Tuesday, October 23, 2012

कथा - २



गोमती किन पोइल गई ?
-- राम दाहाल

गोमती पोइल गई भन्ने सुनेपछि उसकी भाउजूले भनी छि ! के गरेकी होलिन् ती नानीले ? त्यस्तो घर छोडेर मुग्लान किन भासिनु परेको थियो ?
दाजुले नाक फुराएर भन्योकुकुरलाई घिउ नपचेको नै नत्र देउता जस्तो लोग्ने छोडेर देख्दै तर्साउला जस्तो जुठे समाउन किन पुग्थी ?
आमाले भनीकेले त भर्मनायो त्यसलाई। घर खाइसकेकी मान्छे नत्र उसै किन हिडथी ?
कुरा थरीथरीका चले, प्रतिकृया भिन्न भिन्न भयो। 
सासूले भनी घोक्रयाएर निकाल्नु पर्ने आफै हिडी, ठिकै भो। त्यो बाँझीको त मुख हेरे पनि नरक परिन्थ्यो। खुट्टा भए जुत्ता कति आउछन् कति !
गाउँभरि गोमतीको बद्ख्वाइँ भयो। दौतरी आइमाईसम्मले पनि गोमतीको चाल निको मानेनन् तर केही महिना पछि गोमतीको चर्चा सिध्दियो। 
गोमतीको ससुरोले छोराको बिहेगर्ने कुरा चलायो। फेरि गोमतीकै चर्चा चल्यो - गोमती किन पोइला गई त ?
एउटाले भन्यो- सासू साह्रै दुच्छर छ रे छोरी दिनै गाहारो
अर्कोले थप्यो ससुरोको स्वभाव निको छैन रे
श्रोले सुनायोनन्दआमाजूले टिक्नै दिदैनन् रे
तैपनि समाधान निस्किएन। 
केटो राम्रो छ। धनसम्पत्ति पनि छ। घर खाएकै हो। कमी केही थिएन त गोमती किन पोइल गई? 
केटाका सन्तान हुदैनन् रे प्याट्ट एउटाले फुको शंका निकाल्यो।
गोमतीका हुने भए रेहल्लाकै पुष्टि दियो अर्कोले। 
केटो र गोमतीको सम्बन्ध नै भएन रे अन्त्यकोले तार्किक समाधान निकाल्यो।
कसैले पनि गोमतीलाई बोल्न ठाउँ र समय दिएन। त्यसैले कोही पनि भन्न सक्दैन- ‘गोमती किन पोइल गई ?’   
काठमाडौं

No comments: