Wednesday, September 24, 2014

मेरा बाबु (Journey to Life)



मेरा बाबु

(१३ वर्षको उमेरमा मेरा बाबु)

बिहानीको ९ बजे पनि घाम अझै आँगनमा आइपुगेको थिएन। उठ्न लागेको घोडाजस्तो देखिने त्यो मकालु घाममा चुनले पोतेजस्तो टल्किए पनि त्यो उत्तरपश्चिम फर्किएको गाउँ भने अझै घामलाई पर्खेरै बसेको थियो। घाम नआइपुगे पनि जेठको महिना भएकोले बिहान चिसो त थिएन तर त्यो घरभित्र र बाहिरको वातावरण भने असाध्यै गर्‍हुँगो र चिसो थियो। आँगनभरि बसेका लोग्नेमानिसहरूमा विषाद थियो। उनीहरू हरिया बाँसको खटिया बनाइरहेका थिए। पूर्व पट्टिको  मठमा मेरा बाबुलाई सेतो कपडाले पुरै छोपिदिएर सुताइएको थियो र घरभित्र आइमाईहरू रोइरहेका थिए। 

यो मैले देखेको दृश्य हुन पनि सक्छ अथवा धेरै लाश त्यसरी नै सुताएको देखेकाले वाल्यकालको मेरो कल्पना पनि हुन सक्छ। मेरा बाबुका बारेमा म यति मात्रै सम्झन्छु र अढाई वर्षको उमेरमा देखेको यो दृश्य मेरो वास्तविक सम्झना नभएर कल्पना नै हो भने पनि सो कल्पना यति स्पष्ट छ कि अहिले मलाई 'त्यो सत्य होइन' भनेर मान्न गाहारो छ।  

मेरा बाबुलाई मैले कहिले पनि देखिनँ अथवा अबुझ हुदै देखेकाले उनको अनुहार, कद, बोलीचाली केही पनि सम्झन्नँ। उनको तस्विर पनि उनी १२/१३ वर्षको हुदाको देखेकाले बाबुका रूपमा म कल्पना गर्न सक्दिनँ र कल्पना गर्नु आवश्यक पनि ठानिनँ। बाइस वर्षको उमेरमा मरेका बाबु अढाई वर्षको बालकका निम्ति परचक्री जत्तिकै नौलो र पराया हुनु स्वाभाविक हो। त्यस्तो स्थितिमा बाबुको आवश्यकता बालकले अनुभव गर्न पनि सक्दो रहेनछ र उसको निम्ति बाबु व्यक्तिगत नभएर नाताको मात्र हुदो रहेछ। मैले बाबुसँगको नाता यस्तै अनुभव गरें।  

बाइस वर्ष पनि नपुगी विधवा हुने मेरी आमा र बुढेसकालमा जवान कान्छो छोरो मरेको देख्ने मेरी बजैको निम्ति त्यो मृत्यु ठूलो आघात थियो। मेरो निम्ति त त्यो शंख बजेको, मानिस जम्मा भएको दिन अवश्य पनि रमाइलो भयो होला र भित्र बाहिर गरिरहे हुँला। कुनै नातेदार आइमाईले मलाई रुँदै उठायो पनि होला र बाबु मरेको र आमा बेहोश भएकाले बेवारिसजस्तो भएको मेरो चार महिनाको भाइलाई पनि कुनै आइमाईले दुध खुवाएर अवश्य शान्त गरी होला। यी कुरा मलाई कसैले पनि भनेन। यो केवल मेरो कल्पना मात्रै हो तर पछिसम्म पनि मेरी जेठी बडिआमा भन्ने गर्थीन् — "उता बाबुको लाश बाहिर लडाएर सबै रुवावासी गर्थे, यो भने दहीचिउरा खान पाइनँ भनेर मरिमरि रुन्थ्यो।

मेरी आमा भन्ने गर्थिन् मेरा बाबु जुवाडे थिए। मेरी बडीआमाहरू भन्थे मेरा बाबु छुच्चा थिए। र मेरा फुपूहरू भन्थे मेरा बाबु छिटा र छरिता थिए। उनीहरूले यी कुरा कहिले रिसाएर र कहिले खुसाएर या कहिले ठट्टैमा र कहिले भने साँचै गरेर भन्थे। ससुराली गएको बेला आफूसँग भएको जम्मै पैसा जुवामा हारेर आफूसँग पैसा माग्ने लोग्ने नवविवाहिताका लागि जुवाडे लाग्नु पहिलो स्वाभाविक प्रभाव थियो। जुवा नखेल्ने परिवारमा हुर्किएकी मेरी आमाका निम्ति २ पैसाको जुवा पनि जुवाडेहरूको खेल सम्झेर ननिको लाग्यो होला। कान्छो छोरो भएर भाउजुहरूको पोल आमालाई सुनाएर छुच्याइँ गर्ने या देवरका नाताले भाउजूहरूलाई सास्ती दिन खोज्ने सबैभन्दा कान्छो देवरको उदण्डता भाउजूहरूले छुच्याइँ मान्न सक्थे। पिटपाट गरेर भाग्ने, दिदीबहिनीको भाग खोसेर खाने या प्रतिद्वन्दिलाईउछिनेर उम्कन सक्ने दाजुभाइ दिदीबहिनीहरूलाई छिटो लाग्नु आफ्नो रगतको बखान गर्नु स्वाभाविक थियो। मलाई लाग्छ यी सबै कुरा मेरा बाबुमा अवश्य थिए होलान् किनकि एउटा सम्भ्रान्त बिर्तावालको बुढेसकालको कान्छो छोरो छिटो, छुच्चो र जुवाडे हुनु कुलिनताका चिन्ह मानिन्थे र मेरा बाबुको जन्म त्यस्तै परिवारमा भएको थियो। कसैसँग नदब्नु, नडराउनु र आक्रामक हुनु अर्को विशेषता मानिन्थ्यो र त्यो पनि त्यही कुलिनताको लक्षण मानिन्थ्यो। त्यसैले मेरा बाबुका समकालिन नातेदारले सुनाएसम्म कुराबाट म यति भन्न सक्छु कि मेरा बाबु नेपालको एउटा दुर्गम गाउँका आफूलाई कुलिन ठान्ने एउटा सम्भ्रान्त परिवारको तन्देरीको प्रतिनिधि पात्र थिए र त्यो कुलिनता र त्यो सम्पन्नता कति कुलिन र कति सम्पन्न थियो त्यो पछाडि स्पष्ट हुदै जानेछ। 

मेरा बाबुको मृत्यु कुन रोगबाट भयो? त्यसको स्पष्ट जवाफ मैले कसैबाट पनि पाइनँ। त्यो समयमा त्यो ठाउँमा व्यथालाई जरो आउने, पेट देख्ने, छाती दुख्ने, टाउको दुख्ने या घाउ-पिलो आदिमा विभाजन गरिन्थ्यो र जरो आएर नै मेरा बाबुको मृत्यु भएको हो भन्ने मात्र मैले सुनेँ । अरूको मुखबाट सुनेको जरोको लक्षण, अवधिबाट मैले मेरा बाबु टाइफाइबाट मरेका हुन् भन्ने अन्दाज काट्न सक्छु। जुन ठाउँमा ओखतीका नाममा तातो पानी, जिरा-मरिच, नुन-बेसार र २।४ वटा झारपात मात्र थिए त्यहाँ मृत्युको निम्ति कुनै कारण पनि चाहिदैनथ्यो। 

बाबुका बारेमा मेरो ज्ञान अति सीमित छ।आफूले नचिनेको, नजानेको व्यक्तिका बारेमा अर्को कहिलेकहीँ भनेको भरमा चित्रण गर्न यसै पनि गाहारो हुन्छ। त्यसमा पनि मेरा बाबुको जीवन त साँचै पानीको थोपाजस्तै छोटो थियो। किशोरावस्था नाघेर बैंसमा खुट्टा हालेको केही वर्षमा नै उनी बिदा भए। शास्त्र, साहित्य, कला, पुरुषार्थ या पौरख केही पनि नभएका मेरा बाबुलाई सम्झिने र सम्झाउने आधार पनि केही थिएन । त्यसैले उनको मृत्युपछि उनको अवशेषका रूपमा हामी मात्र बाँकी रहेका थियौं, केवल हामी मेरी आमा, मेरी दिदी, म र मेरो भाइ।

1 comment:

Unknown said...

lekhai bahut ramro lagyo. wahako bare ma wahaka samakalin ra natedar haru lai sodhera wahako bistrit bibaran rakhnu bhayeko bhaye ajhai ramro hunthyo hola, haile pani sunna janna paune thiyeu.