Friday, September 13, 2013

२० वर्ष पुरानो कविता





जब आँखाले नंग्याउछ

सडकमा हिडेकी एउटी आइमाई नंग्याउछ मेरो आँखाले र पाउछ -
जिर्ण छ ऊ अपमानले, अत्याचारले अतितको र वर्तमानको
जन्मकैदको कैदीले दिनगिन्तीमा खोरको भित्तो कोरेझैँ
हजार ठाउँ खुम्चिएको छालामा उसको दुख कोरिएको छ
तत् तत् दिनका पुरुष अभिभावकलाई लामो बाटो विदा गरेर
उनीहरूका निम्ति गहभरि आँशुले अविरल तर्पण दिएर
सुकाएकी छ उसले विश्वामित्र पतन हुने आफ्ना वक्ष र जङ्घाहरू
र पुर्ख्यौली सम्पत्तीको नासो एउटा पिलपिल बत्ती जस्तै नाति छोपेर
अनन्ततिर लम्किरहेकी छ ऊ ।

सडकमा हिड्दै गरेकी एउटी आइमाई नंग्याउछ मेरो आँखाले र पाउछ ‍-
गानिएका दुध बोकेकी एउटी आमा हतार हतार घर फर्किरहिछ
थकाइ छ उसको अनुहारमा पेट दाब्रिएको छ, खाली छ
गर्भिणी हुदा सञ्चित थोरै बोसो पनि पग्लीसकेको छ
पातलिएको छालामा एक दुई धर्का कोर्दै छ समय
तरुनी त अब ऊ रहिन नारित्व उसमा अझै बाँकी छ ।

सडकमा हिडेकी एउटी आइमाई नंग्याउछ मेरो आँखाले र पाउछ -
हजार आँखाका डाम जिउभरि छन् उसका
फर्फराउछन् मासुका कणकण लोभी दृष्टिका चोटले
सधैँ नंग्याएका छन् पुरुष आँखा र भावले उसलाई
पुष्ट उरुहरू लुलिन्छन् यौवनको बोझ थाम्न गाहारो भएर
र बन्दकोठाको सिरक भित्र पनि असुरक्षित छ उसको मासु
प्रेमी या लोग्नेको अँगालोमा पनि निशङ्क हुन सक्दिन ऊ
मासुको लोभ छ तिनका दृष्टिमा पनि, चोखो मासुको लोभ
र वक्षको चोट भन्छ 'त्यो मासु जुठिएको छ।'

सडकमा भर्खर देखा परी अर्की एउटी
कहाँ नंग्याउनु उसलाई ? ऊ त नाङ्गै छ
गाईको बाछो जस्तो, मृगको पाठो जस्तो
फूलको कोपिला जस्तै
निर्मल, निश्छल र सुन्दर छ ऊ
पारदर्शी छ ऊ पानीको थोपाझैँ
तर उसले अझै डर बोक्न बाँकी छ, कर बोक्न बाँकी छ
बैँसमा पुग्ने रहर बोक्न बाँकी छ
जुठिने र लुटिने व्यथा पनि बोक्न बाँकी छ
नारीको पिडा बेहोर्न उसको त त सिंगै जीवन बाँकी छ ।

राम दाहाल
कुलेश्वर, काठमाडौ
२०४९ माघ ४

No comments: