Sunday, October 28, 2012

कविता

मलाई एउटी रूदाली चाहिएको छ 

(राजस्थानी राजपूत महिलाहरू लोग्ने, छोरो मर्दा पनि डाँको छोडेर रुन पाउदैनथे । उनीहरूको साटो डाँको छोडेर रुन भाडामा आइमाई ल्याइन्थ्यो र त्यस्ता आइमाईलाई रुदाली भनिन्थ्यो । रुदाली कपालको झाँक्रो फिँजाएर, लाएको लुगा लथालिङ्ग बनाएर मर्नेको गुणगान गर्दै छाती पिटी पिटी रुन्थी ।)

के देखिनँ मैले ? के भोगिनँ मैले ?
के जानिनँ मैले ? के सहिनँ मैले ?
तैपनि रुन पाउदिनँ म,
तैपनि डाँको छोड्न पाउदिनँ म;
मलाई एउटी रूदाली चाहिएको छ ।

अन्धकार कोठरीमा थुनिएका मेरा छोरा
एकै रात छपक्क गिँडिए अन्धकारैमा
सास त गयो गयो नै
लास पनि पाइनँ मैले;
तैपनि रुन पाउदिनँ म,
तैपनि डाँको छोड्न पाउदिन म;
मलाई एउटी रूदाली चाहिएको छ ।

मेरो काँखमा सुतेकी छोरी
बैरी बनेर लुटेर लगे,
के गरे, के गरेनन् उसलाई ?
मेरा रगतका धारा बगे;
तैपनि रुन पाउदिनँ म,
तैपनि डाँको छोड्न पाउदिन म;
मलाई एउटी रूदाली चाहिएको छ ।

कखहरा सिकाउथ्यो मेरो छोरो,
बाटो देखाउथ्यो मेरो छोरो,
शिक्षा दिन्थ्यो, दिक्षा दिन्थ्यो,
ऊ त गुरु मानिन्थ्यो;
घिसारेर लगे एक दिन सिनो घिसारे झैँ,
तारो हानी खेले प्रगति भन्दै,
त्राशले लाश उठाउन सकिनँ मैले;
तैपनि रुन पाउदिनँ म,
तैपनि डाँको छोड्न पाउदिन म;
मलाई एउटी रूदाली चाहिएको छ ।

आफै फिरादी बने, आफै प्रतिवादी बने,
न्यायको कुर्सीका आफैँ अधिकारी बने,
भालाले रोपी मारे, ढुंगाले किची मारे,
ऊस्को डोकोमा उसैको लाश पसारे;
तैपनि रुन पाउदिनँ म,
तैपनि डाँको छोड्न पाउदिन म;
मलाई एउटी रूदाली चाहिएको छ ।

हजार पन्द्रेक मरे, मराए,
त्यति नै त चिहान खनाए,
सोतर झैँ सोहोरिदै अनिच्छामै जीवन गुमाए,
छोराछोरी मेरा मरे, अरूले घर बनाए;
तैपनि रुन पाउदिनँ म,
तैपनि डाँको छोड्न पाउदिन म;
मलाई एउटी रूदाली चाहिएको छ ।

--- राम दाहाल
२०६९ कार्तिक १२

No comments: