Tuesday, September 10, 2013

उठ लाश उठ



उठ लाश हो ! उठ

उठ लाश हो  उठ !
समय आएको छ अब
आफ्नो व्यथा आफै पोख
आफ्नो साक्षी आफै बक ।

संग्राममा गयौ तिमीहरू
इच्छाले कि अनिच्छाले ?
मैदानमा ढल्यौ तिमीहरू
रहरले कि वाध्यताले ?
कुन डोको बोकेका थियौ ?
कुन डोकोमा बोकिएर आयौ ?
जिउदा मानिस तिमीहरू
कसरी लाश भयौ ?

उठ लाश हो उठ !
समय आएको छ अब
आफ्नो व्यथा आफै पोख
आफ्नो साक्षी आफै बक ।

कसरी मर्‍यौ तिमीहरू ?
कसले तीमीहरूलाई मार्‍यो ?
केका निम्ति मर्‍यौ तिमीहरू ?
कसले के निम्ती मरायो ?
के पायौ तिमीहरूले ?
गुमायौ के तिमीहरूले?
जसका निम्ति मर्‍यौ तिमीहरू
तिनले के के पाए ?

उठ लाश हो उठ !
समय आएको छ अब
आफ्नो व्यथा आफै पोख
आफ्नो साक्षी आफै बक ।

स्वर्ग पाइन्छ धर्तीमा नै
यही वाचा दिएथे
बलिदान उत्सर्ग हो
यही नै मंत्र भनेथे
पायौ कि कुनै स्वर्ग ?
वैतर्णी पनि कुन तर्‍यौ ?
आफ्ना लालावालाको निम्ति
कहाँ के के जोहो गर्‍यौ ?

उठ लाश हो उठ !
समय आएको छ अब
आफ्नो व्यथा आफै पोख
आफ्नो साक्षी आफै बक ।

बाबुको किरियामा
आफ्नै किरिया थपेथ्यौ
बिना बाबुका सन्तानको
भारी पनि खपेथ्यौ
साबालक भएर खाउला भनी
नाबालकमा नै मरेथ्यौ
फूल पनि नबनी
कोपिलामै झरेथ्यौ
कति पायौ तिमीले ?
कति लायौ तिमीले ?
आमाको आँशुको मोल
कति खायौ तिमीले ?

उठ लाश हो उठ !
समय आएको छ अब
आफ्नो व्यथा आफै पोख
आफ्नो साक्षी आफै बक ।


राम दाहाल
जोरपाटी - १ काठमाडौँ
२०७० भाद्र २५

No comments: