Saturday, October 27, 2012

कविता


मृत्युमहोत्सव

आज हामी छौँ उन्मादको चुलीमा,
मनाउदै छौँ मृत्युमहोत्सव आज;
आओ रथारूढ हुन विजेताहरू !
आओ समवेदना थाप्न पराजितरू !

सलामी दिदै छौँ आज
हामीले मारेकालाई,
सलामी दिदै छौँ आज
हामीले मराएकालाई;
सान्त्वना दिदै छौँ आज
जिउँदै स्वर्ग पठाएकालाई,
सान्त्वना दिदै छौँ आज
जिउँदै स्वर्ग देखाएकालाई ।

आओ उल्लास देखाउन विजेताहरू !
आओ शोक मनाउन पराजितहरू !
उन्मादको चुलीमा छौँ हामी,
मनाउदै छौँ मृत्युमहोत्सव आज ।

जीवन त मृत्युको संरक्षक हो,
अन्तिम थलोसम्म लिएर जान्छ;
मृत्यु त जीवनको अन्तिम उत्सर्ग हो,
जहाँ त्यागको अन्त्य हुन्छ;

समायोजन गर्‍यौँ हामीले दुवैको,
समागम पनि गरिदियौँ हामीले;
जीवन र मृत्युको दोसाँध
सधैँको निम्ति मेटाई दियौँ हामीले ।

आओ हर्ष देखाउन विजेताहरू !
आओ पिर बिसाउन पराजितहरू !
उन्मादको चुलीमा छौँ हामी
मनाउदै छौँ मृत्युमहोत्सव आज ।

के लिन्छौँ भनी मारेथ्यौँ ?
के दिन्छौँ भनी मराएथ्यौँ ?
भेटेनछौँ लिन केही
सकेनछौँ दिन केही
तैपनि सोचेछौँ – ‘लियौँ, दियौँ’
हारजितका गाथा बनाएछौँ
विजेता विजित मलामीलाई
महोत्सवभागी बनाएछौँ ।

आओ हर्ष देखाउन विजेताहरू !
आओ पिर बिसाउन पराजितहरू !
उन्मादको चुलीमा छौँ हामी
मनाउदै छौँ मृत्युमहोत्सव आज ।

-- राम दाहाल
२०६९ कार्तिक ११

No comments: