Tuesday, August 27, 2013

निर्वाचन लेख



आसन्न निर्वाचन

निर्वाचन किन ?
उत्तर एउटै हो । नेतादेखि नागरिकसम्म सबैलाई निकास चाहिएको छ । निकास के हो ? वैद्यसमूह भन्छ - "निकास गोलमेच सम्मेलन हो । गोलमेच सम्मेलनबाट सहमती गरौँ अनि चुनाव गरौँला ।" सजिलो उत्तर बनाएका छन् वैद्यबाले । १४० दलको सहमती हुदैन भन्न थाहा छ उनलाई र चुनाव हुने सम्भावना पनि छैन । चुनाव नहोस् यो वैद्यसमूहको चाहना हो । चुनाव चाहने दलहरू भन्छन् - "निकास निर्वाचन हो । दलहरूले समस्या समाधान गर्न नसकेपछि जनता सामु जानु लोकतन्त्र हो । को सही छ ? को गलत ? नागरिकहरूले निर्णय गरून् त्यो । लोकतन्त्रमा सर्वोच्च अधिकारी नै नागरिकहरू हुन् ।"

किन चाहदैनन् वैद्यसमूह निर्वाचन ?
वैद्यसमूहको सोचाइमा सर्वहाराको प्रतिनिधी दल कम्युनिष्ट पार्टीको बलपूर्वक सत्ता हत्याउने सिद्धान्त छोडेर मतपत्रको आधारमा हत्याउने बाटोमा लागेकाले प्रचण्डसमूह प्रतिगामी भएको छ । सत्ता नहत्याउन्जेल रक्तरञ्जित क्रान्तिको बाटो छोड्नै हुन्न कम्युनिष्टले भन्ने पुरातन सोचाइमा छ वैद्यसमूह । त्यसैले भर्सक चुनाव चाहदैन ऊ । दोश्रो चुनाव लड्नै पर्ने स्थितिमा त्यो समूह आफ्नो अस्तित्व देखाउन चाहन्छ तर उसको अहिलेको स्थिति कुनै समयमा एमालेबाट छुट्टिएर गएको वामदेव गौतमको मालेको भन्दा बढी देखेका छैनन् राजनैतिक विश्लेषक र जनताले पनि । त्यो वैद्यसमूहका नेताहरूलाई पनि थाहा छ ।

किन चाहन्छ दलिय संयन्त्र निर्वाचन ?
दलिय संयन्त्रका ४ दल नै मिलेर सरकार चलाउन सकेनन् । वहुलवादी लोकतान्त्रिक सिद्धान्त बोकेको नेपाली कांग्रेस र दलिय अधिनायकवादी सिद्धान्त बोकेको माओवादी बीच तेश्रो शत्रु हटाउने सहमती त भयो तर सँगै बसेर शाशन चलाउने संभावना भएन । संविधान पनि त्यसैकारणले बनेन । द्वितिय विश्वयुद्धमा नाजी जर्मन विरुद्ध कम्युनिष्ट सोभियत संघ र लोकतान्त्रिक पश्चिमा देशहरू बीच गठजोड एक उद्देश्यको निम्ति भयो तर नाजी जर्मनको पराजय हुने बित्तिकै त्यो गठजोडको अन्त्य भयो । माओवादी र अरू दलको गठजोड पनि राजतन्त्रको अन्त्य पछि सिद्धियो । त्यसैले यो निर्वाचनलाई उनीहरूले वहुलवादी लोकतन्त्र कि दलिय अधिनायकवादको निर्णय नागरिकले गरून् भन्ने चाहना राखे। यस्तो निर्णयको निम्ति बाहिरिया शक्तिकेन्द्रहरूले पनि जोड दिएका छन् र यसैलाई वैद्यसमूहले 'प्रभूको इसारा' भनेका पनि हुन् । दोश्रो, निर्वाचनलाई वैद्यसमूले दलिय संयन्त्रको अस्मितaको विषय पनि बनाई दिए । दलिय संयन्त्रले चुनाव गराउन सकेन भने ती दलहरूको इज्जत नागरिकहरू बीच स्खलित हुन सक्छ । अब प्रतिस्पर्धा गर्ने दलहरू बीच सकेसम्म धेरै जित्ने सँगसँगै चुनाव गराएरै छाड्ने दुबै कुरामा जोड चल्ने छ ।
के हुन्छ परिणाम ?
परिणामका विभिन्न पाटाहरू छन् । पहिलो, निर्वाचन भएन भने नागरिकहरू माझ ४ दलको इज्जत रहने छैन । त्यसैले ४ दलले निर्वाचन गराउने नै छन् । चुनाव बिथोल्न प्रयास गर्ने छ वैद्य माओवादले । उम्मेदवार हुनेलाई र मतदातालाई पनि धम्क्याउने छ, तर्साउने छ । सकेसम्म त्राशको वातवरण सिर्जना गर्न प्रयास गर्ने छ । हतियार नै उठाएन भने वहुसंख्यक नागरिक तर्सिने छैनन् । उनीहरूले माओवादी देखेका र चिनेका छन् अहिले । हतियार उठायो भने वैद्यसमूहको नियति कम्बोडियाली पोल पोटको भन्दा गतिलो हुनै छैन ।
कस्तो हुन्छ निर्वाचन ?

निर्वाचन हर प्रकारले शान्तिपूर्ण हुने सम्भावना छैन । सहरमा होइन गाउँको कतिपय ठाउँमा त्राशको वातावरण सिर्जना हुन सक्छ र कहीँकहीँ बुथ पनि लुटिन सक्छ । फर्जी मत नखस्ला भने पनि छैन । कतिपय ठाउँमा हत्या नै पनि हुन सक्छ । यी सबै कुरा लोकतन्त्रवादी अल्पविकशित देशका निर्वाचनमा भई रहने कुराहरू हुन् । 

अन्ततः
निर्वाचन हुन निश्चित छ र निर्वाचन हुन्छ नै ।

राम दाहाल
जोरपाटी - १ काठमाडौँ
२०७० भाद्र ११

No comments: