Wednesday, September 17, 2014

समानता(लघुकथा)



समानता
  राम दाहाल

मुसोले हात्तीसँग विहे गरेको कुरा विश्वभरि फैलियो र सबैले हात्तीको उदारता र मुसाको बहादुरीको प्रशंशा गरे। उनीहर समानताका अनुपम उदाहरण भए र उनीहरुको कार्यलाई असमानताको अन्त्य गर्ने पहिलो व्यवहारिक खुटकिलो मानियो। त्यही उपलक्षमा भोज भए, उत्सव गरियो र चहाड मनाइयो। 
हात्तीलाई भनियो – ‘घरभित्र पनि तिमीले समान अधिकार दिनुपर्छ।
सज्जन हात्तीले त्यसलाई सहर्ष स्वकार गर्‍यो। उनीहरले सँगै आर्जन गरे, एउटै भाँडोबाट खाए, उस्तै लगाए। हात्तीलाई कहिले कहीं नपुग भयो होला तर मुसोलाई कहिले पनि भएन।
उनीहर बसे एउटै थलोमा, सुते एउटै ओछ्यानमा। सबै राम्रै थिये तर एक दिन दुर्घटना भयो। 
निदाएकै बेला हात्ती कोल्टे फर्कियो र मुसो किचिएर मर्‍यो
चारैतिर समाचार फैलियो - ‘मुसो किचिएर मर्‍यो, हात्तीले मुसोलाई किचीकिची मार्‍यो । हात्ती अन्यायी हो, अत्याचारी हो। हात्तीलाई सजाय हुनैपर्छ। 
बिचरो हात्ती के गरोस् ? ऊसँग त जवाफ नै थिएन।
बिराटनगर 
२०५०।१०।२८

No comments: