Sunday, September 29, 2013

विमल निभाको लेखः एक सन्दर्भ

विमल निभाको लेखः एक संदर्भ

ठ्याक्कै सम्झना त भएन। शायद वेतालपच्चिसीमा होला। एउटा कथा छ। गत शनिवारको कान्तिपुर दैनिकमा विमल निभाको लेख पढ्दा मलाई उहिले पढेको त्यो कथा झलक्क सम्झना आयो । 

एक दिन एउटा जोगी पाँच वर्षको नानी हुने एक युवा जोडीको घरमा बास बस्न आई पुग्छ । त्यही रात त्यो घरको नानी एकै छिनको व्यथाले पुक्लुक्कै मर्छ । नानीकी आमा भक्कानिएर रुँदै नानीको लाश बोकेर बाहिर निस्कन्छे र जोगी अगाडि तेर्स्याएर भन्छे - "बाबा ! तपाई सर्वज्ञानी, शक्तिवान सन्यासी । ममाथि दया राखेर मेरो छोरोलाई प्राणदान दिनोस् ।"

सन्यासीले सम्झाए - "माता ! म त्यस्तो सर्वज्ञाता, सर्वशक्तिमान होइन । म त साधारण जोगी, सन्यासी । म मृतलाई जीवित पार्न कहाँ सक्छु र ?"

जोगीले हरतरहले सम्झाए तर नानीकी आमाले जिद्दी छोडिन । अन्ततः लाचार भएर जोगीले भन्यो -"कहीँकतै सुनेको छु - 'यदि तीन जना मानिसले कसैलाई पनि नभनिएको आफ्नो जीवनको कटुसत्य लाशलाई सुनायो भने लाशलाई सुनायो भने त्यसले पुनर्जीवन पाउँछ ।' यसैलाई हामी प्रयोग गरौँ । भई हाल्छ कि केही ।"

बाबुआमाले मञ्जुर नगर्न कुरै थिएन । तब जोगीले भन्यो - "शुरू गर्न तपाईहरीलाई असजिलो लाग्ला । त्यसले म नै मेरो सत्य पहिले भन्छु ।"

"तन्देरी थिएँ म र जोश थियो मेरो धेरै । जोगी सन्यासीलाई हाम्रो घर खुला थियो । उनीहरू आएर मुक्तिका कुरा गर्थे, स्वर्ग पुग्ने बाटो नै त्यही हो भन्थे । हृष्टपुष्ट र तेजस्वी देखिन्थे उनीहरू । म आकर्षित भएँ उनीहरूप्रति र २० वर्ष पनि नपुग्दै उनीहरूकै बाटो समाएर जोगी बन्न पुगेँ । जोगी, सन्यासी बखानिएको सुखशान्ति, मुक्ति, स्वर्ग, भगवान खोज्दाखोज्दै अहिले ५० नाघेँ । त्यो पाइनँ । जहाँ गए पनि 'काम नगरी सित्तै खाने फुस्रो' को नाम पाएको छु । जान्दछु म यो मिथ्या बाटो रहेछ तैपनि म गृहस्थीमा फर्कन सक्दिनँ किनकि त्यहाँ पनि 'के के न पाउँला भनेर गएको फुस्रो खान नपाएर आए छ भन्ने छन् । मैले कसैलाई पनि नसुनाएको सत्य यही हो ।"

जोगीको यो सत्य सुन्ने बित्तिकै बालकको लाशमा तातो आयो रे । बाबु र आमाले आफ्नो सत्य भनेपछि बालक जीवित भएर उठ्यो रे । यो लेखको प्रशङ्ग आमाबाबुको सत्यसँग नभएकाले त्यो यहाँ भनी रहन्नँ ।

अवश्य नै विमल निभालाई जुन समयमा साम्यवादको पाठ पढाइएको थियो त्यो बेला उनी त्यो जोगी बन्ने बालकको नै उमेरका थिए होलान् । उनीलाई गाउँ या टोलको साहुको घर देखाएर भनिन्थ्यो होला - "यो शोषकको घर हो । सबै धनी शोषक हुन् । साम्यवादले यस्ता शोषक निमिट्यान्न पारेर सबैलाई धनी बनाउछ । यस्तो काम कम्युनिष्टको रक्तरञ्जित क्रान्तिद्वारा मात्र सम्भव हुन्छ, आदि इत्यादि ।"

सबै युवाहरूलाई साम्यवादी दिक्षा यस्तै कुराले दिइन्छ, भाषा मात्र फरक हुन्छ । मैले पनि भोगेकै कुरा हो । समय बित्दै गएपछि सबै कम्युनिष्टलाई पनि जोगीलाई जस्तै ज्ञान प्राप्त हुन्छ र कुण्ठा शुरू हुन्छ । डा.केशरजंग रायमाझी, मोहनचन्द्र अधिकारी, निलाम्बर आचार्य जस्ताहरू त खुलेर नै त्यो धारबाट बाहिर निस्कन्छन् र कहीँनकहिँ स्थापित हुन्छन् तर सबै आस्थामा जस्तै पछौटे भएर बस्नु पर्ने विमल निभाहरू जस्ताले भने त्यो जोगीलेझैँ अँध्यारोमा कुण्ठ पोख्नु बाहेक अरू उपाय पनि हुदैन ।

आस्थाको बिचल्ली यहाँ मात्र होइन जहीँतहीँ देख्न पाइन्छ । कम्युनिष्ट शाशनमा कम्युनिष्टको नाममा ९०% मत दिने जनता सोभियत संघ ढलेको भोलिपल्ट नै १०% पनि बाँकी रहेनन् । पुरै सन्यासाश्रम ढल्यो युरोपमा र पुरै युरोप झण्डै कम्युनिष्टबिहीन हुन पुग्यो । जोगीका सपना पुरा हुदैनन् भन्ने चिनका ल्यु साओ ची देखिका हजारौँ लाखौँ चिनियाहरू महान साँस्कृतिक क्रान्तिमा बली दिइए । तैपनि देङ स्याओ पिङले सत्तामा आउने बित्तिकै जोगीले घरगृहस्थी समाएझैँ फर्केर पूँजिवादी उत्पादन व्यवस्था लागु गरे । विमल निभा रोएझैँ रुने चिनमा लाखौँ होलान् । अझ करोडौँ पुग्न सक्लान् । असमानता बढ्दो छ त्यहाँ र बढि रहने छ यदि विकास भई रहोस् भन्ने चाहना भए ।

धर्माधिकारीहरूले देखाएको बाटोम हिड्दैमा स्वर्ग पुगिने भए मानिस सबै स्वर्गमा पुग्थे र यो पृथ्वी रित्तै हुने थियो । दुर्भाग्य ! त्यस्तो हुदैन र कम्युनिष्टहरूले पनि आफूलाई समायानुसार परिवर्तन गर्नै पर्दो रहेछ । एमाले, एमाओवादी या अरू कुनै कम्युनिष्ट पार्टीले आफूलाई समयानुसार परिवर्तन नगरे प्रजा परिषद बन्ने डरले बदलिन वाध्य भएका हुन् । २००७ सालको नेपाली कांग्रेस र २०७० सालको नेकाको पनि त्यही रूप हो । आज एक क्षणको निम्ति वैद्य या विप्लव उग्रवादी देखिएलान् र कसैले यसलाई समाउलान पनि तर ती पनि एमाले र एमाओवादी नै बन्न वाध्य हुन्छन् । 

सर्वसमानता युगौँदेखि देखिएको मृगतृष्णा हो, अनुभवहीन युवालाई उचाल्न सकिने सजिलो हतियार हो जसलाई कम्युनिष्टहरू जहाँ र जहिले पनि समाउछन् । भएकोलाई बाँडेर मात्र खाने हो भने त्यो संभावना छ तर विकास गर्नलाई त उद्योग चाहिन्छ, श्रमले मात्र हुदैन पूँजि पनि चाहिन्छ । श्रमको हातमा पूँजि राखेर उद्योग चल्छ भन्ने सपना देखेर नै कम्युनिष्ट असफल भएका हुन् । हो, सबै नागरिकका प्राणीजन्य आवश्यकता पूर्ति भने हुनु पर्छ भन्ने मान्यता राख्नु अलग्गै कुरा हो ।

राम दाहाल
जोरपाटी - १ काठमाडौँ
२०७० आश्विन १३

No comments: