Monday, October 28, 2013

पुरुषदृष्टि



नारीमाथि पुरुषको पहिलो दृष्टि

एक दिन एउटी युवा महिला मित्रले सोधिन् - "किन लोग्नेमानिसहरूले आइमाईका फाँचा(यो उनैले प्रयोग गरेको शब्द भएकोले मैले यो प्रयोगको धृष्टता गरेरको क्षमायाचना गर्छु) मा नै पहिला आँखा लगाउने ?"

"त्यसो त होइन होला । सबैतिर हेर्दै जादा त्यहाँ पनि दृष्टि परेको हुन सक्छ ।" - मैले उनको भनाइलाई भर्सक सहज बनाउन खोज्दै भनेँ ।

"होइन । यो भनाइ मेरो मात्रै होइन । मैले भेटेर सोधेका सबै दिदीबहिनीले पनि यस्तै अनुभव गरेको कुरा सुनाएका छन् । लोग्नेमानिसको हेराइ नै यौनदृष्टिको हेराइ हुन्छ ।" - उनले सिङ्गै महिला समूहको नै प्रतिनिधिपात्र भएर घोषणा गरी दिइन् । कुरा त्यतिमै सिद्धिए पनि मेरो मनमा आयो - के साँचै हो त त्यो कुरा ? के यो कुरा यौनसँग सम्बन्धित छ त ? मैले निर्क्योलको निम्ति धेरै गतिविधीलाई नियालेर हेरेँ ।

मानिस प्राणी हो । अरू प्राणीको आवश्यकता र उसको भौतिक आवश्यकता झण्डैझण्डै समान छन् । यौन पनि अरूको प्राणीको आवश्यकता जस्तै आवश्यकता हो उसको । त्यसैले प्राणीमा भालेको पोथीप्रतिको आकर्षण जस्तै नारीप्रतिको पुरुषको आकर्षण पनि स्वभाविक हो । भालेप्राणीमा यौनभोगको निम्ति निर्दिष्ट समय हुदैन। पोथीको आवश्यकता र सहमतीमा वयस्क भाले जहिले पनि सक्षम हुन्छ यौनसमागमको निम्ति । पोथीको हकमा यो कुरा लागु हुदैन । ऊ भालेलाई आकर्षण गराउन सक्छे तर आफ्नै ऋतुकालमा मात्रै । प्रकृतिले पोथीप्राणीलाई चाल, गन्ध, स्पर्श आदिले भालेलाई आकर्षण गर्ने क्षमता दिएको छ र भाले पोथीको ऋतुकालमा मात्रै पोथीप्रति आकर्षित हुनछ र पोथीलाई खोज्दै जान्छ । यो प्रकृतिदत्त स्वभाव हो प्राणीको ।

मानिस पनि प्राणी हो र प्राणी पछि ऊ मानव पनि हो । हावा, पानी, खानाको आवश्यकता उसको इच्छामा नियन्त्रित नभए पनि यौन आवश्यकता उसको इच्छामा निर्भर गर्छ र यो इच्छा नारीको ऋतुकालमा मात्र आउने होइन । यौनेच्छा स्त्री-पुरुष दुवैको मस्तिष्कद्वारा नियन्त्रित हुन्छ । त्यसैले पुरुष नारीप्रति रंग, गन्ध या स्पर्शले आकर्षित हुने भन्दा उसको उमेर, शरीर, बानीव्यवहारप्रति आकर्षित हुन्छ र नियालेर हेर्छ । आफ्नो समाजद्वारा अस्पर्शिय बनाएकाहरू बाहेकका नारीहरू हेर्छ पुरुष । पहिले त ऊ अगाडिको व्यक्ति नारी हो वा होइन त्यो हेर्छ जो पहिलो दृष्टीमा नै स्पष्ट हुन्छ । दोश्रो, त्यो नारी भौतिक रूपमा वयस्क र उपयुक्त छ कि छैन भनेर निर्क्योल गर्न चाहन्छ र त्यो निर्क्योल गर्ने नारीको स्तन नै हो । फ्रायडले भने जस्तै यो कुरा अनजानमा नै सबै भई दिन्छ । उसको सकृय मनले त्यसपट्टि नसोचेको भए पनि उसको सुषुप्त मनले त्यो कार्य गरी नै हाल्छ र पुरुषले थाहै नपाई उसको दृष्टि नारी स्तनमा पुग्छ । पुरुष नारीको पछाडि छ भने उसको सुषुप्त मस्तिष्कले पहिले नारीको पृष्ठभागको तल्लो खण्ड नियालेर हेर्छ । त्यो दृष्टि पनि नारी वयस्क वा उपयुक्त हो वा होइन भन्ने निर्क्योल गर्ने दृष्टि नै हो । यी हेराइ यौनेच्छाका लागि मात्रै भन्ने छैन । आफूसामुकी नारी कुन उमेरकी हो र ऊसँग कस्तो व्यवहार गरिनु पर्ने हो त्यो त्यही हेराइले निर्णय गर्छ । नारीको झुकाव योनेच्छाले आफूतिर भएको थाहा पायो भने उसको सकृय मस्तिष्कले यौनेच्छा पनि प्रष्ट्याउन थाल्छ । यो पुरुषको प्रकृतिदत्त स्वभाव हो । त्यसैले पुरुषको हेराइमा नारीले हेय ठान्नु पर्ने कारण छैन । हो, विकृतिका रूपहरू भने अरू पनि हुन सक्छन् ।

Wednesday, October 23, 2013

जातिय विभेद



जातिय विभेद
मैले आङ्ल शिक्षापद्धति ६४ वर्ष पहिले शुरू गरे पनि मेरो गाउँमा नियमित विद्यालय स्थापना भएर पढ्न थालेको ६२ वर्ष भए छ । हाम्रो विद्यालय हालको संखुवासभाको एउटा दुर्गम गाउँमा ठुलाठालुले खोलेको विद्यालय थियो अन्यथा सो समयको हिसाबले महिनाको ६ तोला सुनको मुल्य बराबरको रकम दिएर कलकत्तादेखि बंगाली शिक्षकहरू ल्याउने आँट अरूले गर्न पनि सक्दैनथे । ठुलाठालुको विद्यालय भनिए पनि त्यहाँ पढ्न सबैलाई छुट थियो तर वर्गिय हिसाबले प्रत्येक महिना १० लाठे खेताला बराबरको ५ रूपयाँ तिरेर पढाउन सक्ने अभिवावक त्यो ठाउँ र त्यो समयको परिप्रेक्षमा सम्पन्न हुनै पर्थ्यो । त्यसैले मेरो विद्यालयमा शुरूमा सम्पन्न बाहुन, क्षेत्री, राई, लिम्बुहरूका सन्तान मात्र पढ्थे । शुरूमा त सबैको आकांक्षा, धारणा समान थिए तर जति कक्षा बढ्दै गयो विद्यार्थीहरूका चरित्र र लक्ष परिवर्तन हुदै गए ।  उमेर पुग्दै गएपछि राई, लिम्बुका सन्तान जात्रा, मेला, जाँडरक्सीसँग परिचित हुदै गए र त्यसमा रमाउन पट्टी लागे । उनीहरूको लक्ष एस.एल.सी. तिर भन्दा लाहुर जाने, या राजनीतीमा लाग्ने तिर जान लाग्यो भने छेत्रीहरू "लेख्न पढ्न जानी हालियो, पण्डित बन्नु छैन हामीलाई" भनेर खेतीपाती र कारोवार तिर लागे । अन्तत हाम्रो विद्यालयबाट एस.एल.सी. दिने केही वर्षसम्म बाहुन मात्रै भए । शिक्षामा राई लिम्बुको जस्तै स्थिति गुरुङ, मगर जस्ता आदिवासीको पनि थियो होला भन्ने म ठान्छु ।
२०१८ साल तिर चिनियाहरूले हेटौडामा सिमेण्ट कारखाना खोल्ने उद्देश्यले परिक्षण गरी रहेको आयोजनामा हामी केटाहरूको एक जमात काम गर्थ्यो त्यहाँ । त्यो तन्देरी जमातमा राणा, शाह र थापा थिए, पाँडे र पाण्डे थिए र अरू पनि थिए तर बाहुन भने म सिंगो एक्लो थिएँ । मेरा मित्रहरू थिए सबै नै र मेरा हितैषी पनि थिए तर उनीहरूको सामाजिक वृत्तमा म एउटा जंगलबाट आएको पाखे बाहुन थिएँ जो मेरो भाषा र दैनिक सँस्कारले उनीहरूलाई देखाउथ्यो र उनीहरू कहिले कहीँ मित्रवत मेरो खिस्सी पनि उडाउथे । ढुंगा उत्खननकको शिलशिलामा मकवानपुरको एउटा तामाङ गाउँमा पुगियो र खाना खाने बन्दोवस्तमा लागियो । गाउँका सबै भद्रभलाद्मीहरू पनि त्यहीँ आई पुगे । विभिन्न कुरा चल्दै जादा हाम्रो क्वार्टरमा काम गर्ने केटी ठट्टैमा मेरो नाममा साथीहरूले माग्दा तामाङहरूले भनेको थिए - "राजाहरूलाई त दिने हो । दिएकै पनि हो । बाहुनलाई त दिदैन ।" शाह राणा थापा पाँडे सबैले तामाङ केटीलाई नानीको रूपमा राख्ने चलन नै थियो राणाकालमा जो पछि कोही रानी, महारानीको दर्जामा पुग्थे र माइतीलाई पनि हेर्थे र कोही भने कति वर्षपछि नानीबाट निस्किएर पाएको धन माइतीकोमा पुर्‍याउथे । तामाङहरूमा चलन थियो त्यो बेला । तामाङ केटा भारी बोक्थे राणाकालमा र उपत्यकालाई चाहिने बाहिरी सामग्री तिनै तामाङ भरियाबाट पुरा हुन्थ्यो । शिक्षाप्रति उनीहरूको कुनै चासो थिएन ।
मैले भन्ने गरेका ४ बाहुनमध्ये उपाध्याय बाहुन पुरोत्याइँ र पण्डित्याइँ गर्ने हुनाले उनीहरू सामान्यत निरक्षर हुदैनथे । निरक्षण त बाहुन नै होइन भन्ने धारणा हुन्थ्यो बाहुन समाजमा । बाहुनीहरू भने साक्षर कमै हुन्थे । जैसी बाहुनहरूलाई साक्षर हुन आवश्यक नभए पनि बाहुन बन्नको निम्ति पनि वहुसंख्यक उनीहरू साक्षर बन्ने प्रयास गर्थे र हुन्थे । खत्री बाहुनहरू पनि धेरै विकट ठाउँमा नभए साक्षरतातिर प्रयास गर्थे । सबै भन्दा पिडित दलितबाहुनहरू थिए । उनीहरू तन्नम गरिब थिए, निरक्षर थिए र सबैबाट पिडित पनि थिए ।
म इन्जिनियर बनेर आएपछि मेरो एक जना इन्जिनियर मित्र 'काठमाडौमा बसे पसल पनि हेर्न भ्याइन्छ' भनेर जागीरमा घर बाहिर जान चाहेनन् । सहरमा बसेर बन्दव्यापार गर्ने नेवार समुदायले शिक्षा लिने लिने अवसर पनि पायो र सहरिया सुविधा पनि । त्यसैले नेवार समुदाय शिक्षा र साक्षरतामा बाहुन भन्दा अगाडि भयो ।
२००७ सालसम्म बाहुन शाशन व्यवस्थामा छदै थिएनन् भन्दा हुन्छ । गुरु पुरोहित थिए उपत्यकाका केही बाहुन । त्यति मात्रै हो । ०७ सालपछि शिक्षाको लहर आयो बाहुनहरूमा र आफू नखाएर भए पनि पहिले छोरा र पछि छोरी समेत पढाउन थाले । त्यो शिक्षाको महत्व बुझेनन् नेवार बाहेक अरू आदिवासी र जनजातिले र पछि परे । बाहुनमा केवल दलित बाहुनलाई उचाल्नु पर्ने आवश्यकता छ । संघियता पछि पनि न उनीहरूसँग राज्य हुने छ, न नेतृत्व । दलित नेताहरू जति नै उफ्रे पनि उनीहरू दलका नेताका पछौटे भन्दा ठुला भएका छैनन् र त्यो विभेद संघियतापछि अझ बढी बेहोर्नु पर्ने छ उनीहरूले ।

खस बाहुन


खस बाहुन

नेपाल मण्डलको नेपाल उपत्यकामा जयस्थिति मल्लले वर्ण विभाजन गरेका हुन भन्ने इतिहासकारको भनाइलाई मान्ने हो भने त्यो भन्दा पहिले उपत्यकाका राज्यमा जात विभाजन थिएन भन्नु पर्ने हुन्छ । अर्को शव्दमा भनिदा त्यो समयको राज्यभाषा नेवारी बोल्ने समुदायमा हिन्दु प्रवेशले जातिय मान्यता जयस्थिति मल्ल पछि मात्र पाएको हो र नेवार समुदायका गैर्‍हहिन्दुहरू गैह्रनेवार समुदाय बाट छिरेका हुन भन्न पनि सकिन्छ । यसरी एउटा भाषाभाषी अर्को भाषाभाषीमा समाहित हुने कुरा नौलो पनि होइन । तर मैले भन्न खोजेको कुरा भाषाका वारेमा होइन, समाजमा सँस्कार या कुसँस्कारको विकाश र त्यसको निराकरणका उपायमा हो ।

हिन्दु धर्ममा जात विभाजन आफै उव्जिएको होइन । यो त हिन्दुधर्मिय पद्धतिले सयौं र अझ हजारौं वर्ष लगाएर समाजमा स्थापित गरिदिएको सँस्कार र सँस्कृति हो । गलत हो वा ठीक ? आफ्ना आफ्ना पक्षकाले जे जस्तो तर्क पेश गरे पनि आजको विश्वमा शुद्र या दलितको परिभाषा दिएर एउटा समुहलाई मिल्काउनु नैतिक र मानविय दुवै हिसाबले अनैतिक र अमानविय हो । तर हजारौं वर्ष लगाएर समाजमा स्थापित भएको कुसँस्कार या कुरिति केही दिन, केही महिना या केही वर्षा नै बदलिन सक्दोरहेनछ भन्ने किरियापुत्रि आगनमा ल्याएर गिडदा पनि मानिसले किरिया गर्न नछाडेका र एकनिष्ठ बाहुनलाई गाई मारेर मासु कोचाउदा पनि बाहुनहरूले गाईको मासु खान शुरु नगरेका घटनाले नै प्रस्ट पारिदिएको छ । एउटा व्यक्तिलाई बल, धम्की र आतंक देखाएर केही क्षण परिवर्तन गरे पनि सिंगो समाजको सँस्कार र आस्था बाट त्यति सजिलै टस बाट मस हुदो रहेनछ भन्ने द्वन्दका समयमा अनुभूत भइ नै सकेको छ । सत्तरी वर्षसम्म धर्म अफिम हो भनेर राज्य द्वारा अपहेलित र नियन्त्रित भएको धर्म नमानी बसेको ठानिएको रुसी समाजमा कम्युनिष्ट शाशन ढलेको भोलि पल्ट नै त्यो समाजका गिर्जा घरका घण्टाहरू पूजिवादी देशका घण्टा भन्दा चर्को स्वरले बजे र त्यहाँका नागरिकहरूको धार्मिक आस्था कुनै पनि पूजिवादी देशको भन्दा कम देखिएन । त्यसैले सँस्कार परिवर्तन त जुग नै लगाउने प्रकृया रहेछ भन्ने यसै बाट बुझन सकिन्छ ।

हिन्दु समाजमा गरिनु पर्ने परिवर्तनको लागि हिन्दुधर्मको विशेष स्वरुपलाई बुझन आवश्यक हुन्छ । हिन्दुधर्मको आदिम ग्रन्थ वेदमा व्राह्मणलाई आदि व्रह्मको मुख बाट, क्षत्रियलाई वाहु बाट, वैश्यलाई जङ्घाबाट र शुद्र पैताला बाट उत्पत्ति भएको मानेर व्राह्मणलाई सबै भन्दा उचो स्थान दिइएको छ । त्यही अनुरुप नै हिन्दु सँस्कार, सँस्कृति र पद्धति स्थापित भएको हो । अर्को धर्म मान्न गए अर्कै कुरा नत्र हिन्दु समाजमा बसेर व्राह्मणको धार्मिक श्रेष्ठतालाई नकारिदैन । बरु को व्राह्मण, को क्षत्रिय, को वैश्य या को शुद्र भनेर पुनः परिभाषित गर्न सकिन्छ । गैह्रहिन्दुले समाजमा व्राह्मणको आवश्यकता देख्न र बुझन पनि सक्दैन । हिन्दु समाजमा त जन्म देखि मृत्यु सम्मका सबै धर्म र संस्कार कार्यमा व्राह्मणको आवश्यकता हुन्छ र उसको निर्णय नै अन्तिम मानिन्छ । हिन्दु धर्म अरु धर्म जस्तो आस्था मात्र होइन, यो त धर्म भन्दा पनि सामाजिक र व्यक्तिगत जीवन पद्धति हो, संस्कार विधि हो ।

यस्तै पद्धति नेपालका पहाडी हिन्दु समाजमा पनि छ । पहाडी बाहुन (जसलाई कतिपय नृवंशशास्त्रीहरू खस बाहुन भन्न रुचाउछन र म यही शव्दावली प्रयोग गर्न चाहन्छु) हरूको उत्पत्ति खोजिगर्ने सबै वंशावलीहरूले
वर्तमान नेपाल भित्र आफ्ना पर्खाहरूको प्रवेश महाकाली पारि बाट भएको हो भनेर टुंग्याएकाछन । त्यो भन्दा परको थलो भारतको कान्यकुव्ज र सारस्वत क्षेत्र तिर औल्याउछन । आफू ती स्थान बाट नआएकै भए पनि ती क्षेत्र बाट आएको धर्म अँगालेको हुनाले उनीहरूले आफूलाई त्यता तिर जोडनु आवश्यक ठाने ।

पहाडी हिन्दुहरूको वर्ण विभाजन पनि बढो अनौठो छ । बाहुनहरू चुच्चो नाक गरेका आर्य नश्लका देखिन्छन भने नेप्टा नाक हुने मंगोल समुदायलाई वैश्यको समुदायमा हालेका छन । दई थरी छेत्री मध्ये एका तिर बाहुन बाबु र मंगोल आमाको सन्तानलाई खत्रीको दर्जा दिएर छेत्री समान बनाएका छन भने अर्को तिर मंगोलियन नश्लका ठकुरीहरू आफूलाई उचो दर्जाको छेत्रीमा दावी गर्दछन । शुद्ध मंगोल नश्लका छेत्री हिन्दुहरू भारतिय आर्य मूलका हुन नसक्ने हुनाले हिन्दर्धर्मको विस्तारको क्रममा बाहुनहरूले आफ्नो संरक्षण र सुरक्षार्थ तत्कालिन जनजातीका सानाठूला सबै शाशक वर्गका सदस्यलाई तागाधारी व्राह्मण कर्म गराएर क्षत्रिय वर्ण दिई धर्म विस्तार गरेको हुनु पर्छ । पुरातन सिन्जा क्षेत्र मानिएको अहिलेको कर्णाली र सो आसपासको क्षेत्रमा जनजातीहरूको तुलनामा बाहुन, अझ क्षेत्रीहरूको, वाहुल्य त्यतै तिर सङ्केत गर्दछ ।

पहाडे हिन्दु समुदायको शुद्र वर्णमा राखेर अछुत मानिएका कामी, सार्की र दमाई अपवाद वाहेक मूलतः आर्य नश्लको देखिन्छ । यिनीहरूको भाषा बाहुनको जस्तै खस नेपाली भाषा हो । यिनका रिति, रिवाज, चाल, चलन, कर्मकाण्ड सबै नै खस बाहुनका जस्तै छन । अरु त अरु, त्यो समुदायको गोत्र र थर पनि बाहुन सँग मिल्छन र जहाँ बाहुन छन त्यहाँ मात्र उनीहरूको उपस्थिति छ र बाहुन द्वारा संरक्षित छन भने यसलाई बाहुनको एउटा हाँगो मान्नुको विकल्प पनि देखिदैन ।

हिन्दुधर्ममा मानिस मात्र होइन सबै प्राणी नै ऋषि कश्यपका सन्तान मानिन्छन र सबै जीव कश्यप गोत्री हुन भन्ने गरिन्छ । कालान्तरमा वंश वंशमा युगपुरुषका नामका आश्रमहरू जन्मदै गए पछि तिनै आश्रमका अनुयायीहरूले युगपुरुषको नामका गोत्रहरू लिए । त्यसैले कुनै गैर्‍‍ह हिन्दुले हिन्दुधर्ममा प्रवेश गर्न चाहे या हिन्दुले गोत्र परिवर्तन गर्न चाहे उसले शुरुको काश्यप गोत्र लिन पाउछ । त्यसैले आफ्नो अलग्गै गोत्र हुने खस दलितहरू गैर्‍ह हिन्दु बाट प्रवेश गरेका होइनन । खसहरूमा तागाधारीका मात्र विभिन्न गोत्र छन र त्यति नै गोत्र छन खस दलितका पनि । वैश्य भनिएका जनजातीका त गोत्र हुने कुरा पनि भएन र भए पनि उनीहरू काश्यप गोत्री मात्र हुने भए । उत्तरी भारतका हिन्दु, गैर्‍ह हिन्दुको आफ्नो समूह चिनाउने प्रचलन भनेको थर हो । थर विभिन्न कारणले स्थापित हुन्छन । दुई गोत्रिय बाहुनका कहिले कहीं एउटै थर हुन सक्छ र थर कहिले कही जनजाती सँग पनि मिले पनि सबैको सबै सँग सधैं मिल्छ भन्ने छैन तर खस बाहुन र खस दलितको थर सधै मिल्नु संयोग मात्र पक्कै पनि होइन । त्यसैले खस बाहुनको उत्पत्ती खस दलित बाट हुन नसक्ने हुदा खस दलितको उत्पत्ती खस बाहुनमा खोज्नु पर्ने हुन्छ ।

खस बाहुनहरू विजेता राजाले जस्तै आफूलाई चाहिने जति सबै नोकर चाकर, होमे-डोमे आदि लिएर पसेका होइनन । त्यसैले खस दलित उनीहरू सँगै आएका होइनन र खस बाहुनका थरहरू नेपाल बाहिर नपाइने हुनाले तिनीहरू यहीं उब्जिएका हुन भन्न कर पनि लाग्छ । आफूलाई चोखो ठान्ने बाहुनहरूले वाध्यता नभइ दलितलाई आफ्नो गोत्र र थर चलाउन दिन तयार हुने थिएनन र त्यो वाध्यता पनि कि त राजदण्डको भयले कि मायाले मात्र उत्पन्न भएको हुनु पर्छ । सो समयका समाजच्युत दलितलाई बाहुनले गोत्र, थर दुवै दिनु पर्छ भनेर वाध्य गराउन सक्ने सामर्थ्य सो समयको राज्यको थिएन र त्यो आवश्यकता पनि देखिदैन । बाहुनहरूले आफूखुशी स्वविवेकले नै दलितलाई गोत्र र थर दिएको निश्चित छ । तर, कारण के थियो त बाहुनले दलितलाई त्यत्रो माया गर्नु पर्ने ?

नेपाल अधिराज्यको मुलुकी ऐन जंग बहादुर कुँवरले स्थापित गरे पनि हिन्दु धर्मव्यवस्था सिन्जा राज्य कालमा पनि थियो र जात च्युत गराउने व्यवस्था पनि थियो हिन्दु धर्मव्यवस्थामा । धर्म छोडने, म्लेच्छ संसर्ग गर्ने, अभक्ष खाने, हाडनाता करणीमा पर्नेहरूलाई जात च्युत गराइन्थ्यो र राज्य विरोध गर्नेहरू पनि त्यो समूहमा पर्दथे । जनजातीमा जातच्युतको व्यवस्था नै नभएकोले राज्यले जातच्युत भनिदिए पनि त्यो लागु हुन सक्ने समाज त बाहुन मात्रै थियो र जातच्युत भएर अछुत हुने बाहुनको जाने ठाउँ पनि कही नहुदा ऊ त्यही बाहुन समाजमा त्यही गोत्र र थर लिएर बस्थ्यो । आफ्नो स्वजन भएकाले बाहुन समाजले त्यसको विरोध गर्ने कुरा पनि भएन । सबै किसिमले खस बाहुन र खस दलितमा समानता देखिनुको कारण यो भन्दा अर्को हुनै सक्दैन ।

अब आएर खस बाहुनको परिभाषा भित्र खोजी शुरु गरौं । उपाध्याय र जैशी दुई समूह त यसै पनि बाहुन भित्र परिरहेकै कुरा हो । पितृ सत्तात्मक हिन्दृ समाजमा खत्री छेत्री त बाहुनको परिभाषा भित्र पर्ने नै भए । कुनै समयमा पुर्खा बाहुन बाट च्युत भए पनि बाहुनकै समाज भित्र राखिएका बाहुनका सन्तान पनि बाहुन भन्दा फरक कसरी हुन सक्छन र ? फेरि जुन कारणले सो समयमा उनीहरू जातच्युत भएका थिए आज तिनै कारण बाट बाहुन जातच्युत भएर अछुत बन्दैनन भने त्यो समयको कारणलाई अहिले मान्यता दिनु सरासर वेइमानी हुन्छ । त्यसैले बाहुनका यी चार समूह एकै हुन भन्ने मान्यता स्थापित गर्दा हुन्छ । तर मान्यता आफै स्थापित हुदैनन । मान्यता खोज्नेले मान्यताको दावी गर्नु पर्छ र मान्यता दिन त्यो समाज पनि तयार हुनु पर्छ । उपाध्याय, जैशी र खत्री समुदायले त आफू बाहुन भएको दावी गरेकै हो र त्यो पाएको पनि छ । अब खस दलित मात्र बाँकि रहेकोले खस दलितले पनि आफू खस बाहुन भएको कुरा दावी गर्नु पर्‍यो र अरुलाई मनाउन प्रयाश पनि गर्नु पर्‍‍यो ।

शुरुमा नै भनियो – हिन्दुधर्म व्राह्मणमा आधारित धर्म हो र हिन्दुधर्म भित्र रहुन्जेल यो मान्यतालाई इन्कार गर्न सकिदैन । थरका आधारमा मात्रै हिन्दु हुने भए व्राह्मण जातीलाई बुझाउने 'शर्मा' थर समाएर क्रिश्चियन पादरी बनेका यहीं भेटिन्छन । त्यसैले खस दलितहरू पनि बाहुन हुन भन्ने मान्यता अरु तीन समूहले दिनु पर्छ भन्ने मेरो जिकिर हो । जसरी भगवान देखि मानिस सम्म सबैले क्षत्रिय बाट तपोबलले बनेको विश्वामित्र व्राह्मण समूहलाई व्राह्मण मानिदिदा पनि वशिष्ठ व्राह्मण समूहले नमान्दा सम्म उनीहरू व्राह्मण बन्न सकेनन त्यसरी नै खसबाहुन समाजले नमानुन्जेल अरु जोसुकैले मान्यता दिए पनि खसदलित बाहुन समाजमा पस्न सक्ने छैनन । त्यसैले खस दलितले जनै पूणिर्माको डोरो बाँधिदिएनन भनेर बाहुन कुटुनु भन्दा बाहुन समाजको हुँ म भनेर दावी गर्नु बढी फलदायक हुन्छ र खसबाहुनले पनि आफ्नो एउटा अंगलाई काटेर फाल्नु भन्दा त्यसलाई आफूमा समाहित गराउन श्रेयकर छ । हिन्दु बिचको जातिय विभेद यसरी मात्रै मेटिदै जान्छ , कटुता बढाएर होइन ।

जोरपाटी - १
काठमाडौ
dahalram@gmail.com

Thursday, October 17, 2013

Me in Twitter

ट्विटरका केही रूपहरू

मेरो नातिले डेढ वर्ष अगाडि खोली दिएको ट्विटरखाता मैले चलाउन नजानेर नै एक वर्ष बढी थन्किएर बसेको थियो र ३।४ महिना अगाडि यसलाई चलाउन थालेपछि मलाई रमाइलो नै लाग्यो । आफूले पछ्याउने प्रकृयामा मैले कहाँ गल्ती गरेँ थाहा छैन तर म थाहै नपाई तन्देरीहरूको जमातमा छिरेछु । देवेन्द्रराज पाण्डे, निलाम्बर आचार्य जस्तता २।४ जनाले नपछ्याई दिएको भए त ७० नाघेर ७५ तिर लम्केको बुढो म एक्लो हुने रहेछु । त्यसैले म कसैको हजुरबा, कसैको बुढोबा र कसैको ठुलोबा भएको छु ट्विटरमा ।

मेरो ट्विटर जमातमा युवाहरू छन् सबै जसो । कोही विहे गर्ने तरखरमा भएका, कोही सानो नानी बोकेर या डोर्‍याएर हिड्ने र कोही कोही किशोरकिशोरीमा बाबुआमाहरू । त्यहाँ विषयवस्तुभन्दा अ-विषयवस्तुका गफ धेरै हुन्छन् र त्यहाँ युवाहरूले ट्विटरलाई सामान्यत मनोरञ्जनको माध्यम ठाने जस्तो लाग्छ । 

अब ट्विटरको विश्लेषणतिर जाऊँ ।

मैले ट्विटरमा पहुँच भएका तीन जना राजनितिज्ञलाई लिएको छु । डा.बाबुराम भट्टराईको ट्विटरमा पहुँच सर्वविदित छ । उनलाई ४२,६०० ले पछ्याउदा रहेछन् तर उनी केवल २५ जनालाई पछ्याउ छन् । ती २५ मा पनि ८ वटा पत्रिका रहेछन् र १७ जनामा चल्तीका पत्रकार, केही भारतिय नेता र पुराना दरबारिया अभिजात्य वर्गका केही पात्रहरू । नेपाली कांग्रेसका नवोदित भनिएका गगन थापाको स्थिति पनि यो भन्दा कुनै गतिलो छैन । उनलाई १९२०० ले फोलो गर्छन् र उनी १११ जनालाई मात्र । यसमा पनि ठुलो जमात पत्रकारको छ र छ दरबारिया अभिजात्यको पनि । ट्विटरमा आएका विद्यार्थी, जागिरे, कृषकलाई छोएका पनि छैनन् दुवैले । न आफ्नै कार्यकर्तालाई नै छोएका छन् यिनी दुवैले । कमल थापा तेश्रो राजनितिज्ञ हुन् मेरो विशलेषणमा परेका । कमल थापालाई पछ्याउने केवल ६५०० छन् र उनी ८०० लाई पछ्याउ छन् । पत्रकार र अभिजात्य त उनका पनि यसै छदै छन् तर उनको पछ्याउने पात्रहरू अरू प्रकृतिका पनि छन् । कार्यकर्तालाई पछ्याएका छन् उनले र १।२ ठाउँमा त विपक्षी पनि समाउन चुकेका छैनन् ।

कस्तो छ त पत्रकारहरूको चलन ? २२४०० ले पछ्याइने बीबीसी नेपालीसेवाका डेस्क सम्पादक रविन्द्र मिश्रले केवल २२० जनालाई पछ्याउदा रहेछन् । ती पछ्याइएका पनि धेरै विदेशी पत्रिका, विदेशी पत्रकार छन् र ट्विटर चलाउने सबै नेपाली राजनितिज्ञले उनलाई पछ्याउने भएर होला मुख्य मुख्यलाई उनले पनि पछ्याएका रहेछन् । अर्का पत्रकार हिमाल खबर पत्रिकाका पत्रकार कनकमणी दिक्षितलाई पनि १४८०० ले पछ्याउदा उनी भने जम्माजम्मी १०० जनालाई मात्र पछ्याउदा रहेछन् र पछ्याउने प्रकृयामा ५०% मात्र नेपाली रहेछन् र तीमध्ये आधा त पत्रकार । तेश्रो पत्रकार हुन नारायण अमृत । उनका पछ्याउनेको सूचि केवल ५९०० को मात्रै छ र उनले पछ्याइनेको २४० अर्थात् ४% जति । उनको पछ्याइमा पनि पत्रकार त पर्ने नै भए तर सामान्य ट्विटेहरू पनि छन् उनको पछ्याइमा । अघि भनिएका राजनितिज्ञ र पत्रकारहरू जस्तो सर्वसाधारण वर्जित चाहिँ छैनन् उनकोमा ।

महिला ट्विटेहरू पनि छन् मेरो पछ्याइमा । नेपालीकी छोरी तर अमेरिका, क्यानाडामा नै बसोवास भएकी अंग्रेजी लेखिका मन्जुश्री थापा एक हुन् । उपरोक्त राजनीतिज्ञ र पत्रकार झण्डै सबैले पछ्याइकी उनका ११००० पछौटोमा उनी केवल ५६० लाई पछ्याउदी रहिछन् र नेपाली त ५० भन्दा पनि कम । नेपालीमा उनले पुस्तक नलेखेकी हुनाले मैले अंग्रेजी लेखिका भनेको हुँ । अर्की "Fifteen & Three Quarters" कि अंग्रेजी लेखिका रिचा भट्टराई पनि ट्विटरमा नै पाएँ मैले । २६०० ले पछ्याइएकी रिचा मात्र १६० जनालाई पछ्याउछिन् । भक्तपुरकी  ब्लगर र पत्रकार रुबिना श्रेष्ठ पनि छन् ट्विटर संजालमा । उनी ३१५ जनालाई पछ्याउछिन् र उनलाई पछ्याउने ११०० । उनले पछ्याउनेमा पूर्वपंच पद्मसुन्दर लावतीदेखि ट्विटरमा बाबजी नामले विख्यात प्रकाश लामिछाने सम्मका मानिस छन् ।

ट्विटरमा आफूलाई पछ्याउनेहरूको नाममा कुलरिम्सको नामले ट्विटर चलाउने सुबास कोइरालाको नाम पनि लिन्छु म । उनलाई ५५७० ले पछ्याउछन् र उनी पनि त्यसकै हाराहारी ५३२० लाई पछ्याउछन् । उनका मनोरञ्जक ट्विटहरूका निम्ति रुचाउछन् सबेले उनलाई र कुलुदाइ भएनन् भने त उनका पछौटे युवाहरूलाई त ट्विटर नै खल्लो लाग्छ । सर्वोच्च अदालतका एडभोकेट महेश्वर चौधरी पनि उल्लेखनिय छन् ट्विटर जमातमा । ७८० ले आफूलाई पछ्याउदा १९५० जनालाई पछ्याउछन् उनी र उनका ट्विटमा सधै सल्लाह र सुझाब हुन्छन् । ट्विटरको सदुपयोग गर्छन् उनी । उनी त ८ जना फोलोअर हुनेलाई धक नमानी फोलो गरिदिन्छन् । उत्साह बढाउछन् उसको । मेरो अन्तिम छनोटमा झापाकी निशा ओली पर्छिन् । पत्रकारिता पढ्दै गरेकी निशा ओलीका ८०० पछुवाहरू छन् ८१२ का पछि लागेकी छन् उनी । अरू केटी ट्विटेहरूले ८०० लाई पछ्याउदा उनीहरूलाई पछ्याउनेहरू २५०० पुग्थे भने निशा ओली किन पछि परिन् ? त्यसमा दुई मध्ये एक कारण हुनु पर्छ । या त निशा ओलीका ट्विटहरू केटाहरूका लागि अपाच्य हुने खालका हुन्छन् या निशा ओली पहिले आफूले पछ्याएर उसले पछ्याएपछि अनफोलो गरी Lure and leave को सिद्धान्त प्रयोग गर्दिनन् । नया नै छन् उनी ।

मैले राजनीतिज्ञ, पत्रकार, महिला र सामान्य मानिस गरी चार विभाजनका ट्विटेहरूलाई पछ्याउने र उनीहरूले पछ्याएकाको एउटा तथ्याङ्क हेरेर उनीहरूको सर्वसाधारण ट्विटेहरूको विचार बुझ्न खोज्छन् कि खोज्दैनन् या show glamour का अभिनेता या अभेनेत्रीझै आफ्नो उपस्थिति देखाउने हुन् त्यसको नमुना प्रस्तुत गर्ने प्रयास गरेको हुँ । सही बेसही त विचार आ-आफ्नो ।

Wednesday, October 09, 2013

धुन्धुली



धुन्धुली
(खण्डकाव्य)


संध्या गोधुलीको बिछट्ट धमिलो आकाश खाली थियो
थियो सागर उर्लदो जगत नै निर्भाव निश्चल थियो ।।
वायु निश्चल श्वासझै नभसँगै ठ्याम्मै अडेको थियो
संसारै सब सृष्टिका नियतिको आशा लिई पर्खियो ।।१।।

भोलिको दिन अन्धकार रहला या निस्कला ज्योतिमा
सारा जीव-अजीव शाश्वत हुनन् या सर्वथा नाशमा ।
गर्थ्यो निश्चित भाग्य छाल भुँवरी नाच्ने वृथागर्वमा
थियो दृष्टि त्रिलोकको स्थिर भई त्यो पानीको छालमा ।।२।।

बौलायो जलराशी छट्पट भई आकाशझैँ गर्जियो
चिच्यायो अति कष्टभाव बलले व्रह्माण्ड नै थर्कियो ।।
पानी शान्त भयो सधैँ रणपछि मैदानको ताल भो
मृत्यु निश्चित जानियो तर त्यहाँ हार्योो जित्यो को र को? ।।३।।

विस्तारै जलबाट निस्की धरणी पुरै धरा रङ्गिई
दार्हारमाथि अडेकी सौम्य हरिता संसारमै फैलिई ।।
निस्के माथि वराहरूप प्रभूजी मातृधरा साथमा
वाहुयुद्ध गरी सबै झिकी दिए सेखी हिरण्डाक्षका ।।४।।

संसारैभरिको थिती जब बस्यो ढुक्कै विधाता भए
पानीबाट उठेर सामु गिरीमा विश्राम निम्ति गए ।।
नामी नाम वराह पर्वत भयो त्यो पश्चिमी घाटमा
त्यो पुण्यस्थलमा सुते रे प्रभूजी ऊ सत्यवत् कालमा ।।५।।

दार्हाुबाट हुदै बगेर पसिना देब्रेकी तुङ्गा भइन्
दाहिनेतिरबाट निस्की सरिता भद्रा बनेकी थिइन् ।।
पश्चिमा गतिले गइन् जलधिमा नेत्रावति चालले
तीनै रत्न झरे वराह गिरीका बाटो आ-आफ्नै लिए ।।६।।

गंगामूल भयो त्रिरत्न नदीको पवित्र सृष्टि थलो
'गंगा स्नान र तुंग पान' त सधैँ साँचै उखानै बन्यो ।।
गंगाका दुई धार दक्षिणी बने तुङ्गा र भद्रावति
तुङ्गा भागिरथी समान बनीदा भद्रा त मन्दाकिनी ।।७।।

जन्मैदेखि विछोडका जलधरा तुङ्गा र भद्रा मिता
मिल्छन् कुड्ली पुगी किशोरी सरिता भेटी खुला फाटमा ।।
यात्राको शुरू गर्दछन् सँगसँगै ती तुङ्भद्रा भई
डुब्छन् पाप सबै पखाली जननी कृष्णा नदीमा गई ।।८।।

ती गंगातटमा बसे सुर गई ती पुण्यभूमी बने
ती देवस्थल आसपास भूमिमा गृहस्थ आई बसे ।।
ध्यानी ज्ञानी र योगीको स्थल बनिन् ती तुङ्गभद्रा नदी
यो चालासित कल्पकल्प तुरियो बिना कुनै त्राशदी ।।९।।

क्रमशः