले भरेर माथिबाट धानले भरेकी थिइन् रे। मेरी बजै भन्थिन् के धान रहेछ भनेर भकारीमा हात गाडेर झिक्दा माटो पाएर आफ्नो कर्मलाई धिक्कार्दै त्यहीं बसेर रोएकी थिइन् रे। 

मेरी बजै घरभित्र पस्दा जहानमा सासू र लोग्ने मात्र भए पनि ५।७ जना कमारीकमारी भने थिए रे। जति कमारा कमारी भए त्यति नै सम्पन्न ठानिने त्यो जमानामा मेरा बाजेले उनका बाजेबाट कमाराकमारी पाएका थिए र मेरी बजैले पनि दाइजोमा उनीहरूलाई लिएर आएकी थिइन्। जग्गा जमिन प्रशस्त हुदा करियाहरूको श्रम उपयोगी नै हुने थियो तर जमिन कम हुने परिवारमा उनीहरू त खाने मुख मात्र बढी भए। 

भनिन्छ मेरा बाजे सामान्य मानिस थिए, अति नै सामान्य। उनलाई खानेलाउने कुराको सोख थिएन। पेट भर्न र आङ ढाक्न पाए पुग्थ्यो रे उनलाई। उनी नम्र र मृदुभाषी थिए। विपक्षी या शत्रुकोसामु पर्दा पनि उनी नम्र भएर बोल्थे। उनको परिचालन शक्ति त मेरी बजै नै थिइन्। चौध वर्षको उमेरमा उनी आफ्नो दुखेसो सुनाउदै माहिला दाजुसँग रोइन् र दाजुले उनलाई सो समयको दुइ हजार रुपया सापटी दिएका थिए रे। त्यही नै मेरा बाजेको लगानीको स्रोत भयो। सो समयमा चर्को ब्याजमा लगानी गर्ने चलन थियो तर मेरा बाजेले सस्तो ब्याजमा रिण दिन थाले। नम्र, मृदुभाषी, थोरै ब्याज लिने र अझ घरैमा आएर रिण दिने साहु अरूभन्दा निकट हुने नै भयो। उनी तीन महिना, छ महिनाको भाखामा रिण दिन्थे र सो असुल गर्न समयमै त्यहाँ पुग्थे। आसामीले तिर्न नसके तागिता पनि गर्दैनथे बरु सावाँ ब्याज जोडेर अर्को भाखामा नया तमासुक बनाउथे। ब्याज सस्तो भए पनि उनले चक्रवृद्धिको सिद्धान्तलाई राम्रैसँग प्रयोग गरे। कर्जा असुलीमा उनी नगदको माग पनि गर्दैनथे। आसामीसँग नगद जिन्सी जे छ त्यही समाइदिन्थे। यसो गर्नाले उनले जिन्सी चलनचल्तीको मोलभन्दा सस्तोमा पाउँथे र त्यही जिन्सी अर्कोलाई बढी मोलमा लगानी गर्नाले मोलको अन्तर पनि नाफा हुन्थ्यो। त्यसैले होला आजभन्दा ७० वर्ष अगाडि त्यो अति दुर्गम गाउँको मेरो घरमा मैन्टोल (पेट्रोम्याक्स), फोनबाजा (ग्रामोफोन) र, अझ अचम्म!, युरोपेली बजारमा मात्र पाइने बच्छेबाजा (कन्सेर्टिना एकर्डियन) पनि थियो। घरको चार दिवारभित्र पसेको सम्पत्तीको रक्षा मेरी बजै गर्थिन्। त्यसैले सम्पत्तीको संचिति र संरक्षणको काम मेरी बजैको थियो। आफूले अभाव भोगेकीले उनको संरक्षण यति कठोर थियो कि बुहारीले खाजा र नातिनातिनी लगाउने तेलसम्म पनि माइतीबाट ल्याउनु पर्थ्यो या सासुको आँखा छलेर ससुरासँग माग्नु पर्थ्यो। बाहिर लोग्नेले सम्पत्ती सबै दान दिए पनि केही नभन्ने बजै भित्र भने कठोर थिइन् र भनिन्छ उनी त्यति कठोर नभएकी भए सम्पत्ती रहने पनि थिएन।  

कारोवार थालेको २५ वर्षपछि मेरा बाजेसँग जमिन थियो, पैसा थियो, धनधान्य थियो, गोठालोले चिनि नसक्नु गाईभैंसीको गोठ थिया, थुप्रै कमाराकमारी थिए, बथानका बथान खसीबोका थिए तर उनको बास भने त्यही बाजेको मतान भनिने बाख्राका खोरमाथि नै थियो र घरको वरिपरि कमाराकमारीका खोप्रा थिए। हरेक वर्ष वर्षका दिनमा उनी हिउँद लागेपछि नयाँ घर बनाउने संकल्प गर्थे तर सुखा दिन आउने बित्तिकै उनलाई लगानीपातबाट फुर्सद हुदैनथ्यो रे। भनिन्छ मेरा बाजे प्रत्येक वर्ष वर्षा लागेपछि 'यसपालि पनि घर बनाउन पाइनँ' भनेर रुन्थे रे। आखिर मेरी बजैले बाबुकहाँ गएर गुनासो सुनाइन् र बाबुले बनाइ दिने वचन दिए। सिंहदरवारभन्दा अगाडि बनेको त्यो घर बनाउने जनशक्ति, ज्याला, सामग्री मेरा बाजेले जुटाइ दिए र ससुराले दुई वर्षमा त्यो घर, कम्पाउन्ड, मूलबाटो आदि बन्नु पर्ने सबै नै बनाइदिए। चार पैसामा ज्यामी पाउने त्यो जमानामा हजारौं रूपयाँ लागेको थियो भन्छन् सबै जना तर त्यसको लेखाजोखा भने कसैसँग भएको मैले भेटिनँ। कालान्तरमा त्यो घर, कम्पाउन्ड सबै मेरी आमा मार्फत हामी दुई दाजुभाइसम्म आइपुग्यो  


मेरी बजैले पच्चीस वर्षको अन्तरालमा ८ छोरी र ४ छोरा गरी १२ सन्तान जन्माइन्। तीमध्ये दुई छोरीका बाहेक सबैका सन्तान छन्। यति विधि सन्तान भएर पनि मेरी बजैलाई सुख भयो कि भएन त्यो त मेरासामु कहिले पनि भनिनन् तर मैले थाहा पाउदाका २।४ वटा घटना भने उनका पिडादायी अनुभव थिए।  

त्यो बेला  हामी (आमा, दिदी, म र भाइ) साहिँला बडाबासँग अंश र भान्सा छुटाएर अलग्ग खान थालेका थियौं। लोग्ने भएकी र नभएकी देउरानी जेठानी मिलेर बस्ने संभावना पनि थिएन। मूलघरको पहिलो तलामा हामी पकाएर खान्थ्यौं। भैंतलाको मूलचुलोमा साहिँला बडाबाको भान्सा थियो। बजैको खाना पनि मूलचुलोमा नै पाक्थ्यो। 

बजैको आफ्नै जिउनी थियो, आफ्नै अन्नपात आउथ्यो, आफ्नै दुहुनो गाई थियो। नुन, तेल, भुटुन, तरकारी सबै सामान बजैको आफ्नै थियो। हुने भए बजैले आफ्नै भान्से पनि राख्ने थिइन् होला। केवल एउटै भान्सामा दुई वटा चुलो नमिल्ने हुनाले मात्रै साझा खान पाक्थ्यो। साहिँली बडीआमाले बजैको भात पकाइदिन्थिन्। यसरी नै चलेको थियो। कसका मनमा के थियो? दैव जानोस् तर मेरी बजै र साहिँली आमाका बीचमा कटुता पैदा भयो र त्यसको बिज पनि म नै हुन पुगें। 

अगाडि नै भनिसकें कि म शायद मेरी बजैको मृगतृष्णाको त्यान्द्रो थिएँ। त्यसैले नै होला, सखर हालेर मुछेको आफ्नो अन्तिम दुई गाँस जुठो दुधभात मेरी बजैले सानो कचौरामा हालेर बाहिर निस्कदा कुकुरलाई झैं मलाई बोलाउथिन् र म पनि, जहाँ भए पनि दौडेर आउने कुकुरजस्तै, बजैको स्वर सुन्ने बित्तिकै दौडेर आइपुग्थें। त्यो सखर हालेको दुधभात त मेरी आमाले पनि दिन्थिन् तर, किन हो कुन्नि?, बजैको पुराजस्तो मिठो लाग्दैनथ्यो।  

हरे! किन दिनुपर्‍यो त्यो दुई गाँस भात के के न दिएजस्तो गरेर? भरे प्याच्च एक थोक भन्छन् अनि!” ― मेरी आमा विरोध गर्थिन्। 

दिएँ त मेरै सम्पत्ती दिएँ मेरा नातिलाई। कसले के भन्न पाउँछ?” ― बजै सजिलै कहाँ टेर्थिन् बुहारीलाई। तर कहल सुरु भइ नै हाल्यो।  

मेरी जेठी बडीआमा सोझी र झगडा गर्न नसक्ने, बरु आफै रोइदिने खालकी थिइन्। माहिली बडीआमा जेठीचाहिँ मेरा बाबु मरेको १।२ महिना पछि नै मरेकीले उनलाई मैले देखिनँ। कान्छीचाहिँ कम बोल्ने र बोले पनि मेरा माहिला बडाबाका डरले मसिनो स्वरले बोल्ने। फेरि मेरा जेठा र माहिला बडाबा बाहिरको सबै आफैंले बेहोर्ने र स्वास्नी बाहिर निस्केर कराएको मन नपराउने भएर पनि त्यसो भएको हुन सक्छ। मेरा बाबु हुदा मेरी आमा कस्ती थिइन्? त्यो त मलाई थाहा हुने कुरा भएर तर पछि भने लोग्नेमानिस र स्वास्नीमानिस दुवैको जिम्मेवारी लिनु पर्ने भएकाले लोग्नेमानिस झैं लड्न भिड्न पनि सक्थिन् र स्वास्नीमानिस झैं रुन्थिन् पनि। त्यसमा पनि बालक छोराछोरी हुने विधवा आइमाई त आफूलाई निर्धो र निरिह ठान्छन् र बच्चा कुरेर बसेकी घाइते बघिनी झैं जहिले पनि झम्टन तयार हुन्छन् नै। मेरी बजै हुदासम्म त मेरी आमालाई लोग्नेकाजस्तो आड नभए पनि एउटा सहारा भने थियो। मेरी साहिँली बडीआमाका हकमा भने अलि भिन्दै किसिमले हेरिनु पर्ने हुन्छ। बाहिर हेरिदिने साहिँला बडाबा थिए तैपनि उनको मुख मेरी आमाकोजत्तिकै छिटो चल्दथ्यो। स्वभाव पनि सानो कुरा पनि सहन नसक्ने अलि दुच्छर नै। त्यसैले आफ्नो भान्सामा पाकेको दुधभात सासुले भतिजोलाई दिएको मन पर्दैनथ्यो होला र मनमा पनि लाग्थ्यो होला ― “मेरा पनि त साना छोराछोरी छन् नि। तिनीहरू पनि नातिनातिनी नै हुन्। तिनीहरूलाई दिए पनि त हुन्छ। त्यो अर्को भान्सामा खाने नातिलाई बोलाइबोलाइ किन खान दिनु पर्ने?” सोचाइ त उनको पनि गलत थिएन। त्यसैले एक सहन नसकेर भनि हालिन् ― “मेरा छोराछोरी मारीमारी आफ्नो नाति पोस्ने।” 

मैले आफ्नो दिएकी छु र पनि त्यत्रो वचन!” ― मेरी बजैलाई सार्‍है चित्त दुख्यो।  

मेरी साहिँली आमाले के बुझिनन् भने बुढियाले नातिहरू बीच भेदभाव गरेर मलाई दुधभात दिएकी होइनन्। 'बाबु हुनेका त बाबुहरूले दिइहाल्छन् नि' भनेर टुहुरो नातिलाई कान्छो छोरोले खाने दुई गाँस पुरा दिएकी मात्रै हुन्। ठुलो हृदयले हेर्दा त्यो तुच्छ कुरा थियो तर मेरी बजैलाई बुहारीको वचन भन्दा पक्षपातको आरोपले मन कुँडियो।  

सासू बुहारीका बीच मनमुटाव बढ्दै गयो। बुहारीले जेमा पनि सासूले भतिजाहरूको पक्ष लिएको देख्न थालिन् र सासूले आफूले खटन गरेकी बुहारीले आफूलाई खटन गरेको देखेर र छोरोले पनि त्यसमा केही नबोलेकाले आफू बढता भएर निकालिन लागिछु भन्ने सोचिन्। त्यसैले मेरी बजै एक दिन हाम्रै भान्सामा पुगेर खान थालिन् र अरूका निम्ति बढ्ता नै भए पनि लोग्ने नभएकी तरुनी आइमाईका निम्ति सासू ठुलै सहारा भइन्।  

हाम्रो मूलघर र जग्गा हामी र साहिँला बडाबाका बीचमा साझा थियो। त्यसैले मेरी बजैले आफ्ना जान्ने छोरी जुवाइँ बोलाएर घरजग्गा बण्डा गर्न लगाइदिइन् र घरको मोलको आधा मेरी आमाले तिर्ने शर्तमा मूलघर हामीले पायौं। मेरी आमाले घरको मोल चुक्ता नगरुन्जेल र आफ्नो घर नबनाउन्जेल साहिँला बडाबा पहिले मूलघरमा नै र पछि तीनतले मतानमा बस्न थाले। मेरी बजै हामीसँगै मूलघरमा नै बसिन्। 

मेरी बजै र मेरी साहिँली बडीआमाको सम्बन्ध कहिले पनि सुध्रिएन। साहिँला बडाबाले स्वास्नीमाथि नियन्त्रण नगर्नाले बडीआमाको आँट पनि दर्‍हो हुदै गयो र मेरी बजै त सासू नै भइहालिन्, उनी किन दब्थिन्? अन्ततः दुई जना बीचको कटुता यति बढ्दै गयो कि सानो कुराको सत्यअसत्य छुट्याउन बडीआमाले बुढियालाई टाउकोमा तामे पाथी राखेर धर्म भाक्नु पर्छ भन्दै तामाको पाथी सासूसमिप लिएर पनि आइन्। यस्तो उच्छि्रङ्खलताले कसलाई कहाँ पुर्‍यायो त्यो बडीआमाले पछि बुझिन् होला तर सासूले बुहारीलाई त्यो कु्रामा माफी कहिले पनि दिइनन् र घरको आँगनको पल्लो छेउमा बसेकी बुहारी सासूको मृत्युपछि मात्रै मूलघरमा छिर्न पाइन्।  


मेरी बजैका आठ छोरीमध्ये मैले थाहा पाउँदा पाँच बटी जिउदै थिए र बराबर माइती पनि आइरहन्थे। उनीहरूका आफ्नै समस्या र आवश्यकता थिए। उनीहरूले दुख सुनाएर रुने ठाउँ पनि आमा नै थिइन् र केही अभर पर्दा माग्ने भाँडो पनि उनी नै थिइन्। त्यसैले एउटी फुपूलाई (कुनचाहिं हुन् म अहिले सम्झन्न) पैसाको आवश्यकता पर्‍यो र आमा छेउ आएर कराइन्। पैसा मेरी बजैसँग रहेनछ र मेरी आमासँग मागिन् बजैले। मेरी आमा पनि किन दिन्थिन् चेलीबेटीलाई दिएका रकम फिर्दैन भनेर जानेपछि। छोरीले सार्‍है करकर गरेपछि बुढिया पल्लो गाउँमा गएर कसैकहाँबाट सापटी या रिण के लिएर आउदा दुई रुपयाका मुद्रा बाटैमा खसालिछन्। आमासँगै बन गएको मैले फर्कदा बाटोमा सो रुपयाँ पाएँ र पाएको कुरा बाटोभरि सुनाउदै आएँ। आमाले मैले पाएको पैसा फिर्ता दिनलाग्दा मेरी बजैले भनिन् ― “मैले त रूपयाँ हराएँ भनेर माया मारेकै थिएँ। मेरै नातिले भेटेछ। त्यसैलाई लुगा हालिदे।” 

मेरी बजैले कहीँबाट रिण लिएको र मैले दुई रूपयाँ पाएको कुरा कुनै गोप्य रहेन। एक कान दुई कान गर्दै छोराहरूकहाँ पनि पुग्यो  र गाउँभरि फैलियो। कतिले भने "सत्को धन बुढीको, कहाँ हराउथ्यो त्यसै। नातिले नै भेटेछ।"  

छोरी रूपयाँ लिएर गइन् र यो कथा यहीं नै टुंगिनु पर्ने थियो तर दुर्भाग्यवस यतिमै टुंगिएन।
मेरा जेठा बडाबाको मिजास खरो थियो। त्यसमा पनि सम्पत्तीवालको तीन छोरी मनिको जेठो छोरो उदण्ड हुनु स्वाभाविक पनि थियो। तर त्यो उदण्डता परपिडक भने थिएन। जुवाजस्तो अम्मल समाएकाले छुट्टिएर अलग्गै बसेपछि त्यो अम्मलले सम्पत्ती घटाउन थालेको थियो र 'अब खेल्दिनँ' भनेर किरिया खाए पनि साथीभाइले जुवाको खाल नारेपछि उनी आफूलाई रोक्न सक्दैनथे। उनी सोझा मानिस थिए र कसैले भनेको कुरामा सजिलै विश्वास गर्थे र आवेशमा आउथे। आवेशमा आएर गरेका कतिपय कामले नकाम गरिसक्ने हुनाले पछि सो कामको पछुतो भए पनि पिडितले उनलाई माफी शायद नै दिन्थ्यो। जुवाडे, खरो मिजास, फुलेल र सोझा मेरा जेठा बडाबाले कसैलाई दुख दिऊँ भन्ने मनमा नराखे पनि यिनका यी दुर्गुणले उनका सामिप्यका सबैले दुख पाउँथे र दुख बेहोर्थे। 

मेरा माहिला बडाबा जेठा बडाबाभन्दा फरक थिए। दाजुभाइमध्ये उनी पढेलेखेका मानिन्थे। हामी छोराहरूलाई तीनधारा पाकशालामा मात्रिकाप्रसाद कोइरालासँगै पढेको कुरा सुनाउथे तर उनी पढालेखा भए पनि उनको विचार समयानुसार फराकिलो कहिले पनि पाइनँ। उनीमा आफ्नो स्वार्थ बढी थियो, छुच्याइँ बढी थियो। दाजुभाइलाई अंश लुटेरखाने शत्रुमा दर्ता गर्थे। घरका आइमाई कसैसँग बोले पनि 'राँडी पोइला जान लागी' भन्थे। मैले थाहा पाएसम्म नैतिक आधारका पक्षमा उनी कहिले पनि बोलेनन् र नैतिकतामा बसेनन् पनि। 

मेरा साहिँला बडाबा बलिया थिए र हामीलाई भन्थे "म त गोठमा बसेको गोठालो पो त। दुध, दही, घिउ खाएको मान्छे। तिमीहरूको माहिलो बाबुजस्तो भुटेको आलु खाएर बसेको हुँ र?"
 
उनी अजङको छेलो हान्थे। कसैले भेट्न नसक्ने गरी दौडन सक्थे। सबैभन्दा छिटो डिल नाघ्न सक्थे तर उनी चार जनाका बीचमा विवाद गर्नु त के ? उभिएर आफ्नो कुरा राख्न सक्दैनथे। यसै पनि उनी कम बोल्ने हुन्। त्यसमा पनि उनले सभामा बोलेको मैले कहिले पनि देखिनँ। त्यसैले शब्दभण्डारको कमीले उनी कम बोल्ने हुनाले उनलाई उनीसँग नमिल्नेहरूले 'घोसे, कप्टी' आदिका नामले विभुषित गर्थे। प्रत्यक्ष कुरा गर्न धक मान्ने या डराउनेले परोक्षमा अर्काको चियोचर्चो गर्नु स्वभाविक भएको र मेरी आमा र उनकी आमा दुवै नजिकै भएकाले त्यहाँको विशेष खोजीनिति स्वभाववस हुने नै भयो। 
एक दिन अचानक मेर तीनै जना बडाबाहरू हाम्र घरको दलानमा आइपुगे। बाबुको श्राद्ध पनि अलग अलग गर्नु पर्ने छोराहरू कुनै सामुहिक स्वार्थ नभइ पक्कै आएनन् भन्ने बुझे पनि मेरी बजैले आफ्नो दलानमा आएका छोराहरूलाई मिठो वचनले सोधिन् ― “आज तीनै भाइ मिलेर आएछौ नि।
दुई भाइ चुपै लागे। जेठा बडाबाले गजक्क फुलेको स्वरमा भने ― “सर्वश्व हुन लागेपछि मिल्नै पर्‍यो नि।” 

के सर्वश्व हुन लायो र, नानी?"  अरू छोराहरूलाई माहिला, साहिँला, कान्छा भने पनि जेठा छोरालाई बजै नानी भन्ने गर्थिन्।  
 
जेठा बडाबाले गर्धन फुलाएर भने ― “त्यो शत्रुकहाँबाट कति पैसा ल्यायौ? के गर्न ल्यायौ? त्यसै जिउनी उडाउन कहाँ पाइन्छ?” 

बजैले बुझिन् त्यो तीनै जनाको सवाल थियो। साहिँलो छोरोले 'अलि पर घर भएको माहिलो छोरोलाई पनि साथ लिएर जेठोलाई उल्क्याउनुसम्म उल्क्याएछ' भन्ने बजैलाई प्रस्ट भयो तर बजै पनि नागिनी थिइन्। समयले उनको दाँत उखेलेको भए पनि फुंकार अझै बाँकी नै थियो। उनले पनि भनिहालिन् ― “मेरो सम्पत्तीको लेखाजोखा खोज्ने तँ को होस्?” 

विवाद चर्कदै गयो। दाजुको तर्फबाट भाइहरू पनि थपिए। 'बाबुको सम्पत्ती' भन्ने छोराहरू भए, 'मेरा लोग्ने र मैले कमाएको' भन्ने आमाको दाबी थियो। स्वरको झगडा र चर्काचर्की यति ठूलो भयो छिमेक र वरपरका मानिस केही परेमा सहायताका निम्ति घरबाहिरको चौतारोमा जम्मा भए पनि मेरी बजैको डरले कोही कम्पाउन्डभित्र छिर्ने आँट भने गरेनन्। मेरी आमा घरभित्र एउटा कुनामा बसेर सबै कुरा सुनिरहेकी थिइन् र जेठी बडीआमा घरमाथिको बगैंचामा ओझेल परेर उभिएकी थिइन्। हामी केटाकेटी घरको होहल्ला केही रमाएर र केही डराएर बाहिर आँगनमा झुम्मिएका थियौं।  

छोरा मासेर रिन गरीगरी तेरा नाति पोस्ने बुढी।” ― एउटा छोराले भने। मलाई लाग्छ त्यो भन्ने जेठा छोरा नै हुनु पर्छ किनकि बजैका अगाडि 'तँ तँ, म म' गर्न सक्ने कि जेठा छोरा नै थिए कि साहिँली बुहारी। 

त्यसो गर्न त कहाँ पाइन्छ? जिउनी सबैलाई बराबरी भाग लगाउनु पर्छ।” ― माहिला छोराले हाँस्दै आगोमा घिउ थपे।  

िक्, बुढी, त्यो बाकस। यहीं फुटाएर भाग लाउछु।” ― मेरा जेठा बडाबा बम्किए।  

पाउला  बजिया हो  भाग ! म जिउँदी हुन्जेल फुटेको कौडी पाउदैनौ ” ― बजै झन् जोडले बम्किइन्। आमा न हुन् दप्थिन् किन छोराहरूसँग उनी।   

िक्छु र फोर्छु।” 

मेरा जेठा बडाबा पसे घरभित्र। बजै पनि सँगै छिरिन् भित्र। आमाछोराको झगडामा कहीं आफ्नो बाकस नफुटोस् भनेर मेरी आमा पनि दौडदै गएर आफ्नो कोठामा ताला मारिन्। 

आमा छोरा बाझ्दै दुई तलामाथि आमाका कोठामा पुगे र अरू छोराहरू पनि उनकै पछिपछि लागे। कोठामा पसेर छोराले आमाको सुनचाँदी, कागजपत्र र नगद पैसा राख्ने गरेको सानो बक्सा उठाए। आमाले म्टिएर त्यसलाई खोस्न थालिन्। आमाले बाकस लिन नदिएकाले हात छुटाउन आमालाई धक्का दिए। बुढी आमालाई जवान छोरोले धक्का दिदा बुढिया चार हात पर पुगेर भित्तामा ठक्कर खाइन्। ठक्करको चोटलेभन्दा छोराको हातहालाइले चोट परेकी आमा एकै छिन स्तब्ध भए पनि बाकस बोकेर बाहिर निस्कन लागेका छोरालाई ढोकाको आग्लो झकेर नलीखुट्टा बजाइन् र छोरा थचक्कै बसे।  

नलीखुट्टाबाट रगत आइरहेको थियो। त्यो देखेर छोराले भने ― “छोरो मार्न खोजेकी होस्, बुढी?”
मार्छु पनि, त्यो बाकस लिएर निस्की मात्रै त।” ― आमा बघिनी झैं गर्जिन्। 

ढोकाबाहिर उभिएका माहिला, साहिँलाले आमाको क्रोध र दुखको सीमा पार भएको र त्यो क्रोधमा उनी कसैको पनि अहित गर्न सक्छिन् भन्ने देखे र दाजुलाई समाएर तल ओराले। 

बजै तल ओर्लिनन् र छोराहरू त्यही बसिरहने कुरा पनि भएन। चौतारामा बसेको हुल पनि छरपस्ट भयो। 

सम्पत्तीको लोभ हुनु स्वभाविक हो तर बजैको सम्पत्तीको लेखाजोखा सबै छोराहरूसँग थियो। आमदानीको स्रोत जमिन बुढियाले छोराहरूको स्वीकृतिबिना कन्चो बेचबिखन गर्न सक्दिनथिन्। बजैका भागका सुनचाँदीसमेत लिखतमा परिसकेकाले उनी त्यसको प्रयोग त सक्थिन् तर बेचबिखन गर्न वा कसैलाई दिन सक्दिनथिन्। जिन्दगीभर कन्जुस्याइँ गरेर अनावश्यक एक पैसा पनि खर्च गर्न नसक्ने बुढियाले त्यो बुढेसकालमा के पो खर्च गर्न सक्थिन् र? त्यसमा पनि बथान छोरी र उनीहरूका आउने सन्तानलाई लुगाफाटो, कोसेलीपात त्यसैबाट दिनु पर्थ्यो, दानदक्षिणा पनि त्यसैबाट चल्नु पर्थ्यो र पाउनापाछा पनि त्यसैबाट पाल्नु पर्थ्यो। बुढियासँग पहिलेको सम्पत्तीको दशांश पनि थिएन तर आशे, गाँसे र पाहुनापाछाको कमी हुदैनथ्यो। यस्त जान्दाजन्दै पनि छोराहरूले आमासँग किन त्यस्तो व्यवहार गरे त? के बुढियाले रिण गरीगरी टुहुरा नातिहरूलाई खुवाउदै छन् भन्ने उनीहरूको मनमा थियो त? कि यो आवेगमा भनिएको कुरा मात्र थियो

मलाई अहिले लाग्छ सधै आमाको शाशनमा बसेका छोराहरूले आफ्नो लघुताभाषलाई लुकाउन र 'यो सम्पत्तीको मालिक त हामी छोरा पो हौं त' भन्ने देखाउन एक्लै सामु पर्न सामर्थ्य नभएकाले सामुहिक रूपमा आमामाथि खनिएका थिए तर त्यो प्रयास पनि सफल हुन सकेन। छोराहरूले अप्रत्यक्ष रूपमा त्यो नकामको निम्ति क्षमा याचना गरेपछि बुढियाले त्यो कुरा त दोहोर्‍याइनन्  तर समाजको तत्कालिन कानुन र प्रावधानले बुढियाले आफ्नो पराजय देखे पनि उनीहरूको त्यो व्यवहारलाई बुढियाले कहिले पनि माफी दिइनन्। त्यो कटुता मृत्युसम्म पनि उनको मुखबाट निस्किइ नै रह्यो र छोराहरू सधैं नै आमाको अगाडि लघुताभाषले पिडित नै भइरहे। छोराहरूको त्यो आक्रमणले मेरी बजैले आफ्ना दिन बितेको अनुभव गरिन् र शिकार समाउन नसक्ने सिंहले आफ्नो मृत्यु कुरे झैं मृत्यु कुर्दै लाटोकोसेरो कराउनु, गिद्ध घुम्नु, गाईले हान्नु, कुकुरले लखेट्नु आदि जुनसुकै घटनामा पनि मृत्युको सन्देश देख्न थालिन्। 

मेरी बजैलाई मेरा भाइ मन पर्दैनथ्यो र उनले उसलाई एकपल्ट पनि काँखमा लिएको मैले देखिनँ। उनको छोरो अर्थात् हाम्रा बाबलाई मेरै भाइले खाएको हो भन्ने पूर्वाग्रहपिडा थियो उनलाई र उसलाई 'बाबुटोकुवा' भन्ने गर्थिन्। मेरी आमाले पनि भरिसक्के उनकोसामु राख्दिनथिन् र मेरो भाइको सेवा मेरी आमा र मेरी दिदीले गर्थे। मेरी दिदी नै पनि कुन ठुली थिई र? मभन्दा तीन वर्ष मात्रै जेठी हो। तैपनि आठ वर्षकी छोरी विवाह गरेर अर्काका घरमा पठाइ दिने जमानामा ८।९ वर्षकी छोरी घरव्यवहार धान्न सक्ने ठुली ठानिन्थ्यो र उसलाई भाइबहिनीको पुरै जिम्मेवारी दिइन्थ्यो। एकै घरमा भएका हामी मध्ये दिदी र भाइ आमासँग सुत्थे भने म बजैसँग। बजैको मिठो जुठोपुरो म खान पाउथें र दिदीभाइको झगडा परे बजै सधैं मेरै पक्ष लिन्थिन्।  

मेरा पाठशालामा म मेधावी छात्र थिएँ। आठ वर्ष पनि नपुग्दै वीससम्मको दुनोट, परार्धसम्मको गिन्ती, जोड, घटाउ, गुणा, भागाका विधि जानिसकेको र दुर्गाकवच, सप्तशति चण्डी कण्ठस्थ पारेको थिए। त्यो देखेर मेरी बजै आफ्नो प्रयास सफल भएको ठानेर मेरी आमालाई मेरो भाइ देखाउदै भन्थिन् ― “यो मेरो नातिजस्तो तेरो छोरो हुदैन।” 

मेरी बजै देख्दा डाल परेकी मोटी थिइन् स्वस्थजस्तै तर पनि बेलाबखत ओखतीमुलो भने गरि नै रहन्थिन्। कहिले बाथ भयो भनेर कक्र्याककुक्रुक पर्थिन्, कहिले गानो गयो भनेर जराजुरी कुट्न लगाएर त्यसको झोल खान्थिन् त कहिले पिसाब पोल्यो भनेर घोडताप्रेको रस पिउथिन्। लसुन, प्याज खाए बाहुनको जातै जाने भए पनि मेरै बजै बाथ निको हुन्छ भनेर नोकरचाकर समेत सबै सुतिसकेपछि मेरी आमालाई घिउमा लसुन तार्न लगाएर खान्थिन् र मलाई पनि त्यो बेला चाखेको लसुनको स्वाद अझै मिठो लाग्छ।  

मेरी बजैलाई पिसाब खलास नहुने रोगले समायो र क्रमश थला पर्दै गइन्। छोराहरूका निम्ति आमा आवश्यक थिइनन्। त्यसैले उपचारपट्टि उनीहरूले वास्ता राखेनन्। सासू आवश्यक हुने मेरी आमा उनको उपचारको प्रवन्ध गर्न सक्दिनथिन्। शरिर सुन्नियो। अन्ततः कसैमार्फत बजै विरामी भएको कुरा उनका डिठ्ठ जुवाइँकहाँ पुर्‍याइयो र उनी केही औषधी लिएर आए र उपचार थाले तर समय घर्कदै थियो।  

विरामी कुरुवा बस्ने चलन सबै गाउँको हो। जुवाइँ सासुकुर्न आएभन्दा पहिले मेर बडाबाहरूको ध्यान त्यतापट्टि गएन होला या मेरी बजैले निषेध गरिन् होला। बुहारीहरूको त झन् त्यहाँ जाने आँट पनि भएन होला। त्यसैले मेरी आमाले रातभर नसुतेर सासूको सेवा गर्नु पर्‍यो। मेरी आमाले पनि ठुलो दयावान भएर त्यो सेवा गरेको भने होइन। उनीलाई त सासू बचाउनु थियो र सासू बाँचिरहे उनी आफू सुरक्षित हुन सक्थिन्। हो, ४।५ वर्ष एउटै घरमा एउटै भाँडोबाट खाएर एकअर्काका सहयोगमा बसेका दुई विधवा सासूबुहारीका बीचमा स्नेह त अवश्य नै थियो र त्यही स्नेहले पनि गर्न लगाउथ्यो सेवा।  

जुवाइँ आएपछि छोराहरू पनि कुरुवा बस्न वाध्य भए र आमाले पनि निषेध गर्न सकिनन् तैपनि खाना खाएर राति सुत्न आउने छोराहरूलाई परै ओछ्यान लगाउन लगाउथिन्। छोराहरूको उपस्थिति बजैलाई मन पर्दैनथ्यो  र भुत्भुताउथिन् ― “तिघ्रे मोराहरू रातभरि 'घ्वाँर घ्वार' गरेर सुत्न आउछन्। ओछ्यान लाउदा र उठाउदैको हैरानी।” 

बजै गल्दै गइन्। छोरी, नातिनातिनी, नातागोदा थपिदै गए। पाहुनापाछालाई खुवाउनु, सुताउनु, सासूको हेरचाह गर्नु सबै मेरी आमाको जिम्मा थियो र मेरी आमा बल्दो बैंसमा नभएकी भए उनी पनि ढल्ने थिइन्।  

मेरी बजै अब पुरै सुन्निइन् र छाला फुटेर पानी बग्न थाल्यो उनको शरिरबाट। अब उनको धेरै दिन छैन भनेर मृत्यु अगाडिका दान संस्कारहरू सबै गरिदिए। मृत्यु नजिकै आइसकेको मेरी बजैले पनि बुझिन् र उनलाई त्यो कुरा स्वीकार गर्न गाहारो पनि भएन तर छोराहरूले 'अहिले कस्तो छ, आमा?' भनेर सोद्धा 'बुढी कहिले मर्छे र बाकस फोरुँला भन्ने मोराहरू अहिले स्वाँग पार्छन्' भनेर उनीहरूको अनुपस्थितिमा भनेकीले उनले उनीहरूलाई माफी नदिएको कुरा प्रस्ट हुन्थ्यो भने साँहिली बुहारीको हकमा त 'म नमरी तेरी स्वास्नीलाई यो घरभित्र नहुल्' भनेर साँहिला छोरालाई त आदेश नै दिइन्  र साँहिली बडीआमा सासूको मृत्युपछि मात्रै मूलघर भित्र पसिन्। मृत्युको डरले पनि मेरी बजैको अभिमानलाई हटाउन सकेन।  

बजैको मृत्यु नजिकै आइपुगिसक्यो भन्ने जानेपछि उनका शत्रु, मित्र सबै नै उनको अन्तिम विदाइको निम्ति आँगनमा जम्मा हुन आइपुगे। शत्रुले पनि सन्मान गरिएकी मेरी बजै सात दिनको लगातारको साउने झरीपछि झलमल्ल घाम लागेको बिहान केही घण्टा रोग नै नभएजस्तो गरी चङ्गा भएपछि ढलिन् र आँखा खोलिनन्। सबै आइमाई हाहाकार गर्दै रुन थाले र त्यही रुवाइका बीचमा मेरी आमाले मलाई भनिन् ― “बाबु! आमाले हामीहरूलाई छोडेर जानु भयो।” 

आठ वर्ष पुग्नै लागेको मैले त्यो लाशमाथिको हाहाकार र त्यो हुलहाललाई नै मृत्युको रूप ठानें र बिना लक्ष घुम्दै मेरा बडाबाहरूको नजिकै पुगें। उनीहरू मसिनो स्वरले छलफल गर्दै थिए र छलफल टुंगिएपछि उनीहरूमध्ये एक जनाले एक नाताले काकाबाजे र अर्को नाताले सानाबा पर्ने गाउँका ठुला मुखिया श्रीप्रसादलाई लक्ष गर्दै भने ― “बा! आमाको कोठा ताल्चा लगाएर साँचो आफूसँग राख्नोस्।
त्यो भनाइको अर्थ मैले त्यो बेला बुझिनँ।