Thursday, January 23, 2014

cctv(story)



जडान सीसीटीवीको

"अब त आमादानी सुकी हाल्ने भयो नि ।" - भद्रमानले चियोको सुर्को तान्दै मुख बिगारेर भन्यो ।
"किन के भयो र" - कृष्णप्रसादले लेख्दालेख्दै गरेको कागजबाट हात उठाएर सोध्यो ।
"यो पनि गोँज नै छ । त्यत्रो हल्लाखल्ला छ । अहिलेसम्म पत्तै छैन यसलाई ।" - राजकुमारले बीचैमा कुरा काट्यो ।
"लेखनदास न ठहर्‍यो । लेखेपछि दाम आईहाल्छ । उसलाई के छ र ? जति धेरै फारम उति धेरै नाफा उसलाई । हामी यसो बीचमा कमाइ गर्ने पो मासिने भयौँ त।" - रेवतीरमणले ईर्ष्या देखायो ।
कृष्णप्रसादले अरूका कुरा तिर ध्यान नदिएर भद्रमानलाई फेरि सोध्यो - "होइन के भयो र भद्रमान दाइ ?"
"अरू त केही होइन, कृष्णप्रसाद । CCTV  राख्छन् रे अब यहाँ ।" - भद्रमानले सम्झाउन खोज्यो ।
"के भयो त त्यसले ? हामी गरीखानेलाई त्यसले रोक्छ र ?" - कुरो नबुझेको कृष्णप्रसादले फेरि प्रश्न गर्‍यो ।
"गर्छ कि गर्दैन त्यो त थाहा छैन । यहाँ प्रयोगात्मक परिक्षाको शुरूदेखि अन्त्यसम्मको फिल्मी रिकड राख्छ रे CCTV ले ।" - भद्रमानले बिना निचोड कुरा राखिदियो । तैपनि उसको मुखबाट एउटा बाक्य भने फुत्की हाल्यो - "गरीखान नदिने भए चोरहरूले ।"
CCTV राख्ने हल्ला कार्यालय भरी फैलिएको थियो त्यही हल्ला कार्यालय बाहिरका दलाल, लेखनदास र परिक्षार्थीसम्म पुगेको थियो । सबैको मुखमा एउटै कुरा थियो - गरीखान दिदैनन् चोरहरूले ।
बैठक बस्यो दलालहरूको । CCTV जान्नेले व्याख्या गर्‍यो - " CCTV ले सबैको परिक्षाको शुरूदेखि अन्त्यसम्म फिलिम खिचेर राख्छ र पास फेल त्यहीबाट निधो हुन्छ । परिक्षार्थीले गरेको सबै काम त्यही देखिन्छ ।"
"अनि त्यो कसले हेर्छ नि ?" - एउटा जिज्ञासुले प्रश्न उठायो ।
"अरू कसले ? कार्यालयको हाकिमले नि ।"
"फेरबदल गर्न मिल्दैन त्यसमा ?" - अर्को जिज्ञासुले प्रश्न उठायो ।
"खै, मिल्दैन भन्छन् । खास त आउने विज्ञलाई सोध्दा थाहा होला ।" - जान्नेले कुरा टुंग्यायो ।

कार्यालय भित्र पनि CCTV कै कुरा चलिरहेको थियो । राय भने फरक किसिमको थियो ।
" CCTV राख्ने यो माथिको आदेश हो । अनियमितता भयो रे धेरै हाम्रो कार्यालयमा । यसलाई रोक्न CCTV राख्न अनिवार्य भयो भन्नु हुन्छ वहाँहरू ।" - हाकिमले कुरा राख्यो ।
"कहाँ अनियमितता हुन सक्छ हाम्रो जस्तो खुला परिक्षण लिने ठाउँमा ?" - दोश्रो तहको हाकिमले प्रतिवाद गरी हाल्यो ।
"खुला ठाउँमा सबैले देख्ने गरी परिक्षा लिने हामी तैपनि हामीलाई नै दोष !" - मुख्य परिक्षकले पनि आपत्ती उठाउन ढिलो गरेन ।
"राख्नै पर्ने हो त CCTV, सर ?" - फाँटवाला सुब्बाले कुरालाई फेरि ठाउँमा ल्यायो ।
"राख्नै पर्ने रे । सार्‍है वदनाम भयो भन्नुभयो सचिवज्युले पनि ।" - उत्तर दियो हाकिमले ।
"वहाँको भनाइको भाव कस्तो थियो नि ?" - कुरामा खप्पिस सुब्बाले फेरि सोध्यो ।
सुब्बाको भनाइको आसय बुझेर हाकिमले भन्यो - "भाव त सकारात्मक थिएन तर नकारात्मक कुरा पटक्कै गर्नु भएन । बरू 'मगाई हाल CCTV र राख्ने कसरी हो मिलाएर राख' भन्नुभयो ।"
हाकिमको अन्तिम वाक्यमा नैराश्यता थियो ।
"किन्नलाई बजेट कहाँबाट आउँछ ?" - लेखापालले प्रश्न तेर्स्यायो ।
"केन्द्रबाट नै किनी सकियो । भुक्तानी त हाम्रै खाताबाट दिनु पर्छ अब ।" - हाकिमले सोझो उत्तर दियो ।
"जडान गर्ने नि ?" - कसैले प्रश्न उठायो ।
"मानिस आउछ ।" - हाकिमले छोटो उत्तर दियो ।
"त्यसोभए आजको कुराको निचोड बुँदागत हिसाबमा राखूँ त, सर ?" - फाटवाला सुब्बाले बैठकलाई नियमित बनाउन सोध्यो र केही समयपछि विषयलाई बुँदागत रूपमा प्रस्तुत गर्‍यो ।
"आजको भएको छलफलमा निम्न निष्कर्श निस्कियो ।
बुँदा नं १ CCTV राख्नै पर्ने ।
बुँदा नं २ खरिद भएर आइसक्यो ।
बुँदा नं ३ जडान गर्न प्राविधिज्ञ आउछ ।

बुँदा नं ४ लेख्नु भन्दा पहिले म सबैका सामु एउटा प्रश्न राख्न चाहन्छु । हाम्रा लागि त्यो CCTV राख्नु राम्रो कि नराख्नु राम्रो ?" - मजवुन लेख्न सिपालु फाँटवालाले गम्भीर प्रश्न राखिदियो ।
बैठक एकदम शान्त भयो । कोही पनि अगुवा भएर निस्कन तयार थिएन । त्यो देखेर कोठाको पल्लो छेउमा ढोकाको नजिकै उभिएको पिउनले आफ्नै स्वरमा भन्यो - "त्यो ठाँडोले सबै देख्छ भने चलखेल गर्ने ठाउँ कहाँ हुन्छ र हजुर ?"
"हो, सीतारामले भनेको कुरा सही हो । चलखेल गर्ने ठाउँ नभएपछि गरीखाने कसरी ? CCTV राख्ने कुरामा त सचिवज्युको भाव पनि सकारात्मक थिएन ।" - कुरामा छिटो सही थाप्नु पर्ने खरदारले पिउनको कुरामा सही थाप्यो ।
"हो नि कुरा त । आखिर थैलो त वहाँ पनि जान्छ ।" - कुरा खुल्दै गएकोमा कसैले प्वाक्क भन्यो ।
कुरा छिचरो हुन थालेकोले हाकीमले त्यसलाई रोक्दै भन्यो - "त्यो हाम्रो विषय होइन । त्यता पट्टि नजाऊँ । CCTV राख्ने पट्टि जाऊँ ।"
र फाँटवाला सुब्बातिर फर्केर सोध्यो - "तपाईको चौथो बुँदा के रे ?"
सुब्बाले एकपल्ट आफ्नो घाँटी साफ गर्‍यो र चारैतिर सबैको अनुहार हेर्‍यो । त्यसपछि भन्न शुरू गर्‍यो - "मैले सबैको अनुहार हेरेँ । कसैबाट पार लाग्ला जस्तो लागेन । त्यसैले मेरो बुँदा नं ४ - त्यो CCTV संचालन, मर्मतसम्भार गर्ने कसले ?"
"एकपल्ट जडान गरेपछि केही पनि गर्नु पर्दैन रे ।" - कसैले सुनेको कुरा भनिदियो ।
"त्यो त बेच्नेले भन्ने कुरा । गाडी किनेपछि आफू चलाउन नजान्नेले चालक राख्नु परेन ? कोही त जिम्मेवार हुनु पर्‍यो त्यसको । त्यस्तै हो यो पनि ।" - सुब्बाले सिधै उत्तर दियो ।
सुब्बाको चौथो बुँदाको आसय बुझेको हाकिमले मुसुक्क हाँस्दै भन्यो - "त्यसोभए CCTV चलाउन एउटा प्राविधिक दरवन्दी आवश्यक पर्‍यो । होइन ?"
"हो, हजुर, हो । हजुरले ठिक मर्जी भयो । दरवन्दीमा बजेट रकम पनि उल्लेख गर्नु पर्ला कि ?" - सुब्बाले आफ्नो प्रस्तावलाई हाकिमको प्रस्तावमा परिणत गरिदियो ।
"त्यसो भए यो वर्ष दरवन्दी सिर्जना पनि हुदैन, बजेट पनि आउदैन ।" - कुनै बाठोले निर्णय गर्‍यो ।
"होइन । आउछ, आउछ । अत्यावश्यक वस्तु हो नि यो । यो वर्ष नआए पनि अर्को वर्ष त पक्कै आउछ ।" - हाकिमले आफ्नो दृढता छुटाएन ।
कसेले आपत्ती गरेन । उनीहरूसँग आपत्ती गर्ने कारण पनि थिएन । त्यही मौनताको समयमा हाकिमले आफ्नो कुरा राख्यो - "अब निर्णय लेखौँ त ?"

सबैले सहमतीमा टाउको हल्लाएकाले हाकिमले भन्यो - "सुब्बासाहेब ! अब निर्णय लेख्नोस् ।
निर्णय नं १ कार्यालयको परिक्षणस्थलमा अत्यावश्यक भएकोले CCTV जडान गर्ने ।
निर्णय नं २ CCTV संचालन गर्नको निम्ति प्राविधिज्ञ नभएकोले बजेट सहित दरवन्दी माग गर्ने
निर्णय नं ३ खरिद भएको CCTV जतनसाथ भण्डारण गरी राख्ने ।
निर्णय नं ४ CCTV अत्यावश्यक भएको संबन्धित सबैमा जानकारी गराइने ।"

विस्तारै निर्णय बाहिरिदै आयो र सबैले सन्तोषको लामो सास फेरेर भने - " CCTV त राम्रो हो नि । सबै कुरा छर्लङ्ग देखिने ।"

Sunday, January 19, 2014

aauna sakchha tyo din



आउन सक्छ त्यो दिन

आउन सक्छ त्यो दिन जब
हामी थुनिएको गोठभित्र
आफूखुशी उफ्रने छौँ,
हाम्रा सिङ र खुरले
भित्तो र जमिन फोर्ने छौँ,
आफूआफू बीच पनि
कुस्ती खेल्न पाउने छौँ
र बाहिर गोठालाले भन्ने छन् -
"स्वतन्त्र छन् यिनीहरू
जे गर्न पनि स्वतन्त्र छन् ।"

आउन सक्छ त्यो दिन जब
सुकेको खर या हरियो दुबोले
भरिने छ हाम्रो पेट,
नलको होस् या नालीको पानीले
मेटिने छ हाम्रो तिर्खा,
अनभिज्ञ बाहिरी संसारसँग
उग्राएर बस्ने छौँ हामी
र हाम्रा गोठाला भन्ने छन् -
"सुखी छन् यिनीहरू
खुशी छन् यिनीहरू ।"

आउन सक्छ त्यो दिन जब
कलिला हाम्रा पाठालाई
सिद्धान्तमन्त्र पढाइने छ,
'सबैका मुक्तिका लागि' भन्दै
बलीवेदीमा चढाइने छ,
तिनका नाममा शालिक पनि ठड्याइने छ
र खुशियालीमा हाँस्न र नाच्न
हामीले सकेसम्म पाइने छ
केवल अभागीनी आमालाई
रुन बन्देज लगाइने छ
र बाहिर गोठालाले भन्ने छन् -
"देख्यौ कत्रो त्याग छ यो गोठप्रति ?
महान छन् माउ आमाहरू !"
 
जोरपाटी - १ काठमाडौ

dobato ka briddhaharu




दोबाटोका वृद्धहरू

चिहानमाथिको हाँगोमा बसेका दुई गिद्धझैँ
दोबाटो डिलमा बसेका दुई वृद्धहरू
ध्यानमा छन् कि समाधिमा  ? केही पत्तो छैन
निश्चल र मौन छन् उनीहरू ।

समय थियो तर आफसमा भन्ने समय भएन
समय आयो तर आफसमा भन्ने कुरा रहेन
सधैँ सँगै हिडेका यात्रीहरूको सँगै भोगेका कुरा
नौलो केही थिएन ।

आँधी आयो, भेल आयो, कति पटक बाढी आयो
धैर्य र हिम्मत बोकेर जीवनजँघार पार लायो
चौतारीमा आई पुग्दा लेखाजोखा गर्न पायो
के कमाइयो ? के गुमाइयो ?

थोत्रो प्वालमा बसेका दुई उल्लुकाझैँ
खोप्रोमा टल्कने दुई जोर आँखाहरू
अनिमेष क्षितिज हेरी रहेछन्
फर्कदैनन् भन्ने जानेर पनि
"आउलान् कि" भन्ने आशात्यान्द्रो
माकुरालेझैँ तानी रहेछन् ।

असिनाले घायल पोथ्रामनिका जुरेलीझैँ
अशक ती एक अर्कालाई हेरी रहेछन्
रून पनि आँशु निख्री सक्यो
आफैँले आफैँलाई सम्झाई रहेछन्
"भ्याएनन् होला आउन, आउलान् नि एक दिन"
त्यही पुरानो पाटो पल्टाई रहेछन् ।

एक दिन खुलेन ढोका, बोलेन कोही
स्वभावैले छिमेकीले चासो लियो
अघाएको अजिंगर लम्पसारिएझँ
भित्र त पिडामुक्ति र शान्ति थियो;
समाचार दियो छिमेकीले धर्म ठानेर
जवाफ पनि तुरुन्तै पायो
"पैसा पठाई दिएका छौँ, अन्तिमसंस्कार गरी दिनु
आउन पाउन्नौँ हामी; हाम्रो मर्का बुझी दिनु ।"

कसले दियो दागबत्ती ?
कसले दियो पानी ?
जानेलाई त वास्तै भएन,
जीवनजँघार तरे पछि त
संसारको सार नै रहेन ।

तर अझै पनि
चिहानमाथिको हाँगोमा गिद्ध बसेझैँ
दोबाटो डिलमा बसेका छन् वृद्धहरू
ध्यानमा छन् कि समाधिमा केही पत्तो छैन
निश्चल र मौन छन उनीहरू ।

राम दाहाल
जोरपाटी - १, काठमाडौँ