Wednesday, April 10, 2013

कविता




बन्दको बन्दी

बेलुका नानीलाई माम खान दिने कबोलमा
काम खोज्न निस्किएको ऊ
बच्चालाई चारो टिप्न उडेकी चरी जालमा परे झैँ
बन्दको जालमा अल्झिएको ऊ
उर्लदो खोलोले बगाउदो छोरो हेरेर
किनारामा उभिएको निरीह बाबु झँ
आधपेटले सुनी रहेछ 'जिन्दावाद, मुर्दावाद' ऊ
पछि स्वर्ग पुर्‍याइने कबोलमा
अहिले नर्कको जीवन बाँची रहेको छ ऊ,
अहिले बन्दले नै बन्दी भएर
आफ्नो थाप्लोमा सबै थापी रहेको छ ऊ ।

नाम्लो उसको खोसियो बन्द बिथोलेको आरोपमा
बाटो उसको थुनियो बहिष्कारको नारामा
एउटा गरीखाने साइकल थियो त्यो त्यहीँ भाँचियो
एउटै मात्र सग्लो लुगा त्यो पनि च्यातियो
"तिम्रो निम्ति यो बन्द" कसैले लाठो उठाई नारा लायो
"तिम्रो अधिकारको  निम्ति" अर्कोले भाटो ठटाई बल पुर्‍यायो
उसको मनमा त केवल भोको नानीको छायाँ आयो ।

"सफल भयो बन्द" भन्दै भाटा र लाठाको जुलुस गयो
लस्त र सुस्त ऊ घर फर्की आयो
बाबु आएको देखेर उफ्रदै परैबाट नानी करायो -
"माम खाने आज हामी, माम खाने"
र नाच्यो आमाको वरिपरि मख्ख परेर
संसारकै खुशी बोकेर
पाइने चामलको भात सम्झेर
र बाबुको छाती छियाछिया गरायो ।

राम दाहाल
जोरपाटी, काठमाडौँ
२०६९ चैत्र २८

No comments: