Saturday, July 20, 2013

कविता

सत्ययुगको कथा

सत्य हो वा होइन थाहा छैन मलाई
तर इतिहास यहीभन्छ
परंपरा यसरी नै बोल्छ -
"बाबुको नामको अंशबण्डा
गच्छे र ईच्छानुसार सबैले लिन्छ ।"

कश्यपपुत्र देव, दानव र मानव
सत्ययुगमा एउटै थलोमा बस्थे,
एउटै भाँडोबाट खान्थे
हैसियत अनुसार आमाले बराबरी लिन्थे,
बराबरी दिन्थे ।

बाठा र राम्रा थिए देवताहरू
रजगज उनीहरूकै चल्थ्यो
राम्रा ठाउँमा उनीहरू नै हुन्थे,
बलिया बाङ्गा थिए दानवहरू
किन उनीहरू पनि ठगिन्थे ?
भाग त उनीहरू पनि लिन्थे ।

सोझा र निर्बल मनुवाहरू त
धर्तिपाटो मरीमरी खन्थे
दाजुहरूले जे दिन्थे, त्यही लिन्थे र
आफ्नो दुख आफैमा राखेर
कुना पसी एक्लै रुन्थे ।

चित्त बुझेन व्रह्मालाई नातिनातिको भेद
"छुट्याई दे, कशु" भने "दिई एक एक खेत"
व्रह्मा बुढा मध्यस्त बसे नातिलाई भाग दिन
रोजाए सबैलाई बस्ने खाने थलो लिन ।

"हामी त स्वर्गतिर जान्छौ
यहाँ के छ र बस्नु ?
भाग दिनोस् जति मिल्छ
केका लागि पेट यो कस्नु ?"
देवताको कुरा सुनेर दानव पनि चम्किए
"हामी पनि बस्दैनौ यो सिंगै धर्ति नै दिए
यहीँ बसी रह्यौ भने हुन्छ हाम्रो बेहाल
स्वर्गतिर जान नपाए बरु पस्छौ पाताल" ।

स्वर्ग पुगे पनि भाउ बढेन देव देव नै रहे
पाताल पुग्ने दानव पनि दानव मात्रै भए
स्वर्गमा त मान भएन न पातालमा पाए
अपमानको चस्का त जहीतहीँ तिनले भ्याए ।

दिएको माया माता अदिति, दनुले सम्झे
त्यो धर्तीमा मान सबैले दिएका दिन सम्झे
फर्कनलाई लाज लोभले यसै त दिएन
चुत्थ्याइएकी धरामा फेरि यसै जानु भएन ।

सहायतासंघ खोले मिली देवदानवले
धेरै धेरै ल्याई दिन्छौ भन्दै वाचा बोले
भोको पेटको सोझो मनुवा आश आशमै हाँस्यो
पायो केही कि पाएन कि बोलीमै बाँच्यो ?

इतिहासले केही भनेन, न परंपरा बोल्यो
न शास्त्र र धर्मकुराले केही कुरा नै खोल्यो
देव दानव अझै उतै छन् मनुवा बिचरो यही
आश आसशमा पुजी रहेछ ढुंगे दाजुभाइ ।




राम दाहाल
जोरपाटी ‍-१ नारानटार
काठमाडौँ, नेपाल
२०७० श्रावण ४
 

No comments: