Friday, June 22, 2012

घरबाहिर - १५


२०१८ साल

मैले परिक्षा दिएँ र २०१८ सालको पहिलो त्रैमासिकमा परिक्षाफल प्रकाशित भयो । १।२ जना मात्र प्रथम श्रेणी ल्याएको बेला मेरो उपलब्धि प्रथम श्रेणीको नजिकै भएकाले म गर्वले फुलेको थिएँ र सो उपलब्धिको आधारमा इन्जिनियरिङ छात्रवृत्तिका निम्ति आवेदन दिएँ ।
फुल्ब्राइट छात्रवृत्ति अन्तर्गत पुनामा पढ्ने गरी म, लक्ष्मण घिमिरे, सेन र अर्का एक जना, जस्को नाम अहिले मलाई सम्झना छैन, समेत भारत पुनाको कुनै कलेजमा टेलिकम्युनिकेशन इन्जिनियरिङको निम्ति प्रस्तावित भयौँ तर हाम्रो कन्फर्मेशन आएन र लण्ठियौँ हामी । म र लक्ष्मण फेरि जर्मनीमा मेकानिकल इन्जिनियरिङको निम्ति प्रस्तावित भयौँ र त्यहाँ पनि त्यही असफलताको कथा दोहोरियो । फेरि हामीलाई कुनै सुमुद्रपारको देशमा सिभिल इन्जिनियरिङको लागि प्रस्तावित गरियो । मलाई लाग्यो - मेरा कुनै तागतवर स्रोत नहुनाले संभावना कम भएका ठाउँमा प्रस्ताव गरिई रहन्छ । शायद लक्ष्मणलाई पनि त्यस्तै लाग्यो होला र हामीले त्यो प्रस्तावलाई स्वीकार गरेनौँ ।
"अर्को मौका तिमीहरूले पाउदैनौ नि तिमीहरूले ।" - शिक्षा अधिकारीले हामीलाई धम्क्याए ।
हामीहरू हतास विद्रोही भइसकेका थियौँ । त्यसैले निर्धक्क भनिदियौँ - "नपाए पढ्दैनौँ ।"
हामीलाई छात्रवृत्ती अस्वीकार गरेको कागज गराइयो । लक्ष्मण घिमिरे कहाँ गयो त्यसपछि मैले थाहा पाइनँ । हल्ला मात्रै सुनेको हुँ कि विपिन कोइरालासँगै राजा माहेन्द्रको शाशन ढाल्ने अठोटपत्रमा रगतले सही गरेकोले जेल पर्‍यो र दीर्घराज कोइरालाले छुटाई दिएर भारतमा इन्जिनियरिङ पढ्न पठाई दिए रे । मैले त उसलाई फेरि इन्जिनियर बनेको धेरै पछि मात्रै भेटेँ ।
नरेन्द्रमणी आ.दि. छात्रवृत्ती समितिका अध्यक्ष थिए त्यो बेला र नरेन्द्रमणी नारायण थापाका नातेदारका टोले भएका नाताले नारायणका दाजुले मेरो सिफारिस गरिदिन उनकोमा पुर्‍याए तर दिक्षितबुढाले 'घरमा किन आउने हँ ?' भनेर उल्टै झपारेकाले म लोब्रे कान बनाएर फर्केँ ।
म निराश थिएँ । घर के मुख लिएर जाने ? आमासँग के भनेर पैसा माग्ने ? विकल्प कम थिए मेरा र अझ छँदै थिएन भन्दा पनि हुन्थ्यो । त्यही समयमा नारायण थापाले चिनद्वारा हेटौँडामा बन्ने सिमेन्ट कारखाना आफूसँगै जाने प्रस्ताव राख्यो र म त्यतैतिर लागेँ ।

No comments: