Friday, August 09, 2013

भाषा व्याकरण



भाषानियमावली या व्याकरण

म किशोरावस्थामा हुदा मैले बोल्ने गरेको पूर्वेली नेपाली नै जहीँतहीँ बोलिने नेपाली हो भनी ठानेको थिएँ तर समयान्तरमा थाहा पाएँ कि भाषाका बोलिने रूप विभिन्न रहेछन । भानुभक्त आचार्यले "कण्डैसित" भनिएको कण्डो शब्दले मेरो पूर्विया भेकमा गुदद्वारलाई बुझाउथ्यो भने पश्चिममा त्यही शब्दले ढाडलाई बुझाउदो रहेछ भन्ने पनि मैले पछि नै बुझेको हुँ । स्थानान्तर र समयान्तरले बोलिने भाषाको रूप फरक पर्छ भन्ने कुरा त यसै प्रस्ट छ तर एकै ठाउँका विभिन्न भाषाभाषीले शब्दको प्रयोत उच्चारण पनि आफ्नै किसिमले गर्दा रहेछन् भन्ने ज्ञान मैले मेरै गाउँका विभिन्न भाषाभाषीका नेपाली बोलीबाट थाहा पाएको हुँ । जस्तो कि "होइन, के गर्छ हौ यो केटो ?" जस्तो सरल वाक्य पनि  "हान, क्या गार्छ हो यो केटा ?" या "हाइन, क्या गर्छ हाउ यो केटो ?"क विभिन्आद प्रग मेरै गाउँमा भएको पाएको छु । तब कहाँ इलाम कहाँ दार्चुला ! नेपालीभाषाको उत्पत्तीथलो एउटै भए पनि स्थान र समयको अन्तरले त्यसलाई झण्डै दुई भाषा जस्तो बनाउन पुग्यो । झन् अब त नेपाली भाषाभाषीको संसारभरि नै छरिएकाले बोलिने भाषा एकै रही रहने संभावना कम हुन थाल्छ ।

बोलिने भाषा ठ्याक्कै एकै राख्ने संभावना त कमै रहन्छ तर लेखिने भाषा एकै राख्न भने संभव छ । भाषाको लिखतभाषा नियम, जसलाई भाषाविदहरूको भाषामा व्याकरण भनिन्छ, स्थापित गरी लिपीवद्ध गरिएमा शिक्षा य साक्षरताको निम्ति त्यसलाई प्रयोग गर्न सकिन्छ । वर्तमानमा यस्तो प्रयास त्रिभुवन विश्वविद्यालयका केही भाषाविद्वान र नेपाल प्रज्ञाप्रतिष्ठानका विद्वानहरूले त्यसलाई थालेको देखिन्छ तर उनीहरू सहमतिय व्याकरणको निर्माण भन्दा भाषाक्षेत्रका पदाधिकारी भएकाले मुढेबलका रूपमा त्यसलाई स्थापित गर्न थालेका छन् । सामन्जस्य भन्दा अधिकारबलको प्रयोगमा रमाउने देखा परेका छन । 

नेपालीभाषा नेपालको मात्र भाषा हो भन्न अब सकिदैन । यसले क्षेत्रिय रूप त लिएकै थियो नै, अब नेपालीभाषीको संसारभरिको विस्तारले गर्दा यसको प्रयोग क्षेत्र ठुलो भएको छ । राज्यको कानुन एउटा हुन सक्छ तर भाषाको कानुन सर्ववयापी हुनु पर्छ । जसरी बोलुन् त्यो आफ्नो कुरा हो तर लेखिने या लिपीवद्ध गरिने भाषाका नियम अन्यथा हुनु हुदैन । सबैको निम्ति मान्य बनाउन सबै देशी विदेशी नेपालीभाषी क्षेत्रका भाषाविद्हरूको प्रतिनिधित्वमा साझा भाषानियमावली या व्याकरण तयार गरिनु आवश्यक देख्छु म र यो कामको निम्ति अगुवाइ नेपाल प्रज्ञाप्रतिष्ठान आवश्यक हुनु पर्ने ठान्छु म । यदि नेपाल प्रज्ञाप्रतिष्ठानबाट सो हुन सकेमा अरू सम्बन्धित निकायले त्यसको अगुवाई गर्न तयार हुनु पर्छ । साँढेको जुधाइले भाषाविवाद रही रहेमा भावी पुस्ता अन्योलमा पर्ने छ ।
राम दाहाल
जोरपाटी - १, काठमाडौँ
२०७० साउन २५

No comments: