Wednesday, October 17, 2012

कविता


आउनोस्, हजूर, आउनोस्
आएको छ दशैँ
खाल थापेका छौँ हामिले
भाग्य खोलेका छौँ हामीले ।
यहाँ त दाउ मात्रै हान्नु पर्छ
च्याँखे पनि मालामाल
खाले पनि मालामाल
यहाँ त रमितेको मात्रै बेहाल ।


खाल खोलेका छौँ हामीले घरघरमा
खाल खोलेका छौँ हामी टोलटोलमा
सडक सडकमा खाल छ हाम्रो
खाल पनि छ हाम्रो दरबारमा ।

हवाइघाटको चोकमा
खाल थापेका छौँ हामीले;
सकेजति छिराए हुन्छ,
हुनसम्म तिराए हुन्छ
आफ्नो दाउ परेन भने
अर्कैलाई भिराए हुन्छ
र एउटा बलीको बोको मात्रै
त्यहाँ गिँडाए हुन्छ ।

नाका नाकामा भाका भाकाका
खाल खोलेका छौँ हामीले
जति माल छिराए पनि
बाल हेर्दैनौँ हामीले
हात्ती देख्दैनौ हामी
मुसो समाउछौँ हामी
माल सुम्पी खालेलाई
धुलोमा रमाउछौँ हामी ।

सडकमा छताछुल्ल थापेका खालमा
कहिले गाडी समाउछौँ सडकको नेटोमा,
कहिले नाडी समाउछौँ सडकको पेटीमा
ठिक भए पनि लिन्छौँ
ठिक नभए पनि लिन्छौँ
ठिक वेठिक हामी आफैँ छान्छौँ
चंगुलमा पार्नलाई हामी आफै लान्छौँ ।

त्यो ठूलो दरबारमा खाल थापेका छौँ हामीले
दरबार अनुसारकै थाल पनि थापेका छौँ हामीले
कहिले टेबलमाथिबाट समाउछौँ
कहिले टेबलमनिबाट समाउछौँ
खालेले जिते हामी जित्छौँ
च्याँखेले जिते पनि हामी जित्छौँ
खेल पनि गर्छौँ र झेल पनि गर्छौँ
छोटी खालको दस्तुरी पनि
त्यही थालमा भर्छौँ ।

आउनोस्, हजूर, आउनोस्
आएको छ दशैँ
खाल थापेका छौँ हामिले
भाग्य खोलेका छौँ हामीले ।
यहाँ त दाउ मात्रै हान्नु पर्छ
च्याँखे पनि मालामाल
खाले पनि मालामाल
यहाँ त रमितेको मात्रै बेहाल ।
----- राम दाहाल


No comments: