Tuesday, February 04, 2014

संवृद्धिशास्त्र (मानव चाहना २)

संवृद्धिशास्त्र 

मानव चाहना(क्रमश:)


२.मानव चाहना

आखिर, मानिसका गतिविधिलाई सक्रिय बनाउने त्यो चाहना के हो? र मानिसका आवश्यकता र चाहनामा कति फरक छ?

कुनै पनि प्राणीलाई जीवन धान्न र सक्रिय हुन् कतिपय चिज आवश्यकता पर्छ र सबै जीवित प्राणी दैनिक आधारमा ती चिज पाउन प्रयास गर्छन् र त्यो पाएपछि सन्तुष्ट हुन्छन्। ती चिजहरूलाई प्राकृतिक या प्राणीजन्य आवश्यकता भनिन्छ। तर मानिस त्यतिमा नै सन्तुष्ट हुदैन र त्योभन्दा पनि बढी खोज्दछ। त्यो प्राकृतिक आवश्यकताभन्दा परको माग चाहना हो। प्राणीजन्य आवश्यकता मानिसको जैविक अस्तित्वकोनिम्ति अपरिहार्य छ भने चाहना त सन्तुष्टि र खुशीकोनिम्ति खोजिने प्राकृतिक आवश्यकताभन्दा परको तुष्णा हो। जब कि मानिसका आवश्यकता समान हुन्छन, चाहना समय–समयमा, ठाउँ–ठाउँमा व्यक्ति व्यक्ति बीच फरक हुन्छन्। चाहना बिनाको व्यक्ति त भूत, भविष्य, वर्तमान कुनै नभएको शुन्यसम अजीव मूढमात्र हुन् सक्छ।

आफ्नो पहुँचको पातमात्र टिपेर खान सक्छ, दुई बटा साँढे जुध्दा सामर्थ्यसम्ममात्र एक अर्कालाई हान्न र ठेल्न सक्छन् र सबैभन्दा छिटो चितुवाको पनि दौडका गतिको सीमा हुन्छ तर मानिसकोनिम्ति त्यस्तो सीमा हुदैन। आफू पुग्न सकेन भने मानिस आंंकुसे झुंड्याउछ, भर्‍याङ लाउँछ, क्रेनले उचाल्छ, लिफ्टले माथि पुर्‍याउछ। गति बढाउन घोडा, गाडी, हवाइजहाज र अझ रकेट नै पनि प्रयोग गर्छ र आफ्नो प्रतिद्वन्दिलाई हराउन छिर्के दाउहरू प्रयोग गर्छ, हतियार नै पनि चलाउछ। उसको विकसित वुद्धि आफ्नो चाहना पूर्ति गर्न नकारात्मक या सकारात्मक दुवै रूपमा साम, दान, दण्ड र भेद प्रंयोग गर्छ। त्यसैले जब कि अरू प्राणीको सामथ्यलाई भौतिक इकाइमा नाप्न सकिन्छ, मानिसको सामर्थ्य अतुलनिय हुन्छ। र त्यस्तै हुन्छ उसको चाहना पनि।            

 एउटा चाहना पूर्तिले अर्को चाहना जन्माउछ। चाहनाले सामर्थ्य जन्माउछ, सामर्थ्यले कार्य सम्पादन गर्छ, कार्यसम्पादनबाट लाभ प्राप्ति हुन्छ, र लाभले सन्तुष्टि दिन्छ र सम्पन्नता बढाउछ। एउटा सम्पन्नता प्राप्तिपछि सम्पन्नता वृद्धिको चाहना या सबृद्धिको चाहना स्वत जन्मन्छ र फेरि अर्को चाहनाचक्र चल्दछ। यो कहिले पनि अन्त्य नहुने चाहनाचक्रको फेरोले मानव ज्ञान र सम्पन्नता बढाइ रहन्छ। सम्पन्नताको वृद्धि सँगै जगको पेच फेरोमा गाडी उठे झैं चाहनाचक्रको फेरोमा सधैं मानव सभ्यताको संवृद्धिको उचाइ बढदै जान्छ।  

भन्न त 'सन्तोषम् परमम्ं सुखम्' भनिन्छ तर जो आफुसँग छ त्यसैमा मानिसले सन्तोष गर्ने हो भने उसलाई अरू आवश्यकता पर्छ नै किन र? चाहनाले त असन्तुष्टि जन्माउछ र असन्तुष्टिले चाहना पनि। मानिस अरूभन्दा राम्रो र श्रेष्ठ हुन् खोज्छ। कमाइ गर्ने घरमूलीले पनि आफ्ना परिवारबाट सन्मान खोज्छ। मानिस श्रेष्ठता र सन्मानको चाहना गर्छ, र त्यो प्राप्त गर्न प्रयास गर्छ। यी सबै कुराबाट हामी यो निर्णयमा पुग्छौ्रः प्राण्ीका आवश्यकता उसको अस्तित्वरक्षाकानिम्ति चाहीने प्राकृतिक माग हुन् भने चाहना सम्पन्नतावृद्धि या संवृद्धिका सोख हुन्। 

No comments: