Wednesday, August 14, 2013

विषम छ मेरो टोल (कविता)



विषम छ मेरो टोल

कट्टु लगाई कुदेकी तरुनी हेरेर बुढी भन्छे -
"नकच्चरी लाज नभएकी नाङ्गै नाङ्गै हिड्छे
कोही पनि किन नसक्ने भुत्ल्याएर राख्न
कस्ता आमाबाबु होलान् लुगा नदिने ढाक्न ?"
केटी झन् के कम्ती हुन्थी भुत्भुताई भन्छे
"नकचरी बुढी आफू भने झन् आधा नाङ्गै हुन्छे
चार अमलको चोलो लाउछे भुँडी नाङ्गै पार्छे
सकेसम्म भ्याएसम्म फरियाँ तल झार्छे ।"

धन्य, भगवान ! जुधेका छैनन् जुधेमा के पो होला
विषम छ मेरो टोल, विषम छ यसको चाला ।

आठ बज्यो कि निन्द्रा लाग्ने बाजे सुत्न जान्छ
"अब पो बल्ल ढुक्क भयो" - नाति मख्ख पर्छ
रातचर्या शुरू हुन्छ त बाजे उठ्दा सुत्छ
शंखघण्टले उसलाई सधैँ सधैँ नै पिर्छ ।
"सुताहा, अल्छी के गरी खाला ?" - बाजे सधैँ नै भन्छ
"पापी बुढा सुत्न दिदैनन" - नाति झन्‍झन् झर्कन्छ ।

धन्य, भगवान ! जुधेका छैनन् जुधैमा के पो होला ?
विषम छ मेरो टोल, विषम छ यसको चाला ।

खेल्ने ठाउँ त्यही एउटा सिङ्गो नदीकिनारा
सकी नसकी सफा गर्छन् टोलका लालाबाला
दुई चार पैसा जम्मा गर्छन्, बल पनि ल्याउछन्
भोलि खेल्ने तालिकाको चिनो पनि लाउछन्
अँध्यारो भयो कि टोलको लर्को त्यही ठाउँ दाग्छ
बिहानी त नदीकिनारा पहिल्यै जस्तै लाग्छ
"मारी दिनेथ्यौँ फोहोर फाल्ने त्यसलाई भेटे"
चिच्याउछन् केटाकेटी सबै नै रुन्चे स्वरले ।

धन्य, भगवान ! भेटेका छैनन्, भेटेमा के पो होला ?
विषम छ मेरो टोल, विषम छ यसको चाला ।

जोरपाटी, काठमाडौ
२०७० वैशाख ८

No comments: