Wednesday, November 06, 2013

शुन्यका यात्री(कविता)



शुन्यका यात्रीः हामी

शुन्यको गोरेटोमा हिडिरहेथेँ म
शुन्यबाट उनी झरिन् विन्दुविन्दुका खुटकिला टेकेर
शुन्यको दोबाटोम भेट भएथ्यो हाम्रो
र शुन्यको यात्रा शुरू भएथ्यो हाम्रो ।

सशरीर त छैन हाम्रो उपस्थिति
शुन्य नै छौँ हामी एकअर्का सामु
र यात्रा पनि लक्षहीन छ शुन्य जस्तै;
र कही पुग्ने आशा छैन हाम्रो
कहीँ पुग्ने चाह पनि छैन
तैपनि यात्राका साथी छौँ हामी
शुन्यका यात्राका साथी ।

दृष्टिविहीन छौँ हामी देख्दैनौँ एकअर्कोलाई
मुक छौँ हामी केही भन्न सक्दैनौँ
कानका बहिरा हामीले सुन्न सक्दैनौँ केही
अस्पर्श्य छौँ त छुन पनि सक्दैनौँ
तैपनि संवाद चलिरहन्छ हामी बीच
तैपनि निकटता रहिरहन्छ हामी भित्र
अनजान पथका बेजान यात्री
शुन्यपथमा हिडिरहेछौँ हामी ।

कहाँ टुंगिएला यात्रा थाहा छैन हामीलाई
टुंगियोस् त्यो भन्ने चाहना पनि छैन
नजाने पनि नचाहे पनि हामीले
तर टुंगिनै छ त्यो यात्रा;
कहीँ अर्को दोबाटोमा विन्दुविन्दुका खुटकिला टेक्दै
उनी उकालो लाग्लिन् शुन्य तिर
म भने सिधै हिडिरहुँला
शुन्यको गोरेटो समाएर
नितान्त एक्लै एक्लै
अतितलाई कथा बनाएर
या क्षितिजको घेरामा पुग्दा नपुग्दै
शुन्यमा नै बिलाउँने छौँ हामी ।

अनि त कहिले कहीँ पछाडि फर्केर हेर्दा
सम्झनाको घाउ कोट्टिएला अलिकति
मनको रङ उप्किएला अलिकति
तैपनि कुनै दिन भेटै भए पनि
चिन्ने छैनौँ हामीलाई हामी ।
राम दाहाल
जोरपाटी - १ काठमाडौँ
२०७० कार्तिक २०

Tuesday, November 05, 2013

धुन्धुली - २

धुन्धुली
(खण्डकाव्य)



दोश्रो विन्दु

पम्पाका तीरमा कुनै द्विज थिए आत्मज्ञ ज्ञानी गुणी
गर्थे यापन आत्मदेव दिनहुँ षट्कर्मी व्राह्मण भई
पढ्थे शास्त्र पढाउथे लिनु दिनु भिक्षादिको गर्दथे
गर्थे यज्ञ गराउथे मनुजमा सर्वत्र ज्ञाता थिए ।।१३।।

पत्नी सुन्दरी रूपकी कुलवती छानी विवाहै गरे
धेरै वर्ष सपत्नी साथ सुखमा जीवन गुजारा गरे
कम्ती केही भएन भोगरसमा एउटै गुनासो रह्यो
सन्तानादि कुनै भएन त्यसको पिडा उनीमा थियो ।।१४।।

पत्नी धुन्धुलीका सबै गुण थिए केवल हठी, गर्विणी
नारीसोच विचारकी प्रतिनिधि स्वतन्त्र इच्छाविनी
आफ्नै निश्चयकी परन्तु नरले घमण्डी ठानी दिने
नारी भोगकी पात्र मान्य नरमा दुष्कर्मिणी मानिने ।।१५।।

सन्तानादि भएन के पिर लिनु ? हुने छ के भै गए ?
हुनेले कति के लिए ? कति सुखी छोरा हुदैमा भए ?
खोज्छन् कारण के ? कठै ! पुरुषले ? स्वर्गादि देख्ने किन ?
आनन्दी छ धरा नबाँच्नु किन हो आनन्दको जीवन ? ।।१६।।

यस्तै सोच लिएर धुन्धली बसिन् बाँझो लिई चाहना
प्राप्ति सन्ततीको प्रयास गरिनन् दुखादि बेकारमा ।।
पुत्रार्थी गुरु आत्मदेव जगतै उपाय खोज्दै हिँडे
होला प्राप्त कसो गरी शिशु कुनै आशा यहीमा डुबे ।।१७।।

"को देला जलदान जीवनपछि पिण्डादि के पाउला ?
कसको आश लिई कुरेर रहला मुक्ति कहाँ आउला ? ।।
को सम्झी रहला ठुलै जन गुणी या मानधारी पनि
वंशै हीन भएपछि नर त्यसै मेटिन्छ माटो मनि ।।१८।।

कोही काहीँ कतै उपाय त हुनै पर्ने छ" भन्ने लिई
छोडेका घर स्थिर बास नलिई माया त्यसैमा दिई
भेटे भिन्न थरी मनुष्य जगमा सल्लाह धेरै दिए
कोही भन्न सकेन हुन्छ कसरी सन्तान केले भए ।।१९।।

संसारै घुमी हिड्दथे द्विज, बरा, मिथ्याभिलाषा लिई
होला सन्ततिको उपाय कहिले कोही त देला भनी ।।
निर्जन् जंगलको तलाउ नजिकै स्नानार्थ निम्ति पुगे
सार्‍है क्लान्त अशान्त चिन्तित भई छेउ किनारा बसे ।।२०।।

आएका विधि व्रह्मको प्रतिनीधि मुनीजीको भेषमा
देखे ती द्विजलाई दुखी अति नै थिए ती आक्रान्तमा ।।
"के कारण तिमी दुखी छौ जगतमा ? केको नपुग्दो भयो ?
देखिन्छौ तिमी ज्ञानी पण्डितसरी केमा पर्‍यो मोह यो ?" ।।२१।।

यस्तो यो मुनी प्रश्नले द्विज बने केही खुशी उत्सुक
आशा केही पलाई पाउ ती परे राखी त्यहाँ मस्तक
श्रद्धासाथ अनन्य भक्ति मनमा ल्याएर सर्वोचित
विधाता विधि सामु वर्णन गरे आफ्नो व्यथा सर्वथ ।।२२।।

"हे व्रह्मज्ञ ऋषे ! म छैन धनको दरिद्र, विद्या पनि
कम्ती छैन ममा र दान दिनुमा मानिन्न लोभी भनी
विद्यादान पनि म गर्छु सबमा खोलेर सारा मन
सारा कर्म म व्राह्मणादि तिरको गर्छु लिई चिन्तन ।।२३।।

पाएथेँ त उदार आदर सबै समाजका पात्रको
मेरा सामु ती झुक्दथे लिई ठुलो श्रद्धा यही गात्रको
माया मोह ममा भएन कहिल्यै कम्ती हुदामा पनि
देखी भाग ठुलो अनन्य जनको लोभिनँ कहिले पनि ।।२४।।

आफ्नो जीवनमा खुशी सुखी थिएँ टन्टा बिना नै बित्यो
यस्तै काल सदा हुने मन पनि गृहस्थीमा नै जुट्यो
किन्तु बैँस जसै व्यतित शुरू भो संसार नै फेरियो
होला क्षुद्र कुरा परन्तु त्यसमा मानार्थ सार्‍हा रह्यो ।।२५।।

'छैनन् सन्तती' ले समाज बीचमा आशा त जिउदो थियो
'हुन्नन् सन्तती' ले त्यही समुहमा नाउँ अपुत्रो दियो
दृष्टिको रूप फेरियो क्षणक्षणै अस्पर्श्य हामी भयौ
लिनुको दिनुको पनि फरक भो हामी त झर्दै गयौँ ।।२६।।

भिक्षार्थीहरू पुत्रहीन जनको भिक्षा नलिने भए
शिक्षार्थी पनि मानहीनसँगको शिक्षा लिनै तर्सिए
मेरो घाँस र दान बिर्सिन गए गौ व्राह्मणादि पनि
बाँच्नु व्यर्थ रहेछ यो भुवनमा विहीन छोरा बनी ।।२७।।

हे व्रह्मज्ञ मुने ! व्यथा हजुरमा मेरो भएको भने
होला के रित पुत्र प्राप्ति म कहाँ ? केले खुशि आउने ?
पुत्रार्थी शरणार्थी छु हजुरमा मानेर पुत्रै सरी
खोली मार्ग दिएर मुक्ति दिनुहोस् दया ममाथि गरी" ।।२८।।

सुनी क्रन्दन आत्मदेव द्विजको मुनी बने आर्दित
हेरे भूत भविष्य जन्म उनको भुक्तादि भोग्यादिक
पुत्रप्राप्ति कहीँ थिएन द्विजको सातौँ जुनीसम्ममा
बिस्तारैसित सत्य त्यो भनी दिने मुनी रहे सोचमा ।।२९।।

"संसारै विधिको विधान बसमा घुम्दो छ श्रीचक्रझैँ
जो जो लेख्दछ भावीले सही सबै आनन्दीमै मस्तीमै
सोही रूप चल्यौ तिमी र म पनि सो रूप नै चल्दछु
देखेको छु म जे र जो तिमी कहाँ सत्वाणी त्यै भन्दछु ।।३०।।

तृष्णाले जन बन्दी बन्छ भवमा माया थुनी ल्याउछे
सारा दुख अशान्ति कारण दिई लाचार लोभ्याउछे
सम्पत्ति लय सन्ततितिर लगी पार्छे भुलै भुलमा
के हो कर्म भनेर भुल्छ मनुवा अकर्मकै मूलमा ।।३१।।

भावीले धन दिन्छ जो सुखद हो तृष्णा महजाल हो
पुत्रादि पनि भावीकै खटन हो सो तोड्नु बेकार हो
छोराबाट जलादि तर्पण मिले होला खुसीको कुरा
मुक्ति प्राप्त गरे जलार्पण पनि के काम पो आउला ।।३२।।

तिम्रो निम्ति कतै कुनै जगतमा मेटिन्न भावी लिपी
सन्तानादि हुदैन सात जुनीमा के निम्ति गर्छौ ढिपी
जो लेखन्त छ बाँच्न जानि त्यसमा आयु गुजारा गरी
आफ्नो मार्ग सुधार जीवपथमा मानिसझैँ आखिरी ।।३३।।

तस्माद् हे द्विज ! प्राप्ति पुत्रधनको आशा लिनु व्यर्थ हो
सार्‍हा चित्त लगाऊ ईश प्रभूमा ईच्छा लिई मुक्तिको
छोडी यो छलमोहको रसघडा शरीरको वन्दना
आत्मालाई पवित्र पार तपले या भोग ध्यानार्चना" ।।३४।।

सुनी वाचन आत्मदेव द्विजले महामुनी व्रह्मका
सार्‍है क्लान्त विजित तप्त मनले निश्वासका साथमा
सारा देह कमाई ग्लानित भईधारा दिई अश्रुको
लागे भन्न भविष्य भाव नबुझी महामुनी व्रह्मको ।।३५।।

"हे व्रह्मज्ञ मुनी ! म होइन कुनै ज्ञानी महात्मा पनि
खाली बाँच्न सिकेर भोग्दछु सधैँ गार्हस्थ्यको जीवनी
देखेको नर तुच्छ हुन्छ भूमिमा बिना कुनै आत्मज
मृत्युकापछि जेष्ठ पितृहरूमा देला र को तर्पण ?।।३६।।

बाँच्ने यो मन छैन हे ऋषीमुनी अपुत्रको नाममा
छुनैमा पनि दोषि लाग्छु म भने धर्मार्थको काममा
मेरो जीवन मृत्युको विषय यो हजुरमै छोड्दछु
दिनोस् पुत्र मलाई होइन भने त्यो मृत्यु नै रोज्दछु ।।३७।।

यस्तो ती द्विजको अघोरी हठले दोधारको सङ्कट
'दिऊँ पुत्र त व्रह्मको नियमको होला भरे लङ्घन
भै गो दिन्न भनूँ त मृत्युसँगको नाता यिनी जोड्दछन्'
तस्माद् मार्ग नलिन्छु मध्य स्थितिको जेले यिनी बाँच्दछन् ।।३८।।

सोची सङ्कटको निदान मुनीले पुत्रार्थीलाई भने
"छैनन् पुत्र त जान सात जुनीमा केही कसै नै गरे
लेखन्ता विधिको नकाट्न सकिने मेटिन्न केही गरी
गर्छु केही उपाय पुत्र तिमीले हुने छ पाए सरि"।।३९।।

पुत्रेष्टि फल दिन्छु भोगरसको यो पत्नीलाई दिए
खाउन् तृप्त भई खुला हृदयले संसार नै बिर्सिए
होउन् शुद्ध फलादि सेवन गरी मोहादि छोडी बसे
होला पुत्र गुणी पवित्र मनको सत्कर्मका तेजले ।।४०।।

आफ्नो योग तपस्वी तेज बलले फलाक्ष सृष्टि गरे
दिए ती द्विजलाई तत् पछि मुनी ओझेल भित्रै छिरे
पाएका फल शान्तचित्त द्विजले धेरै गरे वन्दना
प्राप्तिको फलभोग सफलता चाही गरे अर्चना ।।४१।।

चाहे ज्ञानी र शास्त्रवान किन नहोस् निष्ठा र श्रद्धा लिई
राख्ने जीवन कर्मयोगी पनि होस् बाँच्ने फलाशा नली
लिप्साले जब धर्छ बिर्सिई सबै तृष्णा लिई कुर्दछ
पाएमा त्यही वस्तु व्राह्मण सरि आनन्दीमा पर्दछ ।।४२।।

(यसपछि तेश्रो विन्दु आउने छ)