Monday, October 29, 2012

कविता

हाम्रो घरमा किचलो छ

माटो थियो बस्ती बिनाको
बस्तु बिनाको पाटो,
थरीथरी आए बास बनाए
आउने आफ्नै बाटो;
चराउदै भैँसी एउटा आयो
अर्को आयो चौँरी लखेट्दै,
यो पाखोमा छाप्रो हाल्यो
‘मेरो’ भन्दै अरू नभेट्दै ।
भाइभाइको कति हो माटो ?
फैसला नै फितलो छ,
मिलेको छैन अंशबण्डा
हाम्रो घरमा किचलो छ ।

जेठो भन्छ – यो घर मेरो
पछि आएको भतुवा तँ ।
कान्छो भन्छ – घर यो सपारेँ
त्यो छाप्रोको लठुवा तँ ।
पाखो एउटै बास छ तिनको
एउटै आँगन पानी,
पराइले बराली रहेछन्
तिनका आनीबानी;
छिमेकीले रमिता हेर्छन्,
हाम्रो घर यो छिचरो छ;
मिलेको छैन अंशबण्डा,
हाम्रो घरमा किचलो छ ।

भाइ भन्छ – खेत गतिलो
दाजुले आफू खायो,
कहीँ नबिक्ने स्यालले मुत्ने
पाखो जिम्मा लायो ।
दाजु भन्छ – पक्की घरमा
कान्छो भाले बन्ने,
चुहुने थोत्रे घरमा मैले
राति तारा गन्ने ?
दाजुभाईको झगडा छ,
ऊभन्दा ऊ बिचरो छ;
मिलेको छैन अंशबण्डा,
हाम्रो घरमा किचलो छ ।

कान्छो भन्छ –दाजुलाई
किन पहिले जन्मायौ ?
जेठो भन्छ – भाइलाई
किन धेरै माया लायौ ?
बुढिया रुन्छे बसी कुनामा
भत्कदैको घर हेरी
टुक्राटुक्रा हुन लागेको
बीच माझ मझेरी ।
कसले पो देला बचाई,
जग आफैँ फितलो छ;
मिलेको छैन अंशबण्डा,
हाम्रो घरमा किचलो छ ।

--- राम दाहाल
२०६९ कार्तिक १३

No comments: