Tuesday, June 05, 2012

घरबाहिर — १०


काठमाडौँ बसाइको शुरूआत



म जमीन र लगानीपातको व्यवशाय बोकेको बिर्तावालको छोरो भएको र हाम्रो समाजमा जागिर खाने कोही पनि नभएकाले जागिरदारको स्वभाव कस्तो हुनु पर्छ र हुन्छ ? भन्ने ज्ञान र अनुभव मलाई थिएन । मेरो काठमाडौँ प्रवेशको शुरूमा नै मेरो जम्काभेट सरकारी जागीरका दुई व्यक्तित्वहरूसँग भयो जसलाई मैले आज पर्यन्त बिर्सन सकेको छैन ।

त्यो बेला शिक्षाविभाग सिंहदरबारमा थियो र त्यसको प्रमुख थिए नेपाली कांग्रेसका नेता सूर्यप्रसाद उपाध्यायका भाइ शारदाप्रसाद उपाध्याय । कांग्रेसीका भाइ भएका नाताले लीलानाथबाले मलाई उनी कहाँ गएर त्रिचन्द्र कलेजमा प्रवेशका निम्ति सिफारिस गरी दिए र डाइक्टरले पनि 'यसो बेलाबेलामा आएर सम्झाउदै गर्नु, म ठाउँ खाली भएपछि प्रवेश गराई दिउँला' भनेर आश्वासन दिए । मलाई त्यभन्दा ठुलो भरोसा के हुन सक्थ्यो र ? त्यही विश्वासको त्यान्द्रो समाएर म कैयौँ हप्ता उनी कहाँ धाइरहेँ तर मेरो चाकरी सफल भएन । न उनले प्रवेश नै दिलाए, न दिलाउन सकिनँ भनेर स्पष्ट जवाफ दिए । त्यो बेलाको शिक्षाको त्यति उच्च आसनमा बसेका व्यक्तिले म जस्तो झन्डै जंगली अवस्थाजस्तो दुर्गम गाउँबाट आएको केटालाई आश्वासन र अलमलमा राख्नु जागिरदारको महत्ता हो कि ?

पिताम्बरकाका वनारस पढ्न गएकाले उनले स्थानान्तर प्रमाणपत्रको लागि ताकेतापत्र पठाए । मैले पनि त्यो बेलाको परिक्षा नियन्त्रक कार्यालय सरस्वती सदनमा गएर सोको निम्त आवेदन दिएँ । पहिले त विद्यार्थी स्वयम् आउनु पर्ने अडान लिए पनि मैले त्यसको व्यवहारिक समस्या देखाएपछि प्रमाणपत्र कार्यवाहक भएका सहायक निरिक्षकले प्रमाणपत्र त दिने भए तर 'आज भएन, भोलि आउनु' भन्ने प्रकृया धेरै दिन चल्यो । एकातिर कलेजमा प्रवेश नपाएको पिडा त छदै थियो, अर्कोतिर 'त्यति सानो काम पनि नगरिदिएको' भनेर पिताम्बरकाका गुनासापत्रहरू पठाउथे । त्यसमाथि प्रति दिनको तारेखले आजित भइसकेको थिएँ म । त्यही मानसिक दवाव नै एउटा सोर्‍हवर्षे केटाका निम्ति उद्वेग र उत्तेजनाका पर्याप्त मसाला हुन पुग्यो र मैले 'यो त भानुभक्तले भने झैँ भोलि भोलि पो भयो' भनेर आफ्नो क्षुव्धता प्रकट गरेँ । सहायक नै भए पनि नियन्त्रकको कुर्सीमा बसेका हाकिमलाई आफ्नो अपमान भएको ठानेर रिस उठाउन पर्याप्त थियो र उनी कड्की हाले - "जाऊ, हुदैन तिम्रो काम । झन मिलाई दिऊँ भनेको ता यस्तो नाप्पिएको कुरा गर्ने ।"

जुन स्थितिमा मैले त्यो भनेको थिएँ त्यही स्थितिमा उनी भएको भए उनी पनि त्यसै भन्ने थिए होलान् तर मेरोजस्तो उनको स्थिति थिएन । उनी परिक्षा नियन्त्रकको कुर्सीमा बसेका हाकिम थिए, म निगाहा माग्न गएको विद्यार्थी । त्यसैले मैले झुक्नु पर्ने थियो होला तर मैले पानि आफूलाई निर्दोष ठानेर प्रतिवाद गरेँ । साना र ठुलाका बीचमा विवाद चलेको देखेर त्यहीँ सोफामा बसेका सज्मजनले तिर हेरेर हप्काए - "सरले दिन्छु भन्नु भएकै रहेछ । यसो १।२ दिन ढिलो त हुन्छ नै । अनि केको विवाद नि सरसँग ?"

मलाई हप्काएपछि उनले हाकिमतिर हेरेर भने - "भई हाल्यो नि । यी आजकलका केटाकेटीको बोल्ने सोमत नै छैन । के बोल्ने, के नबोल्ने ? जान्दैनन् । ल, पर्सि आउनु अब । सरले दिइदिनु हुन्छ ।"
न भन्दै पर्सिपल्ट मैले त्यो प्रमाणपत्र पाएँ ।

त्यो घटनाको ठिक १८ वर्षपछि म सरकारी पदको इन्जिनियर र उनी अंचलाधिश हुदा हाम्रो फेरि जम्काभेट भयो । उनले आफ्नो तिक्ष्ण संझनाशक्तिको उपयोग गर्दै मलाई त्यो घटनाको स्मरण गराउन चाहे तर मैले 'खै, त्यो त सम्झना छैन' भनेर टारी दिएँ । उनले त्यो प्रशङ्ग कोट्याउन किन चाहे ? मैले त्यो पट्ट सोचिनँ ।


No comments: