Tuesday, September 18, 2012

कथा - १


महानगरको एक रात
 —— राम दाहाल
रात मध्यतिर छुन लागेको थियो र महानगर भनिने सहरहरू सुनसान र निस्प्राण हुनु पर्ने समय अझ भई नसके पनि काठमाडौं सहर भर्खर प्रहरी छापा परेको रण्डीकोठी जस्तै निस्तेज र चिसो थियो। सडकको बत्तीको प्रकाशमा देखिने धमिलो हुस्सुले त्यो भयावहता र चिसोपनमा अझै मात्रा थपिदिएको थियो। टोलका भुस्याहा कुकुर छिडी, कोप्चो अन्तर कन्तरमा लुक्न पुगिसके पनि कहींकहींबाट अल्छि पाराको भुक्क, भुक्क भने सुनिंदै थियो। हावा थिएन, त्यसैले तापको चिसोपन त कम नै थियो तापनि वातावरणको गर्‍हुँगोपन भने सडकमै ओछ्याइए जस्तो लाग्थ्यो। यही आर्द्र र भारी सडकको छातीमा आङ्गफ्ना जुत्ताको डाम छोड्दै माधवी छिटो चालले पाइला चालिरहेकी थिई। महानगर भन्दा पनि बत्ती बालेर सडक ओछ्याइएको गाउँ जस्तो निर्जीव र निस्तेज काठमाडौं जो उसको जन्म थलो थियो, उसको कामकाजको थलो थियो र यसलाई जति नै मन नपराए पनि छोडेर जान सक्दिनथी ऊ। 

Monday, September 17, 2012

टिप्पणी ‍- ११


देशाटन

उहिले राजा, महाराजाहरू आफ्ना प्रजाको राय बुझ्न देशाटनमा निस्कन्थे रे । श्री ३ जुद्ध शमशेर राणा पनि निस्कन्थे रे त्यसरी नै । जहाज थिएन, हेलोकोप्टर थिएन । नेपालखाल्डो बाहिर जाने गाडीको बाटो पनि थिएन । त्यसैले सिंहदरबारबाट निस्केर नयाँसडक, जुद्धसडक, इन्द्रचोक, असन, घण्टाघर, भद्रकाली हुदै जनताको पिरमर्का बुझेर फेरि सिंहदरबार फर्कन्थे रे । बाटोमा कोही ‘अन्याय भयो, सरकार ! भन्दै तेर्सिन आए त्यही थलोमा इन्साफ पनि दिन्थे रे । राजा महेन्द्र त त्योभन्दा अझ अगाडि बढ्दै पल्टन र लावालस्कर सहित पुँडे घोडामा चडेर पूर्व-पश्चिम गर्ने गर्थे । उनको न्यायको शैली पनि जुद्धशमशेरकोभन्दा त्यति फरक थिएन । मुसुमुसु हाँस्दै राजा विरेन्द्र हिडे बाबुकै बाटोमा र गम्भीर भएर ‘बुझेँ, बुझेँ’ भन्दै ज्ञानेन्द्रले पनि समाए त्यही बाटो । जुन गरिब र निमुखाले राजाहरूको दर्शन पाए, तिनीहरूको खुशियाली आजका हाम्रा प्रधानमन्त्रीको दर्शनभेट पाउने मानसिं सार्कीकोभन्दा कम थिएन । लाखौँलाख रुपया हावामा उडाए राजाहरूले उपलब्धिविहीन आफ्ना सवारीहरूमा र कसैले प्रश्न पनि उठाएन किनकि उनीहरू महासामन्त थिए र महासामन्तहरू शाशनमा आफ्नो पकड कायम राख्न आफ्ना आसेपासेलाई राज्यको सम्पत्ती र आफ्नो भरोसा बाँड्दै हिड्नु सामन्त परम्परा हो । बाबुराम महासामन्त नभएर के भयो ? सामन्तका सन्तान त हुन् उनी । कान्छी मुखेनीका छोरा, छोटे सामन्त । । बाबुरामले राजा महाराजाहरूले जस्तै जनताको राय बुझ्न घरदैलोमा जानु पर्ने आवश्यकता थिएन तर उनी गए राजा महाराजाको जस्तै सामन्तीशोख पुरा गर्न र जुद्धशमशेरले जस्तै थलाका थलैमा न्याय पनि दिए होलान्, राजा विरेन्द्रले जस्तै मुसुमुसु हाँसे पनि होलान् र राजा ज्ञानेन्द्रले जस्तै ‘बुझेँ, बुझेँ’ पनि भने होलान् । मानसिं सार्कीजस्ताले यो भ्रमणले के पाए बाबुरामसँगको दर्शनभेट बाहेक ? कसैले भनेको छैन तर त्यो भ्रमणमा लागेको १५।२० लाख रुपयाँ २।४ वटा मानसिंका परिवारको जीवन सुधारिएर यताबाट उता हुन सक्थ्यो तर यो कुरा बुझुन् कसरी बाबुरामले ? सामन्तहरू जनतालाई आफ्नो सत्ताको गोटीभन्दा ठुलो ठान्दैनन् । नेपाली माओवादी नेतृत्व पनि त सामन्तवादी समूहको उपज त हो ।

Tuesday, September 11, 2012

टिप्पणी - १०


मानविय समस्या

एउटी छोरी नानीले गुनासो गरिन् – ६।६ वर्ष विदेशमा बसेर कमाउदा पनि किन मेरो घरव्यवहार मिल्दैन ? किन घर फर्कन्छु भन्दा पनि घर फर्कन सक्दिनँ ?प्रश्न उनको मात्र होइन । यसले त एउटा सर्वव्यापी प्रश्न जन्माई दिन्छ – किन एउटा बाटो समाएर हिडेपछि मानिस फेरि त्यही बाटो फर्केर शुरू ठाउँमा आउन गाहारो हुन्छ ?

उनी आफ्नो मोजमस्तीका निम्ति अल्लारे बैँसमा विदेश गएकी होइनन् । उनी त एउटा परिवार भएकी छोराछोरीकी आमा परिवारको सुविधा बढाउने चाहना बोकेर केही आमदानीको निम्ति परदेशिएकी हुन् । यस्तै आकांक्षा बोकेर पृथ्वीका असंख्य नरनारीहरू आफ्नो घर छोडेर, आफ्नो देश छोडेर हिडी रहेका हुन्छन् । कति घर परिवार सप्रन्छन्, कति भताभुंग हुन्छन् तैपनि मानिस आफ्नो प्रयाश छोड्दैन । प्रत्येक सफलता या असफलता पछि ऊ फेरि प्रयाशरत हुन्छ ।

भनिन्छ – मानिस प्राणी हो । हो, मानिस प्राणी हो तर ऊ विशेष प्राणी हो । अरू प्राणी प्राणीजन्य आवश्यकता पूर्ति हुने बित्तिकै सन्तुष्ट भएर बस्छन् , मानिस बस्दैन । ऊ आफ्नो सुख सुविधा वृद्धि गर्न चाहन्छ, प्रगति गर्न खोज्छ । ऊ आफ्नो सम्पन्नता बढाउन चाहन्छ, संवृद्धिको प्रयाश गर्छ । उसको संवृद्धिको चाहना कहिले पनि सन्तुष्ट नहुने अजिङ्गर जस्तै हुन्छ । ती छोरीनानीको सम्पन्नता गत ६ वर्षमा अवश्य नै धेरै वृद्धि भयो होला तर उनको सम्पन्नता वृद्धिको आकांक्षा पनि अवश्य नै बढ्दै गई रहेको हुनु पर्छ । त्यो स्वाभाविक पनि हो किनकि सम्पन्नतावृद्धि या संवृद्धिको चाहना नै मानिसको विकासको कारण हो । आदिम मानिस र पशुको युग र आजको दिनको अन्तराललाई हेर्ने हो भने पशुसमानको आदिम मानिस र आजको मानिसमा विशाल अन्तर आएको छ । प्रकृतिले गरी दिएको परिवर्तनलाई नगन्ने हो भने पशु जहीकोतहीँ छ, मानिस विशाल फड्काहरू मारेर पृथ्वीको अधिपति भएर बसेको छ ।

संवृद्धिको चाहनाले व्यक्ति हिजोभन्दा आज र आजभन्दा भोलि बढी सम्पन्न हुदै जान्छ । जो गर्न चाहदैन ऊ पशुजन्य आवश्यकता पूर्ति हुने बित्तिकै सन्तोष गरेर बस्छ । न उसको सम्पन्नतामा विकास आउछ, न उसले बढी सम्पन्नताको निम्ति अरूसँग प्रतिद्वन्दिता नै गर्नु पर्छ । साम्यवाद, जो छ या जो प्राप्त हुन्छ त्यसैमा सन्तोष गर्न सिकाउने, एउटा वादको नाम हो । मानिसको मानवजन्य आवश्यकता सीमारहित हुने हुनाले ‘प्रत्येकलाई आवश्यकता अनुसार’ ले पशुजन्य आवश्यतालाई मात्र ओगट्छ र मानिसलाई उसको मानवजन्य आवश्यकता पूर्ति गर्ने प्रयाश गर्न स्वतन्त्र छोडी दिएन भने उसको प्रयाश पशुजन्य आवश्यकता पूर्तिमा सीमित हुन्छ । पद, मान, पदवी, सत्ता, शक्ति या सम्पत्ती प्राप्त हुदैन भने मानिसका संवृद्धिका मानवजन्य आकांक्षाहरू स्वत हराउछन् र मानिस पशुजन्य आवश्यकतापूर्तिमा सीमित हुन्छ ।

केही पनि नचाहनु एकातिर सन्तुष्टि हो भने अर्कोतिर विकासको अन्त्य पनि हो । आफूसँग भएको सामग्रीबाट अरू विकास गरिएन भने असन्तुष्टिको कुण्ठा पनि जन्मन्छ । फेरि लामो समयसम्म परिवारबाट छुटेपछि परिवारप्रतिको लगाव पनि धमिलो हुदै जान्छ र टाडैबाट अभिभावकिय जिम्मेवारी पुरा गर्दै मानिसमा स्वतन्त्र बस्न चाहने इच्छा प्रवल हुन थाल्छ । त्यसैले ती छोरीनानीमा घरपरिवारको माया छ भने जो आफूसँग छ त्यसैलाई समेटेर आफ्नै देशमा नया सिर्जनापट्टि लागे उत्तम हुने म ठान्छु । सबै घरव्यवहार मिलाएर जान्छु भन्न थालियो भने त्यो दिन नआउन सक्छ किनकि घरव्यवहारका समस्या कहिले पनि नटुंगिने सर्वकालिन हुन् ।

Sunday, September 09, 2012

कविता


दिन शुभकामनाको

कति नमिल्दो छ यो हाम्रो वर्ष ?
सिङ्गै चौथाइ दिन फोसामा पाउछौँ
न काट्न मिल्छ त्यसलाई,
न त्यसलाई भाग नै लगाउछौँ  
तैपनि बाठा छौँ हामी -
आफूलाई पायक पर्‍यो कि
कहिले ऋतु पो त भन्दै छप्क्याउछौँ,
कहिले महिना भन्दै टुक्र्याउछौँ ।
अल्छ्याइँ गरी धर्तीले घुम्न त्यो सूर्यको कक्षमा
संगम नहुने भएपछि त्यो प्रेमीसँग,
आफै फन्को मार्न पनि ढिलाई गरी;
आशेराँड झैँ हेरेर मात्र बाँच्नु पर्दा
आफैलाई अलमस्त बनाई ।
तैपनि हामी बाठा छौँ
शीतका दिन हामी घाममा सुत्न भ्याउछौँ
वसन्तमा बन्द र हडतालमा रमाउछौँ
जात्राका ऋतु र यात्राका मस्ती
रमाइलोसँग भोग गर्न पाउछौँ
र नकच्चरो पोइले कुरो लुकाए जस्तै
वर्षेनी एक चौथाइ दिन लुकाउन पनि भ्याउछौँ ।
कति नमिल्दो छ यो हाम्रो वर्ष ?
वर्षै पिच्छे हामी यसलाई पाउछौँ
आफ्नो कथा सधैँ झैँ दोहोर्‍याउछौँ
आफ्ना व्यथा फेरि पनि लुकाउछौँ
आफ्ना दिन शुभ नभए पनि
सबैलाई शुभकामना दिन भ्याउछौँ ।
कति नमिल्दो छ यो हाम्रो वर्ष ? कति नमिल्दो छ ?