Wednesday, October 12, 2011

के हो तानाशाही ?


मेरो पन्द्र वर्षे नातिले हिजै मात्र प्रश्न गर्‍यो – तानाशाही भनेको के हो ? तुरुन्तैको जवाफमा मैले उसलाई आफूखुशी मनपरी गर्ने शाशक भनेर परिभाषा त दिए तर त्यो परिभाषामा पछि म आफै अल्मलिएँ । तानाशाहीलाई बुझ्न यति नै मात्र पर्याप्त छ भन्ने मलाई लागेन र मैले गौड गरेँ – मानिस किन तानशाह बन्छ त ? के मनपरी गर्नलाई मात्रै हो त ?
व्यक्तिको तानाशाही, धर्मको तानाशाही, जातिको तानाशाही, वर्गको तानाशाही, समूहको तानाशाही या दलको तानाशाही आदिमकालदेखि चलिआएको छ । व्यक्तिको तानाशाहीको नमुना रोमन सम्राट निरोलाई लिइने गरिन्छ । भनिन्छ – रोम जलिरहँदा निरो बाजा बजाएर बसिरहेका थिए । के रोम आगो लगाउनुको निरोको लक्ष नराम्रो थियो त ? काठमाडौं भन्दा पनि अव्यवस्थित र फोहोर सहरलाई खरानी बनाएर त्यसको जगमा नयाँ र सुन्दर रोम बनाउने उनको सपना नराम्रो भन्न सकिन्न । कुनै पनि खाट्टी मार्क्सवादीको साम्यवाद बनाउने सशस्त्र क्रान्तिकारी आन्दोलनभन्दा फरक थिएन त्यो उनको सपना । केवल उनको त्यो सुन्दर रोम बनाउने सपनामा लाखौं रोमबासीको घर जलेर खरानीमा सुत्न वाध्य भए । भोक, रोग र चिसोले हजारौं रोमवासी मरे । लाखौंका सपना ध्वस्त भए । रोम खरानीबाट फेरि उठ्यो तर त्यसले निरोको सपना पुरा गरेन, बरु आफ्नै बाटो समाएर हिड्यो ।
इतिहासमा अनगिन्ति निरोहरू आए आफ्नै परिभाषा र नितिहरू लिएर । भारतिय इतिहासका सबभन्दा ठूला तानाशाह मुगल सम्राट ‍औरंगजेव भए तर उनको लक्ष पनि नराम्रो थिएन । वरिपरिका सबैलाई जितेर उनी एउटा विशाल गौरवशाली देश बनाउन चाहन्थे उनी र उनको धर्म अनुसार अधर्मी ठहरिएका काफीरहरूलाई धर्म परिवर्तन गर्न लगाएर स्वर्गको बाटो खोलिदिन चाहन्थे उनी । निरोको अन्याय राजाको नाममा भएको थियो भने धर्मको नाममा औरंगजेवको तानाशाहीले गैर्‍ह–मुसलमानमाथि ठूलो अन्याय भयो भारतमा । त्यति ठूला तानाशाह त होइनन् गोलकोण्डाका अब्दुल हसन कुत्ब शाह अथवा ताना शाह तर आफूले पाउने पगरी ‘तानशाही’ औरंगजेवले अब्दुल हसनको नाममा भिराएर उनलाई जेलमै सडाइ दिए ।
जातिका नाममा पनि तानाशाही नचलेका होइनन् । संसारको इतिहासमा धेरै नै तानशाही जातिकै नाममा चलेका छन् । आधुनिक युगमा नै पनि साना ठूला जातिवादी तानाशाहहरू संसारभरि देखापरेका हुन् तर तिनमा सबैभन्दा ठूलो र पछिल्लो जातिवादी तानशाही जर्मनीमा हिट्लरले देखाएका छन् । उनको तानशाहीको निकृष्ट नमुना आफ्ना विरोधी र आम यहुदीको नरसंहार हो । त्यहाँ पनि जर्मन र जर्मनीको श्रेष्ठता कायम गराउने उनको लक्ष रोमको निरोको भन्दा कम सानो सपना थिएन । केवल गैर्‍ह–जर्मनको निम्ति त्यो अत्याचार हुन पुग्यो ।
रुसको भनौं या तात्कालिन सोभियत संघका शाशक स्तालिनको शाशन दलिय या वर्गिय तानशाहीको नमुना हो । एकै रातमा सर्वहारा बनाइएका जनताले त्यो रुसी जाडोमा के खाए ? के लगाए ? त्यसको लेखाजोखा भएन । जसले त्यसको विरोध गरे ती माटामनि दबाइए, आगोमा होमिए । तिनको जीवन निरोका रोमवासीको भन्दा पनि दयनिय स्थितिको भयो । इतिहास साक्षी छ – के मात्र भएन त्यहाँ ?
दल र वर्गको नाममा भएको तानाशाही रुसको भन्दा कम भएन चिनमा पनि । कार्ल मार्क्सको साम्यवाद बनाउने सपना बोकेर कुदेका माओका चेलाले वर्गशत्रुका नाममा कतिका टाउका गिँडे, कतिका सर्वस्व हरण गरेर उनीहरूलाई भोकै मर्न छोडिदिए । माओका सपना पनि निरोकोभन्दा कम सद्चित्तको थिएन । उनले पनि स्तालिनले झैं एकै दिनमा सबैलाई सर्वहारा बनाए नै । अझ उनले त एकै दिनमा घरघरमा इस्पात बनाएर विश्वको सबैभन्दा ठूलो इस्पात उत्पादकको नाम कमाउन आफ्नो महान अग्रगामी छलाङको नाममा किसानलाई खेती छोडेर घरघरमा फलामको भट्टी खडा गर्ने आदेश दिए । फलाम त बनेन नै । खेती पनि हुन नसकेर जनता भोकभोकै मरे । अझ महान साँस्कृतिक क्रान्तिका नाममा समाज परिवर्तन गर्ने उद्देश्यले राष्ट्रपतिसम्मलाई पनि सडकमा पछारे भने सर्वसाधारणको हालत त निरोका रैतीहरूको भन्दा कुनै कम भएन ।
उद्देश्य र लक्ष त कुनै पनि तानाशाहको नराम्रो हुनै सक्दैन किनकि कुनै पनि तानाशाह नराम्रो देशमा, राज्यमा, समाजमा बस्न चाहदैन । केवल ऊ जनतालाई आफू समान ठान्दैन । ऊ आफूलाई या आफ्नो दल, समूह, जाति या वर्गलाई सर्वशक्तिवान, सर्वज्ञाता, सर्वहितकारी र सधैं नै सही ठहर्‍याउछ । नेपालका माओवादीका हकमा पनि यी कुरा लागु हुन्छन् किनकि उनीहरू वर्गिय तानाशाहीका नाममा अरु विचारलाई अवैज्ञानिक, अवास्तविक र प्रतिगामी ठहर्‍याउछन् । उनीहरूको उद्देश्य र सपना साम्यवादलाई नराम्रो त भन्नै सकिन्न तर त्यो धार्मिक स्वर्गजस्तो सपना वैतर्णीको वारी कि पारी मात्र हुन सक्छ जहाँ मानिसको पहुँच नै छैन । त्यसैमा जोड गर्छन् हाम्रा माओवादीहरू ।

No comments: