Saturday, August 03, 2013

प्रेम, विवाह र यौन



प्रेम, विवाह र यौन

प्रेम, विवाह र यौन मानिसका आदिमकालदेखी चली आएका व्यवहारहरू हुन् ।अल्प मस्तिष्क विकास भएकाले अरू प्राणीहरूमा यौन मात्र विकसित हुन्छ, अरू शुन्य या अति न्यून हुन्छन् । मानिसका बीचमा पनि कतिपयले यी तीनै चीजलाई एउटै पोकोमा राखेर व्याख्या गर्न खोज्छन् र गलत निर्णय निकाल्छन् । वास्तविकतामा यी तीन वटा आफ्नै अस्तित्व भएका इकाईहरू हुन् र यिनीहरूको आफ्नै परिभाषा र सीमा छन् ।

प्रेम मायाको उपज हो अर्थात् प्रेम माया भनिने स्थुल इकाइ भित्र पर्छ। माया प्राणी बीच हुने सर्वव्यापी अनुभूती हो जसलाई दया, स्नेह र प्रेम तीन खण्डमा विभाजित गर्न सकिन्छ । दया अर्काको पीडा देखेर उत्पन्न हुने दुखको अनुभूति हो । यस्तो अनुभूति यदाकदा अरू प्राणीमा देखिए पनि मानिसमा भने सधैँ देखिन्छ र त्यो प्राणी जति नजिक भयो त्यति नै त्यो अनुभूति तीव्र हुन्छ । अर्काको कुकुरले दुख पाएको देख्दा हामीलाई जति दया लाग्छ आफ्नो घरको कुकुरले पाएकोमा त्यो भन्दा बढी नै लाग्छ । निकटताको परिणाम हो त्यो । 

मायाको दोश्रो रूप स्नेह हो । अपवादमा वाहेक मानिसले स्नेह मानिसलाई मात्र गर्छ । स्नेहको मात्रा पनि निकटतामा आधारित हुन्छ । घरपरिवारका सदस्य बीच बाहिरकासँगकोभन्दा बढी स्नेह हुन्छ । अझ बच्चासँग आमाको निकटता सबैभन्दा घनिष्ट निकटता हो र नै आमाको बच्चा प्रतिको स्नेह सबैभन्दा र सबैकोभन्दा बढी हुन्छ । स्नेह अरू प्राणीमा पनि देख्न पाइन्छ । सँगै बसेका भालेपोथीमा त्यो स्नेह देखिन्छ र देखिन्छ त्यसरी नै वात्सल्य स्नेह पनि ।
प्रेम मानिसको सर्वोच्च अनुभूति हो र प्रेम समलिङ्गी बीच होइन, विपरितलिङ्गीप्रतिको आकर्षण अभिव्यक्ति हो । प्रेमले जहिले पनि वयस्क पुरुष र स्त्री अथवा पुरुष र स्त्री स्वभावका दुई व्यक्ति बीच मानसिक निकटता खोज्छ । प्रेम सशक्त शारीरिक उपस्थिति अत्यावश्यक ठान्दैन तर उपस्थिति सुनमा सुगन्ध भने हुन सक्छ किनकि प्रेम शारीरिकभन्दा आत्मिय अनुभूति हो । त्यसैले सांसारिक जिम्मेवारीमा नजेलिएका केटाकेटीको प्रेम छर्लङ्ग र गहिरो देखिन्छ । लैलामजनु, हिरराँझा, रोमिओजुलियटका प्रेमकथा अमर हुनु प्रेमप्रतिको उनीहरूको बलिदान ठूलो भएर नै हो ।

यौन प्रेमसँग गाँसिएको विषय होइन । त्यो त सन्तानवृद्धिसँग जोडिएको छ ।प्रकृतिले नै यसलाई प्राणीमा सन्तानवृद्धिका लागि नियोजित गरिदिएको छ र सन्तानवृद्धि प्रेम हुनु या नहुनु सँग सम्बन्ध  राख्दैन । भोक, तिर्खा जस्तै यौन आवश्यकता पनि जीवनचक्रको एउटा भाग मात्रै हो । प्राणीले हुर्कन, बढ्न र जीवन धान्न खानु, पिउनु र सासफेर्नु परे झैँ पुनर्उत्पादनका निम्ति यौन आवश्यक हुन्छ र यौन शारीरिक आवश्यकता मात्रै हो । प्रेम नभएका यौनसम्पर्कहरू अनगिन्ति हुने हुनाले प्रेम र यौन अलग अलग हुन् भन्ने प्रस्टै हुन्छ ।

विवाह यौनसँग जोडिएको छ । विवाह पुरुष र स्त्री बीच यौनसम्पर्क स्थापित गर्न र त्यसको परिणाम संयुक्त रूपमा बेहोर्न दुई जना बीच भएको सम्झौता हो । तिनीहरू बसेको समाजको धारणा अनुरूप त्यो सम्झौतालाई स्थायी बनाउन समाजले विभिन्न नियमका ढाँचाहरू राखी दिएका हुन्छन् । विवाहका निम्ति प्रेम आवश्यक वस्तु होइन । भए राम्रो नभए केही छैन । प्रेम भएकासँग विवाह भए सम्पर्क नजिकिदै गएपछि त्यो प्रेम स्नेहमा बदलिन्छ र लोग्नेस्वास्नी बीच प्रेम अन्त्य भएर स्नेह मात्र बाँकी रहन्छ । बिना प्रेम विवाह भएको छ भने त्यो स्वतः स्नेहमा परिणत हुदै जान्छ ।

हामीले सधैँ सुन्ने पौराणिक कालको कथालाई नै लिऊँ । महाभारतको अन्तिम स्वर्गारोहण पर्वमा जब स्वर्गतिर चढ्दै जादा द्रौपदी ढलिन् भीमले युधिष्ठिरलाई सोधे ‍- दाइ ! द्रौपदीले कुनै पाप गरे जस्तो त लाग्दैनथ्यो । यिनी कुन पापले स्वर्ग जान नसकेर ढलिन् ?

युधिष्ठिरले जवाफ दिए – पक्षपातको दोषले ढलिन् । बिहे त यिनले हामी पाँचै जनासँग गरेकी हुन् तर प्रेम यिनले अर्जुनसँग मात्र गरिन् । यही नै उनको पाप हो ।

बिहे गरे पनि प्रेम गर्नु पर्ने वाध्यता छैन भन्ने देखाइन् द्रौपदीले । 

भागवत महापुराणका नायक श्रीकृष्णको प्रशंसा आदिदेखि अन्त्यसम्म हुन्छ । उनका आठ वटी त पटरानी नै थिए । रानीहरूको संख्या त कति कति ? तैपनि कसैको पनि नाम श्रीकृष्णसँग जोडिदैन । जोडिन्छ त कोही अर्कैकी पत्नी भइसकेकी राधासँग । राधाको प्रेम कृष्णसँग र कृष्णको प्रेम राधासँग । अमर भयो परपुरुष र परस्त्रीसँगको प्रेम । प्रेम एउटासँग र विवाह अर्कोसँग सामान्य मानियो त्यहाँ । त्यसैले पति या पत्नी जीवन प्रवाहको एउटा शरीरिक अङ्ग हो भने प्रेमी या प्रेमिका मानसिक सन्तुष्टिको आवश्यकता ।यो आवश्यकता कुनै व्यक्ति विशेषको मात्र नभएर प्रत्येक व्यक्तिका लागि समान आवश्यकता हो र सनातनदेखि अहिलेसम्म चली आएको चलन हो । त्यसैले विवाहित स्त्री या पुरुषले अर्को अर्को विपरितलिङ्गीसँग प्रेम गर्न हुन्न भन्ने भनाइ कसैको मानसिकता कसैमा बलजफ्ती बाँधेर राख्ने प्रयाश मात्रै हो ।




3 comments:

Anonymous said...

यति सुन्दर लेख पढ्ने मौका दिनु भयकोमा यहालाई धेरै धन्यवाद छ !

khimlal said...

धेरै राम्रो लेख्नु भएको छ अझ यस्तै र अझ उत्कृस्ट रचना हरु पढ्न पाइयोस ! keep it up

Unknown said...

Sarai nai mithaspurna katha biniyojan garnu bhayeko ma dhanyabad.