Friday, February 14, 2014

विदाइ चिठ्ठी प्रेमिकाको

एक प्रेमिकाको विदाइ चिठ्ठी

"दैवु राजै,

यी दुई शब्द लेख्नु अगाडि मैले बीसौं पटक दोहोर्‍याएर रोएँ, आफैंले बोलेर आफैलाई सुनाएँ किनकि यी शब्द तिमीलाई भन्नु मेरो पहिलो पटक हो र अन्तिम पटक पनि। हुन् त तिमी भनौला - 'तँ ती शब्द अगाडि पनि भन्न सक्थिस्।' हो सक्थें तर भन्न सक्नु र भन्नुको बीचमा ठुलो अन्तर छ। कति कुरा भन्न चाहेर पनि भन्न सकिंदैन र कति कुरा भन्न सकेर पनि भनिदैन। आज म स्वतन्त्र छु भन्नलाई र त्यसैले भन्दैछु। यो मेरो भनाईले अब कसैलाई पनि नोक्सानी गर्दैन। नोक्सानी हुने सीमाभन्दा बाहिर जाँदै छु म मृत्यु सम्म पुग्न नसके पनि।"

"तिमीलाई लाग्ला म अति भावुक भएकी छु। हो, भावुक भएकी छु। भावुक हुने अधिकार छैन र मसँग? मैले भावुक हुन् पाउने क्षण आउनुहुन्न र म भित्र? तिमी पो वास्तविकता र व्यवहारिकतामा बाँच्नु पर्ने मान्छे। तिमी पो भावुक हुन, रून र हाँस्न सक्दैनो, जान्दैनों। तिमी त अर्काको निम्ति बाँच्ने मान्छे। कसैको पैताला बालुवाले खोस्याउला भनेर उसको बाटोमा आफ्नो छाती ओछ्याइदिने मान्छे।"

 "दैबु ! काल पनि कति निर्दयी हुन्छ, ह कि? एकदिन आफू जन्मेर हुर्किएको माटो सँधैको निम्ति छोडेर हिंडदा मेरा पाइला अनन्त भास तिर लागेको अनुभव गरेथें र त्यही भासमा डुबेर बिलाउने आशा म निश्चिन्त थिएँ। तर कहाँ पाएँ र मैले डुब्न? तिमी मेरो आशाको त्यान्द्रो भएर अगाडि उभिई रह््यौ। तिमी मेरो संरक्षक भएर मृत्युसँग लडिरह््यौ। तिम्रो सामु त अजेय मृत्यु पनि हारेर गयो। ह कि? मलाई बचाएकोमा तिमीलाई अवश्य गर्व भयो होला तर सोचेनौं नि तिमीले त्यो बेला -मेरो निम्ति बाँच्नु कति कष्टकर छ भनेर। मैले बाँच्न त रामायणमा वर्णित राजा श्वेतकेतुले आफ्नो लास स्वर्गबाट ओर्लेर आफैं खाए झैं आफैंलाई खानु पर्छ, आफ्नै रगत पिउनु पर्छ। अहिले हेर त। आज कालचक्र एक फन्को मारेर फेरि मलाई यो मैले टेकेको ठाउँबाट बाहिर हुत्याउँदै छ तर, मेरो दुर्भाग्य। अहिले तिमी मेरो साथमा छैनों। केवल तिम्रो सम्झनाको चिनो मात्र हुनेछ मसँग। मृत्युसँग पनि म एक्लैले लडनु पर्नेछ किनकि आज त मर्ने चाहना पनि छैन ममा।"

"राजै ! भन्न त मलाई धेरै मन थियो तिमीसँग - धेरै, धेरै, यति धेरै कि त्यो बोली, सँगै प्राण उप्किएर जिब्रोमा आएर टाँसिए बोली नरोकिए सम्म। तर भाग्यमा म लेखिएको चिज म कहाँ पाउँ्क? मैले तिमीलाई धेरै दिन मन गरेथें तर मसँग दिने चिज केही रहेनछ। म त रित्तै रहिछु। मैले तिमीसँग माग्नु पनि धेरै थियो तर आफूसँग दिने केही नभए पछि तिमीसँग मात्र  मागेर कति दुःख दिउँ्क तिमीलाई? तिमीले जति दियौ त्योभन्दा बढी एउटी नारीले के पाउन सक्छे? तिम्रो सामु म त स्वार्थी मगन्ते मात्रै हुँ र तिमीसँग त अझै माग्नु छ। त्यसैले यो मगन्तेको अन्तिम मगाइ न नकारिदेऊ।"

"दैबु ! तिम्रो संगतमा आएर मैले दुइवटा प्रिय वस्तुहरू कमाएँ। एउटी बहिनी जसलाई तिमी स्वास्नी भन्ने गर्छौ। उसको ह्दय हिमालको हिमशिला जस्तै छ, बाहिरबाट कडा र चिसो तर प्रेमको न्यानोपनले छोपिदिए पछि ऊ पग्लन्छें स्वच्छ र निर्मल पानी जस्तै भएर। ऊ असत्लाई असत् भनिदिन्छे। तिमी हामी जस्तो छोपेर राख्न सक्दिनँ ऊ। तिमीले बाँच्न दियौ भने ऊ बाँच्छे, मर्न दियौ भने मर्छे। ऊ तिमीलाई माया गर्छे, यति धेरै माया कि प्रत्येक स्वास्नीमान्छे माथि ऊ शंका गर्छे 'उसले तिमीलाई आफूबाट खोस्छे कि' भनेर। त्यसैले ऊ अकारण त्यो स्वास्नीमानिससँग झगडा गर्न पनि तयार हुन्छे तर कुनै स्वास्नीमानिसले तिम्रो भलो चाहन्छे भन्ने उसको मनमा विश्वास भयो भने तिमीलाई उसको हातमा सुम्पन पनि सक्छे। मेरो त्यो मुर्ख बहिनीलाई तिम्रो काँखमा छोडेर गएकी छु। उसलाई सुखी हुन् सिकाईदेऊ अन्यथा उसको आँसुले मलाई पिर्ने छ। तिमीलाई अर्को नासो पनि छोडिदिएको छु-मेरो भाग्य या दुर्भाग्यले कमाइदिएको नासो। सामाजिक र कानुनी नाताले ऊ मेरो लोग्ने हो र हामी दुई बीचको हार्दिक भावना र सम्झैाताले मेरो भाइ। कस्तै विषम परिस्थितिमा पनि उसले मलाई 'दिदी'भन्दा अर्को भावनाले हेरेन र आमाको नैतिक दबावमा पनि उसको मनमा पाप उब्जिएन। मैले सक्ने भए म उसलाई हुर्काइदिने थिएँ तर त्यो असम्भव हो भन्ने तिमीलाई थाहा छँदै छ। ब्याहिता स्वास्नी दिदी भएर यो समाजमा कसरी बाँच्न सक्छे र? तिमी बाहेक उसको जिम्मेवारी लिने कोही छैन। ऊ आफू आफ्नो खुट्टामा उभिने नहुन्जेलसम्म सहारा देऊ। मेरो माग्ने यत्ति नै हो।

"तिमी भन्थ्यौ नि, दैबु ! मानिस मानिसको बीचमा साइनो बाँधिएको हुन्छ भनेर। मलाई काकीको नाता भित्र बाँध्न खोज्यौ सँधै नै तर कसले स्वीकार गरिदियो तिम्रो त्यो साइनोलाई? अरू त अरू तिम्री आमाले पनि मानि दिनु भएन त्यो तिम्रो ढिपीलाई। सबैले मलाई तिम्रो पोल्टा भित्रको 'तिम्रो वस्तु' ठानें, सँधै तिम्रो अधिकारको दायरा भित्र राखे मलाई। जुन कुरा मैले चाहिंन त्यही गर्न बाध्य गरे मलाई र जो तिमी हुन् चाहेनौ त्यही बनाए तिमीलाई। यो माटोमा जन्मले बाँधेको नाता त बलियो हुँदो रहेनछ भने संकल्पले बाँधेको साइनोमा अडन खोजेर आफैं पीडा भोग्नु बाहेक अरू के पायौ तिमीले? म त बिना साइनो आएकी मान्छे बिना साइनो मेटिन जादैछु - मैले तिमीलाई दिएको दुःखको प्रायश्चित गर्न।

"मेरो राजा ! आफ्नो भाग्यको निम्ति त मलाई रून छैन तर तिम्रो दुर्भाग्य सम्झेर मेरो मुटु घाँटीसम्म आइपुग्न खोज्छ। तिमीले अर्काको वारेस भएर सँधै नै आफूले नगरेको अपराधको सजाय भोग्नु परिरहेको छ, अर्काको जिम्मेवारी आफूले बेहोर्नु परिरहेको छ। तिमी सँधै सँधै आफ्ना सबै घाउ लुकाएर एक्लै आफ्नो दायित्व पूरा गरिरहेका छौ। न कसैले तिमीलाई सह्योग दिन्छ, न सहानुभूति। तिमी आगोमा हाम फालेको बखान त सबैले गर्लान् तर त्यो आगोले पोलेको तिम्रो घाउको दुःखाई कसैले पनि अनुभव गर्न सक्दैन। मैले त तिमीलाई भेटेको दिन देखि नै सँधै दुःख दिएँ तिम्रो मुस्कान भित्र अमिलो दुःखाई भएको थाहा पाई पाई पनि। माफी देऊ मेरा सबै अपराध। बिन्ती छ। बिर्सिदेऊ एउटा दुस्वप्न ठानेर सुभद्रा भन्ने तुच्छ जीवलाई। म आफैले तिम्रो वारेसनामा च्यातेर गएकी छु म प्रतिको तिम्रो सबै जिम्मेवारी छुटाएर।  

सुभद्रा    

No comments: