Wednesday, September 10, 2014

प्रचण्डको हालत

प्रचण्डको अहिलेको स्थिति

एउटा गरिब दिनभरिको ज्याला लिन जाँदा बाटोमा पोथ्रोमनि तित्रो देखेर तित्रो समाई ज्याला भोलि लिने बिचार गरेर घर फर्के छ र बाहिरबाटै बुढीलाई सोधेछ - "आज सितन के पकायौ ?"

पत्नीले जवाफ दिइछ - "दाल थियो अलिकति । त्यही पकाएँ।"

उसले भनेछ - "सुँगुरको डुँडमा हालिदेऊ त्यो दाल। मासु ल्याएको छ । मासु खानु पर्छ ।"

स्वास्नीले पनि खुशी हुँदै दाल डुँडमा हालेपछि भनिछ - "खै ! के मासु ल्यायौ हेरूँ ?"

लोग्नेले तित्रा छोपेको उघार्दै भनेछ - "लु हेर ।"

छोपेको झिक्ने बित्तिकै तित्रो उडेछ र दुवै जिल्ल परेछन् ।एकछिनपछि स्वास्नीले भनिछ - "अब भात केसँग खाने ?"

एकछिन सोचेर लोग्नेले भनेछ - "पख । म त्यो डुँडबाट माथिमाथिको दाल सोहोरेर ल्याउछु ।"

एमाओवादीका नेता प्रचण्डको हालत त्यही लोग्नेको जस्तो भएको छ । पोखेको दाल सोहोरेर चित्त बुझाउन खोज्छन् आफ्ना कार्यकर्तालाई । कति सफल हुने हुन् उनी ? भविष्यले बताउला ।

No comments: